'संघको कानुन बनाउन पर्खिनुस् भनेका हौं, प्रदेशलाई हस्तक्षेप गर्न खोजेको होइन'

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

'We have told you to wait for the union law, we are not trying to interfere with the state'

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायीबीच भएको सहमतिले सात वर्षअघि खारेज भएको सिन्डिकेट ब्युँताएपछि चौतर्फी आलोचना भएको छ । मन्त्रालय र व्यवसायीबीच सहमति भए पनि मंगलबार सार्वजनिक यातायात ठप्प हुँदा सर्वसाधारणले सास्ती भोगे । सिन्डिकेट पक्षधर व्यवसायीसँग सरकार किन झुक्यो ? सार्वजनिक यातायात सुधार गर्नुको साटो सरकारले सिन्डिकेट किन ब्युँताउन खोजेको हो ? भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग कान्तिपुरका गंगा बीसीले गरेको संक्षिप्त कुराकानी :

सरकार र यातायात व्यवसायीबीच सहमति भए पनि सार्वजनिक यातायात चलेनन्, जसले गर्दा सर्वसाधारणले सास्ती भोग्नुपर्‍यो । सररकार त हेरेको हेर्‍यै भयो नि ? 

भौतिक पूर्वाधार तया यातायात मन्त्रालय र यातायात व्यवसायीबीच भएको सहमतिका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठायौं । कार्यालयले गण्डकी प्रदेश सरकारलाई हाल राइड सेरियङ सम्बन्धी नियमावली स्थगित गर्न पत्र पठाइसकेको छ । भोलि बुधबारदेखि सार्वजनिक यातायात सञ्चालन हुन्छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार गरेको सार्वजनिक यातायातसम्बन्धी विधेयक अन्तिम चरणमा छ । संघमा कानुन बनेपछि नीतिगत रुपमा प्रदेशले कानुन बनाउनुपर्छ । सार्वजनिक यातायातसम्बन्धी  संघको कानुनअनुसार प्रदेशले कानुन बनाउनुपर्छ । त्यसैले अहिले राइड सेरिङसम्बन्धी नियमावली प्रदेशले स्थगित गर्नुपर्छ ।

सार्वजनिक यातायातसम्बन्धी कानुन प्रदेशले नै बनाउने हो । संघमा सार्वजनिक यातायातसम्बन्धी विधेयक अन्तिम अवस्थामा पुगेकाले केही समय पर्खन भनेका हौं । हामीले गण्डकी प्रदेशलाई त्यहीअनुसार कानुन बनाउनुहोला भनेको हो ।

मन्त्रालय र यातायात व्यवसायीबीच भएको सहमतिले हाल सर्वसाधारणले सुविधा पाइरहेको राइड सेयरिङ कम्पनी झन् निरुत्साहित हुने भए नि ?

त्यस्तो हुँदैन । राइड सेयरिङलाई कसरी व्यवस्थित बनाउने भन्ने भौतिक मन्त्रालयले तयार गरेको विधेयकमा छ । सबै सवारीसाधनले राइड सेरिङ गर्न पाउनुपर्छ भन्ने होइन । रातो प्लेटका गाडीले राइड सेयरिङ सेवा दिन हुँदैन । कानुन बनेपछि कसले राइड सेयरिङ गर्न पाउने, कसले नपाउने स्पष्ट हुनेछ । निजी, सार्वजनिक यातायात सरकारको कानुनको दायरभित्र आउनुपर्छ ।

सात वर्षअघि नै खारेज भएको सिन्डिकेटसामु सरकारले किन घुँडा टेक्यो ?

सरकार सिन्डिकेटको पक्षमा छैन । यातायात व्यवसायी समितिसँग भएको सहमतिले सिन्डिकेटलाई ब्युताउँदैन । सरकारले कानुन बनाएर सिन्डिकेटको नियमन गर्छ । त्यहीअनुसार कारबाही हुन्छ । सर्वोच्च अदालतले २०८० चैत २० गरेको निर्णयका आधारमा संघले कानुन बनाउने भनेका हौं । म फेरि भन्छु, सरकार यातायात क्षेत्रमा सिन्डिकेटको पक्षमा छैन । सार्वजनिक यातायातको क्षेत्रमा कुनै पनि हालतमा सिन्डिकेट फिर्ता हुँदैन ।

सार्वजनिक यातायातमा सुधारको पक्षमा सरकार कहिलै बोल्दैन । सिन्डिकेट लागू गर्ने पक्षमा उभिएका यातायात समितिसँग भने किन सम्झौता ?

सार्वजनिक यातायातको क्षेत्रमा हडताल गर्ने कुरा बेठिक हो । यो गर्नु हुँदैनथ्यो । मैले संसद्‍को समितिमा पनि हडतालको विरोधमा बोलेको छु । आफ्ना मागबारे हामीसँग बसेर कुराकानी गर्दा हुन्छ । एकैचोटि हडताल गरेर यातायात व्यवासयीले बेठिक गरेका छन् । हडताललाई सरकारले छुट दिँदैन । मंगलबारदेखि यातायात व्यवसायीले गाडी चलाउनुपर्छ भनेका छौं । मलाई लाग्छ, व्यवसायीले गाडी चलाउँछन् ।

संघीय सरकारले पत्र लेखेका आधारमा प्रदेश सरकारले नियमावली फिर्ता लिनुपर्ने बाध्यता किन ? प्रदेशहरुको आफै कानुन बनाउने अधिकारमा हस्तक्षेप हुँदैन ?

संविधानले संघ र प्रदेश सरकारलाई अधिकार दिएको छ । संघ र प्रदेशले आ–आफ्नै अधिकार प्रयोग गर्नुपर्छ । कतिपय कानुन संघले बनाएपछि प्रदेशले बनाउनुपर्छ । जस्तो: यातायातसम्बन्धी संघले बनाएको कानुनअनुसार बनाउनुपर्छ । संघको कानुनसँग प्रदेशको कानुन बाझिनु हुँदैन । हामीले गण्डकी सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली हाल स्थगित गर्नुस्, संघको कानुन बनाउन पर्खिनुस्, भनेका हौं । प्रदेशलाई हस्तक्षेप गर्न खोजेका होइनौं ।

कान्तिपुर

Link copied successfully