‘राष्ट्रका समस्या समाधान गर्न जादुको छडी कसैसँग पनि हुन्न’

कलामा लागेको व्यक्तिलाई सोधिन्छ, तपाईं राजनीतिमा आउने होइन ? समाज परिवर्तन राजनीतिले मात्रै गर्दैन, समाजले बेथितिबाट पार लगाउने व्यक्ति खोजिरहेको छ । 

जेष्ठ ४, २०८२

रीना मोक्तान

No one has a magic wand to solve the problems of the nation.

नेपाली चलचित्र क्षेत्रमा राजेश हमालको शारीरिक कदमात्र होइन, अभिनयमा वर्षौंदेखिको निरन्तरता, सामाजिक भूमिका र सौम्यताको आयतन पनि उँचो छ । तर उनको अभिनय बहुआयामिक छैन भन्ने टिप्पणी पनि उत्तिकै छन् । त्यसैले होला, पछिल्लो समय उनी फिल्मभन्दा बढ्दा अन्य गतिविधिमा व्यस्त थिए ।

तर ८ वर्षपछि उनी जेठ ९ गतेबाट प्रदर्शन हुन लागेको नयाँ फिल्म ‘नरसिंहा’ बाट फेरि अभिनयमा फर्किँदै छन् । तीन दशकको अभिनय यात्रा, प्रविधिको चापले फिल्मकर्मीहरूमा बढाएको चाप, ‘सेन्सरसिप’ कडा बनाउने सरकारी प्रयास, कलाकारका अभिव्यक्ति खुम्च्याउने बढ्दो प्रवृत्ति र सामाजिक असन्तुष्टिलगायतका विषयमा अभिनेता राजेश हमालसँग कान्तिपुरकी रीना मोक्तानले गरेको कुराकानी : 

तपाईं ८ वर्षपछि फिल्ममा फर्किंदै हुनुहुन्छ । यो बीचमा फिल्म किन गर्नु भएन ? स्क्रिप्ट मन नपरेर समय लागेको हो ? 

 यो ‘ग्याप’ मा म अन्य कामले व्यस्त थिएँ । सामाजिक कार्यहरू गर्थें । देशभित्र र बाहिर ‘ट्राभल’ गरिरहेको थिएँ । टेलिभिजन कार्यक्रम सञ्चालन, सांस्कृतिका कार्यक्रमहरूको सहभागितालगायतले पनि मलाई असाध्यै व्यस्त बनायो । यदि म ‘आइडियल’ बसेको भए, चलचित्रमा काम गर्नुपर्छ कि भन्ने हुन्थ्यो होला । अफर आइरहेकै थियो । तर, कुनैको भूमिका चित्त बुझेन, कुनै टिम मन परेन ।

त्यसपछि दिवाकर भट्टराईजी ‘नरसिंहा’ को कथा लिएर आउनुभयो । भेट्नेबित्तिकै चलचित्र गरिहाल्छु भन्ने मनस्थिति थिएन । चलचित्र गर्नु भनेको छायांकनका लागि ४०/४५ दिन छुट्याउनु हो । जब मेरो चरित्रमा निखार गरेर अन्तिम गृहकार्य सकियो, कथावस्तु र भूमिकाले तान्यो । पहिला त चलचित्रको सम्पूर्ण कथावस्तु नै राम्रो हुनुपर्छ । चरित्र कसरी उभ्याइएको छ भन्ने कुरामा पनि चित्त बुझ्नुपर्छ । त्यो भएपछि म चलचित्र गर्न राजी भएको हो ।

८ वर्ष अगाडि गर्नुभएको 'शकुन्तला,’ 'मुखौटा’ हरूको नतिजा राम्रो नभएपछि तपाईं चलचित्रबाट केही समय टाढिनुभएको भन्ने पनि छ नि ?

त्यो पनि हो । विगतमा चलचित्रहरूलाई खासै नियालेर छनोट गर्दिन थिएँ । त्यो बेलामा छनोट गर्ने परिस्थिति पनि थिएन । विषयवस्तु एक प्रकारकै बनिरहेको हुन्थ्यो । भूमिका पनि निर्धारित हुन्थ्यो । त्यसकारण एक समयमा फटाफट चलचित्र गरिरहें । यसकारण मुखौटासम्म आइपुग्दा अलिकति नयाँ प्रविधिमा बनेको चलचित्र भनेर गरें तर परिणाम खासै राम्रो आएन । त्यसपछि मलाई ‘ब्रेक’ लिनुपर्छ र राम्रो भूमिका आयो भने मात्र गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले फर्किन ८ वर्ष लाग्यो ।

अहिले फिल्मको प्रचारशैली बदलिइसक्यो । सामाजिक सञ्जालमा डिजिटल पोस्टर टाँसिन्छ । समयसँगै पोस्टर टाँस्नेहरू पेसाबाट पलायन भइसके । तपाईंको यो फिल्ममा चाहिँ भयंकर ठूलो भित्ते पोस्टर बनाएर त्यसको उद्घाटन नै गरियो । अहिले यसको केही अर्थ छ ? 

पोस्टर अनावरण गर्दा एउटा बेग्लै किसिमको आकर्षण हुने गर्छ । मैले यत्रो ठूलो पोस्टर त देखेकै थिइनँ । कमसेकम यो तीन तलाको पोस्टर थियो । माथिबाट खसाल्दा ठूलै बिल्डिङ रोज्नुपरेको थियो । मेरो करिअरकै सबैभन्दा ठूलो पोस्टर हो यो । तर अचेल कहाँ–कहाँ टाँस्दै हिँड्ने भन्ने भएको छ । विगतमा प्रचारको तौरतरिका नै बेग्लै थियो । सामाजिक सञ्जाल थिएन, इन्टरनेट थिएन । त्यतिबेला पोस्टर भित्तामा टाँसिन्थ्यो । एउटा समय थियो, जतिबेला चलचित्रको पोस्टर सहरभरि छ्यापछ्याप्ती लाग्थ्यो । अहिले पोस्टर जहाँ पायो त्यहीँ टाँसिन्न । त्यो बेला पोस्टर टाँस्नेहरूको रोजगारी हुन्थ्यो । पोस्टरको प्रचलन गएपछि उहाँहरूको पेसा हरायो । त्यसपछि अर्को पेसा जन्मिएको छ–सामाजिक सञ्जालमा चलचित्रको प्रचार गर्ने ।

No one has a magic wand to solve the problems of the nation.

तपाईं धेरै चलचित्रमा भ्रष्टाचार, बेथिति र अन्यायविरुद्ध आवाज उठाउने पात्रको भूमिकामा देखिनुहुन्छ । ८ वर्षपछि आउन लागेका फिल्मको ट्रेलर हेर्दा पनि उस्तै पात्रका रूपमा रहनुभएको देखिन्छ । तपाईं चरित्रमा गरिब, निमुखाको लडाइँ लड्दा–लड्दा अझै थाक्नु भएन ? 

जबसम्म समाजमा यस्तो अवस्था भइरहन्छ, तबसम्म लडाइँ भइरहन्छ । त्यस्ता चरित्रहरू आइरहन्छन् । अहिले पनि हाम्रो समाजमा विभिन्न किसिमका राजनीतिक, आर्थिक, सामाजिक चुनौतीहरू छन् । जनसमुदायमा असन्तुष्टि छ । विभिन्न पेसामा असन्तुष्टि छ । समाजमा समस्या रहुन्जेल चलचित्रले पनि त्यही विषयवस्तु उठाउने हो । 

भारतमा अमिताभ बच्चनले आफ्नो उमेर बढ्दै जाँदा 'पिकु,’ 'गुलाबो सिताबो’ जस्ता फिल्ममा चरित्र अभिनय गरे । तर तपार्ईं कुनै फरक चरित्रमै आउनु भएन । यो उमेरमा पनि 'हिरो’ नै बनेर फर्किनुभयो किन ? 

मलाई त्यस्तो लाग्दैन । अमिताभ बच्चनको उमेरमा म पुगेकै छैन (हाँस्दै) । चलचित्रमा फलानो ठाउँमा यस्तो भइरहेको छ, यहाँ किन भएन भनेर खोज्नु त प्रत्युत्पादक हो । अहिले यहाँ सिर्जनाको दायरा फराकिलो भएको छ । विभिन्न प्रकारका चलचित्र बनिरहेका छन् । ‘नरसिंहा’ जस्तो ‘हिरोइजम’ बोकेको वा अरू विषयमा पनि चलचित्र बनाउन सक्नुहुन्छ । फलानो उमेरमा, फलानो ठाउँमा फलानोले यस्तो गर्‍यो भन्नु त जायज हुँदैन । आ–आफ्नो ढाँचामा चल्ने हो ।

विगतमा मैले लगातार चलचित्र गर्दा सिर्जनाको दायरा कमै थियो । एक किसिमको विषयमा आधारित रहेर चलचित्र गर्नुपर्थ्यो । जहाँ हिरो–हिरोइन अलि राम्रो देखिनुपर्थ्यो । भारतमा भन्दा त अहिले यहाँ राम्रो भएको छ । अहिले यहाँ त विभिन्न पात्रमा उभिएका कलाकार, विभिन्न विषयमा बनेका चलचित्रहरू देखिन्छन् । हिरोइजम नदेखिने चलचित्रहरू पनि दर्शकले रुचाइदिनुभएको छ । हिरोइजम रहेको चलचित्र पनि दर्शकले हेर्नुभएकै छ । 

केही दशकयता नवीन सुब्बा, मीन भाम, दीपक रौनियारजस्ता निर्देशकको आगमनसँगै फरक धारमा चलचित्र बनाउन सकिन्छ, 'हिरोइजम’ बिना पनि हाम्रा कथाहरू सुनाउन सकिन्छ भन्ने देखियो । दर्शकले त्यस्ता चलचित्र स्विकारे । दयाहाङ राई पनि हिरो हुन सक्छन् भन्ने परिवर्तन चलचित्र क्षेत्रमा आयो । यो परिवर्तनलाई कसरी हेर्नुहुन्छ ? 

हो, पहिला–पहिला चलचित्रमा प्रमुख भूमिका खेल्ने व्यक्ति यस्तो हुनुपर्छ, नायक भनेपछि ‘लार्जर द्यान लाइफ’ हुनुपर्छ, नायिका यस्तो हुनुपर्छ भन्ने मान्यता थियो । छिमेकी राष्ट्रमा पनि यो अभ्यास थियो । तर, अहिले दायरा फराकिलो हुनु सिर्जनशील व्यक्तिका लागि राम्रो हो ।

व्यक्ति आफ्नो सिर्जनामा खुम्चिनु परेन । दर्शकले पनि यस्तो विषयवस्तु, यस्तो कलाकारभन्दा पनि राम्रो चलचित्र हेर्न चाहनुहुन्छ । कुनै पनि विषयवस्तु उठान गरेर समग्रमा राम्रो चलचित्र बन्यो भने हरेक विधाको चलचित्र चल्ने सम्भावना हुन्छ । सबैभन्दा मुख्य कुरा त दर्शकको स्वीकार्यता विभिन्न स्वादमा बढेको छ । उहाँहरूले कुनै विषयवस्तु, कुनै कलाकारभन्दा पनि राम्रो चलचित्र हेर्न चाहनुभएको छ । 

No one has a magic wand to solve the problems of the nation.

विषयवस्तु र कलाकारको दायरा फराकिलो हुँदा दर्शकको स्वाद कसरी परिवर्तन हुँदै आयो ? 

हामीले पस्केको सिर्जना र दर्शकको रुचिमा नङ र मासुकै सम्बन्ध छ । सुरुवातमा दर्शकको अपेक्षा नै त्यस्तै थियो–हिरोइजम भन्नेबित्तिकै हिरोको निश्चित बनोट हुनुपर्‍यो । त्यो भन्दा बेग्लै ढाँचाले पेस गरिएका कति सामग्री चलेनन् । अहिले दर्शक पनि विभिन्न स्वादका लागि तयार हुनुभयो । सिर्जना गरेका व्यक्ति विभिन्न विषयमा कला पस्कन सक्ने भए, ग्रहण गर्ने व्यक्ति पनि उदार भए । 

नेपाली चलचित्रको ५ दशकभन्दा बढीको इतिहासमा तपाईंले के कस्तो परिवर्तन देख्नुभयो ? 

चलचित्रमा परिवर्तन भनेको यसको प्रविधि हो । क्यामेरा, साउन्ड सिस्टममा परिवर्तन आयो । जुन बेलामा मैले सुरुवात गरें, त्यो बेला २० वर्षअगाडिको दाँजोमा परिवर्तन भएकै थियो । परिवर्तन हरेक चरणमा भइरहेकै छ । अहिले, चलचित्र हेर्ने संस्कृतिमा बदलाव आएको छ । आजभन्दा २५/३० वर्ष अगाडि इन्टरनेट, मोबाइल थिएन । चलचित्र भवनमै गएर हेर्ने हो । अहिले त चलचित्र हातहातै, खल्तीखल्तीमै छ । त्यसकारण चलचित्र आफैंमा आकर्षणको बिन्दु बनेन ।

पहिले चलचित्र हेर्न जानु उत्सव हुन्थ्यो । अहिले त व्यक्ति आ–आफैं चलचित्र बनाउनुहुन्छ । आ–आफैं बसेर पार्श्व संगीत राख्नुहुन्छ । अहिले घर–घरमा कलाकार छन् । बाजेबजैदेखि नातिनातिना सँगै नाच्नुहुन्छ, अभिनय गर्नुहुन्छ । पहिले जो–जो यो विधामा सक्रिय हुनुहुन्थ्यो, यस्तो उहाँहरूले मात्रै गर्नुहुन्थ्यो । अहिले त बाहिर कुनै ठाउँमा जानुभयो भने केटाकेटीहरू जोडी बनेर टिकटकमा नाचिरहनुभएको देखिन्छ । म सोच्थें, यो त ३० वर्षअगाडि म र हिरोइन बसेर गर्थ्यौं । अहिले त घुम्न गएका बुढाबुढीले पनि त्यही गरिरहेका छन् । त्यसकारण कलाकारिता गर्ने, चलचित्र हेर्ने, चलचित्र मेकिङ नौलो विषय भएन । चुनौतीचाहिँ यो व्यवसायमा लाग्नेहरू उहाँहरूभन्दा उत्कृष्ट हुनुपर्‍यो । बढी परिष्कृत र परिमार्जित भएर आउनुपर्‍यो । पहिला हामीलाई अलिअलि गडबड गर्ने छुट थियो, अहिले त्यो छुट छैन । 

चलचित्रकर्मीले 'स्क्रिप्ट’ मा लामो समय खर्चनुपर्छ, घोत्लिनुपर्छ भन्ने चेत चलचित्रकर्मीमा बढ्दै गएको देखिन्छ । पहिले त्यति गम्भीर हुन्थेनन् भन्ने सुनिन्छ नि ? 

‘स्क्रिप्ट’ तयार भयो भन्दैमा रामायण नै हुनुपर्छ भन्ने छैन । हामीले सोचेजस्तो लोकेसन भएन, त्यसैलाई सम्झौता गर्नुपर्‍यो भने परिमार्जन गर्नैपर्थ्यो । परिमार्जन हिजो पनि थियो, आज पनि छ । तर स्क्रिप्ट सशक्त पाटो हो भन्ने मान्यता हिजो पनि थियो, आज पनि छ । स्क्रिप्ट बलियो नहुञ्जेलसम्म चलचित्र बलियो हुँदैन । विडम्बना, सबै चलचित्र त्यो स्क्रिप्टअनुसार बन्छन् भन्ने छैन । किनकि स्क्रिप्ट भनेको कलमले लेखेको हुन्छ, चलचित्र भनेको क्यामेराले लेखिन्छ । कलमले लेख्दा सबैले राम्रै कथा लेख्छन् ।

कसैले पनि कमजोर स्क्रिप्ट लेख्दै छु, तपाईं यसमा काम गर्नुहुन्छ ? भन्दै आउँदैनन् । सबै उत्कृष्ट कथा भन्दै आइपुग्छन् । कलमले लेखेको कथा राम्रै हुन्छ । तर, त्यही कुरालाई क्यामेरामार्फत कसरी देखाइन्छ भन्ने महत्त्वपूर्ण हो । मेरो अनुभवमा त राम्रो वा नराम्रो बन्ने चलचित्रमा क्यामेरामार्फत निर्देशकले कसरी कथा भन्न जान्यो भन्ने कुरामा भर पर्ने हो ।

उदाहरणका लागि मानिसहरू यहाँ डकुमेन्ट्री बनाउन आइपुग्छन् । असाध्यै राम्रो प्रविधिमा उनीहरूले यहीँको हिमाल, जनजीवन खिच्छन् । त्यो हेर्दा गजब्बै लाग्छ । अर्को व्यक्ति आउँछ, उसले पनि यही हिमाल र जनजीवन खिच्छ तर राम्रो नलाग्न पनि सक्छ । त्यो सब कुनै व्यक्तिले आफ्नो प्रविधिमार्फत, क्यामेराबाट पर्दामा कसरी सिर्जना उतार्छ भन्ने नै हो । प्रायः चलचित्र राम्रो र नराम्रो त्यहाँबाट निर्धारित हुन्छ जस्तो लाग्छ ।

प्रविधिको विकाससँगै फिल्म क्षेत्रमा थुप्रै परिवर्तन आए । एनालगदेखि डिजिटल हुँदै अहिले एआईको जमानामा पुगेको छ । यी परिवर्तनलाई कलाकारले कसरी आत्मसात् गर्नुपर्छ ? 

फिल्म प्राविधिक पक्ष भएकाले यसको सुरुवातदेखि नै प्रविधिमा अभिवृद्धि हुनेबित्तिकै यसले पस्केको सामग्रीमा समेत विकास भएको छ । परिवर्तन अहिले मात्रै भएको होइन । हरेक परिवर्तनमा व्यक्ति पहिला झस्केको र कालान्तरमा त्यसलाई अँगाल्दै सहज रूपमा अगाडि बढेको देख्छौं । अहिले एआई र डिजिटल प्रविधिले जुन भयंकर फड्को मारेको छ यो त सुरुवात हो ।

एआईले त भोलि फिल्ममा वास्तविक कलाकार नै नचाहिने सम्भावना सिर्जना गरिदिन सक्छ । उसले त हुबहु व्यक्तिले बोलेको जस्तै गरिदिन सक्छ । तर, मलाई लाग्छ कालान्तरमा यसले सहज बाटो अपनाउँछ । परिवर्तित प्रविधि कलाकारका लागि पनि सहायकसिद्ध हुन्छ होला । समयअनुसार यसमा संलग्न व्यक्तिहरूले यसमा आफूलाई ‘अपग्रेड’ गर्दै लैजानुपर्छ । 

लगानीका हिसाबले अहिले करोडमाथिको बजेटमा चलचित्र बन्छन् । व्यापार पनि करोडौंको हुन थाल्यो । पूर्णबहादुरको सारंगीले त घरेलु बजारको फराकिलो बाटो देखाइदियो नि ? 

राम्रो चलचित्र हेर्न खोज्ने दर्शक हुनुहुन्छ । फिल्म हेर्ने दर्शक भइसकेपछि बजार पनि देखिएको छ । तर, यो जरुरी छैन कि, एउटा चलचित्रले कमायो भन्दैमा हामीले भरपूर खर्च गर्न सक्छौं । एउटा चलचित्रले ३० करोड कमायो भने हामी १० करोड खर्चन सक्छौं भनेर जाने परिस्थिति अझ पनि छैन । २ करोड खर्चेर बनाएको चलचित्रले २० लाख नकमाएको पनि छ ।

त्यसकारण चलचित्रमा त्यो जोखिम छ । प्रायः लगानीकर्ताले त्यही जोखिम हेर्ने हो । चल्छ भन्ने शतप्रतिशत ढुक्क हुने अवस्था छैन, चल्यो भने राम्रै हो । कति चलचित्रको कमाइ १ लाख पनि उठेन । ५० करोड उठ्छ नै भन्ने थाहा पायो भने १० करोड खर्च गर्न सकिएला । यहाँ कुनै चलचित्रले व्यापाक व्यापार गरेको देखियो, त्यसले राम्रो चलचित्र बनायो भने दर्शकचाहिँ छन् है भन्ने बनायो । तर चलचित्र बनाउँदा यहाँ कसैको करोडौं डुबेको पनि छ । त्यसकारण सबैभन्दा धेरै चलेको चलचित्रलाई हेरेर निर्माण खर्च बढाइहाल्ने अवस्था बजारले अझै दिएको छैन, जोखिम छ । 

तपाईंले यही बीचमा 'जातको प्रश्न’ नामको टेलिभिजन कार्यक्रम सञ्चालन गर्नुभयो । यस्तो गम्भीर विषयमाथि कार्यक्रम सञ्चालन गरिरहँदा तपाईंको विरोध पनि भयो नि ? 

जुन विषयवस्तु हामीले उठान गरेका छौं, यो छलफलको विषय बनिरहनुपर्छ । हाम्रो समाज यसप्रति सचेत हुनुपर्छ, यी यस्ता मुद्दाहरू जुन सदियौंदेखि चलिआएका छन् । कानुनमा लिपिबद्ध गरे तापनि यो रातारात हट्नेवाला छैन । व्यवहारमा ढाल्न धेरै समय लाग्छ । त्यसकारण यस्तै किसिमको सचेतना जगाउँदै, यस किसिमको कुप्रथा खतम होस् भन्ने उद्देश्य हो । यस्तो कार्य गर्न त्यस्तो विरोधले खासै असर गर्दैन । किनकि समाजमा यो विद्यमान छ, यस्तो बहस हुनुपर्छ । यो कार्य हुनेबित्तिकै जादुजस्तो खतम हुने पनि होइन । तर छलफलको विषय भइरहनुपर्छ, जबसम्म समस्या रहिरहन्छ । 

कलाकारले त चलचित्रमार्फत यस किसिमको संवेदनशील विषयमा सहभागिता जनाइरहेका हुन्छन् । समाजमा भएका यस किसिमका संवेदनशील विषयमा कलाकार जिम्मेवार भइदिनुपर्छ, बोलिदिनुपर्छ । कति कलाकारले त यस्ता विषयमा मौनता पनि साधेका छन् नि ? 

मैले कार्यक्रम सञ्चालन गरेर यसलाई नजिकबाट बुझ्नका लागि समाजसँग प्रत्यक्ष अन्तरक्रिया गरें । सबै कलाकारले त्यस्तै गर्नु पर्दैन । तर, सचेत त हुनुपर्‍यो नि । कलाकारको त अर्को जिम्मेवारी हुन्छ । सबैले कार्यक्रम चलाएरै, अन्तरक्रिया गर्दै मुद्दा समाधान गर्नुपर्छ भन्ने होइन । कलाकार, संगीतकर्मीले आ–आफ्नो माध्यमबाट पनि यस्तो कुरा उजागर गर्न सक्नुहुन्छ नि । कलाबाट पेस गरिने धेरै कुराबाट समाज परिवर्तन गर्नका लागि सहयोग भएको छ ।

यहाँ विशेष व्यक्तिहरूलाई अप्ठ्यारो लाग्ने गीत ब्यान्ड पनि गरिदिइएको छ । कुनै चलचित्रमा एउटा पक्षलाई मन नपर्दा विद्रोह नै हुन्छ । किन त ? कलाको प्रभावकारिता छ । मैले गरेझैं नगरे पनि, कुनै न कुनै हिसाबले कलाकारले कलामार्फत त्यसै किसिमको मुद्दा उठाएर, विषय उठाएर पनि त यसप्रति ध्यानाकर्षण गर्न सक्नुहुन्छ । कला त कुनै पनि सामाजिक विषयवस्तुबाट अछूत रहन सक्दैन । सामाजिक परिवेश र अवस्थाबाट कलाले ग्रहण गर्ने हो ।

जे समाजमा छ, त्यो कलामा हुन्छ । कुनै–कुनै विषयलाई कलामा अतिरञ्जित गरेर देखाउँदा त्यसलाई समाजले ग्रहण गर्छ । सामाजिक मुद्दाहरू समाजबाट उठान गरिन्छ, तर हिरो, हिरोइनले त्यो मुद्दामा कस्तो हाउभाउ गरे ? कस्तो लुगा लगाए भनेर दर्शक प्रभावित हुनुहुन्छ । कलाबाट समाज अनि समाजबाट कला प्रभावित हुने त ‘साइकल’ नै हो । कलाको सशक्त शक्ति छ । कलामा लागेको व्यक्तिलाई सोधिन्छ, तपाईं राजनीतिमा आउने होइन ? समाज परिवर्तन खालि राजनीतिले मात्रै गर्दैन । समाज परिवर्तन गर्न यी सबै खम्बाहरू सशक्त हुनुपर्‍यो । समाज परिवर्तन, सोच परिवर्तन ल्याउनलाई एउटा सशक्त भूमिका निर्वाह गरेको हुन्छ कलाले ।

No one has a magic wand to solve the problems of the nation. 

नेपालमा लोकतान्त्रिक व्यवस्था छ । विचारको स्वतन्त्रता छ । तर पछिल्लो समय कलाकारले समाजका मुद्दाहरूमा बोल्दा होस् या कुनै विषयमा अभिव्यक्ति दिँदा 'ट्रोल’ गर्ने, स्टेज नदिनेदेखि बहिष्कार गर्नेसम्मका गतिविधि हुन थालेका छन् । यो अवस्थालाई कसरी लिनुभएको छ ? 

कलाकारले पस्कने कला एक ठाउँमा हुन्छ, अर्कोतिर उसको अभिव्यक्ति र आचरण हुन्छ । त्यसैले कलाकारलाई उसले गरेको कला र दिएको वक्तव्य, आचरणलाई छुट्याएर हेर्नुपर्ने हुन्छ । हरेक कलाकारले आफ्नो हैसियतमा दिने धारणा, मनसाय होस् या आचरण त्यो नितान्त व्यक्तिगत कुरा हो । त्यसमा गुनासो छ भन्दैमा उसभित्रको कलालाई नकार्न मिल्दैन । जनसमुदायले कलाकारको व्यवहार तलमाथि भयो भन्दैमा उसले पस्केको कला नकार्न मिल्दैन । 

तपाईं राजनीतिक, सामाजिक विषयलाई नजिकबाट नियाल्नुहुन्छ । देशको चरम निराशा, गरिबी र आर्थिक/राजनैतिक समस्याबाट पार लगाउनचाहिँ कसरी सकिन्छ ? के तपाईंले फिल्ममा गरेको चरित्रकै जस्तो व्यक्ति आउनुपर्ने हो ?

राष्ट्रका समस्या समाधान गर्न जादुको छडी कसैसँग पनि हुन्न । कलाको उद्देश्य त देशमा भएका यस्ता समस्या र बेथिति अन्त्य हुनुपर्छ, कुनै न कुनै हिसाबले न्याय पाउनुपर्छ भनेर दर्शाउने हो । ‘नरसिंहा’ जस्तो पात्र नै नआए पनि हाम्रो समाजले कोही व्यक्ति त खोजिरहेको छ नि, ताकि यो बेथितिबाट पार लगाइदियोस् । जो आइरहेका छन्, गरिरहेका छन् उनीहरूबाट चरम असन्तुष्टि भयो । त्यसकारण यसलाई परिवर्तन गर्नलाई कोही न कोही व्यक्ति आओस् भन्ने छ । जनसमुदाय आज पनि यो व्यक्तिबाट हुन्छ कि, त्यो व्यक्तिबाट हुन्छ भन्ने पर्खाइमा छन् । ‘नरसिंहा’ कै पात्र नआए पनि यो राष्ट्रलाई सुधार्न कोही न कोही व्यक्तिको खाँचो छ । राष्ट्रको सामाजिक, आर्थिक र राजनैतिक व्यवस्था सुधार्ने भन्ने कुराको खोजी भइरहेको देखिन्छ ।

तपाईंलाई त्यस्तो व्यक्ति आउँछ भन्ने लाग्छ ?

एक व्यक्ति आएर सबै समाधान गरिदेला भन्ने त हुँदैन । तर, सुधार त हुनुपर्‍यो । वास्तविक जीवन र राजनीतिमा सुधार आजको भोलि त हुँदैन । तर, सुधारको पहिलो चरणमा प्रवेश त गर्नुपर्‍यो नि । हिजोभन्दा आज राम्रो, आजभन्दा भोलि राम्रो–केही त बदिलिँदै छ है भन्ने भयो भने त्यही नै सफलता हुन्छ । राम्रो व्यक्तिले गर्ने भनेकै त्यही त हो । एउटै व्यक्तिको जीवनकालमै त्यो नहुन सक्छ, उसले कुनै न कुनै परिणाम दिएर छोड्नुपर्ने हुन्छ । त्यसपछि अर्को पुस्ताले त्यसलाई अगाडि बढाउनुपर्ने होला । समाजमा ‘वर्क इन प्रोग्रेस’ हुनुपर्छ ।

सरकारले हालै राष्ट्रिय सभामा दर्ता गरेको चलचित्रसम्बन्धी विधेयकमा 'सेन्सरसिप’ लाई झनै कडा बनाउने प्रावधान छ । 'सेन्सरसिप’ नै खारेज गर्नुपर्ने माग भइरहेका बेला झन् कडाइ गर्ने कानुन बन्न लागेकामा तपाईंको धारणा छ ?

म ‘सेन्सरसिप’ पूरै खारेज गर्नुभन्दा पनि चलचित्रलाई ‘ग्रेडिङ’ गर्नुपर्ने पक्षमा छु । किनभने फलानो सिर्जना मात्र स्वीकार, निश्चित किसिमको अस्वीकार गर्ने भन्ने मापदण्ड राख्नेभन्दा पनि ‘ग्रेडिङ’ गर्न सक्नुपर्छ । विदेशमा पनि यस्तो अभ्यास हुन्छ । ‘जेनरल अडियन्स’, ‘रेस्ट्रिक्टेड अडियन्स’, ‘प्यारेन्टल गाइडेन्स’ भनेर छुट्याइदिन मिल्यो । तर, सम्पूर्ण रूपमा ‘सेन्सरसिप’ नै खारेज गर्ने कुरा भएन । तर, ‘सेन्सर’ ले लोकतान्त्रिक परिवेशमा सिर्जनामाथि हाबी भएर यस्तो गर्न मिल्छ, मिल्दैन भन्न मिल्दैन । 

No one has a magic wand to solve the problems of the nation.

नेपाली फिल्मले हलमा सधैं विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्छ । 'शो’ बाँडफाँटमा विभेद र राजनीति हुने गरेको छ । यसलाई कसरी हेर्नुहुन्छ ?

अहिले नेपाली चलचित्र क्षेत्र सशक्त बन्दै छ । लगानीदेखि पर्दाअघि र पछिको जनशक्तिले ठूलो योगदान दिएको छ । कतिपय नेपाली युवा रोजगारीका लागि विदेश गइरहेका छन् । कला क्षेत्रले भने यहीँ रोजगारी सिर्जना गरेको छ । यसकारण सरकारले यो क्षेत्रलाई असाध्यै गम्भीर भएर हेर्नुपर्छ । चलचित्रलाई सरकारले नै संरक्षण र केही सहुलियत दिनैपर्छ । त्यसो नगरे यो क्षेत्र फस्टाउँदैन । नेपालको चलचित्र क्षेत्र अन्य राष्ट्रका फिल्मसँग प्रतिस्पर्धा गर्ने स्थानमा पुगिसकेको छैन । त्यसैले सरकारका तर्फबाट संरक्षण र सहुलियत दिइनुपर्छ । जस्तै, युरोपमा युरोपियन चलचित्रलाई त्यहाँको राज्यले बजेटमार्फत धेरै सहुलियत दिएको हुन्छ । 

नेपालमा विभिन्न स्टुडियो निर्माण भन्दै बर्सेनि बजेट घोषणा भइरहेको हुन्छ । तर, नीति, कार्यक्रम तथा व्यवहारमा त्यो कार्यान्वयनमा आएको देखिँदैन ? यसपटक बजेट कस्तो आउनु आवश्यक छ ? 

हरेकचोटि नयाँ व्यक्ति नियुक्ति हुनेबित्तिकै स्टुडियो बन्ने या स्टुडियोको क्षेत्र हेर्न जाने कार्य भइरहेको देखिन्छ । तर, खासै त्यसले ठोस परिणाम ल्याइरहेको हुँदैन । किन हो ? त्यो त थाहा भएन । तर, प्रश्न त हामी गरिरहेकै छौं । चलचित्र छायांकन गर्ने स्टुडियो, स्थान निर्माण गर्नु आवश्यक छ । सरकारको तर्फबाट यो पहल हुनु आवश्यक छ । त्यसो भएको खण्डमा हाम्रा चलचित्रले सहुलियत पाउँछन् । चलचित्रको विकास हुने सम्भावना अझ बढ्छ । अहिले पर्याप्त मात्रामा चलचित्र बनिरहेका छन् । तर राम्रो स्टुडियो नहुनु, प्राविधिक सामग्री सहजतापूर्वक प्राप्त नहुनुचाहिँ विडम्बना हो । हामी पनि यो प्रश्न गर्न चाहन्छौं– आखिर कहिलेसम्म यी कुराको ठोस परिणाम पाउने हो ? 

सरकारले कला, संगीत क्षेत्रलाई बजेट, नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्नुपर्छ । विदेश जान लालायित युवाहरूका लागि रोजगारी सिर्जना गर्ने यस्तो क्षेत्रमा आएका जनशक्तिलाई राष्ट्रभित्रै परिचालित गर्न यो कार्य हुनुपर्छ । उनीहरूले बनाएको सिर्जनाले नै त संसारमा राष्ट्रको पहिचान पुगिरहेको हुन्छ । यसमा सरकारको गम्भीर ध्यान पुग्नुपर्छ । कला, संगीत र साहित्यले राष्ट्रको ‘सफ्ट डिप्लोमेसी’ का रूपमा काम गर्छन् । राज्यको राजनीति र कूटनीति एक पक्षमा छ भने संसारप्रति आफ्नो परिचय दिने, सौहार्दपूर्ण सम्बन्ध स्थापनाका लागि कला, संगीत र साहित्यले धेरै महत्त्वपूर्ण भूमिका खेल्छन् । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully