नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालसँग गरिएको कुराकानी ।
काठमाडौँ — नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाले एमाले विभाजन गरी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएपछि विवाद चुलिएको छ । यही अभिव्यक्तिका कारण खनाललाई ‘स्पष्टीकरण’ सोध्ने तयारी छ । अध्यक्ष माधव नेपाललाई भ्रष्टाचार मुद्दा दायर भएपछि नैतिकताको प्रश्न उठेको छ । नेपालमाथि प्रश्न उठाएपछि खनाललाई कारबाही हुन लागेको हो ? यसबारे ईकान्तिपुरले समाजवादी उपाध्यक्ष बेदुराम भुसालसँग गरिएको कुराकानी ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले फुटाउनुको औचित्य साबित भएन भन्नुभएको छ नि ?
उहाँले यो पार्टी बनाउनु भूल थियो भन्नु कति जायज छ? मैले भनेअनुसार मान्नुपर्छ भनेर हुन्छ र ? उहाँले गरेको कुरा कुन विधिअनुसार भयो त ? पार्टी कमिटीमा नरोखेर पार्टी बनाउनु गलत थियो भन्नु नैतिकता हो त ? उसो भए के गर्दा पुष्टि हुन्थ्यो ? ठूलो पार्टी भएर मात्र हुने औचित्य पुष्टि हुने हो र ? महाधिवेशनमा राजनीतिक दस्ताबेज सर्वसम्मत तरिकाले पास भएको हो । त्यसबेला चुप बस्नुभयो । त्यतिबेला माधव नेपालको नेतृत्वमा चल्नुपर्छ भन्नुभएको हो । झलनाथजीले समर्थन गर्ने मान्छे जुटाएर नेतृत्व लिन सक्नुपर्थ्यो नि । पार्टी बनाउनुको औचित्य छैन भनेर हिँड्ने हो भने गम्भीर विषय बन्छ ।
अध्यक्ष नेपालको अनुदारवादी शैलीका कारण झलनाथ खनाल असन्तुष्टि हुनुभएको हो ?
हामीले नेतृत्वका लागि महाधिवेशनमा खुला गरेको हो । त्यसबेला नेतृत्व लिन्छु भन्न सक्नुपर्छ । सुरुदेखि नै उतारचढाव छ उहाँमा । उहाँले विभिन्न सम्मेलनमा नेता तथा कार्यकर्तालाई निरुत्साहित गर्ने कुरा गर्नुभएको छ ।
