काठमाडौँ — राष्ट्रपतिको दुई कार्यकाल सकेर शीलतनिवासबाट बाहिरिएको दुई वर्ष साढे तीन महिनापछि विद्यादेवी भण्डारीले शनिबार पार्टी राजनीतिमा फर्किएको औपचारिक घोषणा गरेकी छन् । केपी शर्मा ओली एमालेको नेतृत्वमा निर्विकल्प जस्तै बनिरहेका बेला भण्डारीको सक्रिय राजनीतिमा प्रवेश घोषणाले एमालेमा हलचल भएको छ ।
विधान महाधिवेशन गर्ने तयारीमा रहेको एमालेमा भण्डारीलाई अध्यक्ष लागिएको हो त? एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग गरिएको संक्षिप्त कुराकानी :
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिको घोषणाले पार्टीभित्र फेरि शक्तिसंघर्ष हुन खोजेको हो ?
मलाई त्यस्तो लागेको छैन । उहाँ एमालेमै हुर्किनुभएको, एमालेकै नेतृत्व गर्नुभएको अनुभवी नेता हुनुहुन्छ । पार्टी कुनै दुर्घटनामा नजाओस् भन्नेमा हामीभन्दा पनि विशेष सचेत हुनुहुन्छ । फेरि उहाँले गर्दाखेरि ध्रुवीकरण बढ्ने हो र, होइन ।
विधान महाधिवेशनको संघारमा घोषणा गर्नुभएकाले दुई नेताबीचको शक्तिसंघर्ष सुरु हुन्छ भन्छन् नि ?
एमालेमा कोही मान्छे आउनु र थपिनुले चिन्ता बढ्दैन । बरु एमाले छोडेर जानेका कारण चिन्ता बढ्छ । परिवारमा सदस्य वृद्धि हुने कुराले शक्तिसंघर्ष नै हुन्छ भन्ने लाग्दैन ।
राष्ट्रपति भइसकेको मान्छे, अभिभावक भएर बस्नुपर्छ, सक्रिय राजनीतिमा आउने होइन भन्ने कोणबाट पनि बहस भएको थियो नि ?
त्यो बहस त चल्ला नि अब । महाधिवेशनमा चल्ला । सडक, सडकमा चल्ला । पत्रिकामा मात्र बहस चलाएर के निष्कर्षमा पुगिएला र !
पार्टीमा ७० वर्षको उमेर हद र दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्था त अहिले पूर्वराष्ट्रपति भण्डारीकै तर्फबाट मुद्दा बन्दै छ नि त ?
दुई कार्यकालको प्रावधान एमालेको कुनै विधि–विधानमा छैन । त्यो मनगणन्ते कुरा हुन् । ७० वर्षको प्रावधान उपयुक्त हुन्छ कि भनेर परीक्षणमा ल्याएका थियौं । त्योचाहिँ पनि कामयाबी भएन भनेर केन्द्रीय कमिटी बैठकबाट परिमार्जन गरिसकेका छौं । ७३–७४ वर्षका मान्छे पनि यो बीचमा पार्टीमा ल्याइएकै छ ।
केपी शर्मा ओलीलाई नेतृत्वमा राख्न यहीँ प्रावधान विधानमा राख्नुपर्छ भनेर मुद्दा बनाउन खोजिएको भन्ने चर्चा छ नि ?
विधानमा के–के राखिन्छ, त्यो त त्यतिखेरको कुरा भो । आगामी ५ साउनमा केन्द्रीय कमिटी बैठक छ । त्यसपछि के राख्ने, के नराख्ने भन्ने कुरा पहिले नै बाहिर–बाहिर छलफल गरेर निष्कर्षमा पुगिन्छ र !
पार्टीभित्रै यो बहस चलिरहेको छ नि त ?
बहस त आउँछ, छलफल हुन्छ । विधिवत् रूपमा के लाने, के नलाने भन्ने कुरो त केन्द्रीय कमिटी बैठकले छलफल गर्छ । विधिसम्मत ढंगले कसरी गर्ने ? अहिले परिवर्तित अवस्थामा पार्टीलाई कसरी सुदृढ, व्यवस्थित गर्ने भन्ने विषयमा छलफल गरिन्छ ।
अब विद्या भण्डारीलाई एमालेको वैकल्पिक नेताका रूपमा हेर्न थालियो नि, होइन ?
महाधिवेशन ओपन भएपछि क–कसले के–के बोल्नुहुन्छ, कुन ढंगले जानुहुन्छ भन्ने कुरा त्यतिखेर हुने हो । वैकल्पिक त के भन्ने र ? अध्यक्षले केपी कमरेडले सार्वजनिक फोरममै एकपटक दोहोर्याउँछु भन्नुभएकै छ । उहाँ नै अघि सर्नुहुन्छ । वैकल्पिक भनेको त आफूले छोड्दाखेरी बनाउने न हो । पूर्वराष्ट्रपतिको प्रवेश हुँदैमा उहाँले छोड्नेजस्तो कुरो त हुँदैन । उहाँ राष्ट्रपति हुनुभो, बाहिर रहनुभो, अब एमालेमा सक्रिय राजनीतिमा आउने भन्नुभएको छ ।
सक्रिय राजनीति भन्नेबित्तिकै कतिपय मान्छे अध्यक्ष नै देख्छन् । कमिटीमा रहनुपर्ने होला, कमिटीमा नरहेर सक्रिय हुने कुरा होला । कुनै योगदान दिने भन्ने होला । उहाँले पनि म यहीँ पदका लागि भन्नुभएको छैन । अब उहाँका प्रवक्ता बनेर को–को मान्छे पार्टी बिगार्न लाग्छन्, तिनीहरूलाई सुन्ने कुरा हुन्न । विधान महाधिवेशन आयोजना गरेकै छौं । तयारीका लागि केन्द्रीय कमिटी, पोलिटब्युरो बैठक राखेका छौं । त्यसमा सबै खालका विचार आउँछन् ।
पार्टी व्यवस्थित गर्ने सन्दर्भमा अरू कुरा पनि आउँछन् । यी सबैमा छलफल गरेर केन्द्रीय कमिटीका तर्फबाट एक महिना अगाडि तल प्रस्ताव पठाउने वैज्ञानिक व्यवस्था छ । देशव्यापी सुझाव आइसकेपछि, बहस छलफल भइसकेपछि निचोडका रूपमा विधान अधिवेशन गर्छौं । बल्ल छलफल सुरु हुन लागेको छ ।
