मेयर शाहको सचिवालय भन्छ : भ्रष्टाचारमा संलग्न व्यक्तिलाई बचाउन दुई तिहाईको सरकार लाग्नुपर्ने ?

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

Mayor Shah's secretariat says: Should two-thirds of the government be needed to save people involved in corruption?

काठमाडौँ — काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरकै कर्मचारीहरूले ताला फोडी हाजिर गराएका छन् । गुरागाईंलाई महानगरका प्रमुख बालेन्द्र शाहले नगर प्रहरीसमेत परिचालन गरेका थिए । तर महानगरकै कर्मचारीले नै गुरागाईंलाई उनकै कार्यकक्षको ताला फोडी प्रवेश गराएका हुन् ।

गुरागाईंले ३ महिना १४ दिनपछि बिहीबार कार्यालयमा हाजिर गर्न पुगेका हुन् । गुरागाईंलाई गत पुस ७ गतेदेखि घर बिदामा राखिएको थियो । उनी महानगरमा नहुँदा तीन महिनादेखि कर्मचारीलगायत सम्पूर्ण आर्थिक कारोबार रोकिएको थियो । यसै सन्दर्भमा मेयर शाहका स्वकीय सचिव भूपदेव शाहसँग कान्तिपुरले गरेको कुराकानी :  

काठमाडौं महानगरको स्थिति कस्तो छ ?

महानगरको स्थिति ठीक छ । के हुनुपर्ने हो र ?

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यकक्षमा मेयर बालेन्द्र शाहले ताला लगाउनुभएको हो ? के मेयरलाई प्रमुख प्रशासकीयलाई रोक्न नगर प्रहरी परिचालन गर्ने अधिकार छ ?

पहिलो कुरा, ताला मेयरसापले लगाउनु भएको छैन । कार्यालयको आफ्नो नीति हुन्छ । कर्मचारी बिदामा बस्यो भने त्योमातहत भएका फाइलहरूको सुरक्षा गर्ने, निर्णय र कार्यालयको कागजपत्र हुन्छ, स्वाभाविक रूपमा कोही बिदामा बस्यो भने स्वाभाविक विषय हो । यो कसैले ताला लगाउने विषय होइन ।  नगर प्रहरी मात्र होइन, हाम्रो हरेक विभाग आफ्नो जिम्मेवारअनुसार परिचालन हुने हो । त्यसमा उहाँलाई कानुनले दिएको अधिकारअनुसार जे उचित लाग्यो गर्ने हो । त्यो स्पष्ट छ विभागले गर्दै आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगरमा हाजिर गर्नुभयो । अब के हुन्छ ?

यसमा दु:खद के भयो भने भ्रष्टाचार संलग्न व्यक्तिलाई बचाउन दुई तिहाईको सरकार लाग्नुपर्ने । यसले के स्पष्ट हुन्छ, उहाँ हाजिर गर्न फेरि संघीय मामिला तथा प्रशासन मन्त्रालय जानुभयो । यसमा सरकारको प्रत्यक्ष संलग्नता छ । जो–जो व्यक्तिहरू हाजिर गराउन जानु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको विषयमा भोलि उहाँहरू दोषी ठहर हुनुभयो भने यो सम्पूर्ण जो–जो संलग्न साझेदार छन् । यसको हिस्सेदार हो र यसको जिम्मेवार लिनुपर्छ ।

मेयरलाई कुनै कर्मचारीलाई हाजिर गर्न नदिने अधिकार छ ?

अधिकारको विषय नै छैन । भ्रष्टाचारको आरोप लागेको, भ्रष्टाचारमा संलग्न भएको प्रमाण प्राप्त भइसकेपछि कुनै पनि कर्मचारीले आफूसँग नभएको अधिकार प्रयोग गरिसकेपछि त्यो कर्मचारी कार्यालयमा प्रवेश पाउनुहुँदैन । यो सबैको सामान्य बुझाई हो । त्यही बुझाईका आधारमा उहाँ आफैं आउनु भएन । उहाँले पहिले पनि 'मेरो सरुवा गरी पाऔं' भनेर भन्नुभएको थियो । तर मन्त्रालयले दम्भ देखाएर यहाँ जबर्जस्ती हाजिर गराएको स्थिति हो ।

मेयरचाँहि ताला लगाएर बाहिर जाने, विवाद समाधान गर्न फिल्डमा आउनुपर्ने भनेर उप–प्रमुखले पनि असन्तुष्टि जनाउनुभएको छ । मेयर कहाँ हुनुहुन्छ ?

मेयरसाप काममै हुनुहुन्छ भनेर बुझ्नुपर्‍यो ।

अब मेयर र प्रमुख प्रशासकीय अधिकृतले कसरी काम गर्छन् ?

कानुनमा जे छ त्यही अनुसार बढ्ने हो । जे महानगरवासीका लागि हितमा जे हुन्छ नगर प्रमुखज्यूले त्यही गर्नुहुन्छ ।

प्रमुख प्रशासकीय अधिकृत नभएपछि कार्यपालिकाको बैठक पनि भएको छैन । अब के हुन्छ ?

सही समय आयो भने कार्यपालिका बैठक बस्छ । 

कान्तिपुर

Link copied successfully