काठमाडौँ — काठमाडौं उपत्यका केही दिनयता लगातारजस्तो विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा परेको छ । गत साता हरेक दिन काठमाडौं प्रदूषित सहरहरूको सूचीमा निरन्तर अग्रस्थानमै रहे पनि सरकारका तर्फबाट नियन्त्रणका लागि भने कुनै पनि पहल भएको छैन ।
जबकि विगत १७ वर्षदेखि पेट्रोल र डिजेल बिक्री गरेबापत प्रतिलिटरमा ५० पैसाका दरले प्रदूषण शुल्क उठाइरहेको छ । हालसम्म २५ अर्ब ३९ करोड ६६ लाख उपभोक्ताबाट असुल गरिसकेको छ । यो बजेट कहाँ जान्छ र कसरी खर्च हुन्छ भन्ने विषयमा सरकार नै बेखबर छ । यसै सन्दर्भमा वातावरणविद् भूषण तुलाधरसँग कान्तिपुरका लागि राजु चौधरीले गरेको संक्षिप्त कुराकानी :
पछिल्लो एक सातायता वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ । यसको कारणचाहिँ के हो ?
प्रदूषण बढ्नुको मूख्य कारण डढेलो हो । हावा चलेको छैन, पानी पनि परेको छैन । डढेलो नियन्त्रणमा सरकारले त्यति प्राथमिकता दिएको छैन । अर्को कारण यातायात हो । सवारी साधानबाट निस्कने धुँवा हो । तर सरकारले धुँवा जाँच गरेको छैन । यही कारण प्रदूषण बढिरहेको छ ।
उपत्यकामा देखिएको वायु प्रदूषणलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? उपाय के-के छन् ?
पहिलो कुरा जनचेतना नै हो । डढेलोको सम्भावना अझै छ, सम्भावित क्षेत्र पहिचान गरेर त्यहाँ भएका पात हटाउन सकिन्छ । स्थानीय तह र समुदायसँग मिलेर तत्काल नियन्त्रण गर्न सकिन्छ । ९० प्रतिशत डढेलो मान्छेले लगाएका आगोका कारण फैलिएको हो । जनसमुदायमा सचेता, तालिम, उपकरण दिन सकिन्छ ।
प्रदूषण नियन्त्रण गर्न राज्यले २५ अर्ब रुपैयाँभन्दा बढी पैसा असुलेको छ ? तर सम्बन्धित क्षेत्रमा भने किन खर्च गर्न सकिरहेको छैन ?
सरकारले प्राथमिकता नै राखेन । केमा खर्च गर्ने भन्ने कार्यक्रम नै बनाउन सकेन । सरकारले काठमाडौं उपत्यकामा वायु गुणस्तर व्यवस्थापन कार्ययोजना-२०७६ ल्याएको छ, त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गरे प्रदूषण नियन्त्रण गर्न सकिन्छ र विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न सकिन्छ । रकम वृक्षरोपणमा पनि खर्च गर्न सकिन्छ । हरियाली प्रवर्द्धन गर्ने नीति छ, तर गर्ने इच्छा शक्ति नै भएन ।
उपत्यकामा देखिएको प्रदूषण तत्काल नियन्त्रण गर्न सकिन्छ त ?
नसकिने भन्ने हुँदैन । संघीय सरकार एक्लैले गरेर मात्र हुँदैन । प्रदेश स्थानीय तहसँगै निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ । घर/घरमा बालिने दाउरा, गुइँठालाई नियन्त्रणमा लिनुपर्छ । औद्योगिक क्षेत्रमा कोइलाको विकल्प विद्युत् प्रयोगमा जोडदिनुपर्छ । यातायात, घर, कलकारखानाको धुँवा नियन्त्रण गर्न सके वायु प्रदूषण घटाउन सकिन्छ ।
