'आसन्न चुनावका निम्ति १ लाख ३२ हजारदेखि १ लाख ५० हजारसम्म म्यादी प्रहरी भर्ना गर्नुपर्ने आकलन नेपाल प्रहरीले गरेको छ ।'
What you should know
काठमाडौँ — चुनाव आउन अब ९९ दिनमात्र बाँकी छ । तर, जेन-जी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार अझै फिर्ता भएका छैनन् । ४५ सयभन्दा बढी कैदीबन्दी फरार छन् ।
लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दी फिर्ता ल्याउन प्रहरीले कसरी काम गरिरहेको छ ? निर्वाचन सुरक्षामा प्रहरीको योजना के छ ? यिनै विषयको सेरोफेरोमा कान्तिपुर टेलिभिजनका किरण पौडेलले नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेसँग गरेको कुराकानीको सम्पादित अंश :
भदौ २३ र २४ को जेन–जी आन्दोलनका क्रममा ठूलो संख्यामा नेपाल प्रहरीका हतियार लुटिए । अब निर्वाचनका लागि सय दिन पनि बाँकी छैन । यस्तो बेला लुटिएका हतियार नै निर्वाचन सुरक्षामा चुनौती बन्ने जोखिम छ । प्रहरीले यस विषयमा के गरिरहेको छ ?
नेपाल प्रहरी हराएका हतियारलाई फिर्ता ल्याउन अभियान नै बनाएर लागेको छ । कतिपय हतियार जलेका र कतिपय भत्किएका प्रहरी कार्यालयमा पुरिएका अवस्थामा फेला परेका छन् । यकिन रूपमाभन्दा ३५ देखि ४० प्रतिशत हतियार 'रिकभर' हुन बाँकी छ । प्रहरी मुख्यालयबाट प्रदेश प्रहरी कार्यालय हुँदै प्रहरी चौकी तहसम्म पनि यसलाई प्राथमिकतामा राखेर काम भइरहेको छ । हरेक जिल्लामा समिति नै बनाएर हतियार रिकभरीको काम भइरहेको छ ।
फरार कैदीबन्दीहरुबाट फेरि आपराधिक काम भएको देखिएका छन् । के प्रहरीका लुटिएका हतियार प्रयोग भएका आपराधिक घटना पनि छन् ?
फरार भएका कैदीबन्दीहरु हत्यादेखि लुटपाटसम्ममा संलग्न भएको देखिएको छ । तर प्रहरीको लुटिएका हतियार प्रयोग भएको भने देखिएको छैन।
जघन्य अपराधका कैदीहरु अझै फरार छन् । समाजमा त्रासको माहोल अझै छ नि, हैन ?
फरार कैदीलाई फर्काउन देशभर सिनियर अफिसरको डेस्क नै गठन भएको छ । अहिलेको अवस्थामा हतियार रिकभरी र फरार कैदी पक्राउलाई पहिलो प्राथमिकता राखेर काम भइरहेको छ । फरार कैदी पक्राउ गर्न प्रदेशमा प्रहरी नायब उपरीक्षक तहको फोकल पर्सन र जिल्लामा सिनियर अफिसर तहको फोकल पर्सन तोकेर काम भइरहेको छ । यसबारे पत्रिकामा सूचना निकालिएको छ । फरार कैदीको सूची चौकी तहसम्म दिइएको छ । अन्य सुरक्षा निकायसँग सहकार्य र समन्वयमा काम भइरहेको छ । आतंकित हुन आवश्यक छैन । प्रहरी नागरिक सुरक्षाका लागि प्रतिबद्ध छ ।
६०० भन्दा बढी विदेशी कैदी र थुनुवा फरार छन् । विदेशी कैदीलाई फर्काउने विषयमा के भइरहेको छ ?
विदेशी फरारको हकमा गृह मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालय हुँदै राहदानी रोक्का र नयाँ बनाउन नदिने गरी काम भइरहेको छ । अन्तर्राष्ट्रिय सीमा नाकामा पनि कडाइ गरिएको छ । हवाई सीमाहरूमा विशेष निगरानी गरिएको छ र मित्र राष्ट्रहरुसँगको समन्वयमा काम भइरहेको छ ।
निर्वाचन सुरक्षामा प्रहरीले के काम गरिरहेको छ ? अन्य सुरक्षा निकायसँग कसरी समन्वय हुँदैछ ?
एकीकृत सुरक्षा योजना केन्द्रीय सुरक्षा समितिबाट पास भएपछि जिल्ला तहसम्म पठाइसकिएको छ । जिल्लामा पनि जिल्ला सुरक्षा समितिबाट पनि योजना बनाउने काम भइरहेको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत प्रहरीलाई दिइएको म्यान्डेटअन्तर्गत काम भइरहेको छ । निर्वाचनलाई भयरहित र सुरक्षित रुपमा सम्पन्न गर्न विगतको अनुभव र अन्य सुरक्षा निकायसँगको समन्वयमा काम भइरहेको छ । निर्वाचन सबैको साझा भएकाले सबैलाई वातावरण मिलाउन पनि सहकार्यमा काम भइरहेको छ । सूचना संकलनमा पनि प्रहरीले विशेष काम भइरहेको छ ।
निर्वाचनका लागि कति सुरक्षाकर्मी खटिन्छन् ?
यकिन विवरण त मतदान केन्द्र तोकिएपछि मात्र थाहा हुन्छ । तर मतदान स्थललाई यकिन छ । मतदान केन्द्रको वर्गीकरण गरेर प्रहरी परिचालन हुन्छ । म्यादी प्रहरी पनि खटाइन्छ ।
कति म्यादी प्रहरी भर्ना गर्नुपर्ने देखिन्छ ?
अहिले यकिन त छैन । तर अहिलेको अवस्थालाई हेर्दा १ लाख ३२ हजारदेखि १ लाख ५० हजारसम्म म्यादी प्रहरी भर्ना गर्नुपर्ने देखिन्छ ।
जेन-जी आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित कति पक्राउ परे ? कति मुद्दा दर्ता भए ?
हालसम्म ५ सय ८० जना पक्राउ परेका छन् । २ सय ७८ मुद्दा दर्ता भएका छन् । खासगरी आपराधिक उपद्रवमा धेरै मुद्दा दर्ता भएका छन् । त्यसैगरी अभद्र व्यवहार, चोरीमा पक्राउ र मुद्दा धेरै छन् ।
![Stolen weapons were not used in murder, robbery: Police spokesperson [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/sequence-0100001809still006-26112025120543-1000x0.jpg&w=1001&h=0)