निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सरकार तयार छ : सञ्चारमन्त्री [अन्तर्वार्ता]

'सम्पूर्ण राजनीतिक दल र नेपाली जनता निर्वाचनका लागि तयार छन् भन्ने सरकारको बुझाइ छ । यसले निर्वाचनको माहोल सिर्जना गरेको छ ।'

आश्विन २१, २०८२

कान्तिपुर संवाददाता

Government is ready to conduct fair and rigged elections: Minister of Communications [Interview]

What you should know

अन्तरिम सरकारले २१ फागुनमा निर्वाचनको मिति तोकिसकेको छ । राजनीतिक दलभित्र भने संसद् विघटन, अन्तरिम सरकार गठन र चुनावी घोषणालाई कसरी लिने भन्ने वैचारिक दृष्टिकोणमा प्रस्टता नहुँदा अलमल लम्बिँदै गएको छ ।

राजनीतिक दलहरूसँग सरकारले औपचारिक संवाद भने गरेको देखिएको छैन । यही सन्दर्भमा सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलसँग कान्तिपुरले गरेको संक्षिप्त कुराकानी :

निर्वाचनका लागि अन्तरिम सरकार गठन भएको हो, तयारी के कस्तो छ ? 

यो सरकारको गठन नै निर्वाचन गर्ने उद्देश्यले भएको हो । निर्वाचनका ‘स्टेक होल्डर’ राजनीतिक दल पनि हुन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकार गठन गर्दा नै २१ फागुनमा निर्वाचनको मिति तोकिएको छ । सरकारको मूल म्यान्डेड सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र तोकिएको अवधिमा निर्वाचन गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने हो ।

आन्दोलनका क्रममा जनधनको क्षति र जेन–जी आन्दोलनका क्रममा भएको बल प्रयोगको छानबिन गर्ने जिम्मेवारी पनि सरकारलाई छ । सरकारले बाढीपहिरोको विपत्तिमा राहत, पुनःस्थापनालगायत कामको जिम्मेवारी पाएको छ । मौसमजन्य विपत्तिका क्रममा नागरिकको सहयोगमा सरकार राम्रै काम गर्न सफल भएको छ ।

सानो आकारको मन्त्रिपरिषद् बनाएपछि निर्वाचन आयोगसँग निरन्तर छलफल चलिरहेको छ । राष्ट्रपतिले निश्चित मिति नै तोकेर सरकार गठन गरेकाले निर्वाचन आयोगसँग समन्वय गरेर सरकारले काम गरिरहेको छ । सुरुदेखि नै सरकारले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सरकार तयार छ । निर्वाचन आयोग र सरकार दुवैले आ–आफ्ना स्थानबाट तयारी गरिरहेका छन् ।

राजनीतिक दलहरूसँगको संवाद भने औपचारिक रूपमा भएको देखिएको छैन, अनौपचारिक रूपमा केही भइरहेको छ कि ?

सम्पूर्ण राजनीतिक दल र नेपाली जनता निर्वाचनका लागि तयार छन् भन्ने सरकारको बुझाइ छ । निर्वाचन आयोगले छुटेका मतदाता र युवालाई नामावली दर्ता गराउने समय दिएको छ । यसले निर्वाचनको माहोल सिर्जना गरेको छ ।

सरकारले भोट हाल्न योग्य नागरिक नछुटुन् र भोट हाल्ने वातावरण बनोस् भनेर नै अध्यादेश ल्याएर केही कानुन संशोधन गरेको छ । विदेशमा रहेकालाई पनि मतदानको अधिकार दिनेबारे अध्ययन भइरहेको छ । सरकारका तर्फबाट गर्नुपर्ने सबै तयारी क्रमशः अगाडि बढेको छ । सरकारलाई विश्वास छ— राजनीतिक दलहरूले पनि त्यही रूपमा काम गरिरहेका छन् ।

निर्वाचन आयोगले एउटा नेतृत्व लिनुपर्ने हो, त्यो लिएकै छ । सरकारले पनि त्यसका लागि तयारी गरिरहेको छ । निर्वाचनमा सबैले भाग लिने हो, सरकारले त्यो खालको वातावरण बनाउँछ ।

कान्तिपुर संवाददाता

Link copied successfully