'एक–दुई होइन, बृहत् वाम एकता आवश्यक छ । विचारबिना हुने एकताको सती जान सकिँदैन । नेताको व्यक्तिगत स्वार्थका लागि जसरी पनि पार्टी एकतामा जानु आन्दोलनको भावनाविपरीत हुन्छ ।'
काठमाडौँ — पार्टी एकता गर्ने निर्णयले माओवादी र एकीकृत समाजवादीमा विग्रह आएको छ । दुई दलबीच एकता हुने भएपछि माओवादी नेता जनार्दन शर्माले लिखित फरक मत राखेका छन् भने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले छुट्टै भेला गरेका छन् ।
एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने नीतिगत निर्णय शुक्रबार नै गरेको छ । शनिबार बसेको माओवादीको केन्द्रीय सचिवालयले पनि एकीकृत समाजवादी, नेकपा समाजवादी, जनसमाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (चिरन पुन) समूहसँगको एकतालाई टुंगोमा पुर्याउने निर्णय गरेको छ ।
यसै सन्दर्भमा जनार्दन शर्मासँग कान्तिपुरका लागि गंगा बीसीले गरेको कुराकानी :
एकीकृत समाजवादीलगायत दलसँग एकता गर्ने माओवादीको निर्णयमा तपाईंको असहमति किन ?
माओवादीको पहिचान छोडेर एकता हुन लागेकाले मैले असहमति राखेको हुँ । केन्द्रीय कमिटीले महाधिवेशन गर्ने निर्णय, प्रतिस्पर्धात्मक रूपमा नेतृत्व चयन गर्ने निर्णय गरेको थियो । यसलाई छल्न एकता गर्न खोजिएको छ । यो एकताले हाम्रो पार्टी जीवन सुदृढ हुँदैन । माओवादी आन्दोलन विघटन हुने दिशामा अघि जान्छ । बरु बृहत् वाम एकता गरेर जानुपर्छ ।
अहिले पनि वाम दलहरूबीच नै एकता हुन लागेको होइन र ?
एक–दुई होइन, बृहत् वाम एकता आवश्यक छ । विचारबिना हुने एकताको सती जान सकिँदैन । नेताको व्यक्तिगत स्वार्थका लागि जसरी पनि पार्टी एकतामा जानु आन्दोलनको भावनाविपरीत हुन्छ ।
हामीले एमालेको दक्षिणपन्थी नीतिविरुद्ध जनयुद्ध गरेको हो । एमाले–माओवादी एकता गरेर बिग्रियो भन्दै माओवादी अघि बढाएको हो । त्यसैले अहिले हुने भनिएको एकताले दीर्घकालीन रूपमा पार्टीलाई हानि हुन्छ ।
बाहिरबाट अरू पार्टी ल्याउँदा नेतृत्वलाई फाइदा होला, पार्टीलाई हुँदैन । यसले क्रान्तिकारी धार कमजोर पार्नेछ र दक्षिणपन्थी अवसरवादलाई बल पुर्याउनेछ । समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकता नितान्त आवश्यक छ । एकताका नाममा गर्न खोजिएको यो आत्मसमर्पणले पार्टीलाई अझ कमजोर बनाउनेछ ।
पार्टी निर्णय परिवर्तन भएन भने अर्को पार्टी बनाउनुहुन्छ ?
जेन–जी आन्दोलनको भावनाविपरीत एकताका नाममा भारी बोकेर जान सकिँदैन । मैले बृहत् वाम अभियान चलाउन अनुरोध गरेको छु । १७ कात्तिकको केन्द्रीय समिति बैठकमा कुरा राख्छु । जनयुद्ध, सहिद परिवार, अरू बलिदानको भावना पूरा गर्ने दायित्व छ । कसरी अघि जाने भन्ने सल्लाह गर्छौं ।
तपाईं एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग सहकार्य गर्न थाल्नुभएको हो ?
सबै आ-आफ्नो दलभित्र छलफलमै हुनुहुन्छ । कुराकानी भइरहेको छ ।
पार्टीभित्रैबाट तपाईंलाई अराजक र अराजनीतिक शैलीमा अघि बढेको आरोप छ नि ?
उहाँहरू पार्टी बनाउने सही कुरा गर्दा अराजक भन्नुहुन्छ । उहाँहरूलाई व्यक्तिगत फाइदा हुने कुरा राम्रो लाग्छ । हतारको एकताले केही नेताको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ । उपयुक्त गृहकार्य, वैचारिक स्पष्टताबिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।
