विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै बदल्छ : गुरुराज घिमिरे

हामी पार्टी विभाजनका लागि होइन, विषम राजनीतिक परिस्थितिमा पार्टीले कस्तो बाटो लिने र जेनजी आन्दोलनको माग र आकांक्षालाई कसरी सम्वोधन गर्ने ? कस्तो नेतृत्व अगाडि सार्ने भन्ने बिषयमा छलफल विशेष महाधिवेशनका कुरा गरेका हौं । कार्यकर्ताले जनतासामु जवाफ दिन सक्ने गरी अगाडिको बाटो तय गर्नुपर्छ ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

Special Congress changes both policy and leadership: Gururaj Ghimire

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले कांग्रेस र एमालेको बलियो सत्ता विस्थापित गर्नुको साथै संसद् विघटन र नयाँ निर्वाचिनको मिति तोकिसकेको अवस्थामा कांग्रेसभित्र तत्काल नेतृत्व बदल्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि तीव्र दबाव छ। नेता शेखर कोइराला समेत तत्कालै नेतृत्व परिवर्तनको पक्षमा छन्। तर सभापति शेरबहादुर देउवा भने तत्कालै महाधिवेशनको पक्षमा देखिदैनन्। 

कोइराला र महामन्त्रीद्वयनिकट युवा नेताहरूले तत्कालै नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान थालेका छन्। हस्ताक्षर संकलन अभियान चलाउन सक्रिय युवा नेता गुरुराज घिमिरेसँग गरिएको संक्षिप्त कुराकानी : 

नियमित महाधिवेशननै गर्नुपर्ने बेलामा तपाईहरूले किन विशेष महाधिवेशनको माग राख्नु भएको हो ?

नियमित महाधिवेशन सम्भव छैन। किनभने त्यसका लागि धेरै प्रक्रिया बाँकी छन्। ०८२ मंसिरमा नियमित महाधिवेशन गर्ने भए एक वर्षअघि नै तयारी सुरु भइसक्नुपर्थ्यो। फास्ट ट्रयाकबाट सुरु गरेपनि ६ महिनाभित्र सम्भव छैन । क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण बाँकी छ, वडा अधिवेशन र विदेशका जनसम्पर्क समितिका अधिवेशनहरू पनि बाँकी छन्। भदौ २३ र २४ पछिको राजनीतिक परिस्थितिलाई टालटुले समाधानले अब सम्हाल्न सकिँदैन ।

हाम्रा नीति र निर्णयले यो अवस्था आएको हो कि? हामी आफैँ जिम्मेवार छौं कि ? यावत् बिषयमा छलफल आवश्यक छ । अर्कोतर्फ आगामी मंसिरबाट पार्टी पदाधिकारी र सदस्यहरुको कार्यकाल सकिँदै छ। यी विषयमा गहन छलफल गर्न विशेष महाधिवेशन आवश्यक छ। विधानको धारा १७(२) अनुसार केन्द्रीय कार्यसमिति आफैँले वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरमा विशेष महाधिवेशन बोलाउन सकिन्छ ।

२०१४ सालमा एकपटक विशेष महाधिवेशन बोलाएको उदाहरण छ । अहिलेको राष्ट्रिय परिस्थिति, भ्रष्ट्राचार र कुशासनको प्रश्न छन् । लोकतन्त्र र संविधान रक्षा गर्न नसकेको भनेर हामीमाथि प्रश्न छ । यी लगायतका विषयमा छलफल आवश्यक छ । त्यसका लागि विशेष महाधिवेशनको विकल्प देखिदैन ।

विधानका धारा निलम्बन गरेर भएपनि मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिन्छ, विशेष महाधिवेशन आवश्यक छैन भन्ने तर्क पनि आइरहेको छ नि ?

नियमित महाधिवेशन गर्ने हो भने १४ औं महाधिवेशनका प्रतिनिधिहरूले भोट दिन कानूनी प्रवन्ध गरिनुपर्छ । संक्रमणकालीन अवस्था जनाएर अधिवेशनका लागि बाधा पर्ने धारा निलम्बन गरेर गर्न सकिन्छ । त्यसका लागि पार्टी नेतृत्व र केन्द्रीय कार्यसमितिको इच्छा शक्ति हुनुपर्‍यो। 

विशेष महाधिवेशन नेतृत्व बदल्नका लागि मात्रै हुने हो कि, अरु एजेण्डा पनि समावेश हुन्छन् ?

अहिलेको विषम राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने? यो अवस्था कसरी आयो? यसमा हाम्रा नीति, कार्यशैली वा पात्र को जिम्मेवारी छ ? सरकारले निर्वाचन गर्छ कि गर्दैन ? यस विषयमा आम नेता कार्यकर्ताले भनेर भनेर जाने ? अब पार्टीले लिने नीति कस्तो हुने ? हाम्रा कार्यशैली कस्तो हुने ? यी सबैमा छलफल हुन्छ । विशेष महाधिवेशनले नेतृत्व र नीति दुवै परिवर्तन गर्छ र आगामी बाटो तय गर्छ ।

हस्ताक्षर अभियान कहाँसम्म पुगेको छ ?

औपचारिक रुपमा सोमबार रिर्पोटर्स क्लबबाट हामीले हस्ताक्षर अभियानको घोषणा गरौँ । एजेण्डा र हस्ताक्षरका लागि फारम तयार पार्ने केही प्राविधिक कारणले ढिलाई भयो । बुधबारदेखि देशभर सुरु भइरहेको छ । नयाँ हलचल ल्याएको छ । कोजाग्रत पूर्णिमाअघि नै चालिस प्रतिशतको हस्ताक्षर पुर्‍याएर केन्द्रीय कार्यसमितिमा निवेदन दर्ता गर्ने योजनामा छौं ।

महाधिवेशन बोलाउन आवश्यक चालिस प्रतिशत हस्ताक्षर पुर्‍याउन सक्नुहुन्छ त ?

हामीले ४० प्रतिशत होइन, दुई तिहाईनै पुग्छ भन्ने अनुमान छ । नभएपनि साठी प्रतिशत कट्छ ।

यो मुद्दामा महामन्त्री गगन थापा र शेखर कोइराला एकैठाउँमा आउनुहुन्छ कि फरक विचार हुन्छ ?

विचारमा मत भिन्नता छैन । शेखर दाईले पनि केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशन बोलाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । हामीलाई पनि केन्द्रीय कार्यसमितिले निर्णय गरेर बोलाइदिए अझ राम्रो हुन्छ भन्ने लागेको छ । तर, बोलाएन भने तपाईहरको सजिलोका लागि हामीले चालिस प्रतिशत हस्ताक्षर गरेर बुझाइदिएका छौँ, अब बोलाउनुहोस् भन्न सहज हुन्छ ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानलाई पार्टी विभाजनको प्रयास भनिएको छ, के भन्नुहुन्छ?

यो गलत हो। हामी पार्टी विभाजनका लागि होइन, विषम राजनीतिक परिस्थितिमा पार्टीले कस्तो बाटो लिने र जेनजी आन्दोलनको माग र आकांक्षालाई कसरी सम्वोधन गर्ने ? कस्तो नेतृत्व अगाडि सार्ने भन्ने बिषयमा छलफल विशेष महाधिवेशनका कुरा गरेका हौं । अहिलेको अवस्था आउनुको कारण के हो ? हाम्रा नीति, कार्यशैली वा पात्र को जिम्मेवार हो ? यस्ता प्रश्नको जवाफ महाधिवेशनमार्फत खोज्नुपर्छ। कार्यकर्ताले जनतासामु जवाफ दिन सक्ने गरी अगाडिको बाटो तय गर्नुपर्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully