नियमित गर्न नसकिए विशेष महाधिवेशनको विकल्प छैन : गुरुराज घिमिरे [अन्तर्वार्ता]

घिमिरे भन्छन्- केन्द्रीय कार्यसमितिको निर्णय र निष्कर्ष के हुन्छ, त्यसमा धेरै कुरा निर्भर हुन्छ । केन्द्रीय कार्यसमितिले अपनाउने कार्यशैली र निर्णयले निर्धारण गर्नेछ । हामी चार वर्षको समयसीमाभित्र महाधिवेशन चाहन्छौं—नियमित होस् वा विशेष ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

If regularization cannot be done, there is no alternative to a special general convention: Gururaj Ghimire [Interview]

काठमाडौँ — नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरे जेन-जीले २४ घण्टामा मुलुकमा यत्रो ठुलो उथलपुथल गर्दा कांग्रेस दुई महिनाको बीचमा महाधिवेशन गर्न नसक्ने अडान स्वाभाविक नभएको बताउँछन्।

पार्टीभित्र निर्वाचन अगाडि महाधिवेशन गर्ने कि नगर्ने भन्ने सवालमा चलिरहेको अहिलेको अवस्थामा युवा नेता घिमिरेसँग गरिएको संवादको सम्पादित अंश:- 

संस्थापन पक्ष कुनै पनि प्रकारको महाधिवेशनको पक्षमा देखिएको छैन । यस्तो अवस्थामा तपाईंहरूले माग गरेबमोजिम विशेष महाधिवेशनको अवस्था के हुन्छ ?

केन्द्रीय कार्यसमितिको निर्णय र निष्कर्ष के हुन्छ, त्यसमा धेरै कुरा निर्भर हुन्छ । केन्द्रीय कार्यसमितिले अपनाउने कार्यशैली र निर्णयले निर्धारण गर्नेछ । हामी चार वर्षको समयसीमाभित्र महाधिवेशन चाहन्छौं—नियमित होस् वा विशेष । 

तर, संस्थापन पक्ष कुनै पनि अधिवेशनको पक्षमा नभएको कुरा त केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री महेन्द्र यादवको ‘काउन्टर’ प्रस्तावबाट पनि प्रस्ट भइसकेको छ । अब कसरी अघि बढ्नुहुन्छ त ?

संस्थापक पक्षले प्रस्तुत गरेको कुरा र आएका प्रस्तावहरू हेर्दा उनीहरू कुनै पनि पक्षमा नदेखिन सक्छन् । केन्द्रीय कार्यसमितिमा सहमहामन्त्रीको प्रस्ताव विधान र स्थापित मान्यताविरुद्ध क्षेत्राधिकार बाहिर गएर ल्याइएको प्रस्ताव हो । त्यसबारेमा आजै बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग फोनमा कुरा भएको थियो । उहाँले सहमहामन्त्रीको प्रस्तावलाई व्यक्तिगत प्रस्ताव हो भनेर भनिसक्नुभएको छ । महामन्त्रीको प्रस्ताव पारित भयो भने विशेष महाधिवेशन बोलाइराख्नु पर्दैन । तर, उक्त प्रस्ताव पारित हुन सकेन भने विशेष महाधिवेशन अनिवार्य रूपमा बोलाउनुपर्ने वैधानिक व्यवस्था छ । 

बहुमतले केही पेलेरै विशेष महाधिवेशनको प्रक्रिया अघि नबढाएमा तपाईंहरूसँग अर्को विकल्प के छ ?

अहिलेसम्मको मनस्थिति हेर्दा यही गर्छ भन्ने देखिँदैन । बैठकमा बोल्ने अधिकांश वक्ताहरू निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्छ भन्ने दिशामा उन्मुख हुँदै जानुभएको छ । हामी आशावादी छौं— समयसीमाभित्र महाधिवेशन हुन्छ । नियमित नभए विशेष हुन्छ । यसको विकल्प छैन ।

केन्द्रीय कार्यसमितिले प्रक्रिया अघि बढाउने दिशामा नै लागेन भने तपाईंहरू आफैंले भेला बोलाउनुहुन्छ ?

केन्द्रीय कार्यसमितिले कुनै निर्णय नगरी बस्न मिल्दैन । विशेष महाधिवेशन वैधानिक र बाध्यकारी हो । यसलाई चुनावपछि लान सकिँदैन, टार्न सकिँदैन । यदि त्यस्तो भयो भने हामी त्यो विकल्पका बारेमा समेत छलफलमा छौं । हस्ताक्षरकर्ताहरूका तर्फबाट आफैंले बोलाउने स्थिति बन्न सक्छ । तर, हामीले अहिल्यै त्यतातिर सोचेका छैनौं । 

कान्तिपुर संवाददाता

Link copied successfully