'कांग्रेसका मन्त्री फेर्ने, नफेर्नेबारे कांग्रेस सभापति देउवाजीको सहमति हुनुपर्छ किनभने यो गठबन्धन सरकार हो ।'
What you should know
काठमाडौँ — एक वर्ष पूरा हुँदा पनि सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेको छैन । मन्त्रीहरू एकपछि अर्को विवादमा पर्दै आए, एमालेका दुई मन्त्री फेरिए । त्यसैले पनि प्रधानमन्त्री ओली केही सातायता मन्त्रिपरिषद् पुनर्गठनमा जोडबल गरिरहेका छन् तर कांग्रेस सभापति शेरबहादुर देउवाको अनिच्छाले हलो अड्किएको छ । यसै सन्दर्भमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङसँग कान्तिपुरले गरेको कुराकानी :
मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको हो ?
मन्त्रिपरिषद् पुनर्गठन गर्न मुख्य गरी सत्ता साझेदार कांग्रेस र एमालेबीच सहमति हुनुपर्छ । मैले पाएको जानकारीअनुसार त्यो विषयमा छलफल भएको छैन ।
तपाईंले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा मन्त्रीहरू फेरिन सक्छन् भन्नुभयो त ?
प्रधानमन्त्रीले सत्ता साझेदार दलको सहमतिमा मन्त्रिपरिषद् पुनर्गठन गर्न सक्नुहुन्छ भनेको हो । तर प्रधानमन्त्रीज्यूले पुनर्गठनबारे केही संकेत गर्नुभएको छैन ।
प्रधानमन्त्रीले एमाले मन्त्री नियुक्त गर्दा एक वर्षका लागि गरेको हो भन्नुभएको थियो नि ?
प्रधानमन्त्रीले त्यसबेला मन्त्रीको कार्यसम्पादन राम्रो होस् भनेर भन्नुभएको हो । एक वर्षमा धेरै काम गर्न सकिन्छ भन्ने मनसाय थियो । धेरै मन्त्रीको एक वर्ष पुगिसकेको छ । कार्यसम्पादन मूल्यांकन भएकै होला । त्यसका आधारमा प्रधानमन्त्रीले चाहेमा मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ । मन्त्री फिर्ता बोलाउने, नयाँ पठाउने जहिले पनि खुला रहन्छ ।
मन्त्रिपरिषद् पुनर्गठन गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले मान्नुभएन भन्ने छ नि ?
गठबन्धन सरकार भएपछि कांग्रेस र एमालेबीच सहमतिमा मन्त्रीहरू फेरबदल हुन सक्छन् । मन्त्री फेर्ने नै हो भने देउवाजीले नाम दिनुपर्छ । एमालेमा प्रधानमन्त्रीले जतिबेला पनि मन्त्री फिर्ता बोलाउने र नयाँ नियुक्त गर्न सक्नुहुन्छ । कांग्रेसका मन्त्री फेर्ने, नफेर्नेबारे कांग्रेस सभापति देउवाजीको सहमति हुनुपर्छ किनभने यो गठबन्धन सरकार हो । प्रधानमन्त्रीले अरू सत्ता साझेदार दलका मन्त्री फेर्न सक्नुहुन्छ ।
मन्त्रीहरू एकपछि अर्को विवादमा पर्दै गएका छन्, विवादित मन्त्रीलाई हटाउनुपर्ने होइन र ?
यो कुरा प्रधानमन्त्रीले विचार गरिरहनुभएको होला । मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन पनि भएको छ ।
![Cabinet can be reshuffled only with the consent of Congress: Prithvisubba Gurung [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/prithivi-subba-gurung-0182025093106-1000x0.jpg&w=1001&h=0)