नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक पदबाट हटाइएको तीन महिनापछि खाडीको यात्रामा निस्किएका कुलमान घिसिङले बहराइन पुगेर आफूले सुरु गर्न लागेको उज्यालो नेपाल अभियानबारे बताए ।
१८ असारमा बहराइन पुगेर यूएई, ओमान र कतार हुँदै १४ दिने यात्रा सकेर नेपाल फर्केका कुलमानले यसबीचमा नेपाली श्रमिकहरुसँग औपचारिकभन्दा धेरै अनौपचारिक संवाद गरे । यात्राका क्रममा कुलमानले सबैभन्दा धेरै एउटै प्रश्न सुने, त्यो थियो, के उनी राजनीतिमा आउँछन् ? आउँछन् भने कसरी ? खाडीबाट फर्केलगत्तै कान्तिपुरको स्टुडियोमा आइपुगेका कुलमानसँग कान्तिपुर संवाददाता होम कार्कीले यिनै विषयको सेरोफेरोमा प्रश्न सोधेका छन् :
तपाईंले नेपालीको प्रमुख रोजगार गन्तव्य बहराइन, यूएई, ओमान र कतारमा गएर नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्नु भयो । यो संवाद किन जरुरी देख्नुभयो ?
खाडी क्षेत्रमा नेपालको ठूलो युवा जनसंख्या काम गरिरहेको छ । त्यहाँको जीवन संघर्ष, अनुभव कस्तो छ भन्ने विषय अनुभव लिन मन थियो । त्यहाँको वास्तविकता बुझ्न मलाई उत्सुकता थियो । कस्ता रोजगारीमा नेपालीको संलग्नता छ ? कस्ता समस्या रहेछन् भन्ने बुझ्न खोजेको हो । त्यहाँको भेटघाट फलदायी भयो । मैले बुझेको कुरा र वास्तविकतामा फरक पाए । त्यहाँका श्रमिक, व्यवसायी, बौद्धिक बर्गसँग आफ्ना अनुभव साटासाट गर्न पाए ।
पछिल्लो दुई दशकदेखि नेपाल र खाडी क्षेत्रबीच बलियो सम्बन्ध रोजगारीसँग गाँसिएको छ । १५ लाख हाराहारी नेपालीले त अहिले नै काम गरिरहेका छन् । तपाईंले सुन्नु भएको र देख्नु भएको खाडीमा के फरक पाउनुभयो ?
मैले सुनिरहेको भन्दा धेरै फरक पाएँ । त्यहाँ समस्या मात्रै धेरै सुनिएको थियो । संघर्ष मात्रै छ भन्ने थियो । मैले राम्रो पक्ष पनि पाएँ । व्यावसायिक हिसाबले दक्ष नेपाली धेरै ठाउँमा संलग्न भएको पाएँ । डाक्टर, इन्जिनियर, पाइलट, प्राध्यापक सबै क्षेत्रमा नेपालीको बलियो उपस्थिति पाएँ । श्रमिक तहमा पनि राम्रै काम गरिरहेको पाएँ । नेपालमा आउने रेमिट्यान्सको झन्डै ५० प्रतिशत खाडीबाटै आउने गरेको छ ।
समस्या पनि छन् । क्याम्पका साथीहरु भेट्दा नेपालप्रति निरासा पाएँ । खाडीमा समृद्धि र प्रगति हुन्छ भने नेपालमा किन हुँदैन भन्ने सबैको मनमा छ । भिजिट भिसा र श्रम भिसामा गएको श्रमिकहरुको फरक-फरक समस्या रहेको पनि देखियो । कतिपय समस्या रोजगारी दिनेसँग सम्बन्धित छ । कतिपय समस्या नेपालले लिएको नीतिसँग सम्बन्धित छ । किन भिजिट भिसाबाट जानेको संख्या बढ्यो ? नेपालीलाई कसरी वैधानिकीकरणभित्र ल्याउन सकिन्छ भन्ने जस्ता विषयमा सरकारले सोच्नुपर्छ । दूतावास न्यून जनशक्तिको भरमा सबै समस्यालाई सम्बोधन गर्न सकिरहेको छैन । यसमा धेरै स्रोत र जनशक्ति दिनुपर्ने देखिन्छ ।
बहराइन र ओमानमा तपाईंलाई भेट्दा धेरै श्रमिकहरु खुसी भएको देखियो । यस्तै उत्साह यूएई र कतारमा पनि देखिएको थियो । यसले तपाईंलाई कस्तो प्रभाव पार्छ ?
म जहाँ-जहाँ पुगेँ, धेरै नै राम्रो रेस्पोन्स पाएँ । सबै नेपाली श्रमिक र व्यापारी समुदायबाट राम्रो रेस्पोन्स पाएँ । यसले मलाई उत्साहित बनायो । तर, उहाँहरुले हामी कहिले फर्किने ? फर्किएर के गर्ने भन्ने निश्चित नभएको सुनाउँदा मन खिन्न भयो । कति वर्ष यहाँ बस्ने भन्नेमा उहाँहरुको फ्रस्टेसन वास्तविक छ । उहाँहरु नेपाल फर्केर रोजगारी गरौं भन्दा ग्यारेन्टी छैन भन्नुहुन्छ । विजनेस गर्न वातावरण छैन भन्नुहुन्छ । नेपालमा सुधार हुनुपर्यो ? समृद्धितिर अगाडि बढ्नुपर्यो ? रोजगारी सिर्जना गर्नुपर्यो भनेर राख्नुभयो । तपाईंहरु आगडि बढ्नुपर्छ भनेर सुझाव प्राप्त भएको छ ।
तपाईंले बहराइनबाट उज्यालो नेपाल अभियान सुरु भएको घोषणा गर्नुभयो । यो अभियान राजनीतिक हो कि सामाजिक आन्दोलन हो भनेर धेरै श्रमिकहरु अन्योलमा परेको देखियो । खासमा यो कस्तो अभियान हो ? यो कसरी अगाडि बढ्छ ?
उज्यालो नेपाल अभियानमा हामी सबै जुटौं भनेर बहराइनबाट उज्यालो नेपाल अभियान सुरु गरेका हौं । यो बत्तीको मात्रै उज्यालो होइन । यो समृद्धि, रोजगारी, सुशासन र हरेक क्षेत्रमा भएको अँध्यारोलाई हटाएर उज्यालो बनाऔं भन्ने अभियान हो । यसले हरेक क्षेत्रमा समृद्धिको खाका कोर्छ ।
भिजन र प्लानसहित अगाडि बढ्ने अभियान हो । यसलाई धेरैले पार्टी खोल्न लाग्यो भनेर पनि लिए । त्यसरी भन्दा पनि यसलाई समृद्धिको अभियान भनेर बुझ्नुपर्छ । अहिलेसम्म नेपालमा केही पनि भएको छैन भनेर म भन्दिनँ । धेरै कुरा भएको छ । राजनैतिक र सामाजिक परिवर्तन धेरै भए । अहिलेसम्म ज-जसले जे-जे योगदान गरे, त्यहाँसम्म गर्नेलाई धन्यवाद दिँदै अब नेपालको समृद्धि गर्न विदेशमा रहेका युवा जनशक्तिलाई देशमा नै रोजगारी गर्ने वातावरण बनाउने हो । हामीले देशको समृद्धिको लागि ठूलो रोडम्यापसहित अगाडि बढ्ने अभियान हो । यसले लिडरसीप जन्माउन पनि सक्छ । लिडरसीपबिना उज्यालो हुँदैन । यसमा सबैलाई जोडौं ।
यो अभियानलाई अगाडि बढाउन विस्तृत खाका बनिसकेको छ ?
हामीले एक किसिमको आवधारणा पत्र बनाइसकेको छ । यसलाई थप परिमार्जित गरिरहेका छौं । यसमा सबैलाई जोड्न डिजिटल प्लेटफर्म बनाइरहेका छौं । यसमा व्यवस्थित रुपले जोड्न, सुझाव लिने गरी काम भइरहेको छ । हाम्रा योजना र कार्यक्रमलाई छलफलमा लैजान व्यापक रुपमा अभियान नै बनाएर वेबसाइट तयार भइरहेको छ ।
तपाईंले देख्नु भएको नेपालको समृद्धिको खाका बताउन मिल्छ ?
अहिले पूरा बताउने समय हुँदैन । नेपालको समृद्धि ल्याउन उर्जा क्षेत्रमा कसरी अगाडि बढ्छौं भनेर प्राथमिकता दिइएको छ । खाडीमा ४० वर्षसम्म काम गरेर बसिरहेका नेपालीलाई पनि भेटेको छु । उहाँहरुको अनुभवको अनुसार २५–३० वर्षमा नै खाडी क्षेत्रको विकासको इतिहास देखिन्छ । केही वर्ष अगाडिसम्म हामीभन्दा पनि गरिब राष्ट्र रहेछ । खाडीको त्यो समृद्धि उर्जा क्षेत्रको विकाससँग जोडिएको छ । उर्जा क्षेत्रलाई सही नेतृत्व दिन सकिने शासकहरुको आएपछि खाडीको परिवर्तन भएको देखिन्छ ।
देशको समृद्धिको लागि उर्जा क्षेत्र मुटु हो । उर्जा क्षेत्रले सम्पूर्ण क्षेत्रलाई छुन्छ । त्यसपछि पर्यटनको ठूलो सम्भावना छ । दुबईको अर्थतन्त्रको मुख्य हिस्सा नै पर्यटनसँग जोडिएको हो । नेपाल नेचुरल ब्युटी नै हो । कृषिबाट पनि परिवर्तन गर्न सकिन्छ । नेपालको पूर्ण परिवर्तन नै ग्रिन इकोनोमी हो । औद्योगिक क्षेत्रलाई हाइड्रोपावर दिन सक्छौं । हाम्रो ठूलो सम्पत्ति भनेको जनशक्ति हो । ज्ञान र श्रमलाई सही सदुपयोग गर्न सक्छौं । रेमिट्यान्सलाई हाइड्रोपावरमा लगाउन सकिने अवस्था छ । जहाँबाट हामीले धेरै छिटो समृद्धि ल्याउन सक्छौं । नेतृत्वप्रति विश्वास हुनुपर्यो ।
नेतृत्वप्रतिको विश्वास कसरी विकास हुन्छ ?
सबैभन्दा ठूलो विषय सुशासनसँग जोडिन्छ । गलत काम गरेको विषय जनतालाई पर्यो भने त विश्वास हुँदैन । अर्को डेलिभरीसँग जोडिन्छ । सामान्य विषयमा पनि डेलिभरी भएको छ कि छैन भनेर जनताले हेरिरहेका छन् । अलिकति राम्रो कामलाई सहयोग पुगेको छ ।
राइट ठाउँमा राइट पर्सन राख्नेबित्तिकै नेतृत्वप्रति विश्वास बढिहाल्छ । एउटा भिजनसहित देश राइट ट्र्याकमा गइरहेको छ भनेर सुशासन देखाउन जरुरी छ । त्यो विश्वाससँगै भिजन पनि चाहिन्छ । नेपालमा राजनैतिक तहमा धेरै काम भएको छ । तर, विकासको नेतृत्वमा फरक हिसाबले जानुपर्ने थियो, त्यो भएन । अहिले आम जनताको आर्थिक परिवर्तन दिन सकेन भनेर नेतृत्वप्रति गुनासो बढेको हो ।
![If young leaders can go forward with a blueprint, leadership can be born: Kulman Ghising [interview]](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/politics/kulmanghising01-1672025015157-1000x0.jpg)
उज्यालो नेपाल अभियानलाई भोलि एउटा दलको हैसियतमा पाउन सकिने अवस्था छ ?
उज्यालो नेपाल अभियान भनेको नेपालको पूर्ण परिवर्तनका लागि हामीले के-के योजना र कार्यक्रम गर्न सक्छौं ? सुशासन कायम गर्न के गर्न सक्छौं ? सम्पूर्ण क्षेत्रको परिवर्तन गर्ने सोचेर यो अभियान अगाडि बढाएका हौं । त्यसलाई कार्यान्वयनमा लैजान सक्ने नेतृत्व त आवश्यक पर्ला । त्यो दबाब दिने माध्यम पनि बन्छ ।
विभिन्न राजनीतिक दलमा राम्रो नेतृत्व जन्मियो भने त्यो पनि एउटा सम्पत्ति हुन्छ । यसैबाट पार्टी खोलेर अगाडि बढ्नुपर्छ भन्ने छैन नि ! नेतृत्वको पाटोमा हामीले समृद्धिको खाका कोर्ने र सुशासनको विषयलाई अगाडि बढाउने र यहीभित्र पनि युवा नेताहरु खाकासहित अगाडि जाऔंभन्दा पनि त्यहाँभित्र नेतृत्व पनि जन्मिन सक्छ । यो नेतृत्व जन्माउने माध्यम पनि हुन सक्छ । त्यसको मतलब अहिले नै पार्टी खोलेर अगाडि बढ्ने भन्ने होइन ।
तपाईंलाई भेट्ने प्राय: श्रमिकले कात्तिकमा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा नउठ्न, कुनै दलमा प्रवेश नगर्न सुझाव दिइरहेका छन् । कतिपयले तपाईंले नेतृत्व गर्नुभएको नयाँ दल हेर्न चाहेको पनि बताए । यी जिज्ञासामा तपाईको उत्तर के हो ?
कुनै एउटा सांसद वा व्यक्ति कुनै ठाउँमा पुगेर मात्रै परिवर्तन सम्भव हुँदैन । अहिलेको अवस्थामा म एउटा सांसद भएर ठूलो परिवर्तन गर्न सक्छु भन्ने मलाई लाग्दैन । म आए हुन्थ्यो भन्ने धेरैको अपेक्षा र आशा होला । तर, मैले कसैसँग सल्लाह र छलफल गरेको छैन । यस्तो गर्नुपर्यो भनेर आएको पनि छैन ।
एक थान सांसद हुन ठूलो कुरा भएन । मन्त्री नै भयो भने पनि ठूलो कुरो होइन । सम्पूर्ण प्रणालीमा नेतृत्वले परिवर्तन नगरेसम्म त्यो किसिमको वातावरण बन्दैन । व्यक्तिगत रुपमा म सांसद हुने वा मन्त्री हुने लाइनमा लागेर अगाडि बढ्ने भन्दा पनि देशको परिवर्तन गर्नलाई सबैलाई जगाऔं, सबैलाई दबाब दिऔं । र, त्यो किसिमको नेतृत्व सिर्जना गरौं भन्नेमा मेरो अभियान हो ।
![If young leaders can go forward with a blueprint, leadership can be born: Kulman Ghising [interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/kulmanghising02-1672025015213-1000x0.jpg&w=1001&h=0)