‘अमेरिकी करनीतिको असरले तेस्रो मुलुकका वस्तु नेपालमा ‘डम्प’ हुने सम्भावना छ’

व्यापार वा अर्थतन्त्रका लागि नेपालजस्ता साना राष्ट्रलाई वार्ता तथा छलफलका लागि उपलब्ध फोरमहरू अब नरहन सक्छन् 

चैत्र ३१, २०८१

राजु चौधरी, यज्ञ बञ्जाडे

”Due to the impact of American policy, goods from third countries are likely to be 'dumped' in Nepal.”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा १४५ प्रतिशत कर लगाउने निर्णय गरेपछि व्यापार–युद्ध उत्कर्षमा पुगेको छ । चीनले पनि अमेरिकी उत्पादनमा लगाउने कर १२५ प्रतिशत पुर्‍याएको छ । चीनबाहेक अन्य देशलाई लगाएको कर भने ट्रम्पले ९० दिनका लागि स्थगित गरेका छन् ।

दुई ठूला आर्थिक शक्ति राष्ट्रबीच चर्किएको व्यापार–युद्धको हुरीले नेपालजस्ता मुलुकमा के प्रभाव पार्छ ? नेपालले यो अवस्थाबाट कुनै लाभ लिन सक्छ वा उल्टै घाटामा पर्छ ? अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य पोषराज पाण्डेसँग कान्तिपुरका यज्ञ बञ्जाडेराजु चौधरीले गरेको कुराकानी :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसहित १८५ वटा मुख्य साझेदार देशहरूलाई उच्च भन्सार शुल्क तोके । तत्काल चीनबाहेक अरू राष्ट्रका लागि ९० दिनसम्म स्थगित गरेका छन् । यस्ता गतिविधिले अन्तर्राष्ट्रिय व्यापार र विश्व अर्थतन्त्रमा कस्तो असर पार्छ ?

ट्रम्पका अहिलेका गतिविधि विश्लेषण गर्न केही वर्षपछि फर्किनुपर्ने हुन्छ । पहिल्यैदेखि अमेरिकाका नीति निर्माताहरूलाई विश्व व्यापारमा रहेको उदारवाद (विश्वव्यापीकरण) ले आफूहरूलाई भन्दा चीनलगायत देशलाई बढी फाइदा भइरहेको छ भन्ने लागेको थियो । सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति भएपछि विश्व व्यापार संगठन (डब्लूटीओ) को ‘डिस्प्युट सेटलमेन्ट बडी’ मा आफ्नो सदस्य पठाएनन् । चीनलाई भन्सार दर बढाए । ट्रम्पको यो निर्णयलाई उनीपछि राष्ट्रपति बनेका बाइडेनले पनि निरन्तरता दिए । ट्रम्पभन्दा एक कदम अघि बढेर बाइडेनले चीनलाई सूचना प्रविधिको व्यापारमा अवरोध गर्ने नीति ल्याए । अमेरिकाका नीति निर्माता तथा अर्थशास्त्रीहरूले पनि विश्व बजारमा उदारनीति र यसले सिर्जना गरेको विश्वव्यापीकरणको भरपूर लाभ लिन आफूहरू चुकेको भन्ने विभिन्न लेख तथा कार्यपत्रहरूमा उल्लेख गर्दै आएका थिए । उनीहरूले विश्वव्यापीकरणको अहिलेको प्रणालीलाई पुनःसंरचना गर्नुपर्छ भन्नेमा जोड दिँदै आएका थिए । यसकारण अहिले ट्रम्पले जे गरिरहेका छन् । त्यो एकैपटक आएको अवस्था होइन । विगत लामो समयदेखिको तयारीस्वरूप आएको हो । 

”Due to the impact of American policy, goods from third countries are likely to be 'dumped' in Nepal.”

दोस्रो पटक राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै ट्रम्पले अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फतको अनुदान खारेज गरे । त्यसपछि मुख्य व्यापार साझेदारहरूलाई उच्च भन्सार शुल्क लगाए । यी नीतिको मुख्य उद्देश्य खासगरी चीनलगायत राष्ट्रको मुद्रा अमेरिकी डलरभन्दा बलियो नहोस्, विश्व बजारबाट आफूहरूले कम ब्याजदरमा ऋण उठाउन पाइयोस् र धेरैभन्दा धेरै उत्पादनमूलक उद्योग अमेरिका आऊन् भन्ने नै हो । यी उद्देश्य पूरा गर्न अहिले अमेरिकाले प्रयोगमा ल्याएको औजार उच्च भन्सार दर (रेसिप्रोकल ट्यारिफ) हो । तर, यो औजार असान्दर्भिक, विवादित र अर्थशास्त्रको सिद्धान्तविपरीत छ । भन्सार दर बढाउँदा अमेरिकामा मूल्यवृद्धि बढ्छ । अमेरिकी डलर बलियो बन्ने भएकाले मूल्यवृद्धि नियन्त्रण गर्न सकिन्छ भन्ने उनीहरूको ठम्याइ छ । तर, उत्पादनमूलक उद्योग बढाउन डलर धेरै बलियो बनाउनु पनि छैन । यसकारण यो विवादित छ । अमेरिकाले एउटै नीति (ट्यारिफ) मार्फत राजस्व पनि बढाउने, उत्पादनमूलक उद्योग पनि बढाउने, सस्तोमा ऋण प्राप्त गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्नेलगायत काम गर्न खोजेको देखिन्छ । जुन सम्भव देखिँदैन । 

पछिल्लो नीतिभित्र लुकेको स्वार्थ युरोपियन युनियनअन्तर्गतका राष्ट्रहरूले रक्षामा कम खर्च गरे, त्यसलाई बढाउनुपर्छ भन्ने हो । उनीहरूले रक्षामा बजेट बढाएपछि हतियार बन्दोबस्तीका सामग्री खरिद गर्नुपर्‍यो । ती सामग्री अमेरिकाबाटै किन्नुपर्छ । यो पनि अमेरिकाको लुकेको स्वार्थ हो । 

घोषणा गरेको केही दिनमै ट्रम्प किन निर्णय स्थगित गर्नुपर्ने अवस्थामा पुगे ? 

यसका तीन कारण छन् । पहिलो, चीनले जवाफी भन्सार दर बढायो, युरोपियन युनियनले पनि अमेरिकाको प्रतिवाद गर्ने निर्णय गर्‍यो । दोस्रो, यसअघि सबैभन्दा सुरक्षित मानिएको अमेरिकी ट्रेजरी बिल तथा ऋणपत्र एकै दिन ३८ बिलियन डलरको बिक्री हुनुले सरकारप्रतिको विश्वसनीयतामा कमी आयो । तेस्रो, चीनसँगको व्यापार प्रतिस्पर्धा गर्ने हो भने युरोपियन युनियनलगायत क्षेत्रीय देश र संघ संगठनको समर्थन आवश्यक पर्छ, जुन तत्काल देखिएन । यी कारणले ट्रम्पले चीनबाहेक देशको भन्सार दर ९० दिनका लागि स्थगित गरेको देखिन्छ ।

अमेरिकाले आयात मात्र गर्दैन निर्यात पनि गर्छ । भन्सार शुल्कमा वृद्धि गर्ने निर्णयले उसलाई कस्तो असर गर्ला ?

यो निर्णयको असर अमेरिकालाई पनि पर्ने देखिन्छ । अहिले विश्व व्यापारमा करिब २० प्रतिशत हिस्सा मात्र अमेरिकाको छ । बाँकी ८० प्रतिशत चीनलगायत अरू राष्ट्रहरूको छ । अब ती राष्ट्रहरू एकजुट भएर अमेरिकालाई अलग गर्ने रणनीति लिए भने उसलाई अप्ठेरो पर्न सक्छ । र, अहिलेको बहुपक्षीय संरचना भत्किहाल्ला र स्थिति यतिपरसम्म पुग्लाजस्तो लाग्दैन । विश्व व्यापारलाई विश्लेषण गर्दा वस्तु व्यापारमा मात्र अमेरिका घाटामा छ तर, सेवामा बचतमा छ । अहिले पनि विश्वव्यापीकरणकै कारणले विश्व बजारमा अमेरिकाले धेरै प्रभुत्व कायमै राखेको छ भने त्यसबाट उसले धेरै लाभ पनि लिइरहेको छ । अहिले हामीले पनि गर्ने सबै अन्तर्राष्ट्रिय व्यापारको भुक्तानी माध्यम डलर नै हो । यसकारण यो निर्णयले अमेरिकालाई नै फाइदा पुर्‍याउँदैन । 

ट्रम्प पहिलो पटक राष्ट्रपति हुँदादेखि नै अमेरिका र चीनबीच व्यापार युद्ध चर्किएको थियो । अहिले त्यो उत्कर्षमा पुगेको छ । विश्वका ठूला दुई अर्थतन्त्र यसरी भिड्नुको संकेत के हो ? 

अमेरिकाको उद्देश्य भनेको चीनलाई रोक्ने नै हो । अमेरिकाको व्यापार घाटा कम गर्ने हो । भन्सार महसुलको हकमा विभिन्न मुलुकबाट लबिइङ सुरु भएको छ । ९० दिनपछि केही बहानामा अमेरिकाले शुल्क हटाउँछ जस्तो लाग्छ । शुल्क बढाउने नीतिले अमेरिकालाई नै फाइदा गर्दैन । 

”Due to the impact of American policy, goods from third countries are likely to be 'dumped' in Nepal.”

दुवै ठूला अर्थतन्त्र हुन् । सवारीसाधन, सूचना प्रविधिलगायत केही क्षेत्रीय व्यापारमा ७० प्रतिशतभन्दा बढी हिस्सा चीनको छ । यस्तो अवस्थामा विश्व व्यापारबाट चीनलाई अलग गर्न खोज्दा विश्व बजार नै मन्दीमा जाने सम्भावना रहन्छ । विश्व व्यापारमा कमी आएपछि विश्व अर्थतन्त्रकै वृद्धिदर प्रभावित हुने सम्भावना रहन्छ । अमेरिका र चीनबीचको व्यापार युद्ध चर्किएको अवस्थामा विश्व व्यापारमा अहिलेको संरचना नै भत्किने र नयाँ संरचना बन्न धेरै समय लाग्ने भएकाले आपूर्ति प्रणाली नै अस्तव्यस्त हुने देखिन्छ । किनकि अहिले अमेरिकालगायत धेरै देशले ‘म्यानुफ्याक्चरिङ गुड्स’ चीनबाटै आयात गरिरहेका छन् । चीनलाई नै अलग गर्दा त्यसको प्रभाव अमेरिकासँगै अरू राष्ट्रको अर्थतन्त्रमा पनि पर्न सक्छ । यसले केही वर्ष विश्वव्यापीकरणविपरीत गतिविधि (डिग्लोबलाइजेसन) को अवस्था आउन सक्छ । 

संसारमा अनुमानयोग्य, विश्वास गर्न सक्ने कुरा केही रहेन । जुन राष्ट्रले पनि जतिखेर जस्तो नीति पनि अवलम्बन गर्न सक्ने देखियो । अमेरिकामा रोनान्ड रेगनले सुरु गरेको उदारनीतिविरुद्ध अहिले त्यहाँकै राष्ट्रपतिले यस्ता कदमहरू चालेका छन् । खुला बजार अर्थतन्त्र, नवउदारवाद, विश्वव्यापीकरण, डब्लूटीओलगायतको अवस्था अब के हुन्छ ?

यो सत्य हो । अमेरिका जस्तो शक्तिशाली देशले यस्ता कदम चाल्दा अनुमानै गर्न नसक्ने समस्या देखिएको छ । अहिलेको विश्वव्यापीकरणले व्यापार वा अर्थतन्त्रका हिसाबले नेपालजस्ता साना राष्ट्रलाई वार्ता तथा छलफलका लागि विभिन्न फोरमहरू उपलब्ध थिए । अब ती फोरमहरू उपलब्ध नहुन सक्छन् । हरेक देशले बहुपक्षीयभन्दा पनि द्विपक्षीय रूपमा लबिइङ गर्नुपर्ने अवस्था आउन सक्छ । द्विपक्षीय वार्तामा साना तथा कमजोर राष्ट्र जहिले पनि तल नै रहन्छन् । ठूला र बलिया राष्ट्रको प्रभुत्व रहने जोखिम रहन्छ । तर अमेरिकाको उद्देश्य विश्वव्यापीकरणको संरचना नै भत्काउने भन्ने हो जस्तो लाग्दैन । उसले विश्वव्यापीकरण आफ्नो स्वार्थअनुसार अघि बढाउन खोजेको हो । अमेरिकाले सुरक्षा बढाउन नेटो सदस्यहरूलाई दबाब दिँदै आएको छ । सुरक्षा बढाउनेबित्तिकै विदेशी अनुदान कम गरेर सुरक्षा क्षेत्रको बजेट बढाउनुपर्छ । 

डब्लूटीओलगायत विश्वव्यापीकरणका संरचनाहरू प्रभावित हुँदा नेपाल जस्ता साना र कम विकसित मुलुकले पाइरहेको संरक्षण, सुविधालगायत नीति प्रभावित भएका हुन् ? 

व्यापारमा मात्रै होइन, अमेरिकाले अनुदान पनि हटाइदिएको छ । साना राष्ट्रलाई यसको असर बढी पर्छ । अमेरिकाले नरम माध्यमबाट विश्व बजारमा आफ्नो शक्ति बढाउँदै जाने बलियो माध्यम ‘यूएसएड’ थियो । अनुदान हटाउँदा त्यो शक्ति घट्ने देखिन्छ । नेपालकै कुरा गर्दा अहिलेको राजस्वले चालु खर्च पनि धान्न गाह्रो छ । त्यसैले अनुदान वा सहुलियत ऋण आवश्यक पर्छ । अरू विकसित मुलुकका लागि पनि सहयोग जरुरी छ । हालसम्म अमेरिकाले धेरै सहयोग गर्दै आएको थियो । एक्कासि सहयोग रोक्दा धेरै कार्यक्रम प्रभावित भएका छन् । अब ती कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट हामीकहाँ छैन । त्यसले ‘भ्याकुम’ सिर्जना गरेको छ । त्यो भ्याकुम स्रोत र क्षमता भएका राष्ट्रले भरिदिने हो । जुन तत्काल सम्भव देखिएको छैन । 

यद्यपि अमेरिकाको अनुदान रोक्ने निर्णयले विभिन्न राष्ट्रमा सिर्जना गरेको ‘भ्याकुम’ विशेषगरी चीनले भर्न थाल्यो भने भूराजनीतिक (जिओपोलिटिकल) तनाव सुरु हुन सक्छ । त्यसपछि साना मुलुकहरू भूराजनीतिक तनावमा पर्छन् । 

उदाहरणका लागि म्यानमारमा भुइँचालो जाँदा अमेरिकाले अध्ययन गर्न ३ जना मात्रै पठायो । क्षति कति भयो भनेर अवलोकन गर्न धनी मुलुक अरू पनि छन्, ती मुलुकले हेर्छन् भनेर वक्तव्य जारी गर्‍यो । यस्ता क्रियाकलापले विश्व बजारमा अमेरिकाको प्रभुत्व घट्ने देखिन्छ । त्यसमा चीन पनि पस्यो भने हामी जस्ता साना मुलुक भूराजनीतिक तनावमा पर्छौं । 

ट्रम्पको शुल्क बढाउने निर्णयले त्यहाँको सरकारप्रतिको विश्वासमा पनि गिरावट आउने सम्भावना देखियो । चीनको वस्तु पनि अमेरिकाले आयात नै गर्ने हो । तत्काल अमेरिकाको अर्थतन्त्र, रोजगारीमा असर गर्ने सम्भावना कस्तो देख्नुहुन्छ ?

अमेरिकाले चीनबाट आयात गर्ने भनेको साढे ६ सय बिलियन हो । अमेरिकाको अर्थतन्त्र भनेको ट्रिलियन डलर हो । तर निश्चित क्षेत्रमा असर पर्ने देखिन्छ । डिजिटल प्रविधिका उपभोक्ताको हकमा असर गर्छ, महँगो पर्छ । सोलार प्यानल, हाउस होल्डलगायतमा महँगो पर्छ । प्रतिपरिवार ४ हजार डलर महँगो पर्ने अनुमान छ । सवारीसाधनमा प्रतिपरिवार १० हजार डलरसम्म महँगो पर्न सक्ने सम्भावना छ । 

अमेरिकाले चालेको कदमविरुद्ध चीन, युरोपियन युनियन र क्यानडाले विरोध गरे । मेक्सिको, ब्राजिललगायत मुलुकले प्रतिवाद गर्छौं भनिरहँदा भारत मौन बस्नुको कारण के होला ?

भारतले आफूलाई दक्षिण विश्वकै (ग्लोबल साउथ) को लिडर भन्दै र आफूलाई त्यसरी नै प्रस्तुत गर्दै आएको छ । भियतनाम, कम्बोडिया भनेको ग्लोबल साउथ हुन्, अमेरिकाले त्यहाँ बढी कर लगाएको छ । भारतले केही नबोल्नु भनेको ग्लोबल साउथको स्वार्थभन्दा भारतकै स्वार्थ लुकेको देखिन्छ । भारतलाई २७ प्रतिशत मात्रै भन्सार शुल्क लगाएको छ । भारतको प्रतिस्पर्धी चीन, भियतनामलगायतको अत्यधिक छ । आफूलाई थोरै हुँदा अब प्रतिस्पर्धा गर्न सजिलो हुन्छ भन्ने भारतलाई लागेको छ । भारतले अमेरिकासँग वार्ताका लागि पहल पनि सुरु गरिसकेको छ । उनीहरूको द्विपक्षीय व्यापारअन्तर्गत सम्बोधन हुन्छ भनेर भारतले विरोध गरेको देखिँदैन । तर यतिबेला ग्लोबल साउथ लिडरको झल्को भारतले दिनुपर्ने हो । यहाँ भारत चुकेको हो । 

दोस्रो पटक राष्ट्रपतिको उम्मेदवार भएदेखि नै ट्रम्पले ‘अमेरिका फर्स्ट’ भन्दै आएका थिए । निर्वाचित भएपछि चुनावी घोषणा कार्यान्वयन गरिरहेका छन् । यी नीतिको असर तत्कालै अमेरिकामा पर्ने देखिन्छ । तर, उनले लिएका नीतिलाई अमेरिकी जनताले ठूलो विरोध गरेको देखिँदैन । त्यसलाई कसरी हेर्नुभएको छ ?

सबै अर्थशास्त्रीले यसलाई विरोध नै गरेका छन् । सेयर बजारमा लागेका व्यक्तिहरूले विरोध गरेका छन । ट्रम्पको मतपत्रको आधार भनेकामध्ये धेरै उच्च शिक्षा नपढेका पनि छन् । उच्च शिक्षा हासिल नगर्नेले ट्रम्पले जे कुरा गरिराखेका छन्, त्यसलाई सही मानेका छन् । सही भन्ठानेका छन् । त्यही भएर अहिले त्यति विरोध भएको देखिँदैन । तर अरूको प्रतिक्रिया हेर्दा रिपब्लिकनको भोट बैंकलाई असर गर्ने खालका छन् । क्यानडाले पनि त्यही गरिदिएको छ । चीनले पनि कुखुराको मासु, कृषिजन्य वस्तुमा धेरै भन्सार शुल्क लगाएको छ । यसले अमेरिकाको मध्यपश्चिम क्षेत्रलाई असर गर्छ । तर, भर्खर मात्र निर्णय भएकाले यसको असर अझै त्यहाँसम्म पुग्न सकेको छैन । उनीहरूलाई असर नपरिसकेकाले नागरिकबाट विरोध नभएको हो । 

”Due to the impact of American policy, goods from third countries are likely to be 'dumped' in Nepal.”

भन्सार दर बढाएपछि चीनलगायत सबैको सामान महँगो भएको छ । भन्सार शुल्क भनेको अप्रत्यक्ष कर हो । त्यसको असर उपभोक्तालाई नै पर्ने हो । तर सबै निर्यातकर्ताले तिर्छ भन्ने अमेरिकाको बुझाइ छ ।

अमेरिकाले भन्सार शुल्क बढाउँदा चीनले पनि थप्ने र ईयूले पनि सामना गर्ने भन्दै आएका छन् । यसले विश्व बजारमा रोजगारी गुम्ने, महँगी हुने, अर्थतन्त्र खुम्चिने अवस्था कस्तो हुन्छ ? 

व्यापार युद्धमा कसैले पनि जित्दैन । दुवै पक्ष हार्ने हो । अमेरिकामा मुद्रास्फीति कम्तीमा ९/१० प्रतिशतले बढ्ला । महँगी बढ्दा अमेरिकी नागरिकको खरिद गर्ने क्षमता स्वाभाविक घट्छ । नेपालकै कुरा गरौं, नेपालबाट अमेरिकामा तयारी पोसाक निर्यात हुन्छ । पैसा भए लुगा लगाउने हो । खानालाई नै पुग्दैन भने नयाँ लुगा किन खरिद गर्ने ? त्यस्तै, कार्पेट निर्यात हुन्छ । पैसा भए मात्रै कार्पेट बिछ्याइन्छ, पैसा नभए कार्पेट पनि खरिद हुँदैन ।

पस्मिना, छुर्पीलगायत निर्यात हुन्छ । पैसा नभए कुकुर पाल्दैनन् । यसको मतलब अमेरिकी नागरिकको खरिद गर्ने क्षमता घट्दा निर्यात गर्ने मुलुकलाई पनि असर गर्छ । यसको मतलब विश्वव्यापी मन्दीतर्फ जान सक्छ ।

भन्सार शुल्कको विषयमा ट्रम्पले ९० दिनको समय दिएर वार्ताका लागि बोलाएका छन् । ५० भन्दा बढी राष्ट्रले कुरा गर्न खोजिरहेका छन् । त्यसमा नेपालका तर्फबाट के गर्न सकिन्छ ? हाम्रो भूमिका के हुन सक्छ ?

नेपालले केका लागि वार्ता गर्ने ? नेपालको नीति निर्माता, निजी क्षेत्र, शिक्षाविद् नालायक छन् । नेपालले ७७ वस्तुमा भन्साररहित सुविधा पाएको छ । तर कुल निर्यातको करिब ३ प्रतिशत मात्रै छ । 

”Due to the impact of American policy, goods from third countries are likely to be 'dumped' in Nepal.”

७७ वस्तुका लागि छुट्टै ऐन ल्याएर संसद्मा ऐन पास गरेर सुविधा दियो । डब्लूटीओ आवश्यक छ, भनेर प्रमाणित गर्नुपर्छ । हरेक वर्ष डकुमेन्ट बनाएर डब्लूटीओमा प्रस्तुत गर्छ । त्यसरी दिइएको सुविधामा कुल निर्यातको जम्मा ३ प्रतिशतभन्दा कमै निर्यात गरेका छौं । हामी ड्युटी फ्रि, कोटा फ्रिको हल्ला गर्छौं, त्यो जीएसपीमार्फत जाने हो । जीएसपीमार्फत निर्यात हुने वस्तु करिब ९ प्रतिशत छ । कुल ८८ प्रतिशत अन्य राष्ट्रमार्फत अमेरिका निर्यात गर्दै आएका छौं । अमेरिकाको बजार बुझेर सोहीअनुसारको उत्पादन क्षमता बढाउने काम हामीले गरेनौं । उत्पादकत्व बढाएर व्यापार सहजीकरण गर्नुपर्थ्यो । तर त्यो हुन सकेन । 

हिजोसम्म हामीले भारत, चीन, बंगलादेशलगायत मुलुकभन्दा हामी सस्तो भन्दै आएका थियौं, यो भन्दा अगाडि ७७ वस्तु भन्साररहित (शून्य भन्सार) सुविधा थियो । तर हामीले किन निर्यात गर्न सकेनौं ?

हाम्रो अर्थव्यवस्थाको संरचना त्यस्तै बनाएका छौं । कोहीसँग ५ करोड भए, जग्गा किनेर बस्ने र २ वर्षर्मा आम्दानी दोब्बर हुन्छ । सेयरमा लगानी गरेपछि २ वर्षमा करिब दोब्बर आम्दानी हुन्छ । त्यसबाहेक आयात गरेर सामान बिक्री गर्ने । आयात गर्दा जोखिम एकदमै कम छ, ५/६ महिनामा सामान बेचेर नाफा भइहाल्छ । तर उत्पादन, निर्माणमा जाँदा धेरै झन्झटिलो छ । जग्गा किन्नुपर्‍यो, फ्याक्ट्री निर्माण, कामदारलगायत सबै गरेर स्थापना गर्न २/४ वर्ष लाग्छ । लागत उठाउन थप २/४ वर्ष लाग्छ । यी सबै झमेला व्यहोर्नुभन्दा आयात व्यापार सजिलो भयो । पुराना जति पनि औद्योगिक घराना छन्, सबै व्यापारिक घरानामा परिणत भएको छ ।

”Due to the impact of American policy, goods from third countries are likely to be 'dumped' in Nepal.”

बजार असफलतातर्फ जाँदा राज्यले हस्तक्षेप गर्ने हो । एउटा सामान्य उदाहरण, सामान आयात गरेर बिक्री गर्ने र स्वदेशमै उद्योग सञ्चालन गर्नेलाई एउटै ब्याजदर गर्न मिल्छ ? त्यो भएन । उत्पादनमूलक उद्योगलाई केही सहुलियत दिनुपर्छ । राज्यले बेवास्ता गर्दा समस्या भएको हो । त्यही भएर निर्यात हुन सकेन ।

व्यापार युद्ध अझै बढ्ला वा अन्त्य होला, वस्तुहरू नेपालमा ‘डम्प’ हुने सम्भावना कत्तिको होला ?

तेस्रो मुलुकको वस्तु नेपालमा ‘डम्प’ हुने सम्भावना अत्यधिक छ । चीनकै कुरा गर्दा अत्यधिक क्षमतामा निर्यात गरेको छ । घरेलु अर्थतन्त्रलाई टिकाउन पनि चीनलाई बेच्नुपर्नेछ । बिक्री गर्दा मूल्य घटाएर हुन्छ कि मुनाफा नराखी बिक्री गर्न सक्छ । त्यो हुँदा नेपालमा ‘डम्प’ हुने सम्भावना अत्यधिक रहन्छ । त्यो हुँदा नेपालमा बचेका केही उद्योग पनि सकिन्छन् । व्यापारलाई प्रवर्द्धन गर्न छुट्टै ‘वार रुम’ चाहिन्छ । कुन वस्तुको अवस्था कस्तो छ । बजार, उत्पादन, निर्यातको अवस्था, प्रतिस्पर्धी मुलुक कुन कुन हुन् ? त्यहाँ कस्तो नीति अपनाइएको छ ? कुनलाई ‘प्रोटेक्ट’ गर्ने, कुनलाई छाड्ने ? भन्ने कुरा त्यसरी जाने हो । यसतर्फ हामीले ध्यान दिएका छैनौं । उद्योगका लागि जग्गाको व्यवस्था गराइदिए पनि हुन्थ्यो । तर हामीले गर्न सकेनौं ।

‘डम्प’ गर्ने र लाभ लिने विषयमा नेपाल सरकार गम्भीर देख्नुहुन्छ ?

सरकारका मन्त्री, कर्मचारीहरू जागिर खान आएका छन् । जागिर खान्छन्, जान्छन् । सरकार संवेदनशील देख्दिनँ । कृषि वस्तुको प्रवर्द्धन गर्ने, निर्यात बढाउनेमा उत्पादन वृद्धिलगायतका विषयमा मैले सन् २००२/२००३ देखि भन्दै आएको छु । कहिलेकाहीं बजेटतिर पनि ल्याउँछन्, तर ऐन आउँदैन । भारतसँगकै व्यापार सम्झौतामा पनि कृषि वस्तुको ‘ड्युटी फ्रि’ छ । भन्सार लगाउन पाइँदैन । त्यस सम्झौतामा अन्य मुलुकसँग व्यापार सम्झौता गर्न मिल्ने खालको छैन । त्यसलाई खारेज गर्नुपर्नेमा जोड दिँदै आएका छौं । भारतसँगको विनिमय दरले प्रतिस्पर्धा गर्न दिएको छैन, त्यसलाई पुनरावलोकन गर्न १०/१२ वर्षदेखि भन्दै आएका छौं । सरकारले नसुनेको भनौं या पुनरावलोकन गर्न आँट नदेखाएको हो । विश्व बैंकले निर्यातमा १० प्रतिशत प्रतिस्पर्धा घटाएको प्रतिवेदन सार्वजनिक गरेको छ । तर सरकारले त्यता ध्यान नै दिएको छैन । यी बाहेक समन्वयमा पनि विफल भएका छौं । वाणिज्य मन्त्रालय, उद्योग विभागले एउटा सुविधा दिने भनेको हुन्छ । अर्थ मन्त्रालयले हटाइदिन्छ । औद्योगिक व्यवसाय प्रवर्द्धन ऐनमा सुविधा दिइन्छ, तर बजेट आर्थिक ऐनले त्यसलाई खारेज गरेको हुन्छ । नेपालमा मुख्यतः कृषि उत्पादन हुन्छ, गुणस्तरका विषयहरू पनि छन् । तर त्यसमा पनि समन्वय हुँदैन । त्यसकारण हामी विफल भएका छौं ।

अहिलेसम्म त हामीले अवसर सदुपयोग गर्न सकेनौं । अब सिर्जना भएको नयाँ परिस्थितिमा चीन, बंगलादेश, भारतलगायत देशका लगानीकर्ता नेपाल आएर लगानी गर्न सक्ने सम्भावना रहन्छ कि रहँदैन ?

लगानी अप्रत्याशित भयो । लगानीभन्दा राजनीतिक जोखिम छ । त्यसले गर्दा अमेरिकाको नीतिमा स्थिरता नआएसम्म नेपालमा लगानी गर्न आउँछ जस्तो लाग्दैन । २/३ वर्ष पर्ख र हेरको अवस्थामा हुन्छन् । स्थिर भएको अनुभूति भए सुविधा पाएको वस्तुमा लगानी गर्न आउन सक्छन् । तर तत्कालै आउँछ जस्तो लाग्दैन । नेपालको तथ्यांक हेर्दा उत्पादन क्षमताअनुसार उपभोग भएको देखिँदैन । उत्पादन ५० प्रतिशत मात्रै भएको छ । यो अवस्थामा आन्तरिक लगानीकर्ता पनि पर्ख र हेरकै अवस्थामा रहँदा राम्रो हुन्छ ।

भारत निर्यात हुने ९ वस्तुलाई भारतीय ल्याबले मान्यता दिएको छ यसले भारतसँगको व्यापारमा केही सुधार ल्याउँछ ?

ल्याब परीक्षणको विवादले निर्यातमा ढिलाइ हुने, भारतमा ल्याब परीक्षण गराउँदा खर्च पनि हुने गरेको थियो । भारतले मान्यता दिएपछि निर्यातमा धेरै सहयोग गर्छ । यो धेरै अगाडि गर्नुपर्ने विषय हो । कुरा पनि विगतदेखि बाटै भएको थियो । यो २००९ कै सम्झौतामा थियो । त्यसलाई फलोअप गरेर २/३ वर्षमै हुन सक्ने अवस्था थियो । त्यति संवेदनशीलता भएन । सरकार, मन्त्री, सचिवहरू परिवर्तन भइराख्ने भएर पनि समस्या भएको हो ।

”Due to the impact of American policy, goods from third countries are likely to be 'dumped' in Nepal.” 

विगतदेखि नै व्यापार घाटामा छौं । घाटा बर्सेनि बढ्दो क्रममा छ । उत्पादन बढाउन सकेका छैनौं, निर्यात बढाउन सकेका छैनौं । यसमा सुधार गर्न के गर्नुपर्छ ।

व्यापारको सबैभन्दा ठूलो दुस्मन रेमिट्यान्स हो ? 

रेमिट्यान्स हुँदा सरकारको सफ्ट नीति भइदिन्छ । त्यो भनेको रेमिट्यान्स आएको छ, माग बढ्यो । आपूर्ति छैन । आयात बढ्यो । आयात गरेपछि सरकारलाई राजस्व आयो । अर्थ मन्त्रालयलाई पनि राजस्व बढायौं भन्ने गफ दिन भएको छ । निर्यातलाई प्रवर्द्धन गर्न मौद्रिक नीति भइदिए पनि सजिलो हुन्थ्यो । रेमिट्यान्सले नन–ट्रेडएवलको मूल्य बढाइदिएको छ । त्यो हुनेबित्तिकै मुद्रास्फीति बढाइदिन्छ, लागत बढ्छ । प्रतिस्पर्धा गर्न सक्दैनौं । निर्यात बजारलाई उत्पादन गर्नुभन्दा आन्तरिक बजारलाई उत्पादन गर्दा फाइदा हुन्छ । त्यसले गर्दा आन्तरिक बजारकेन्द्रित उत्पादन भएको छ । तेस्रो पक्ष, उत्पादन सेवा व्यापारका लागि दक्ष जनशक्ति पनि छैन । दक्ष, अर्धदक्ष कामदारको अभाव छ । त्यही कारण व्यापारको सबैभन्दा ठूलो दुस्मन रेमिट्यान्स हो । रेमिट्यान्स नभएको भए नेपालको निर्यातले पेट्रोल, औषधि किन्न पुग्दैनथ्यो । त्यो बेला कडा निर्णय गरेर निर्यात बढाउने उपाय आउँथ्यो । अहिले ढुक्क छ । रेमिट्यान्सबाट पैसा आएकै छ । केही गर्नुपरेको छैन, केही सोच्न परेको छैन ।

विश्वमा व्यापार युद्ध चलिरहेको अवस्थामा अब हामीले के गर्नुपर्छ ?

पहिलो कुरा उत्पादन क्षमता बढाउनुपर्छ । निर्यातयोग्य बनाउनुपर्छ । उत्पादकत्व क्षमता बढाउनुपर्छ । कामदारमात्रै बढी लगाएर होइन । कुन मुलुकमा के आवश्यकता छ, सरकारले त्यो अध्ययन गरेर निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ । दक्ष जनशक्ति उत्पादन चाहिन्छ, त्यसका लागि सोहीअनुसारको शिक्षा दिनुपर्छ । अहिलेको शिक्षाबाट सुब्बा, खरदार उत्पादन मात्रै भयो । त्यसपछि बजार पहुँचको कुरा आउँछ ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully