प्रधानमन्त्रीले मन्त्री बदल्ने कुरै ल्याउनुभएको छैन : पूर्णबहादुर खड्का [अन्तर्वार्ता]

'म मन्त्री बदल्छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छैन बरु मन्त्रीहरूलाई अलि प्रभावकारी काम गर, सार्वजनिक सेवाका काममा सक्रिय होऔं भनेर भन्नुपर्ने भएको छ ।'

श्रावण १६, २०८२

कान्तिपुर संवाददाता

The Prime Minister has not brought up the issue of changing ministers: Purna Bahadur Khadka [Interview]

What you should know

काठमाडौँ — एक वर्ष पूरा हुँदा पनि सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेको छैन । मन्त्रीहरू एकपछि अर्को विवादमा पर्दै आए, एमालेका दुई मन्त्री फेरिए । त्यसैले पनि प्रधानमन्त्री ओली केही सातायता मन्त्रिपरिषद् पुनर्गठनमा जोडबल गरिरहेका छन् तर कांग्रेस सभापति शेरबहादुर देउवाको अनिच्छाले हलो अड्किएको छ । यसै सन्दर्भमा कांग्रेस उपसभापति - पूर्णबहादुर खड्कासँग कान्तिपुरले गरेको कुराकानी :

बालुवाटारमा बिहीबार मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी छलफल भएन ?

संघीय सरकारका मन्त्रीहरू बदल्नेबारेमा चर्चा, छलफल, प्रसंग केही चलेन । त्यस विषयमा कुनै एजेन्डा पनि होइन । बाहिर कसरी आयो, थाहा भएन ।

कांग्रेस सभापति देउवाले मन्त्रीहरू बदल्न नचाहेका कारणले प्रधानमन्त्रीले निर्णय लिन नसक्नुभएको भन्ने कुरा आइरहेका छन् नि ?

होइन, बेकारको हल्ला हो । म भएको कुनै पनि बैठकमा मन्त्री बदल्ने कुरा कुनै चर्चा भएको छैन ।

कांग्रेसले नचाहे पनि प्रधानमन्त्रीले त चाहनुभएको हो नि ?

म मन्त्री बदल्छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छैन । म संलग्न कुनै पनि मिटिङमा मन्त्री बदल्नेबारे बोल्नुभएको छैन । बरु मन्त्रीहरूलाई अलि प्रभावकारी काम गर, सार्वजनिक सेवाका काममा सक्रिय होऔ भनेर भन्नुपर्ने भएको छ । म पनि भन्छु, तपाईंहरूले पनि भन्नुपर्‍यो भनेर बेलाबेलामा भन्ने गर्नुभएको छ । तर मन्त्री बदल्ने कुरा प्रधानमन्त्रीको मुखमा आएको छैन । आज सुधारका केही सकारात्मक कुरामा छलफल भयो । उहाँहरू दुई जनाबीच ‘वान टु वान’ कुरा भएको भए थाहा भएन तर यो विषयमा कुनै प्रसंग नै आएन ।

के छलफल भयो त ?

सरकारलाई कसरी प्रभावकारी बनाउने, संसद्ले पारित गरेको बजेटलाई छिटोछरितो कार्यान्वयनमा लैजान अर्थ मन्त्रालय, योजना आयोगले बनाउने कार्यविधि र संसद्मा विचाराधीन रहेका विधेयकलाई चाँडो पास गर्ने, कतिपय संघ र प्रदेशका बीचमा समन्वय गर्नुपर्ने विषयमा काम गर्ने, शान्ति प्रक्रियामा टुंग्याउनुपर्ने विषयलाई वातावरण बनाउँदै लैजाने, संविधान संशोधनसँग जोडिएका विषयमा चाँडै आन्तरिक कार्यदल बनाउनेलगायतका समग्र विषयमा छलफल भयो ।

बागमती प्रदेश सरकारको नेतृत्व बदल्ने विषय कसरी टुंग्याउँदै हुनुहुन्छ ?

बागमतीको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समीक्षा गर्ने काम भयो । हामीले कांग्रेसभित्रको आन्तरिक कुरा हो, एक–दुई दिनमा मिलाउँछौं भन्यौं र एमालेबाट प्राप्त सहयोगका लागि धन्यवाद दियौं । उहाँहरूले ठीक छ, तपाईंहरूको कुरा हो, मिलाउनुहोस् भन्नुभयो । अरू थप केही भएन ।

मुख्यमन्त्रीले राजीनामा नदिएपछि अब कसरी अघि बढ्छ त प्रक्रिया ?

शुक्रबारसम्म एउटा टुंगोमा पुग्छ भन्ने विश्वास छ ।

कान्तिपुर संवाददाता

Link copied successfully