एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँगको कुराकानी
What you should know
काठमाडौँ — एमालेको २०७८ मंसिरमा भएको दसौं महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्न उठाउने नेता कारबाहीमा परेका छन् । जसका कारण फरक मत राख्ने नेताहरूको अभाव हुँदै आएको छ । पछिल्लो समय पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउन थालेपछि नेताहरूले ओलीको कार्यशैलीमाथि प्रश्न गर्न थालेका छन् । के एमालेमा फरक मत निषेध गरिएको हो ? यसबारे ईकान्तिपुरले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग गरेका कुराकानी ।
एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन किन रोकियो ?
विद्या भण्डारीले पार्टीमा सरसल्लाह गर्नुभएन । पहिले अध्यक्षसँगै मिलेरै राजनीति गर्नुभएको हो । एकैचोटि उहाँको सदस्यता विवादमा परेपछि राम्रो भएन । सम्मानित व्यक्ति सक्रिय राजनीतिमा आउन हुँदैनथ्यो ।
पछिल्लो समय फरक मतलाई निषेध गरिएको माननुहुन्छ ?
पार्टीमा फरक मत राख्नुपर्छ । राख्न पाउनुपर्छ । नेताहरुले आफ्नो मत राख्न डराउनु हुन्न । पार्टीभित्र आफ्नो कुरा राख्न नपाए बाहिर छरपस्ट हुन्छ । मूल नेतृत्वले फरक विचार राख्न सहज बनाइदिनुपर्छ । पार्टीमा राजनीतिक वैचारिक जति छलफल भयो, त्यति राम्रो हुन्छ । पार्टीलाई बलियो बनाउन पनि फरक मत आवश्यक पर्छ ।
तर पछिल्लो समय फरक मत राख्यो कि कारबाहीमा पर्ने डर छ ?
नेपालका कम्युनिस्ट पार्टीहरुको राजनीतिक नेतृत्व अलि वैचारिक भएन । पद्धति, प्रणाली स्थापित भएन । गुटगत प्रवृत्ति बढी भयो । नेतृत्व संकर्ण सोच हटाउनुपर्छ । त्यसपछि मात्र पार्टी प्रणाली बलियो हुन्छ । पार्टी विशाल संगठन हो । सबैलाई आत्मगौरव हुने वातावरण हुनुपर्छ । अहिले पार्टी सामु धेरै चुनौती छन । गर्नुपर्ने काम विशाल छन् । अनुदार भएर पार्टी विशाल हुन सक्दैन । पार्टीभित्र बोल्न पाएन भने लोकतन्त्रको अर्थ रहदैन । हामीमा अझै सामान्ति चिन्तन बाँकी छ । पार्टीमा लोकतान्त्रिक संस्कार विकास गरेर जानुपर्छ । त्यसले पार्टी झन् बलियो बनाउँछ ।
