दलहरूकै कारण लोकतान्त्रिक गणतन्त्र खतरामा : कृष्ण पहाडी [अन्तर्वार्ता]

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

Because of the parties, the democratic republic is in danger: Krishna Pahadi [interview]

काठमाडौँ — दुई ठूला दल कांग्रेस–एमालेले गठबन्धन सरकार बनाएर नयाँ समीकरणको सुरु गरेको नौ महिना बितिसकेको छ ।तर जनप्रिय कार्यक्रम र राहतको महसुस आम जनताले गर्न सकेका छैनन् । यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला अभिव्यक्ति र राजावादीको प्रदर्शनले दलहरू नै झस्किन थालेका छन् । यसै सन्दर्भमा नागरिक अगुवा तथा मानवअधिकारकर्मी कृष्ण पहाडीसँग कान्तिपुरका गंगा बीसीले गरेको संक्षिप्त कुराकानी :

यतिबेला संघीय गणतन्त्रमाथि गम्भिर प्रश्न किन उठेको होला ?
यसको पछाडि बहुआयामिक पक्ष छ । प्रमुख दलहरुले सत्ताको खेललाई मुख्य ध्यान दिए । मुलुकमा सुशासन हुन सकेन । युवा पुस्तालाई सन्तुष्ट गर्न प्रमुख दल असफल भए । राजनीतिक दलका कारण प्रतिगमनकारी प्रोत्साहित भए । भारतीय संस्थापन पक्षका कारण पूर्वराजा हौसिए । उनी सडकमा आए । उनको निर्देशनमा फागुन १५ मा काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन भयो ।

यसको के कारण देख्नुहुन्छ ?
शासनसत्ता चलाउने दलहरुको मुख्य कमजोरी हो । हामीले लोकतन्त्र बचाउने हो । हामी लोकतन्त्रको पक्षपाती हो । प्रमुख राजनीतिक दलसहित हामीले नै ल्याएको हो गणतन्त्र । हाम्रो लासले पनि गणतन्त्र बेठिक भन्दैन । नेपाल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा गएपछि भारतले दलहरुलाई तर्साउन यहाँ पूर्वराजालाई उत्साहित गरेको हो । यो कुरा यहाँका शासकले बुझेनन् । हामीलाई थिचोमिचो भयो भने विरोध हुन्छ । हामी भारत र चीनको विरोधी होइनौं । नेपालका शासकले कहिले चिनियाँ त कहिले भारतीय कार्ड खेले । यसकारण प्रतिगामी हौसिए । 

पूर्वराजाको निर्देशनमा अराजक र हिंसात्मक अभ्यास भयो । सरकारी, निजी कम्पनी, प्रहरी, प्रेस, पार्टी कार्यालय, पसल, निजी घरमा तालिम प्राप्त व्यक्तिबाट आक्रमण भयो ।  यो नियोजित योजना थियो । नेपालमा विद्रोह भयो भन्ने देखाउने षडयन्त्र भयो । अराजक र हिंसात्मक आन्दोलनको जिम्मेवार पूर्वराजा हुन् । आन्दोलनको नाममा बंगालादेशको जस्तो विद्रोह गराउने प्रयास भयो । राजावादीहरुले चाहेको संवैधानिक राजतन्त्र होइन । कांग्रेस, एमाले, माओवादीसहित आठ दलको सहकार्यमा २०६२/०६३ को आन्दोलन भएको थियो । प्रतिगामीले भनेर तेस्रो आन्दोलन हुन्छ र ? यी पहिलेदेखि नै प्रतिगामी हुन् । तेस्रो २०१७ साल विधिवत् ल्याउने प्रयास गरे । बन्दुक बोकेका सक्रिय ज्ञानेन्द्र शाहको पुनरागमन गराउन खोजेको हो । अहिलेको नयाँ पुस्ताले सरकारको कुशासन र भ्रष्टाचार देख्यो तर  विगतमा राजतन्त्रको त्रासदी देखेन ।

अहिलेको रानजीतिक समस्याको समाधान के हो ?
मुख्य गरी पार्टीका बदनाम नेता किनारा ल्याउन सकेनौं भने अझै खतरा छ । दुई छिमेकीसँग सम्बन्ध विस्तार गरेर जानुपर्छ । युवा पुस्ताका चासोलाई गम्भीर रुपमा सम्बोधन गर्नुपर्छ । राजतन्त्र फर्काउने बाहेक अरु आवश्यक विषयमा संशोधन गर्नुपर्छ । दलहरुकै कारण लोकतान्त्रिक गणतन्त्र खतरामा छ । अहिले देखिएका राजनीतिक, आर्थिक, सामाजिक समस्याको सम्बोधन गर्नुपर्छ । राजतन्त्र पुनःस्थापनाको सम्भावना छैन । तर मुलुक अरु दुर्घटनाबाट भने मुक्त छैन । यो संविधान च्यातिएको दिन उग्रवाम र उग्र दक्षिणपन्थ सुरु हुन्छ । 

अहिले राजावादीहरु अराकताबाट बौरिने प्रयत्न गरे । यसलाई मलजल भने प्रमुख दलका प्रमुख नेताले गरेका हुन् । संविधान संशोधनलगायत समस्याको समाधान गर्न प्रमुख दलबीच सहमति हुनुपर्छ । राष्ट्रिय सहमतिको सरकार बनाएर जानुपर्छ । सरकारले सुशासनलाई मुख्य ध्यान दिनुपर्छ । पुराना होइन, निष्कलंक व्यक्ति सरकारमा आउनुपर्छ । संविधान संशोधन प्याकेजमा गर्नुपर्छ । संविधानको लोकतान्त्रिक गणतन्त्रको आत्मालाई जीवित राखेर संशोधनमा सहमति गरेर जानुपर्छ । होइन भने खतरा टरेको छैन ।

कान्तिपुर

Link copied successfully