काठमाडौँ — पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले दिल्लीमा राजनीतिक र कूटनीतिक भेटघाटलाई तीव्र पारेका छन् । भेटवार्तामा बीजेपीका वरिष्ठ नेता एवम् भारतका रक्षामन्त्री राजनाथ सिंह, नेपालका लागि पूर्व भारतीय राजदूतहरूले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो राखेको उनले जानकारी दिए ।
उनीहरूले नेपालमा राजतन्त्र आउन लागेको जिज्ञासा राखेको भए पनि त्यो सम्भव नभएको आफूले प्रस्ट पारेको कान्तिपुरसँग बताए । उनको भारतको निजी भ्रमणबारे कान्तिपुरका गंगा बीसीले गरेको संक्षिप्त कुराकानी :
तपाईँले दिल्लीमा राजनीतिक, कूटनीतिक भेटघाटलाई तीव्र पार्नुभएको छ, के कुराकानी भयो ?
म मुख्यतः भारतमा हाम्रो पार्टीको प्रगतिशील नेपाली समाजको अधिवेशनमा आएको हुँ । सम्मेलन सकिएपछि सोमबार राजनीतिक र कूटनीतिक भेटघाट भयो । दिल्लीमा सत्तामा भएका दल, नीति निर्माता र पत्रकार अन्तर्क्रिया भयो । यहाँका राजनीतिज्ञ र कूटनीतिज्ञले नेपालमा अस्थिरता किन देखिएको छ ? त्यसको कारण के हो ? कतै लोकतन्त्रविरुद्ध जान लागेको हो ? भन्ने जिज्ञासा रहेछ । मैले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध जान लागेको होइन । खासगरी निर्वाचन प्रणाली, शासकीय प्रणालीमा भएको त्रुटिका कारण केही अस्थिरता देखिएको हो । यो व्यवस्था विरोधमा राजतन्त्र फर्कन लागेको होइन । उहाँहरूमा नेपालमा राजतन्त्र फर्कन लागेको हो कि भन्ने जिज्ञासा रहेछ । मैले आम मानिसमा केही असन्तुष्टि छन् । त्यसलाई सम्बोधन गरेर जानु पर्छ र अग्रगामी ढंगले सोच्नुपर्छ भन्ने धारणा राखे ।
दुई देशबीचको सम्बन्धबारे के कुरा भयो ?
हाल नेपाल भारत सम्बन्धमा केही चिसोपन देखिएको छ । भारतीय राजनीतिक, कूटनीतिज्ञ र परराष्ट्रविद्को यसलाई हल गर्ने भन्नेबारे जिज्ञासा थियो । रक्षामन्त्री राजनाथ सिंहले पनि दुई देशबीच समस्या कसरी हल गर्न सकिन्छ भन्नेबारे चासो थियो । यसबारे हामीमा खुलेर कुराकानी भयो । मैले दुई देशका प्रधानमन्त्रीले खुलेर कुराकानी गरेर समस्या हल गर्नेमा जोड दिए । नेपाल भारत सम्बन्ध बलियो भए मात्र आर्थिक सहकार्यमा राम्रो हुनेमा करिब एउटै धारणा थियो । भाजपा नेताहरुसँग भएको छलफलमा मैले ईपीजी प्रतिवेदनका आधारमा अघि बढ्दा राम्रो हुने सुझाव दिएँ तर भाजपा नेताहरु ईपीजी प्रतिवेदनमार्फत अघि बढ्न सम्भव छैन भन्ने रहेछ । यो प्रतिवेदन कार्यान्वयनका लागि होइन भन्ने रहेछ । त्यसो हो भने प्रधानमन्त्री तहमा खुलेर कुराकानी गर्नु उचित हुन्छ । नेपाल र भारतबीच सीमा समस्या, १९५० को सन्धिलगायतका विषय कूटनीतिक तहबाट हल गर्ने सबैको जोड थियो ।
नेपालको राजनीतिक अवस्थालाई भारतीय नेताहरूले कसरी हेरेका रहेछन् ?
नेपालमा लोकतान्त्रिक गणतान्त्रिक प्रणाली ढल्न लागेको हो कि भन्ने आशंका रहेछ । मैले खुलेरै नेपालमा राजतन्त्र ल्याउन भारतीय जनता पार्टी (बीजेपी) ले सहयोग गरेको हो कि भन्ने प्रश्न छ भनेँ । तर बीजेपी नेताहरूले त्यो होइन भनेर प्रस्ट पार्नुभयो । नेपालमा भएको आक्रोश पुरानो प्रणाली भत्काउनेतिर नभई सुशासन र आर्थिक मुद्दासँग जोडिएको भनेर प्रस्ट पारेँ । नेपालका लागि भारतका पूर्व राजदूतहरु, परराष्ट्रविद्सँग दुई देशसम्बन्धबारे राम्रो समीक्षा भयो । उहाँहरूको नेपालबारे गहिरो चासो रहेछ । मैले नेपालमा यही व्यवस्थालाई सुधार गरी अघि जानुपर्नेमा जोड दिएँ ।
नेपाल हिन्दु राज्यबारे पनि केही चासो पाउनु भयो ?
बीजेपीका मुरलीमोहन जोशी, भगतसिंह कोस्यारीको नेपालमा सांस्कृतिक एकरूपता भए राम्रो हुन्छ कि भन्ने चासो थियो । तर मैले धर्म र सांस्कृतिक आआफ्ना धारणा राख्न पाइन्छ । हिन्दुवादी विचार राख्नु आस्थाको कुरा हो । राजतन्त्र लोकतन्त्र विरोधी प्रणाली हो । यो नेपालमा आउन सम्भव छैन भनेर जोड दिएँ ।
