गृहमन्त्री अर्याल भन्छन्- विपद्‌मा नागरिकको पनि प्रशंसायोग्य सक्रियता देखियो [अन्तर्वार्ता]

गृहमन्त्री अर्याल भन्छन्- यो विपद्को समयमा सरकार मात्र होइन, नागरिकको पनि प्रशंसायोग्य सक्रियता देखियो । सबैले सरकारलाई साथ दिनुभयो । यसमा जेन–जीको पनि ठूलो साथ छ । विज्ञहरूको सल्लाहअनुसार मन्त्रिपरिषद्को बैठक बसेर तयारी गरिएको थियो ।

आश्विन २०, २०८२

जयसिंह महरा, दुर्गा दुलाल

Home Minister Aryal says - commendable activism of citizens was also seen in the disaster [Interview]

What you should know

यस वर्षको मनसुनले असोजको अन्त्यतिर अप्रत्याशित रूपमा भारी वर्षा ल्याएर ठूलो धनजनको क्षति भयो । मौसम सफा रहनुपर्ने महिना भए पनि लगातार दुई वर्ष उही समयमा ठूलो वर्षा भएको छ र जनधनको क्षति हुन पुगेको छ । त्यसो त सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सरकारले निकै सक्रियता देखायो ।

जनधनको क्षति भए पनि सरकारको सक्रियताले प्रशंसा पाइरहेको छ । सरकारको पूर्वतयारी र मनसुनमा अकस्मात् आएको सक्रियताका विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग दुर्गा दुलाल र जयसिंह महराले गरेको कुराकानी :

भारी वर्षा हुने र विपद् निम्तिन सक्ने पूर्वानुमानबीच सरकारले कसरी काम गर्‍यो ?

राज्यले गर्नुपर्ने दायित्व पूरा गरिएको हो । यो नागरिकको सरकार र अभिभावक सरकार भएकाले त्यही मान्यतालाई केन्द्रमा राखेर तयारी गरेका थियौं । केही दिनअघि विज्ञहरूले मौसमको पूर्वानुमान गर्नुभयो । त्यसपछि सरकारले तयारी थालेको थियो । नागरिकस्तरबाटै जसले वर्षौंदेखि विपद्मा काम गरेर गर्नुभएको छ, उहाँहरूको सुझावअनुसार पनि काम गर्न थालेका थियौं । गृहमन्त्रीका रूपमा मैले नेतृत्व गरें होला तर प्रधानमन्त्री सुशीला कार्की, ऊर्जामन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनालसहित सबै टिमकै कामका कारण नतिजा देखिएको होला ।

सरकारमातहतका निकायबीच कसरी समन्वय कायम गर्नुभयो ?

यो विपद्को समयमा सरकार मात्र होइन, नागरिकको पनि प्रशंसायोग्य सक्रियता देखियो । सबैले सरकारलाई साथ दिनुभयो । यसमा जेन–जीको पनि ठूलो साथ छ । विज्ञहरूको सल्लाहअनुसार मन्त्रिपरिषद्को बैठक बसेर तयारी गरिएको थियो ।

गृह मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन प्राधिकरणले पहिलेदेखि नै सबै पक्षको विश्लेषण गरेरै बसेको थियो । हाम्रो संयन्त्र तयारी अवस्थामा भएका कारण अवस्थालाई नियन्त्रणमा लिन र काम गर्न सहज भयो । मन्त्रालयका सचिवदेखि प्राधिकरण र अन्य मन्त्रालयका बीचमा राम्रो समन्वय भयो ।

विज्ञहरूले सुझाव दिएलगत्तै मैले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरूसँग जुम मिटिङ गरेको थिएँ । आवश्यक परे सबै संयन्त्र परिचालन गरेर नागरिकको जीवन रक्षाका लागि लाग्न स्वतन्त्र छोडेको थिएँ । जो जिम्मेवारीमा हुनुहुन्थ्यो, उहाँहरूको मिहिनेतमा हामीले बल मात्र गरेका हौं ।

सुरक्षा निकायका प्रमुख, नेपाली सेनाको विपद् हेर्ने निकाय, ऊर्जा मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागको पनि सक्रियता देखियो । यस्तै कारण नागरिकलाई समयमै सजग गराउन सफल भयौं । समयमै हामीले राजमार्गमा आवागमन रोक्न सफल भयौं । जसले गर्दा सम्भावित ठूलो क्षतिबाट हामी बचेका छौं ।

नीतिगत निर्देशनदेखि आवश्यक सबै संयन्त्र र जनशक्ति परिचालन गरिएको थियो । विपद् प्राधिकरणदेखि सुरक्षा निकायहरू तयार अवस्थामै रहेको जानकारी पाएको थिएँ । राहत र उद्धारका लागि सशस्त्र प्रहरी, नेपाली सेना अनि विपद् आउनुअघिको जनचेतनाका लागि स्थानीय तहको परिचालनमा हामी सफल नै देखिएका छौं ।

तयारी गरिरहेकै अवस्थामा पूर्वानुमानअनुसार देशभरि नै ठूलो वर्षा भयो । त्यसपछि सबै संयन्त्रहरू एकै पटक सक्रिय पनि भए । हामी पनि रातभर गृह मन्त्रालयमै रहेर अनुगमनदेखि आवश्यक स्थानमा निर्देशन दिने गरिरहेका थियौं । विपद् व्यवस्थापन प्राधिकरणदेखि जिल्ला र स्थानीय तहका संयन्त्रहरू पनि सक्रिय भए । नागरिकस्तरमा पनि उद्धारमा सक्रियता देखाउने काम भयो । सचेतना जगाउने काममा पनि सबैको साथ रह्यो । हामीले राजमार्ग बन्द गर्दा सबैले पालना गर्नुभयो । यसरी गृह मन्त्रालय मात्र होइन, सरकार अनि जनता सबै सक्रिय भएको अवस्था हो । 

सरकार चलाएको अनुभव नभएका तपाईंहरूलाई यस्ता काम गर्न कतिको सहज हुँदोरहेछ ?

हामीले राज्यले गर्नुपर्ने काम गरेका हौं । राज्य संयन्त्रभित्र रहेका निकायहरूलाई सक्रिय गराई परिचालन गरेका हौं । अहिलेको परिस्थिति र अवस्था विगतभन्दा फरक पनि थियो । अहिले राजनीतिक रूपमा द्वन्द्व बढिरहेको अवस्था थियो । नागरिकमा अविश्वास बढिरहेको थियो । शान्ति अशान्तिमा परिणत हुने हो वा सुरक्षा चुनौती आउँछ कि भन्ने चिन्ता छँदै थियो । सरकार यही चिन्ताकै बीच बनेको हो । यो चिन्ता सँगसँगै विपद्को चेतावनी थपिएको हो । विपद्ले मानवीय संकट पनि थप्छ कि भन्ने चिन्ता सरकारलाई थियो । राजनीतिक अवस्था पनि अनुकूल नभएको अवस्था छ ।

चाडपर्वका बेला भएकाले नागरिकले यात्रा गरिराख्नुपर्ने अवस्था भएका कारण पनि उच्च जोखिम थियो । सानो गल्तीले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था थियो । धेरै आवतजावत हुने समयमै ठूलो विपद् आउने सूचना आउनु झन् ठूलो चुनौती थियो । समस्याहरू झन् बढ्ने र नागरिकको उचित सुरक्षा नहुने हो कि भन्ने चिन्ता गृहमन्त्रीका रूपमा मलाई झन् धेरै थियो । चिन्तासँगै कर्तव्यबोध पनि थियो । सहजीकरण र समन्वयका लागि गृह मन्त्रालयको नेतृत्वका रूपमा मेरो भूमिका देखियो होला तर समग्रमा प्रधानमन्त्रीसहित सम्पूर्ण टिमले नै काम गरेको हो ।

सुशासन र निर्वाचनको जिम्मेवारी पाएको सरकार हो । यद्यपि, जनता विपद्मा पर्दा हामीले त्यहीअनुसारको तयारी गर्नुपर्ने चुनौती पनि थियो । राज्य शक्तिमा रहेका सबैसँग क्षमता छ र थियो । त्यसलाई प्रकट, समन्वय र सहकार्य गरौं भनिएको मात्रै हो । अहिले जनताको सेवा गरेर इज्जत प्रतिष्ठा कमाउने बेला होइन, सद्भाव बटुल्ने समय हो भनेर काम गरेका हौं । यस्तो समयमा जनतालाई राज्य भएको अनुभूति दिनुपर्ने सोचेका हौं । राज्य शक्तिको प्रयोग गरेर हैकम चलाउने होइन, नागरिकको विश्वास जित्ने, सहकार्य गर्ने र सुशासन कायम गर्ने सोचका साथ काम गरेका छौं ।

यो सरकार आएकै सुशासनका लागि हो । जनतामा सेवा प्रवाहका लागि हो । शान्तिसुरक्षा कायम गर्दै निर्वाचन गर्नु सरकारको प्रमुख दायित्व हो । सुशासन दिन सकिएन, सेवा प्रवाह दिन सकिएन भने विगतका सरकार र अहिलेको सरकारका बीचमा के फरक भयो र ? शान्तिसुरक्षा दिन पनि सकिएन भने र जनतामा अविश्वास मात्रै बढ्दै गयो भने निर्वाचन त हुन सक्दैन । त्यसैले निर्वाचन त सरकारको प्राथमिक दायित्व नै हो । त्यस कारणले हाम्रो काम चुनावसम्म पुग्ने प्रस्थान बिन्दु हो ।

यसबीचमा अरू बेलाभन्दा बढी स्वयंसेवी भावना जागृत भएको पाएका छौं । जनता यसरी जागेर सरकारलाई सहयोग गर्ने हो भने झन् छिटो सफल हुन सकिन्छ । यो सरकार जनताको सेवक सरकार हो । अभिभावक सरकार हो । यही मान्यताबाट विपद् र अन्य कारणले जनताको रगत बग्न दिन हुँदैन भनेर हामीले काम गरेका थियौं ।

एक जना पनि नागरिकले सरकारको लापरबाहीका कारण ज्यान गुमाउन हुँदैन भन्ने हाम्रो मूल मान्यता थियो । तर यत्रो तयारी गर्दा पनि केही ठाउँमा दुःखद घटनाहरू भएका छन् । पहिरो, सडक दुर्घटनालगायतका कारण केही नागरिकहरूले ज्यान गुमाउनुपर्‍यो । यसमा सरकार दुःखी छ । हामी भर्खर विद्रोहमा युवाहरूको ज्यान गएको देखेर आएका छौं । अब थप क्षति हुनु हुँदैन भन्ने मान्यता राखेर सरकारले तयारी गरेको थियो । यसै कारण नागरिकमा मानवीयताको भावना जागृत भएको पाइएको छ ।

अघिल्लो वर्ष असोजमै भारी वर्षा, बाढी र पहिरोले गर्दा करिब २ सय जनाले ज्यान गुमाए । यस पटक पनि क्षति त भएको छ तर अघिल्लो वर्षको जति हुन पाएन । तत्कालीन सरकार र यस सरकारको कामकारबाहीमा के फरक रह्यो ?

अघिल्लो सरकारसँग शासकीय दम्भ थियो । त्यो शासक सरकार थियो । यो अभिभावक सरकार हो । हामीले नागरिकको सेवालाई केन्द्रमा राखेर तयारी गरेका हौं । हाम्रो बलियो पक्ष भनेकै मन्त्रिमण्डलमा जो हुनुहुन्छ, उहाँहरूको आफैं नागरिक भएर केही गरौं भन्ने पवित्र भावना लिएर आएका कारण हो । त्यसपछि हाम्रो कार्य सम्पादन पनि असल भएका कारण नागरिकले सार्वजनिक रूपमा र सामाजिक सञ्जालमा प्रशंसा गरेको हो भन्ने लाग्दछ । सरकारमा रहेका मन्त्रीसँग केही गरौं भन्ने भावना र इमानदारिताबाहेक अरू त के थियो र ?

हामी जनमतबाट चुनिएर आएका मानिस थिएनौं । हामीसँग कुनै संख्या थिएन । यति मान्छे हामीसँग छन् भन्ने दम्भ पनि थिएन । हाम्रो ‘लेजिटिमेसी’ भनेकै ‘पर्फर्मेन्स’ थियो । यो विपद्मा हामीलाई असफल हुने छुट पनि थिएन । यसै कारण पनि हामी सफल पो देखिएका हौं कि । यो सरकारले नागरिकसँग सहकार्य गर्नैपर्ने थियो, त्योचाहिँ गरेको छ । यो सरकार असफल भएको भए देशसँग अर्को विकल्प पनि थिएन ।

यो सरकार हामी सबैको सरकार हो । सहकार्य गरेर काम गर्ने सरकार हो । नागरिक र सरकारबीचको सहकार्यमा यसले विश्वास गर्छ । यसको जस पनि नागरिकलाई नै दिन्छ । त्यसैले गत वर्ष र अहिलेको नेतृत्वको बीचमा र विचारधाराको विषय नै अलग छ । यसको संस्कारै अलग छ ।

इलाममा ठूलो क्षति भएको छ यस पटक । किन त्यस्तो भयो ? सरकारको विश्लेषण के छ ?

त्यहाँ ठूलो पहिरो जाने कल्पना गरिएको थिएन । इलाम ठूलो पहिरोको जोखिम नभएको जिल्ला थियो । पहिले पनि इलाममा कमै पहिरो जाने गरेको थियो । त्यो क्षेत्र सुरक्षित नै छ भन्ने बुझाइ थियो । त्यस्तै सामान्यतया पहिरो कत्रो जान्छ र कसरी जान्छ भन्ने पूर्वसूचना हुँदैन । जान सक्ने सूचना हुन सक्ने तर ठाउँ नतोकिने भएकाले नचाहेर पनि क्षति बेहोर्नुपर्ने हुन्छ । पानी एक्कासि इलाम क्षेत्रतिर केन्द्रित भएपछि अनुमान नै नगरेको क्षति बेहोर्न बाध्य भयौं ।

इलाममा जे भयो, दुःखद भयो । जीउधनको सुरक्षा तथा उद्धारमा गृह मन्त्रालय र अन्य संयन्त्रहरू तदारुकताका साथ लागेको छ । मैले कुनै पनि कमी नगरी उद्धार र राहतको काम गर्न भनेको छु । आवश्यक परेमा हेलिकोप्टर मगाएर पनि उद्धार गर्ने अनुमति सीडीओलाई दिएको छु । विपद् व्यवस्थापन प्राधिकरणसँगै हाम्रो सुरक्षा अंगहरू एकदमै अलर्ट अवस्थामा छन् । जुन दुःखद घटनाहरू घटिसके, त्यो सरकारको पनि काबुभन्दा बाहिरको परिस्थिति भयो । अब घटना भएको स्थानमा उद्धारका लागि सरकार २४ सै घण्टा अलर्ट छ । 

कर्मचारी संयन्त्रको सक्रियतादेखि अन्तरमन्त्रालय समन्वय चुस्त देखियो । कसरी सम्भव भयो ?

एउटा गतिमा काम गरेपछि कुनै अस्वस्थ प्रतिस्पर्धा भएन । कसैलाई राजनीतिक जस लिनु पनि थिएन । सायद यही कारण सरकारका सबै मन्त्रालय र निकायबीचमा राम्रो समन्वय भयो । मूल दायित्व गृह मन्त्रालय र मातहतको प्राधिकरणको थियो । त्यसले नेतृत्वदायी भूमिका खेल्यो भने अन्यले साथ दिए । सुरक्षा अंगहरू परिचालन भए ।

राज्यका सबै निकायहरूले आफूले गर्नुपर्ने दायित्वहरू पूरा गर्न तदारुकता देखाए । समयमै सबैले सक्रियता पनि देखाए । जस्तो– ऊर्जा मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले हामीलाई पूर्वअनुमानको आधिकारिक सूचना बेलैमा दियो, जसका कारण हामीले सबैतिर सतर्कता अपनाउन सक्यौं । निजी क्षेत्रबाट विज्ञहरूले पनि साथ दिनुभयो । सबै एउटा भावनाले गाँसिए । स्वाभाविक रूपमा काम गर्न कतिपय स्वतः सक्रिय भए, कतिपयलाई सक्रिय पनि गराइयो ।

 अहिलेको तयारी र अनुभवले आगामी दिनका लागि कस्तो पाठ सिकाउला ?

यो वर्षको ठूलो वर्षा त लगभग सकियो । आगामी बर्खाका लागि अहिले नै तयारी गर्नुपर्ने देखिन्छ । सबै कुरा एकै पटक हुँदैन, तयारीका लागि समय लाग्छ । समय लाग्ने कामको तयारी जति बेला पर्‍यो, त्यही बेला गर्दा ढिलाइ हुन्छ । कतिपय कुरा गर्दै सिक्ने हो । सबै विज्ञ नहुन सक्छन्, यसलाई विस्तार गर्दै र बनाउँदै जाने हो । कतिपय कुरामा विज्ञ हुनुहुन्छ ।

राज्यभन्दा बाहिर रहेका पनि छन् । संयन्त्रभन्दा बाहिर भएकाबाट पनि परामर्श लिनुपर्छ । यो समयमा हुन जरुरी छ । अन्तिम समयमा लिएर त हुँदैन । कतिपय संघसंस्थाहरूसँग पनि दसौं वर्षको अनुभव हुन्छ । जुन हाम्रा संयन्त्र जन्मनुभन्दा अगाडिदेखि नै विपद्मा काम गरेको हुन सक्छ । त्यस कारणले सहकार्य हुनुपर्छ । हामीले यही कुरामा केन्द्रित भएर तयारी गरेका थियौं ।

 विपद् प्राधिकरणको बैठकमा सुदन गुरुङको सहभागीलाई लिएर आलोचना भइरहेको छ । गैरसरकारी व्यक्तिले सरकारी व्यक्तिलाई निर्देशन नै दिने काम कसरी भयो भनेर प्रश्न उठेको छ । यसलाई नेपाल सरकार र गृह मन्त्रालयले कसरी हेरिरहेको छ ?

शनिबार विपद् प्राधिकरणमा बैठक थियो । त्यहाँ उनलाई पनि बोलाइएको थियो । विपद्को सम्बन्धमा उनको विज्ञता भएकाले बोलाइएको हो । अरूभन्दा उनको बढी विज्ञता छ । त्यसैको उपयोग गर्ने उद्देश्यले राखिएको छलफलमा उनले आफ्ना कुरा राखेका रूपमा सरकारले लिएको छ । जोसँग बढी अनुभव छ, त्यसलाई सरकारले ग्रहण गर्छ । उनले निर्देशन दिएको होइन ।

तत्काल परिपूर्ति गर्नुपर्ने प्राथमिकताहरू के हुन् भनेर नागरिक र जेन–जीका प्रतिनिधिहरूसमेतलाई राखेर छलफल पनि गरिएको थियो । त्यहाँ उनले मात्र होइन, अरूले पनि आफ्ना कुरा राखेका थिए । सुदन गुरुङसँग १० वर्षको अनुभव छ । उनले चलाएको संस्थाले यही क्षेत्रमा काम गरेकाले उनले आफ्ना कुरा राखेका हुन् । कतिपय कार्यक्षेत्रमा खटिने मान्छेहरू, जो ‘एक्सन ओरिन्टेड’ हुन्छन्, उनीहरूको बोली र स्वभाव पनि त्यहीअनुसारको हुन्छ ।

उनको स्वभाव, बोली, व्यवहार अलि फरक भएका कारण पनि यस्तो लागेको हुन सक्छ । अरू बेला पनि उनले त्यसैगरी आफ्ना कुरा राख्ने गरेकाले यसलाई विवादमा ल्याउनुपर्ने देखिँदैन । आफ्नो विज्ञताको क्षेत्र भएकाले उनले सुझाव दिएका हुन्, त्यसमा विपद् व्यवस्थापन प्राधिकरण कार्यालयले अन्यथा लिएको छैन । त्यसैले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा आलोचनाको विषय बन्नुपर्छ जस्तो लाग्दैन ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully