गजब लाग्छ, सरकार बनेको एक महिना हुन लाग्यो तर दलहरूसँग सामान्य सम्पर्क गर्नेसम्म पनि पहल भएको छैन ।
What you should know
काठमाडौँ — प्रदीप ज्ञवाली, एमाले उपमहासचिव
नागरिक सरकार बनेपछिको अवस्थालाई कसरी हेर्नुभएको छ ?
सरकारले दल र दलका नेतालाई राजनीतिक व्यवहार गरिरहेको छैन । उसले राजनीतिक प्रतिशोध लिन खोजेको देखिन्छ । कोही पनि नेता, कुनै पनि दल कानुनभन्दा माथि छैनन् । हामी त विधिको शासनकै लागि लडेको हो । त्यही व्यवस्था स्थापना गरेको हो । तर यहाँ कंगारु कोर्टको नियम लागू गर्न पाइँदैन । कसैले गलत नै गर्यो भने कानुनले प्रमाणित गर्नुपर्ला । त्यसलाई पुष्टि गर्नुपर्ला, स्थापित होला । त्यसका प्रक्रिया होलान् । यी कुनै विधिमा नगई दलहरूविरुद्ध प्रचार अभियान चलाइएको छ ।
सरकारमा रहेका मान्छेसमेत त्यस अभियानमा संलग्न देखिन्छन् । सरकार दलहरूलाई निषेध गरेर जान खोजेको देखिन्छ । विभिन्न मान्छेले ‘दलहरूलाई बाहिर निस्किनै दिन्नौं, चुनावमा भागै लिन दिन्नौं’ भनिरहेका छन् । एकदमै तालिबानी शैलीका अभिव्यक्ति आइरहँदा सरकारले कुनै रेस्पोन्स गर्दैन । यो गलत हो । कानुनका नजरमा सबै बराबर हुन्छन् भनेर सरकारले बोल्नु पर्दैन ? सरकारले आश्वस्त तुल्याउनु पर्दैन ? यी सबै हेर्दा त चुनाव हुने सम्भावना नै देखिँदैन । चुनाव हुन सबैभन्दा पहिले त दलहरूले निर्भयसाथ विचार लिएर जनताबीच जान पाउने, जनताले निर्भयतापूर्वक मत हाल्न पाउने, निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीले बिना कुनै दबाब कर्तव्य पूरा गर्न पाउने न्यूनतम सर्त होला नि ? यो वातावरण भएन भने निर्वाचन कसरी हुन्छ ?
निर्वाचनका लागि सरकारका तर्फबाट कुनै संवाद भएको छ ?
गजब लाग्छ, सरकार बनेको एक महिना हुन लाग्यो तर दलहरूसँग सामान्य सम्पर्क गर्नेसम्म पनि पहल भएको छैन ।
चुनावी कार्यक्रम बनाउनेबारे केही तयारी भएको छ ?
हामी समग्र पक्षमै छलफल गर्छौं । विघटित संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले प्रतिनिधिसभा विघटन संवैधानिक छैन भनेका छन् । यो भनेको विघटित प्रतिनिधिसभामा रहेका ८० प्रतिशतको आवाज हो । पहिला त त्यसको संवैधानिक परीक्षण होला कहीं न कहीं । यस विषयमा कसैले अदालतमा प्रश्न उठाउलान् । दलहरूले नउठाए पनि अरूले उठाउलान् ।
पहिलो कुरो यो प्रस्ट हुनुपर्ला । दोस्रो, सरकारले निर्वाचनको वातावरण बनाउनुपर्यो । दलहरूलाई निषेध गर्ने, जिस्क्याउने, अपमान गर्ने कार्य तत्काल बन्द गरेर उपयुक्त एउटा वातावरण निर्माण गर्नुपर्छ । अस्तिसम्म पनि दलहरूले प्राप्त गरेको जनमतमा त कुनै परिवर्तन आएको छैन । अब हुने चुनावले त्यो परिवर्तित शक्ति सन्तुलन देखाउला । अर्को शक्ति सन्तुलन नदेखिएसम्म २०७९ को निर्वाचनलाई विश्वास गरेर अगाडि बढ्ने होला नि ।
जेन–जी आन्दोलनपछि दलहरूबीचमा पनि संवाद भइरहेको छ ?
अनौपचारिक कुराकानी भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा घाइते हुनुहुन्थ्यो । बल्ल उहाँ उपचार गराएर निवासमा आउनुभएको छ । तर दलहरू आपसमा सम्पर्कमा छन् । अब दलहरूले साझा धारणा बनाउँछन् । कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ । हाम्रो पनि बैठक बस्दै छौं । त्यसपछि हामी धारणा बनाएर अघि जान्छौं ।
निर्वाचनको तयारीलाई कसरी लिनुभएको छ ?
अहिलेका समग्र घटनाक्रम नियमित निर्वाचन गर्ने र निर्वाचनमार्फत अलिकति लिक बाहिर गएको राजनीतिलाई लिकमा फर्काउने सामान्य कोर्स हुँदै होइन । यो वास्तवमा संविधानलाई निस्तेज पारेर संविधान सिध्याउने र मुलुकले हासिल गरेका जति पनि लोकतान्त्रिक उपलब्धि छन्, तिनलाई सिध्याउने र त्यसमार्फत मुलुकको सार्वभौमसत्तालाई नै प्रभाव पार्ने उद्देश्यले अगाडि बढेको घटनाक्रम हो भन्ने आम मान्छेको बुझाइ छ । त्यो अवस्था होइन भनेर सरकारले कहींकतै विश्वस्त तुल्याउनै सकेको छैन ।
विभिन्न समूहहरूले कसैले छद्म नाममा त कसैले वास्तविक नाममा तिहारपछि घटना घटाउँछौं भनेर विभिन्न ढंगले धम्की दिइरहेका छन् । त्यसैले मान्छे एकदम सन्त्रस्त छन् । त्यो सन्त्रस्त अवस्थाबाट मान्छे बाहिर आउनुपर्थ्यो । त्यसका लागि २३ र २४ भदौका दुइटै घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषी कारबाहीको दायरामा पर्छन्, विध्वंस मच्चाउनेले कोहीकतैबाट पनि उन्मुक्ति पाउँदैन भन्नेमा सरकारले आश्वस्त तुल्याउन सक्नुपर्थ्यो । तर सरकार उल्टो बाटोमा लाग्यो । २४ भदौको घटनामा संलग्न दोषीलाई पुलिसले कति दुःख गरेर पक्राउ गरेर ल्यायो, तर मौका पारेर भटाभट छाडियो । अहिले त झन् उनीहरूलाई कारबाही गर्न पाइँदैन भन्न थालियो । यस्तो अवस्थामा निर्वाचन हुन्छ, सामान्य लयमा राजनीति फर्किन्छ भन्ने विश्वास कसैलाई पनि छैन ।
विश्वास हुनका लागि त सरकारले भन्नुपर्थ्यो, ‘हामी एउटा विशेष अवस्थामा आयौं, हाम्रो उद्देश्य अरु छैन, हामीले लोकतन्त्रलाई लयमा फर्काउने हो, त्यसका लागि हामी काम गरिरहेका छौं, राजनीतिक दलहरू आउनुस्, सबै मिलेर देशलाई सम्हालौं ।’ तर सरकारको न सन्देश छ, न त्यस खालको व्यवहार । यसले चुनाव हुन्छ, चुनाव भए पनि त्यो निष्पक्ष र भयरहित हुन्छ भन्नेमा कसैलाई विश्वासै छैन ।
![”An election environment is not created by banning parties” [interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/pradeep-gyawali-2522023023029-1642025030000-1000x0.jpg&w=1001&h=0)