‘अब ब्याजदर घटे वा बढे पनि अनुमानयोग्य र अपेक्षित हुनेछ’

अर्थ मन्त्रालयले ल्याएको नीतिलाई फेल गराउने काम हुँदैन, राष्ट्र बैंकका हरेक नीति बचतकर्ताको सुरक्षा, सस्तो ब्याज ऋण र व्यवसायी बन्ने वातावरणमा केन्द्रित हुनेछन्

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

”Even if the interest rate decreases or increases now, it will be predictable and expected”

सत्ता गठबन्धनका दुई मुख्य दल कांग्रेस र एमालेको डेढ महिना लामो रस्साकसीपछि नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थशास्त्री विश्वनाथ पौडेल नियुक्त भएका छन् । रिक्त हुन एक महिनाअघि नै नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था भए पनि दुई दलबीच आफ्नो प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्र बैंकको उच्च पदमा आसीन गराउने स्वार्थको द्वन्द्वमा गभर्नर जस्तो पद पर्‍यो ।

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि गरेका पौडेल अर्थशास्त्रका अलावा कृषि स्रोत, स्रोत व्यवस्थापन र श्रम अर्थतन्त्र र आर्थिक इतिहासका प्राध्यापक हुन् ।

राष्ट्र बैंकको स्वायत्तता कायम गर्ने, अर्थतन्त्रका विद्यमान समस्या समाधान, सेयर बजारप्रतिको नीति, अन्तर्राष्ट्रिय निकायले नेपाललाई राखेको ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने रणनीति र सहकारीदेखि मिटरब्याज पीडितहरूलाई न्याय दिने योजना र धारणामा केन्द्रित रहेर गभर्नर पौडेलसँग कान्तिपुरका कृष्ण आचार्यसीमा तामाङले गरेको कुराकानी : 

यस पटक गभर्नर नियुक्तिमै दुई ठूला दल कांग्रेस र एमालेले चरम राजनीति गरे । तपाईं आफैं गत चुनावमा कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार भएको राजनीतिक पृष्ठभूमि बोकेको व्यक्ति गभर्नर बन्नुभयो । राष्ट्र बैंकलाई राजनीतिक छायाबाट कसरी मुक्त राख्नुहुन्छ ?

नेपाल राष्ट्र बैंकको मुख्य भूमिका अर्थतन्त्रमा आइपरेका समस्याहरू हेर्ने हो । राजनीतिमा पक्ष र विपक्ष हुन्छ । तर राष्ट्र बैंकमा तथ्यांक मात्र हुन्छ । त्यसका समस्याहरू पहिल्याएर समाधान गर्न लाग्नेछु । त्यसकारण राजनीतिको खासै गुञ्जायस हुँदैन । राष्ट्र बैंक प्राविधिक ठाउँ हो ।

अर्थशास्त्री भएका नाताले मेरो ‘ट्रेनिङ,’ अनुभव, निर्णय, मेरा सहकर्मीहरूले दिने/ल्याउने तथ्यांकहरूले प्रभाव पार्ला । तर मेरो कार्यकालमा राजनीतिले राष्ट्र बैंकले लिने नीति वा समग्र अर्थतन्त्रमा प्रभाव पार्दैन । बजारमा कहिले तरलता बढी होला कहिले कम, ऋणका समस्याहरू होलान्, ती समस्याहरू समाधान गर्न अर्थशास्त्रका सिद्धान्तअनुसार अनुभवबाट काम गर्छु तर राजनीतिबाट काम गर्दिनँ । कसले बदमासी गर्‍यो ? त्यसको पृष्ठभूमि के हो ? त्यो हेरेर मेरो निर्णय प्रभावित भयो भने राजनीतिबाट प्रभावित हुने हो । तर म त्यो हुन दिन्नँ । 

राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भएर काम गर्दा पनि मलाई कसैले आरोप लगाएनन् । मेरो राजनीतिक पृष्ठभूमि पनि त्यति लामो होइन । वर्गीय संगठनमा लागेर, महाधिवेशनमा चुनाव लडेको मान्छे पनि होइन । चुनाव सकिएपछि पार्टीमा राजीनामा बुझाएर काठमाडौं विश्वविद्यालयमा प्राध्यापक भएँ । विश्वविद्यालयमा गएर पनि कसैको दायाँबायाँ गरेर राजनीतिक गतिविधि गरिनँ । राष्ट्र बैंकमा पनि गर्दिनँ । 

तपाईंमाथि अर्को नैतिक प्रश्न पनि छ । २०८१ चैत ११ गते गठित गभर्नर सिफारिस समितिमा तपाईं सदस्य हुनुहुन्थ्यो । त्यो समितिको औपचारिक बैठक एक पटक पनि बसेन । लगत्तै तपाईंले राजीनामा दिनुभयो र आफैं गभर्नर बन्नुभयो । म छनोट समितिको त्यो पदका लागि जानु उपयुक्त हुँदैन भनेर नैतिक रूपमा किन अस्वीकार गर्नु भएन ?

नैतिक प्रश्न उठाउनुपर्ने जस्तो लाग्दैन । छनोट समितिमा रहँदा विभिन्न उम्मेदवारका नामहरूमा कुरा भए । तर समस्या निरूपण भएन । छनोट समितिदेखि मन्त्रिपरिषद्सम्म निर्णय गर्नुपर्ने थियो । त्यहाँ सहमति जुटेन र हप्तौंदेखि प्रक्रिया नै अघि बढेन । अनिर्णयको बन्दी भएर रमाउनु त त भएन नि । मलाई गभर्नर बन्न प्रस्ताव आयो, मैले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएँ । राजीनामा दिएर बस्न पाउने विषय अनैतिक थिएन । मैले राजीनामा दिएपछि तुरुन्तै समाधान पनि निस्कियो । देशको नागरिक र अर्थशास्त्रीको हिसाबले समाधान दिनु अनैतिक हुन्छ र ?

प्राज्ञिक हिसाबले अर्थतन्त्रको क्षेत्रमै रहेर काम गर्नुभए पनि राष्ट्र बैंकभित्रको कामको तपाईंसँग अनुभव छैन । त्यसैले राष्ट्र बैंकका संरचनाबाट प्रभावकारी काम गर्न सक्नुहुन्छ कि हुन्न भन्ने प्रश्न पनि छ नि ?

नेपाल राष्ट्र बैंकमा काम नगरी नियुक्ति पाएको म पहिलो व्यक्ति होइन, सायद अन्तिम व्यक्ति पनि हुँदैन । विभिन्न तहमा लामो अनुभव बोकेका कर्मचारीहरू हुनुहुन्छ । राष्ट्र बैंकको सञ्चालक समितिको पहिलो बैठकमा कर्मचारीहरूमा ‘क्युमिलेटिभली’ डेढ सय वर्षको अनुभव छ भनेर मैले भनिसकेको छु ।

मेरो भूमिका भनेको निर्णयकर्ताको हो । त्यसका लागि अर्थशास्त्रको ज्ञान, अर्थतन्त्रबारे जानकार र कर्मचारीतन्त्रको अनुभवबाट गर्ने हो । राष्ट्र बैंकमा कर्मचारीतन्त्रको अनुभव सँगालेका डेपुटी गभर्नर, कार्यकारी निर्देशक, सञ्चालक समितिका सदस्यसहित विभिन्न अनुभव सँगालेका कर्मचारीहरू हुनुहुन्छ । त्यहाॅ प्रणाली छ । अन्ततः मसँग निर्णय गर्ने क्षमता छ, त्यो निर्णयमा मलाई सबैले सहयोग गर्ने आशा राखेको छु । 

”Even if the interest rate decreases or increases now, it will be predictable and expected”

अर्थतन्त्रको वर्तमान समस्यामा राष्ट्र बैंक नै मुख्य जिम्मेवार रहेको आरोप लाग्ने गरेको छ । अब अर्थतन्त्रका समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ ?

अर्थतन्त्रको मुख्य क्षेत्र एउटा बैंकिङ र अर्को सरकारी हो । सरकारको आफ्नै समस्या छ । २०६४–०७४ को बीचको जस्तो उत्साहनजनक राजस्वको वृद्धिदर अहिले छैन । पछिल्ला ८ देखि ९ वर्षमा मुलुकको सार्वजनिक ऋण ४ गुणा बढेकाले सरकार चापमा छ । आर्थिक गतिविधि चलायमान नहुँदा सरकारको राजस्व उठाउने क्षमता कमजोर भएको छ । 

अर्कोतिर बैंकहरूको पुँजी वृद्धि भयो र बीचमा आक्रामक रूपमा कर्जा विस्तार गर्‍यो । आक्रामक रूपमा कर्जा विस्तार हुँदा ऋणको गुणस्तरबारे आवश्यक अनुगमन, उच्च लगनशीलता (ड्यु डेलिजेन्स) हुन पायो कि पाएन भन्ने प्रश्न देखिन्छ । साना तथा मझौला उद्यमहरूमा गएको खराब कर्जा बढिरहेको छ । साना–साना ‘इन्टरप्राइजेज’ हरूमा आक्रामक रूपमा कर्जा जाँदा उनीहरूसँग उद्यमी बन्ने क्षमता छ/छैन ? त्यो हेर्न सक्यौं कि सकेनौं भन्ने छ ।

साना ऋणीहरूलाई व्यवसायका लागि ऋण दिँदा ठूला आयोजनाहरू छन् कि छैन भन्ने पनि छ । समग्रमा भन्दा राज्यको खर्च र बैंकको लगानी दुवैमा दबाब छ । अर्थतन्त्र चलायमान बनाउन वा लगानी बढाउन हामीले अवसरहरू सिर्जना गर्नुपर्छ । जनताले ऋण लगेर खर्च गरे पनि प्रतिफल नआएको हो कि ? त्यो हेर्नुपर्नेछ । कर्जा प्रवाहमा कडाइ नै गर्दा पनि ठिक होला कि नहोला भनेर हेर्नुपर्छ । यी सबै विषयमा म एक चरण अध्ययन गर्छु र सम्बोधन गर्ने नीति ल्याउँछु ।

अहिले साढे ६ खर्ब लगानीयोग्य रकम बैंकहरूमा थुप्रिएको छ । लगानीयोग्य रकम अझै थुप्रिन्छ कि बजारमा प्रवाह हुन्छ ? यसमा राष्ट्र बैंकको भूमिका के हुन्छ ?

साना ऋणीहरूले नाफा कमाउनु नसक्नु भनेको उनीहरूसँग लगानीको अवसर नहुनु हो । यदि उनीहरूसँग सम्बन्धित खराब कर्जा बढेको छ भने बैंक तथा वित्तीय संस्थाहरू ऋण उठाउन मात्र जाने भए । लगानीका अवसरहरू कहाँ छन् ? केमा लगानी गर भन्ने ? पैसा छ तर अवसर नहुँदा लगानी गर्न सकेको छैन । पहिला विद्यालय, अस्पतालदेखि जलविद्युत् क्षेत्रहरूमा लगानीका अवसर थिए । अहिले सरकारका धेरैजसो निकायले धेरै ठाउँमा कसिलो नीति लिएका छन्, जसले लगानीको अवसर खुम्चिएको छ । जस्तै लामो समयदेखि जलविद्युत् क्षेत्रमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) बन्द गरेर बसेको थियो, बल्ल खुलाएको छ । लगानी हुनलाई नयाँ–नयाँ क्षेत्र त हामीले अवसर सिर्जना गरिदिनु पर्‍यो नि ।

लगानी गर्ने क्षेत्रमा कडाइ गरेर लगानी बढेन भन्ने हुँदैन । जोखिमयुक्त क्षेत्रमा मान्छेको पैसा नजाओस् । लगानीका लागि अवसर सिर्जना गर्ने र नेतृत्व लिने काम अर्थ मन्त्रालय वा सरकारको हो । सरकारको वित्त नीतिअनुसार राष्ट्र बैंकले प्राथमिकतामा राखेर लगानी गर्ने बाटो खोल्छ । राष्ट्र बैंकले दिनुपर्ने सुझाव दिनेछ । तर नेतृत्व सरकार वा अर्थ मन्त्रालयले नै गर्ने हो ।

अहिले वित्तीय क्षेत्रको अर्को समस्या ब्याजदर हो । ७/८ प्रतिशत ब्याजदरमा ऋण लिए पनि कहिलेकाहीं ६ महिनामै ब्याजदर १५/१६ प्रतिशतसम्म पुग्छ । ब्याजदरलाई नियमित रूपमा सीमाभित्र राख्न तपाईंले के कस्तो योजना बनाउनुहुन्छ ?

स्थिरताभन्दा पनि सहज कारोबार (स्मुथ ट्रान्जेक्सन) होस् । एक महिनाअघि ८ प्रतिशत भएको ब्याजदर एक महिनापछि १४ प्रतिशत नपुगोस् भन्ने आममानिसको चाहना हुन्छ । ब्याजदर परिवर्तन हुँदा विस्तारै परिवर्तन होस् । घटे पनि अनुमानयोग्य र अपेक्षित होस् । बढ्दा पनि त्यस्तै होस् भन्ने हाम्रो सोचाइ हो । यसमा केही न केही गर्नेछौं ।

अरू क्षेत्र तथा उद्योगहरू घाटामा जान्छन् तर बैंक तथा वित्तीय संस्थाहरू कहिल्यै घाटामा जाँदैनन् । ब्याजदर, सेवा शुल्कलगायत विभिन्न विषयमा बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले संरक्षण गर्छ भन्ने आरोप छ नि ?

प्राथमिक रूपमा राष्ट्र बैंकले बचतकर्ताहरूको बचत संरक्षण गर्छ, गर्नैपर्छ । बचत जोखिमयुक्त ठाउँमा नजाओस् र जसले ऋण लगेको छ त्यसले फर्काइदिओस् भन्ने नै हो । राष्ट्र बैंकले बचतकर्ताहरूको सुरक्षामा चासो देखाउने हो, बैंकको नाफालाई ध्यान दिएको हैन । यसलाई हरेक बचतकर्ताले मेरो बचतको संरक्षण गरेको हो र स्वाभाविक हो भनेर बुझ्नुपर्छ ।

पछिल्ला वर्षहरूमा राष्ट्र बैंकलाई कहिले खुकुलो त कहिले निकै कसिलो नीति ल्याउँछ भन्ने आरोप लाग्दै आएको छ । नीतिगत अस्थिरताका कारण सरोकारवालाको विश्वास गुम्दै जान्छ । अब राष्ट्र बैंकले कस्तो नीति ल्याउनुपर्छ ?

भविष्यमा नीतिको ‘फ्रिक्वेन्सी अफ चेन्ज’ कम गराउन मेरो मिहिनेत हुन्छ । ‘फ्रिक्वेन्सी अफ चेन्ज’ कम गराउन र नीतिगत स्थिरतामा म जोड दिन्छु । 

”Even if the interest rate decreases or increases now, it will be predictable and expected”

तपाईंले गभर्नर नियुक्त भएलगत्तै अब राष्ट्र बैंकले नियमन कम, सुपरिवेक्षण बढी गर्छ भन्नुभयो । सुपरिवेक्षणले मात्रै पनि कतिपय समस्या समाधान हुन्नन् । नियमनकारी कहिले मूकदर्शक भएर बस्ने, कहिले कठोर हुने गरेको छ । यो दुवैलाई कसरी सन्तुलन मिलाउनुहुन्छ ?

अहिले धेरै नियम बनायौं भन्ने छाप परेको छ । मैले राष्ट्र बैंकको गभर्नरको शपथग्रहणपछि प्रधानन्यायाधीश र न्यायाधीशज्यूहरूसँग पनि सर्वोच्च अदालतमा एकछिन छलफल गरेको थिएँ । नियमहरू प्रशस्त बनाउने तर त्यसबारे अधिवक्ता, न्यायालय, न्यायाधीशलगायतमा त्यो नियम किन बनायौं, केका लागि हो, त्यसको व्याख्याबारे साझा बुझाइ हुन सकेन भने समस्या हुन्छ भनेको थिएँ । नियम बनाइदियो, तर अदालतमा एक जना न्यायाधीशले एउटा बुझ्ने, अर्कोले अर्को बुझ्ने अवस्था छ ।

एउटै विषयमा न्यायाधीशअनुसार फरकफरक निर्णय हुन सक्ला । विभिन्न ऐनहरूमा त्यस्तो समस्या हुन्छ । नियम बनाउँदा सरल र सबैले बुझ्ने नियम बनाऔं भनेको हुँ । जसले गर्दा सबैको बुझाइ एउटै बन्न सकोस्, त्यस अर्थमा नियमन कम सुपरिवेक्षण बढी भनेको हो । नियमन कमको अर्थ नियमनकै अभाव पनि होइन । नियमहरू थोरै, स्पष्ट र दुई अर्थ राख्ने नहुन् । नियम होस् तर यस्तो पनि नबनाऔं कि सबै मान्छे ‘क्रिमिनल’ बनाओस् । बैंकहरूले काम नै गर्न नसक्ने गरी के नियम आयो भन्ने स्थिति नहोस् । 

पछिल्लो समय अर्थ मन्त्रालय (अर्थमन्त्री) र राष्ट्र बैंक (गभर्नर) बीच राम्रो समन्वय देखिँदैन । यही कारण वित्त नीति एकातिर र मौद्रिक नीति अर्कातिर फर्केको देखिन्छ । यो अवस्थामा कसरी सुधार ल्याउनुहुन्छ ?

अर्थ मन्त्रालयसँग समन्वय नै गर्ने हो । वित्त नीतिले नेतृत्व गर्ने हो । अर्थ मन्त्रालयसँग द्वन्द्व गरेर कुनै फाइदा छैन । समग्र अर्थतन्त्रको जिम्मेवारी अर्थ मन्त्रालयमै छ । अर्थ मन्त्रालयले ल्याएको नीतिलाई फेल गराउने काम हुँदैन । 

तर, कतिपय अवस्थामा अर्थमन्त्रीले अनावश्यक निर्देशन दिन्छन् । यस्ता उदाहरण नेपालमा मात्रै होइन अन्य मुलुकमा पनि छन् । क्षेत्राधिकार बाहिर अर्थमन्त्रीले निर्देशन दिए 'द्वन्द्व किन गर्नु ?’ भनेर बस्नुहुन्छ कि सामना गर्नुहुन्छ ?

द्वन्द्व नगर्ने भन्नुको अर्थ कानुनविपरीत काम गर्ने भन्ने होइन । गलत कुराको डटेर प्रतिरोध गरिन्छ । गलत आदेश, निर्देशनहरू मान्नुपर्छ भन्ने छैन । कानुनी रूपमा सही र ठिक ठाउँमा हुनुपर्‍यो, त्यो काम गरिन्छ, अरू गरिन्न । 

अहिले अर्थतन्त्रको मुख्य समस्या 'चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९’ भन्ने भाष्य छ । यो मार्गदर्शनका कारण उद्योगी व्यवसायीले थप कर्जा लिन सकेका छैनन्, यो मार्गदर्शन स्थगितसम्मको माग हुँदै आएको छ । तपाईंले यो मार्गदर्शन संशोधन, स्थगित वा खारेज केही गर्नुहुन्छ वा यत्तिकै अघि बढ्नुहुन्छ ?

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन गलत नै हो भनेर कसैले भनेका छैनन् । बाहिर जे भने पनि हामीसँग बैंकहरूले पनि असर पारेको छ भनेका छैनन् । कुन–कुन क्षेत्रमा असर परेको छ विश्लेषण गर्छौं । साँच्चै असर पारेको छ भने मूल्यांकन गर्नेछौं । त्यस्तो अवस्थामा परिमार्जनको सधैं गुञ्जायस हुन्छ ।

पछिल्लो समय निरन्तर विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स आप्रवाह, शोधनान्तर स्थिति, चालु खातालगायत बाह्य सूचक बलिया छन् । विदेशी विनिमय सञ्चिति २४ खर्ब रुपैयाँले बचतमा छ । यो कीर्तिमानीमा रेमिट्यान्सको योगदान बढी छ । खासगरी उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको प्रयोगका लागि राष्ट्र बैंककै प्रभावकारी नीतिको आवश्यकता छ । यसबारेमा तपाईको केही योजना छन् कि ?

०५८ सालसम्म विदेशी मुद्रा कम हुँदा आयातमा कडाइ गर्थ्यौं । विदेश जाँदा कम पैसा लैजान दिन्थ्यौं । त्यसले औद्योगिकीकरण पनि प्रभावित थियो । पहिलो पटक ०६१ सालमा विदेशी मुद्रा सञ्चिति १ खर्बभन्दा बढी बचत भएको थियो । अहिले हामीसँग पर्याप्त मात्रामा विदेशी मुद्रा सञ्चिति छ । विदेशी सामान किन्नेदेखि धेरै सपनाहरू देख्न पाएका छौं ।

काठमाडौंमा खुलेका धेरै क्याफेहरूमा विदेशी मेसिनहरू नै हुन्छन् । हाम्रो जीवनशैली परिवर्तन भएको छ । विदेशी मुद्रा कुन ठाउँमा उपयोग गर्दा धेरै नाफा आउँछ, त्यो हाम्रो चुनौती हो । कुनै समय जलविद्युत् क्षेत्रमा लगानी गर्दा त्यसबाट नाफा आयो, ऊर्जाको समस्या समाधान भयो नि । अहिले हामी ऊर्जा बेचिरहेका छौं । ०४८ सालअघि हाइड्रोपावर निर्माणमा निजी क्षेत्रको सहभागिता न्यून थियो । अब विदेशी मुद्रा कुन क्षेत्रमा लगाउने ? त्यसका लागि उपयुक्त वित्त नीति आउनुपर्छ । यसमा सरकारले नेतृत्व लिने र हामीले सहयोग गर्ने हो, त्यो गर्छौं । 

२०७८ साल भदौमा सेयर बजार परिसूचक ३२ सय नजिक पुगेको थियो । तर त्यसमा विभिन्न नीतिगत व्यवस्थामार्फत राष्ट्र बैंकले हस्तक्षेप गर्‍यो । र, निरन्तर ओरालो लागेको नेप्सेमा केही सुधार भई अहिले साढे २६ सय हाराहारीमा छ । अब सेयर बजारमा तपाईंको नीति २६ सयबाट बढाउने हुन्छ कि घटाउने हुन्छ ?

सेयर बजारको समस्या भनेको केही व्यक्तिले कम गरेर हेरफेर गर्‍यो कि भन्ने हो, त्यो हेर्नुपर्छ । तर त्यो समस्या जग्गामा पनि थियो । जग्गामा पनि रातारात मूल्य बढेर केही मान्छेको हातमा रोपनीका रोपनी जग्गा भए । मुलुकको कानुन र व्यवस्थाको मुद्दालाई कहिलेकाहीं आर्थिक औजारले समाधान गर्न खोजेका हौं कि जस्तो लाग्छ । समग्रमा सेयर बजार स्वस्थ र स्वच्छ रूपमा बढोस् भन्ने हाम्रो चाहना हो । रातारात सय प्रतिशत बढ्दा धान्न सकिन्न । सेयर बजार ‘मेनुपुलेट’ नहोस्, अनुशासित ढंगले अघि बढोस् भन्ने नै हो । नेपालको अर्थतन्त्रले धान्ने र दिगो हुने गरी सेयर बजार बढ्दै जाओस् । कसैको सम्पत्ति क्षय नहोस् ।

”Even if the interest rate decreases or increases now, it will be predictable and expected”

चालु आर्थिक वर्षको ९ महिनामा सेयर कर्जा ३७.८ प्रतिशतले बढेको छ । तर नेप्से २५ सयदेखि २७ सय हाराहारीमा छ । राष्ट्र बैंकले व्यक्तिगत लगानीकर्ताका लागि सेयर कर्जामा १५ करोडको सीमा लगाएको छ भने संस्थागत लगानीकर्ताका लागि यस्तो सीमा हटाएको छ । ठूला लगानीकर्ताले सेयर धितोमा लिएको कर्जा अन्यत्र उपयोग गर्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको भन्ने छ नि । सेयर कर्जा सेयरमै लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था राष्ट्र बैंकले अब ल्याउँछ कि ल्याउँदैन ?

नियमित समीक्षा हुन्छ । तर कर्जाको सीमा बढाउँछु वा घटाउँछु भन्ने हुँदैन । 

अब तपाईंले धेरै नोटमा हस्ताक्षर गर्न पाउनु हुन्न किनकि अहिले नगदको तुलनामा डिजिटल कारोबार बढी छ । डिजिटल कारोबारकै लागि बैंकभन्दा अन्य वालेट कम्पनीहरू पनि छन् । ती कम्पनीको नियमन र सुपरिवेक्षणबारे तपाईंको धारणा र योजना के छन् ? 

मुलुकको दुई हजार वर्षको इतिहासमा नोटको प्रचलन आएको ७९ वर्ष भयो । म नोटमा सही गर्न पाइएन भनेर नरमाइलो मान्ने मान्छे होइन । डिजिटल मुद्राहरूले काम गर्छ भने नोट नै ननिस्किँदा पनि म जति खुसी को हुन्छ होला र ? सजिलो कारोबार हुने अवस्थामा मान्छेलाई नोट निकाली निकाली साट्नुपर्ने अवस्था नहोस् । नयाँ प्रविधिलाई सधैं प्रोत्साहन गर्नुपर्छ । जोखिम हेर्दै खुला गर्दै जानुपर्छ । डिजिटल पेमेन्टमा सकारात्मक छु । आत्मविश्वास भएर निर्णय लिनुपर्‍यो, मान्छेले दुःख नपाऊन् । डिजिटल मुद्रालाई अघि बढाउने नै हो । 

अर्थ मन्त्रालयले पूर्वसचिव रामेश्वर खनालको नेतृत्वमा गठन गरेको उच्चस्तरीय सुधार सुझाव आयोगले भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई पुनरावलोकन गर्न सुझाएको छ । यसलाई कार्यान्वयन गर्न बनाइएको कार्ययोजनामा राष्ट्र बैंकले एक वर्षभित्र अध्ययन तथा अनुसन्धान गर्ने जनाएको छ । यसमा राष्ट्र बैंकको भूमिका र तपाईंको 'पोजिसन’ के हो ?

भारतीय रुपैयाँसँगको विनिमयदरलाई पुनरावलोकन गर्ने विषयमा गम्भीर भएर सोच्नुपर्छ । धेरै अर्थशास्त्रीहरूले पहिलेदेखि परिवर्तन गरौं भनिरहेका छन् । २०१७ सालमा एक सय भारुको १६० रुपैयाँ बनाएका थियौं । बीचमा १००, १३५, १७० पनि बनायौं । तर अहिले १६० रुपैयाँमै छौं । घुमिफिरी फेरि त्यही ठाउँमा छौं । कुन दर उपयुक्त हो ? अध्ययन गर्नुपर्छ । विनिमय दर अस्थिर हुँदा सहज हुन्छ कि भन्ने पनि छ । स्थिर विनिमय दरले औद्योगिकीकरणलाई अप्ठ्यारो पार्‍यो कि भन्ने प्रश्न पनि उठिरहेको छ । राम्रोसँग बुझेर मात्र अघि बढाउनुपर्छ । निरन्तर समीक्षा गर्नुपर्छ । 

पछिल्लो समय सरकारको निर्देशन, अध्यादेशबाट आएको कानुनअनुसार सहकारी क्षेत्रको नियमन र सुपरिवेक्षणका लागि समेत राष्ट्र बैंकको भूमिका उल्लेख गरिएको छ । सहकारीको समस्या भयावह नै छ । यो क्षेत्रको समस्या सम्बोधन, नियमन र सुपरिवेक्षणमा चाहिँ के कस्तो योजना छ ?

बैंकको ब्याजदर बढ्दा सहकारीको पैसा बैंकमा आयो र सहकारीमा समस्या भयो भन्ने ‘न्यारेटिभ’ छ । मेरो विचारमा कानुनी व्यवस्थाको समस्या हो । विद्यमान नियम कानुन मिचेर मानिसहरूले जथाभाबी गरेका हुन् कि भन्ने लागिरहेको छ । त्यसकारण राम्रोसँग बुझ्नुपर्छ । ग्रामीण क्षेत्रमा स–साना उद्यमीहरूलाई सहज गर्ने वा कृषि उत्पादकत्व बढाउँछ जस्तो लागे पनि सहकारीले पैसा उठाएर सहरमा जग्गा किन्नेलगायत काम भएको देखिन्छ । साना किसानहरूलाई सक्षम बनाउने भन्दा अरूमा संलग्न भएको देखियो । त्यसकारण सहकारीमा हामीले मिहिनेत गर्नुपर्नेछ । जुन विषय गृह मन्त्रालयले समाधान गर्न सक्छ, त्यसलाई राष्ट्र बैंकले नियमन गर्न खोज्दा त्यसबाट आउने परिणाम कत्तिको अपेक्षित हुन्छ त्यो पनि हेर्नुपर्छ । 

सहकारी क्षेत्र हेर्न नेपाल राष्ट्र बैंकले पनि अनिच्छा देखाइरहेको छ । राष्ट्र बैंकले हेर्नुपर्छ वा राष्ट्र बैंकभन्दा बाहिर राख्नुपर्छ, तपाईको भनाइ के हो ?

साना–साना छरिएर रहेका ऋणहरू हेर्ने क्षमता राष्ट्र बैंकको छ कि छैन भन्ने मैले अध्ययन गरिरहेको छु । सुपरिवेक्षणका लागि नै कर्मचारी पुग्दो छन् कि छैनन् भन्ने कुरा हो । सरकारले जिम्मेवारी दिने र ठूलो संस्था बनाएर हेर्ने हो भने सहकारीलाई पनि हेर्न तयार हुने राष्ट्र बैंकको जिम्मेवारी हो । 

लघुवित्तपीडित लामो समयदेखि आन्दोलनमा छन् । मिटरब्याजपीडितको समस्या पनि यथावत् छ ? लघुवित्त राष्ट्र बैंककै नियमनभित्र पर्छ । यो क्षेत्रका समस्या कसरी समाधान गर्नुहुन्छ ?

लघुवित्तप्रति तुलनात्मक रूपमा सकारात्मक छु । लघुवित्तमा पनि निष्क्रिय ऋण उच्च छ । लघुवित्त क्षेत्र महिलाहरूलाई सशक्त बनाउन, सहज रूपमा ऋण दिनेलगायत उद्देश्यले सुरु भएको हो । नाफामा मात्रै लघुवित्तको मूल्यांकन गर्नु हुँदैन । लघुवित्तका कारण घरेलु हिंसा कम भएको, कम्पनीहरूमा महिलाहरूको स्वामित्व बढेको परिणामहरू मैले गरेको अध्ययनले पनि देखाएको छ । सीमान्तकृत समुदायहरूलाई सशक्तीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । सहजै ऋणहरू पाएका छन् । लघुवित्तलाई प्रवर्द्धन गर्नुपर्छ । लघुवित्तमा बैंकहरूमा जस्तो खराब कर्जा हुँदैन । 

सर्वसाधारणलाई ऋण चाहिएका बेला बैंक तथा वित्तीय संस्थाहरूले दिँदैनन् । चाहिएका बेला ऋण नै नपाएपछि सहकारी, लघुवित्त र मिटरब्याज जस्ता क्षेत्रमार्फत विकृति भएका हुन् । जनतालाई ऋण चाहिएका बेला सहज र पहुँच पुग्ने गरी राष्ट्र बैंकले कस्तो नीति लिन्छ ?

औपचारिक माध्यमबाट ऋण लिन पाएनन् भनेर सहकारी, लघुवित्तहरू खोलेका हौं । बैंकहरूको पनि भूमिका त्यही हो । स–साना किसान तथा विपन्न मानिसहरूले पुँजी पाएनन् भने कसरी माथि जान्छन् र ? बैंकको लक्ष्य एउटा छ तर मोटरसाइकल खरिद वा सहर जान ऋण दिन्छ भने त्यसलाई कडाइ गर्ने हो । लक्षित वर्गमै जाओस् भन्ने हो । त्यसका लागि सुपरिवेक्षण गर्ने हो ।

”Even if the interest rate decreases or increases now, it will be predictable and expected”

समग्रमा एउटा गभर्नरको योजना, नीति तथा रणनीतिले आममानिसको जीवनमा के कस्तो फरक हुनेछ ? खासगरी आम्दानी र रोजगारीका बारेमा तपाईंले के परिवर्तन गर्न सक्नुहुन्छ ?

बचतकर्ताको पैसा जोखिमयुक्त क्षेत्रमा नजाओस्, सस्तो ब्याजदरमा औपचारिक माध्यमबाट जोकोहीले ऋण लिन सक्ने वातावरण बनोस् र यो बनाउने जिम्मा राष्ट्र बैंक र गभर्नरको हो । भविष्य सुरक्षित बनाउन र व्यवसायी बन्न राष्ट्र बैंकको भूमिका हुन्छ । रोजगारी सिर्जनामा प्रत्यक्ष भूमिका नभए पनि ऋण प्रवाह गरेपछि कुनै उद्योगले दिन्छ । रोजगारी स्वतः सिर्जना हुन्छ । 

अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को महासभाले गत फागुनमा राखेको 'ग्रे लिस्ट’ बाट नेपाललाई बाहिर निकाल्नका लागि तपाईंले कसरी काम गर्नुहुन्छ ?

जुन–जुन सर्तहरू छन् त्यसमा सरकारसँग मिलेर काम गर्छौं । ग्रे लिस्टबाट मुलुकलाई बाहिर निकाल्छौं । केही आवश्यकताहरू छन्, त्यसका लागि सरकारसँग संयुक्त रूपमा काम गरिरहेका छौं ।

सरकारले ब्याज अनुदानको करिब १६ अर्ब भुक्तानी नदिँदा नागरिकले साढे दुई वर्षदेखि सस्तो कर्जा पाउन सकेका छैनन् । यसकारण स्वदेशमा उत्पादन र रोजगारी बढाउन ल्याइएको सरकारको ब्याज अनुदानको सस्तो कर्जा कार्यक्रम असफल भएको छ । यो कार्यक्रमलाई कसरी नियमित गराउनुहुन्छ ?

विपन्न वर्गमा गइरहेको ब्याज अनुदान भएकाले सरकारसँग मिलेर काम गर्ने हो । सरकारको वित्तीय अवस्थामा पनि भर पर्ने कुरा भयो । सकारात्मक रूपमै अघि बढ्न सरकारलाई सल्लाह दिने हो । यी प्रभावकारी हुन सक्छन् ।

कान्तिपुर

Link copied successfully