माओवादीसित एकतामा नगई ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका जनार्दन शर्मा भन्छन्– ‘नयाँ राजनीतिक पार्टीहरूसँग सहकार्य गर्दै अघि बढ्छौं’
What you should know
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रम चन्द, नेकपा (एकीकृत समाजवादी)का पूर्व महासचिव घनश्याम भुसाल र माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्माले वामपन्थी, लोकतान्त्रिक र देशभक्तहरुको ‘बृहत् लोकतान्त्रिक मोर्चा’ निर्माण गर्ने सहमति गरेका छन् ।
माओवादी, नेकपा एसलगायत दलको एकताविरुद्ध ‘विद्रोह’ गरेका उनीहरूले किन मोर्चाबन्दी गर्ने निर्णय गरे । माओवादीसित एकतामा नगई ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका जनार्दन शर्मासँग कान्तिपुरका गंगा बीसीले गरेको कुराकानी ।
माओवादी, नेकपा एस लगायतका दलसँगको एकतामा नगई किन अलग मोर्चा बनाउनुभयो ?
आज हामी नेकपाका महासचिव विप्लवजी, म र समाजवादी घनश्यामजीबीच बैठक बस्यौं। त्यो बैठकमा अहिलेको जेन–जी आन्दोलन पछिको राजनीतिक परिस्थितिको समीक्षा गरियो। जेन–जी आन्दोलनले उठाएका महत्त्वपूर्ण मागहरूको आधारमा अबको राजनीतिक वर्षलाई कसरी लैजाने भन्ने विषयमा पनि बृहत् छलफल भयो। आज हाम्रो प्रारम्भिक छलफल भएको हो र त्यस प्रारम्भिक छलफलमा हामीले मुख्यगरी दुई वटा कुरामा समझदारी गरेका छौं। पहिलो कुरा–जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार लगायतका एजेन्डाहरूमा त्यसकाविरुद्ध नयाँ राजनीतिक पार्टीहरूसँग सहकार्य गर्दै अघि बढ्ने हो । भ्रष्टाचार र यथास्थितिको अवस्था सिर्जना गर्नेमाथि जिम्मेवारी नलिने र त्यसलाई पक्षपोषण हुनेगरी भइरहेका कतिपय एकता लगायतका कुराहरू देशको समस्याको समाधान हुन नसक्ने भएकाले, ती बाहेकका सबै प्रगतिशील, वामपन्थी र लोकतान्त्रिक शक्तिहरूलाई समेटेर एउटा महागठबन्धन वा मोर्चा बनाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष भएको छ ।
यो चुनावी मोर्चा हो ?
पुरानो तरिकाले होइन, नयाँ ढंगले– नेपाली जनताको समाजवादको आकांक्षा र सुशासनयुक्त शासन व्यवस्थाको आकांक्षा पूरा गर्न– सबैसँग मिलेर महागठबन्धन वा बृहत् मोर्चा बनाएर अघि बढ्नुपर्छ भनेर हामीले निर्णय गरेका छौं । हामीले पहिले पनि समाजवादी केन्द्र बनाउने अभ्यास गर्दै आएका थियौं । त्यसको निरन्तरता स्वरूप आज अझै बृहत् रूपमा सबै प्रगतिशील, वामपन्थी र लोकतान्त्रिक शक्तिहरूलाई समेटेर मोर्चा निर्माण गर्दै जाने छलफल र समझदारी गरेका छौं ।
कम्युनिस्टहरूको मात्रै गठबन्धन हो कि अरू पनि सहभागी हुन्छन् ?
यसको आवश्यकता भनेको आजको देशको राजनीतिलाई सही ट्रयाकमा ल्याउन हो। संविधानको संविधानको गर्ने बेला पनि आइरहेको छ। त्यसतर्फ गएर देशलाई वैधानिक मार्गमा ल्याउने, राष्ट्रियताको संरक्षण गर्ने र नेपालको प्रगतिशील, वामपन्थी, लोकतान्त्रिक आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्ने हाम्रो उद्देश्य हो । अहिले सम्मका सरकार र पार्टीहरूले सिर्जना गरेको अवस्थाको रुपान्तरण गर्न हामीले संघर्ष गर्यौं, तर त्यो पर्याप्त हुन सकेन। त्यसैले अब नयाँ ढंगले, जनताको भावना र अधिकारलाई केन्द्रमा राख्दै, नागरिक सर्वोच्चता स्थापना गर्दै अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं। त्यस आधारमा हामीले प्रारम्भिक सहमति गरेर अघि बढेका छौं।
नयाँ कम्युनिस्ट पार्टी बनाउने अभ्यास हो यो ?
यो प्रक्रियालाई बिस्तारै सैद्धान्तिक र वैचारिक छलफल–बहस हुँदै देशको राजनीतिक आवश्यकताका आधारमा विकसित र परिमार्जित गर्दै लैजाने हाम्रो प्रतिबद्धता छ । अहिले हामीले सहकार्य र मोर्चाको कुरा गरेका हौं, पार्टी निर्माणको कुरा हामी हतारमा गर्दै छैनौं।
हामी छलफल र बहस गर्दै, सबैलाई समेट्ने बृहत् सामाजिक–राजनीतिक मोर्चाको दिशातिर अघि बढ्नेछौं ।सहकार्य र बृहत् सामाजिक मोर्चा निर्माण गर्ने हाम्रो सहमति हो ।
तपाईंहरू माओवादी, नेकपा एसको एकतामा नजानुको कारण के हो ?
हामीले भ्रष्टाचारविरुद्ध र नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्ने विषय उठाएका थियौं, तर ती पुराना पार्टीहरूले त्यसका विरुद्ध उभिए । जेन–जी आन्दोलनले उठाएका मागहरूको विरोधमा उनीहरू उभिएका कारण हामी त्यहाँ गएनौं। हामीले पार्टी कब्जा गर्ने वा आफू नेता बन्ने स्वार्थ कहिल्यै राखेका छैनौं। हामीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने प्रतिबद्धता पहिले नै सार्वजनिक गरिसकेका छौं । आफ्नो सुरक्षा स्वार्थका लागि झुन्ड बनाउने वा जमघट गर्ने हाम्रो उद्देश्य होइन। हामी नयाँ पुस्ताको माग, आवश्यकता र क्षमतालाई अघि बढाउँदै नेपाली समाजको रुपान्तरण र अग्रगमनतर्फ प्रतिबद्ध छौं भन्ने कुरा पुनः दोहोर्याउन चाहन्छु।
तपाईंले एमालेसँग पनि वार्ता गर्नु भयो भनिन्छ नि ?
एमालेसँग जनार्दनको वार्ता भयो भन्ने कुरा पूर्ण रूपमा गलत हो । एमालेसँग कुनै प्रकारको वार्ता भएको छैन ।
!['Our purpose is not to gather for our own security interests' [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/janardansharmapressmeet02-07112025030340-1000x0.jpg&w=1001&h=0)