‘सरकारमा दुई मुख्य पार्टी छौं, तर, प्रहार किन एमालेमाथि ?’

छिमेकसँगको सम्बन्ध कस्तो बनाउने भन्ने उसको पनि विषय हो, हामीले चिन्ता  किन गर्नु ? 

वैशाख २१, २०८२

कुलचन्द्र न्यौपाने, दुर्गा खनाल

”We have two main parties in the government, but why attack on UML?”

संसदीय गणित खेलाउँदै सत्ता फेरबदलमा अभ्यस्त दलहरूका गतिविधिका कारण नेपालको सत्ता राजनीतिमा मौसमजस्तै आंशिक बदली भइरहन्छ । विचार र दर्शनभन्दा महत्त्वाकांक्षा, अहं र स्वार्थका आधारमा दलका नेताहरूले समीकरण अदलबदल गरिरहने भएकाले नेपाली समाज पनि हरेक क्षण सरकार बदलिने आशंका पालेर बस्छ ।

१० महिनाअघि कांग्रेस र एमालेको सहमतिको जगमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकार पनि ढलिहाल्ने आशंका अहिले व्याप्त छ । यो गठबन्धन निर्माणमा ‘आर्किटेक्ट’ को भूमिका निर्वाह गर्ने नेताहरू चाहिँ कुनै हालतमा खटपट नआएको ठोकुवा गर्छन् । यसै सन्दर्भमा एमाले महासचिव शंकर पोखरेलसँग कान्तिपुरका दुर्गा खनालकुलचन्द्र न्यौपानेले गरेको कुराकानी : 

१० महिनाअघि कांग्रेस र एमालेबीच अर्को निर्वाचनसम्मका लागि भन्दै बनेको गठबन्धन र सरकार अहिले नै धरमराउन थालेको हो ?

जे कारण हामीले सत्ता समीकरण परिवर्तन गर्‍यौं, ती कारणहरू र प्रमुख नेतृत्वको बुझाइ पनि यथावतै छ । केही मानिसहरूले आशंका, भ्रम, सिर्जना र परिवर्तनका लागि कोसिसचाहिँ गरिरहेका छन् । त्यसैले हरेक दुई महिनामा प्रमुख नेतृत्वले गठबन्धन जारी रहन्छ भनिरहनुपरेको छ । सत्ता समीकरणसँग असन्तुष्ट रहेको पक्षद्वारा गरिने गतिविधिले पारेका प्रभावहरू समाजमा छन् ।

एउटा रोचक कुरा सुनाउँछु– सरकार बनेलगत्तै एक जना सचिवलाई राजदूत बनाउने कुरा उठ्यो । उहाँले अस्वीकार गर्नुभयो । दुई महिनापछि यो सरकार बदलिइहाल्छ, अहिले बनेर फिर्ता भइहाल्नुभन्दा दुई महिनापछि नयाँ सरकारबाटै बनौंला नि भन्नुभयो । सचिव तहको मान्छेलाई पनि सरकार दुई महिना पनि चल्दैन भन्ने भ्रम थियो । त्यो बिन्दुबाट बनेको सरकार अहिले १० महिना चलिसक्यो । 

गठबन्धन सरकार चल्दैन भन्ने आशंकाका पछि छिमेकी मुलुकसँगको सम्बन्धको आयामले पनि काम गरेको हो कि ? 

छिमेकीले भ्रमणमा बोलाएन भन्ने कुराबाट सरकार चल्दैन भन्ने लख काट्ने चलन छ । उसले मन पराएको छैन, त्यसैले त्यस्तो सरकार लामो समय रहन्न भन्ने अर्थमा धारणा बनाउने र त्यसकै पक्षमा पैरवी गर्ने गरेको देखिन्छ । तर छिमेकीले प्रमुख दलहरूसँग असहमति राखेर परिवर्तनका लागि अनावश्यक कोसिस गर्छ भन्ने लाग्दैन । 

प्रधानमन्त्री बनेपछि भारत जाने परम्परा नै थियो । त्यसअनुसारको भ्रमण नै नहुनुको संकेत के हो त ?

कसलाई बोलाउने/नबोलाउने उसको ‘इन्ट्रेस्ट’ को कुरा हो । त्यस आधारमा नेपालको सत्ता समीकरण प्रभावित हुने हो र ? छिमेकसँगको सम्बन्ध कस्तो बनाउने भन्ने त उसको पनि विषय हो नि । हामीले चिन्ता किन गर्नु ? अहिलेको सत्ता समीकरणको नीति नै छिमेकलाई प्राथमिकता दिने भन्ने छ । दुई राष्ट्रबीचको सम्बन्धमा कुनै तलमाथि भएको छ र ? भएको छैन नि । भ्रमण भए सम्बन्ध राम्रो, नभए सम्बन्ध चौपट भन्ने हुन्छ र ? परराष्ट्रमन्त्री र अन्य मन्त्रीहरू भारत गइराख्नुभएको छ । द्विपक्षीय बैठकहरू बसेर सहमतिहरू भइरहेका छन् । उत्तर र दक्षिण दुवैतिरबाट नेता र अधिकारीहरू आइरहेका छन् । नेपालबाट पनि गइरहेका छन् । अनि कहाँनेर सम्बन्धमा समस्या भयो ? प्रधानमन्त्रीस्तरको भ्रमण नै महत्त्वपूर्ण र संवेदनशील विषय हो भन्ने ठानिराख्नु पर्दैन । यस्ता विषयहरूलाई सरकारको स्थायित्वसँग जोड्ने कुरा नै गलत हो । 

भर्खरै भाजपाका नेता विजय चौथाइवाले आएर नेपालका धेरै नेतालाई भेटे । गठबन्धनको मनस्थिति बुझ्नका लागि आएका हुन् कि ?

छिमेकी दुई वा विश्वशक्ति मुलुकका नेताहरू आएर नेपालका नेताहरूलाई भेट्न चाहे भने भेट्दिनँ भन्नु उचित हुन्न । त्यस अर्थमा यस्ता कुरालाई सामान्य लिनुपर्छ । कुनै पनि सरकार परिवर्तनको विषय यस्ता भेटघाटबाट हुन्छ र ? कसैले यस्ता खालका गतिविधि गर्ने हो भने त अदृश्य रूपमा हुन्छन् होला नि, दृश्य रूपमा हुन्छ र ? 

राजावादीको प्रदर्शनमा भारतका एक मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर पनि देखियो । भारतमा प्राथमिकतासाथ प्रचारप्रसार भयो । त्यसपछि सरकार र सके व्यवस्था नै परिवर्तन गराउन सकिन्छ कि भन्ने चलखेल भएको भन्ने आशंका गर्नेहरू पनि छन् नि ?

यो विषयमा भारतस्थित नेपाली राजदूतले नै सम्बन्धित नेतालाई भेटेर सोध्नुभएको छ । जवाफमा उहाँले मेरो नाम जोडेर गरिने गतिविधिमा मेरो सहमति छ भनेर नबुझ्नुहोला भनेपछि, यो विषय त सक्किगयो नि । जहाँसम्म मिडियामा प्रचारको कुरा छ, ‘भ्युज’ बढाउने भन्ने ‘माइन्डसेट’ नेपाली मिडियाको त छ भने भारतीय मिडिया त झन् ‘सेन्सेसन’ मा काम गर्छ । त्यसैले भारतीय मिडियामा चर्चा भयो भन्ने आधारमा हामीले त्यसलाई भारतीय दृष्टिकोण नै हो भनेर बुझ्नु हुन्न ।

”We have two main parties in the government, but why attack on UML?”

विगतमा यस्तै घटनाक्रमहरूका कारण गठबन्धन फेरबदल हुने गरेकाले अहिले पनि त्यस्तै केही हुन लागेको हो कि भन्ने आशंका त हुने नै भयो नि होइन र ? 

नेपालमा विगतका सरकार परिवर्तनमा मुख्य रूपमा प्रचण्डको ‘निर्देशित आचरण’ ले काम गरेको हो । अरू हिसाबले त म समस्या देख्दिनँ । कांग्रेस र एमाले स्वतन्त्र निर्णय क्षमता राख्ने पार्टी हुन् । प्रचण्ड निर्देशित ढंगले पनि निर्णय गर्छन् । त्यस अर्थमा अहिले र प्रचण्ड निर्णायक भएको समयको दृष्टिकोणमा भिन्नता हुन्छ । यो चिजलाई त बुझ्नुपर्‍यो नि । दुइटा पार्टी नमिल्दासम्म प्रचण्डको निर्देशित योजना नेपाली राजनीतिमा हाबी थियो । त्यस अर्थमा समीकरण बदलिएको बदलियै हुन्थ्यो । अहिले त त्यस्तो होइन । 

प्रचण्डको ॅनिर्देशित आचरण’ भनेको चाहिँ कस्तो हो, व्याख्या गरिदिनुहुन्छ कि ?

त्यसको व्याख्या नगरौं । नेपाली राजनीतिमा सबैले बुझेको चिजलाई बताइराख्नु पर्दैन । नेपाली जनताले पनि राम्रै बुझ्नुहुन्छ । 

विगतमा गठबन्धन परिवर्तन हुने बेलामा धितोपत्र बोर्डको प्रमुख को बनाउने भन्ने एउटा विषयमा राजनीतिक विवाद थियो । अहिले गभर्नरको नियुक्तिको विषय जोडिएको छ । यति लामो समयसम्म गभर्नर नियुक्त हुन नसक्नु गठबन्धनमा समस्या भएर होइन ? 

सत्ता गठबन्धनभित्र मन्त्रालय जसले चलाए पनि राजनीतिक नियुक्तिहरू सहमति र समान हैसियतमा गर्ने भन्ने छ । त्यसैले छलफल गर्नुको अर्थ असमझदारी भन्ने होइन । अहिले हामी जे निष्कर्षमा पुगेका थियौं, त्यो कार्यान्वयन गर्ने कुरामा केही प्रक्रियागत समस्याचाहिँ देखापरे ।

ती समस्या के हुन् ?

छनोट समितिका एक जना सदस्यले राजीनामा दिनुभयो । फेरि सदस्य नियुक्त गर्नुपर्‍यो । राष्ट्र बैंककै क्याडरभित्र खोजौं भनेर अघि बढ्दा प्रक्रियामा ढाल्नका लागि सापेक्षिक रूपमा ‘जुनियर’ मान्छे ‘सिनियर पोस्ट’ मा नियुक्ति गर्दा हुने समस्यालाई कसरी हल गर्ने भन्ने विषय आयो । राजीनामा दिएपछि स्वतन्त्र विज्ञका रूपमा रहन्छन् अनि नियुक्ति सजिलो हुन्छ भन्ने आधारमा उनले राजीनामा दिए । तर राजीनामा स्वीकृत गराउन समय लाग्यो । त्यस कारण पार्टीहरू बीचमा समस्या होइन, प्रक्रियामा भएको जटिलताका कारण समय लागेको हो ।

कांग्रेसका नेताहरू एमालेकै कारण राजीनामा स्वीकृत नभएको आशंका गर्छन् नि ?

कुन नेताले बाहिर के भन्नुहुन्छ त्यसको अर्थ हुन्न । जो संवादमा हुनुहुन्छ उहाँ विश्वस्त हुनुहुन्छ ।

अर्थमन्त्रीले राजीनामा स्वीकृत गर्न निर्देशन दिइसक्दा पनि स्वीकृत नहुनु भनेको त अर्थमन्त्रीभन्दा माथिबाटै राजीनामा स्वीकृत नगर्न भनिएको पो हो कि ?

त्यस्तो होइन । छलफल गरेरै टुंगो लगाएको विषय हो । त्यसमा कुनै समस्या छैन । प्रक्रियागत रूपमा जटिलता पैदा भएको मात्र हो ।

”We have two main parties in the government, but why attack on UML?”

सत्ता गठबन्धन बनाउँदा संविधान संशोधन, आर्थिक समृद्धि र सुशासनका तीन उद्देश्य थिए । तर १० महिना भइसक्दा पनि यी तीनवटै विषयमा खास प्रगति भएको देखिन्न नि ? 

 यो महत्त्वपूर्ण कुरा हो । यो काम गर्न सकिएन भने गठबन्धनको औचित्य नै हुँदैन । काम प्रभावकारी बनाउन कानुनले नै जटिलता पैदा गरेको रहेछ भन्ने निष्कर्षका आधारमा ६ वटा अध्यादेश ल्याइयो । उद्योगी व्यवसायीहरूले त्यसलाई सकारात्मक प्रयासका रूपमा लिएका छन् । संरचनागत सुधार गर्ने र तत्काल डेलिभरी दिनुपर्ने विषयहरू पहिचान गरेर काम गर्नुपर्छ भन्ने आधारमा सुशासन आयोग गठन भएको छ । 

अर्थतन्त्र सुध्रिँदै छ । विश्व बैंक, एडीबी र नेपाल सरकारले गरेको आउने वर्षको प्रक्षेपणमा कुनै अन्तर देखिएको छैन । विदेशी मुद्राको सञ्चिति, शोधनान्तर स्थिति, मौद्रिक तरलता, लगानीका लागि बैंकको ब्याजदर यिनै त होलान् नि आर्थिक सुधारका सूचक । यी राम्रा छन् । राजस्वमा सुधार देखिन थालेको छ । तर पुँजीगत खर्चचाहिँ अपेक्षित बढेको छैन । अध्ययन नभएका थुप्रै आयोजनाहरू राख्दा, ट्रेजरीमा पैसाको समस्या उत्पन्न भएका कारण लामो समय विकास आयोजनाहरू ‘होल्ड’ भए । त्यो कारणले गर्दा पुँजीगत खर्चमा एक खालको समस्या देखापर्‍यो । 

हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला चल्ने र त्यसको असर प्रशासनिक संरचनामा पर्ने नेपालको विडम्बना नै हो । नियमनकारी निकायहरूको अनुसन्धान प्रक्रियाका कारण कर्मचारीतन्त्र हतोत्साही भएको भन्ने कुरा पनि छन् । हामीले भनेका छौं, यदि तपाईंहरूलाई काम गर्न कानुनले असुरक्षित गराएको हो भने कानुनमा सुधार गर्न सकिन्छ । सुशासन आयोग त्यसैका लागि हो । कर्मचारीको मनोबल कमजोर पारेर त डेलिभरी हुन सक्दैन । लामो समयदेखि बिग्रेको अवस्थामा एकैचोटि चामत्कारिक परिवर्तन हुँदैन । सानो प्रशासन हुँदा यही प्रशासनमा पनि धेरै गर्न सकिन्छ भन्ने त म लुम्बिनीको मुख्यमन्त्री हुँदाको परिणामले पनि बोल्छ । तर ठूलो प्रशासन अलिक जटिल हुन्छ । केही समय लाग्न सक्छ । 

”We have two main parties in the government, but why attack on UML?”

आर्थिक सूचकहरू सकारात्मक देखिए पनि बजार किन चलायमान हुन नसकेको होला त ?

आन्तरिक विश्वासको वातावरण बन्न सकेको छैन । हरेक दुई महिनामा सरकार फेरिने हल्लाले पनि काम गरेको छ । ढुक्क भएर लगानी गरौं, दुई महिनापछि कस्तो मन्त्री र कस्तो प्रधानमन्त्री आउने हो ? वातावरण कस्तो बन्ने हो ? भन्ने कुराले बजार चलायमान हुन सकेको छैन । 

सुशासनमा राज्यका स्थायी निकायले काम गरिराख्दा छुट्टै आयोग बनाइएको छ । तर आयोगकै नेतृत्व लिने प्रधानमन्त्रीले अहिलेसम्म मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेका छैनन् । यो विरोधाभासका बीच कस्तो सुशासनको परिकल्पना हो ? 

सम्पत्ति विवरण प्रस्तुत गर्नुपर्ने बाध्यता कानुनमा छ । तर, सार्वजनिक गर्ने कि नगर्ने भन्ने कानुनी बाध्यता छैन । अनुसन्धान गर्नुपर्ने अवस्था रह्यो भने सम्बन्धित निकायले प्राप्त गरिहाल्छ । सुशासनमाथि प्रश्न उठेकाले आयोग बनाइएको हो । यो स्थायी प्रकृतिको होइन । 

सार्वजनिक पदमा बस्ने व्यक्ति त पारदर्शी र जवाफदेही हुनु पर्दैन ? 

यो व्यक्तिगत कुरा हो । कोही पारदर्शी भएर प्रस्तुत हुन चाहन्छ । कोही रिजर्भ बस्न चाहन्छ । यो मानवीय स्वभाव हो ।

संविधान संशोधनको विषयमा ९ महिनासम्म एउटा कार्यदल पनि बन्न सकेन नि ?

राष्ट्रिय सभाको संरचनाले गर्दा सामान्य कानुन संशोधन गर्न पनि सम्झौता गर्नुपर्ने अवस्था आयो । एउटा अध्यादेश नै होल्ड गर्नुपर्ने अवस्था बन्यो । संविधान संशोधनको सन्दर्भमा दुई दल मिलेर मात्रै अगाडि बढ्न सकिने अवस्था देखिएन । दुवै सदनको दुई तिहाइका लागि केही समय पर्खनुपर्ने भयो । संविधान संशोधन विषय संवेदनशील विषय हो । सडकमा अस्थिरता भइरहने, त्यतिबेलै संविधानको विषयमाथि छलफल अगाडि बढाउने काम उचित हुन्न । शान्त वातावरणमा मात्रै प्रवेश गर्नुपर्छ । वातावरण बनाउने कुरामा प्रमुख दलहरू अग्रसर छन् । सिद्धान्ततः संविधानको पुनरावलोकन गरिनुपर्छ भन्नेमा हामीहरू एक ठाउँमा छौं । ०८४ सम्म सहकार्य गर्ने भनिसकेपछि आजको भोलि सबै टुंगाउनुपर्छ भन्ने होइन । चुनावसम्म हामी संविधान संशोधनको काम पनि गर्छौं । 

संविधानसभाबाट अधिकतम सहमतिमा आएको संविधान, संशोधन गर्दा दुई दलको एजेन्डाका आधारमा मात्र गर्ने कि सबैको अपनत्व खोज्ने ?

बहुसंख्यकले सहमति जनाउँदा पनि एउटा पक्षको असहमति पहिल्यैदेखि थियो, त्यस सत्यलाई बिर्सन हुन्न । संविधानप्रतिको स्वीकार्यता वृद्धि गर्ने योजनाअन्तर्गत काम गर्ने हो । 

संविधानको स्वीकार्यता वृद्धि गर्ने योजना हो भने त राष्ट्रिय सभामा माओवादीलगायत अन्य दलले पनि त सहयोग गर्न सक्छन् नि ? 

भूमिहीन, सुकुम्बासीको पक्षमा चर्को नारा लगाउने पार्टी माओवादी अहिले भूमिसम्बन्धी समस्या समाधान गर्न ल्याएको अध्यादेशको विपक्षमा खडा भयो । त्यसर्थ सत्तामा छ कि, विपक्षमा भन्ने आधारमा बनाउने दृष्टिकोणले समर्थन पाउन कठिनाइ हुन्छ । सत्ता गुमाउँदाको छटपटी कम भएपछि नै संवाद सजिलो हुन्छ । सत्ताबाट ध्यान बाहिर भयो भने वातावरण बन्छ । अहिलेसम्म वातावरण बनेको छैन । 

संविधानमा संशोधन गर्नुपर्ने धेरै विषय बाहिर आइरहेका छन् । यसलाई कसरी हेर्नुभएको छ ? 

समीक्षा त गर्न सकिन्छ । तर, नेपाली समाजलाई संविधानसभाकै जस्तो उद्वेलित बनाउने हो र ? जे चिजले अघि बढ्न बाधा पुर्‍याएको छ, त्यसैमा संशोधन गर्ने हो । सबै चिजमा किन प्रवेश गर्ने ? 

तपाईंहरूले ठान्नुभएको मुख्य बाधाचाहिँ निर्वाचन प्रणाली मात्रै हो ? 

अस्थिरता मुख्य बाधा हो । संसदीय लोकतन्त्र र समावेशिता ‘हाइब्रिड मोडल’ मा गयो । निर्वाचन प्रणालीबारे छलफल गर्दा कतिपयले समावेशिताका विरुद्धमा लागे भनेर हल्ला मच्चाउँछन् । दुवै पार्टीले समावेशिता नेपाली लोकतन्त्रको विशेषता हो, यसमा केही हुन्न भनेर भनिसकेका छन् । अहिलेको संक्रमणलाई समाधान गर्न सकियो भने छिट्टै यो प्रक्रियामा प्रवेश गर्छौं ।

”We have two main parties in the government, but why attack on UML?”

कार्यदल बनाउने कुरामा नै समस्या देखिएको छ भने संविधान संशोधन होला भनेर कसरी विश्वास गर्ने ? 

कार्यदल बनाउने कुरा दुई दलले घोषणा गरिसकेका छन् । सानो टिम बनाएर काम गर्दा समावेशिताका विरुद्धमा जान लाग्यो भन्ने संशय हुने भएकाले आकार ठूलो बनाएर जाने भन्ने निष्कर्षमा पुगेका छौं । कार्यदलमा राजनीतिक दलको नेतृत्वमा विज्ञहरू हुन्छन् । 

अमेरिकाले हालै एमसीसीको सहयोग रोक्ने निर्णय लिएको छ । नेपालका आयोजनाहरूको अवस्था अब के हुन्छ ? 

परियोजना नेपालको आवश्यकता हो । सकेसम्म सम्झौताअनुसार सहयोग प्राप्त गर्न सरकारले पहल गर्छ । नपाउने अवस्थामा स्रोतको वैकल्पिक व्यवस्था गरेर अघि बढ्नुपर्छ ।

यो घटनाले वैदेशिक सहयोग लिने मोडलमा अब नेपालले पनि समीक्षा गर्नुपर्ने स्थिति आएको हो ? 

अहिलेको त आकस्मिक घटना हो । अनुदानमा हाम्रो प्राथमिकताभन्दा पनि दाताहरूको कुरा सुन्नुपर्ने हुन्छ । सबै नीतिमा एउटै दृष्टिकोण बनाउन सम्भव हुन्न । आन्तरिक ऋण वा बाह्य ऋणका सन्दर्भमा नेपाली समाजमा जुन खालका धारणा आएका छन् ती विकासविरोधी छन् । ऋणको कुरा भनेको कुल जीडीपीको आकारको परिप्रेक्ष्यमा ऋणको अनुपात कति हुने भन्नेबारेमा अन्तर्राष्ट्रिय मानक निर्धारण गरिएको छ । त्यो कोणबाट हेर्ने हो भने नेपालको ऋण कम छ । आन्तरिक राजस्वले मात्रै ठूला आयोजना अगाडि बढाउन सकिन्न । त्यसका लागि ऋण नै लिनुपर्छ । हामीले लिएको ऋणले बाटोघाटो आयोजनाहरू बनिरहेका छन् त ।

तर, ढिलाइ भएकामा आक्रोश छ नि ? 

हामी समाजका सबै मान्छे नै त्यस्तै छौं । निर्माणको जिम्मा लिएको व्यवसायीले समयमै काम गर्दैन । जनता पनि काम गर्नेलाई सहयोग गर्नेभन्दा अलि–अलि झमेला गरेर चन्दा पाइन्छ कि भनेर कोसिस गर्छौं । हाम्रो बानीव्यहोरा पनि छिटो गराउने दिशामा छैन । कुनै काम ढिलो हुनु भनेको भ्रष्टाचारभन्दा पनि ज्यादा हानिकारक हुन्छ । जस्तो, अहिले कुलमानजीको समाजमा हाई–हाई छ । तर, उहाँकै नेतृत्वमा माथिल्लो तामाकोशी आयोजना ढिलो हुँदा राज्यले कति मूल्य चुकाउनुपर्‍यो ? 

अहिले नागरिक समाजका प्रबुद्धहरूले 'नेतातन्त्र’ बदल्नुपर्छ । दलको मुख्य नेतृत्व परिवर्तन हुनुपर्छ भनेर अभियानै सुरु गरेका छन् । यसलाई कसरी लिनुभएको छ ? 

०५८ सालतिर गिरिजाप्रसाद कोइरालाका विरुद्ध अहिलेभन्दा बढी आलोचना थियो । तर त्यसपछिको जनआन्दोलनले गिरिजाप्रसाद कोइरालालाई नायक बनायो । समाज यही न हो । नेपाली समाजको मनोविज्ञान के हुन्छ भन्ने नबुझेको हो र ? तत्कालको घटनामा हेर्ने हो भने हो कि जस्तो लाग्छ । तर समग्र राजनीतिको उत्तरचढावलाई हेरियो भने यी सबै कुरा मनोगत र अस्थायी कुरा हुन् । समाजमा एक प्रकारको निराशा, कुण्ठा र असन्तुष्टि छ । युवाहरूमा पलायनै छ । यो तथ्य हो । तर, कति वस्तुगत छ भन्ने कोणबाट हेरिनुपर्छ ।

अहिलेका शीर्ष नेतृत्वले जति गर्नु गरिसक्नुभयो अब उहाँहरूले सक्नु हुन्न, नेतृत्व हस्तास्तरण गर्नुपर्छ भन्ने आवाज नै बढी छ नि ? 

त्यस्तो होइन । गर्न सक्ने र नसक्ने भन्ने कुरा के आधारमा बुझने ? योजनामा बुझ्नुपर्छ । नयाँ पुस्तामा छ भने योजनासहित आउनुपर्छ । नेतृत्वमा हामीहरू पनि छौं त । पार्टीभित्रका नयाँ भनेको कांग्रेसभित्र गगन थापा र एमालेभित्र म जस्ता मान्छे नै त हौंला । अनि हामीले नै यसो–यसो गर्नुहोस् भनेर उहाँहरूलाई भनिरहेका छौं । हामीले भनेकै कुरा उहाँहरूले गर्छौं भन्नुभएको छ । यसलाई नेतृत्व नभन्ने र ? पाएको जिम्मेवारीका आधारमा काम गर्ने र दिशा निर्देश गर्ने भूमिकामा हामीहरू पनि छौं । एउटा समयमा युवाहरूले क्रान्ति र राष्ट्र निर्माणको नेतृत्व गरे । तर अर्को समयमा युवाहरूलाई नेतृत्वमा आउन कठिनाइ हुन्छ । यसलाई नेपालको मात्रै सन्दर्भमा नभएर विश्व राजनीतिकै अध्ययन गर्नुपर्छ । पुरानो पुस्ताले गरेको योगदानका आधारमा स्थापित भएको समाज एकैचोटि पुरानो पुस्तालाई विस्थापित गरेर कहीँ पनि अगाडि बढ्दैन । समय लाग्छ । पुरानो पुस्ताले एउटा चिजबाट मात्रै आफ्नो छवि बनाएको हुँदैन । 

अब पनि एकैचोटि भन्ने प्रश्न रह्यो र ? अहिलेको नेतृत्व पुस्ता त ०६२/०६३ देखि, अझ ०४८ सालदेखि राज्यसत्तामा रहेर काम गरेको होइन र ? 

यसबारे एउटा प्रसंग सुनाउँछु– २०४७ सालपछि पूर्वपञ्चहरूको राप्रपा पार्टी गठन हुँदादेखि नै चन्द (लोकेन्द्रबहादुर चन्द) र थापा (सूर्यबहादुर थापा) दुईटा समूह बने । ०५१ सालमा आइपुग्दा २० जना सांसद थिए । दुवै नेता आलोपालो प्रधानमन्त्री भए । उनीहरूबीच झगडा भएपछि नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भनेर वीरगन्ज महाधिवेशनमा चन्दले प्रकाशचन्द्र लोहनीलाई र थापाले पशुपतिशमशेर राणालाई उम्मेदवार बनाए । पशुपतिले चुनाव जिते । तर ६ महिना नबित्दै चन्दले उम्मेदवार बनाएका लोहनीलाई साथमा लिएर थापाले अर्को पार्टी बनाए । नेपाली राजनीतिको एउटा जिउँदो जाग्दो दृश्य हो यो । त्यसैले नयाँलाई सहजै स्विकार्ने परिस्थिति बनेको छैन । 

”We have two main parties in the government, but why attack on UML?”

नयाँलाई स्विकार्दैनन् भनेर नै हो माओवादीमा उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुन फेरि पार्टी राजनीतिमा सक्रिय भएका र एमालेले पनि पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय बनाउन खोजेको ? 

उमेरको हिसाबले उहाँ (विद्यादेवी भण्डारी) धेरै पुरानो हुनुहुन्न । पदको हिसाबले राष्ट्रपति भएको, सिंगो राष्ट्रको अभिभावक भएको, पार्टीले गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको व्यक्ति, एक प्रकारले पार्टीभन्दा माथि हुनुहुन्छ । उहाँको विषयमा टीकाटिप्पणी नगरौं । अभिभावकको भूमिकामा पार्टीले जहिल्यै स्वागत गर्छ । 

पूर्वराष्ट्रपति नै पार्टी राजनीतिमा आउनुभयो भने त तपाईंहरूको नेतृत्वमा उक्लने अवसर त बन्द हुने भयो नि ? 

राष्ट्रपति राजनीतिक पद होइन र ? राजनीतिक विषयमा राय प्रकट गर्नु, चिन्ता र चासो राख्नु अनौठो होइन । कार्यकर्ताले भने होलान्, तर उहाँलाई फेरि पार्टी राजनीतिमा ल्याउने विषय पार्टीमा छलफल भएको छैन । 

राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु कति उचित हुन्छ, तपाईंको विचार के छ ? 

यो विषय दलविशेषको मात्रै होइन, समग्र राष्ट्रकै सन्दर्भका बारेमा कस्तो दृष्टिकोण निर्माण गर्ने भन्नेसँग जोडिन्छ । राजनीतिक दलहरूले छलफल र परामर्श गरेर एउटा धारणा बनाउलान् । हामीले पनि बनाउँला । तर, अहिले माओवादीले एउटा दृष्टिकोण बनायो भन्नुको अर्थ त्यसैलाई सबैले पछ्याउनुपर्छ भन्ने होइन । आवश्यकता पर्‍यो भने हामी छलफल गरेर एउटा निष्कर्ष निकालौंला । अहिले छलफल भएको छैन । पार्टीमा सक्रिय हुने कुरा पार्टीको कुरा हो । 

तपाईं आफैंलाई कहिलेकाहीँ यत्रो जनआक्रोश, निराशा, पार्टीमाथिको विरोधलाई सम्बोधन गर्न अब आफैं अघि बढ्नुपर्छ भन्ने लाग्दैन ? 

यो आन्दोलनले जे सामर्थ्य दिएको छ, त्यो सामर्थ्य चुनौतीलाई सामना गर्ने कुरामा हैसियत स्थानान्तरण हुँदै जाने हो । पुस्ताको संयोजन राजनीति र गतिशीलताको आधार हो । पुरानो पुस्ता जिम्मेवारीबाट अलग्गिँदा नयाँ पुस्ता तयार नै हुन्न भन्ने होइन । पुरानो पुस्ताको आवश्यकता हुँदा उसैले नेतृत्व गर्छ, त्यसपछि नयाँ पुस्ता आउँछ । समाजको गतिशीलताको यो स्वाभाविक नियमलाई अन्तरविरोधको विषय बनाउन हुन्न । 

अहिले पार्टीभित्रको लोकतन्त्रको अवस्थाबारे प्रश्न उठेका छन् । एमालेमा पनि आन्तरिक लोकतन्त्र संकुचित छ । अधिवेशनमा सहमतिको नाममा प्रतिस्पर्धाको अभ्यास गर्नै  छोडियो नि ?

सहमतिलाई चुनौती दिएर जोकोही प्रतिस्पर्धामा आउन रोकेको छैन । जतिबेला नेतृत्व र पार्टीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भएको हुन्छ, त्यतिबेला स्वाभाविक रूपमा पार्टीले सहमतिमा जोड गर्छ । अनुकूल अवस्थामा रहेका बेलामा प्रतिर्स्धामा जोड दिने हो । 

तपाईंले भनेको घेराबन्दी नेतृत्वप्रति हो कि पार्टीप्रति ? 

दुवैमा छ । सरकारमा अहिले दुई मुख्य पार्टी छौं । तर, प्रहार किन एमाले र एमालेको नेतृत्वमा छ ? गृह प्रशासनमा कांग्रेसका रमेश लेखक हुनुहुन्छ । आन्दोलनमा घेरा तोडिन्छ, लाठीचार्ज हुन्छ । नारा हाम्रो नेतृत्वका विरुद्धमा लाग्छ । 

”We have two main parties in the government, but why attack on UML?”

प्रधानमन्त्रीय प्रणालीमा मुख्य नेतृत्वमाथि नै त हो नि प्रश्न उठ्ने ? 

प्रधानमन्त्रीय प्रणाली मान्ने हो भने त जस–अपजस दुवै जोडिनुपर्छ । जब जसको कुरा आउँछ, त्यसबेला फलाना मन्त्रीजीले गर्नुभयो भनेर तपाईंहरू पनि लेख्नुहुन्छ, प्रधानमन्त्रीले गर्‍यो भनिन्न । जस लिनेबेलामा प्रधानमन्त्रीय प्रणाली भन्ने हुन्न, अपजसमा प्रधानमन्त्रीय प्रणालीको सम्झना हुन्छ ।

कांग्रेसकै नेताहरू प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सरकारप्रति नै असन्तुष्टि जनाइरहेका छन् । यसलाई कसरी लिनुभएको छ ? 

हरेकका कार्यशैलीमा सबल र कमजोर पक्ष हुन्छन् । तर, प्रधानमन्त्रीको कार्यशैली समस्या हो भन्ने मलाई लाग्दैन । आज सबै चिजमा सुधार भइरहेको केपी ओलीकै नेतृत्वमा हो । यदि, सुधारलाई स्विकार्ने हो भने त्यसको जस दिनुपर्‍यो । जसजति अन्तैतिर पन्छाइदिने, अपजसजति नेतृत्वतिर तेर्साउने ?

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

दुर्गा खनाल कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका तत्कालिन सम्पादक हुन्।

Link copied successfully