‘मन्त्रीहरूले विधेयकमा आफ्नो भूमिका, योग्यता र क्षमता प्रदर्शन गर्नुपर्छ’

'विधेयक पारित गर्न मन्त्रीको भूमिका ठूलो हुन्छ । विधेयक सांसदका होइनन्, सरकारका हुन् । सम्बन्धित विभागीयमन्त्रीले पहलकदमी लिनुपर्छ'

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

”Ministers should demonstrate their role, competence and ability in the bill”

संघीय संसद्को ६१ दिने हिउँदे अधिवेशन २५ दिन चल्दा २७ वटा बैठक गरी मंगलबार अन्त्य भएको छ । विधेयक अधिवेशनका रूपमा लिइने यो हिउँदे अधिवेशनमा प्रतिनिधिसभाबाट ११ र राष्ट्रिय सभासहित दुवै सदनबाट १० वटा विधेयक पारित भएका छन्। दुवै सदनबाट पारित ती १० विधेयकमध्ये ९ वटा राष्ट्रपतिबाट प्रमाणीकरण भई कानुन बनेका छन् ।

कानुन निर्माणमा ढिलासुस्ती भएको गुनासो आइरहेका बेला संसद् अधिवेशन, कानुन निर्माण र सरकारका कामबारे सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलासँग कान्तिपुरले गरेको कुराकानी : 

कानुन निर्माणमा यो अधिवेशन कस्तो रह्यो ?

विधेयक अधिवेशनबाट संसद् र संसदीय समितिमा विचाराधीन विधेयक बढीभन्दा बढी निष्कर्षमा पुगोस् भन्ने चाहना थियो । विशेषगरी विद्यालय शिक्षा, संघीय निजामती विधेयक निष्कर्षमा पुगोस् भन्ने अपेक्षा थियो र सोहीअनुसार काम अगाडि बढाएका हौं । तथापि मंगलबारदेखि अधिवेशन सकिएको छ ।

प्रतिनिधिसभाबाट ११ विधेयक पारित गर्‍यौं । पारितकै तहमा पुगेर संसद्‌मा समितिका प्रतिवेदन पेस भएका जलस्रोत र सहिद दशरथ चन्द विश्वविद्यालय विधेयक छन् । अधिवेशन चलेको भए पारित हुन्थ्यो । भन्सार र केही नेपाल ऐन विधेयक समितिबाट पारित भए तर संसद्‌मा प्रतिवेदन टेबल हुन बाँकी छ । यी महत्त्वपूर्ण काम निष्कर्षमा पुर्‍याउने काम गरेका छौं । 

संघीय निजामती विधेयकमा पनि ८० प्रतिशत काम सम्पन्न भएको छ । विद्यालय शिक्षा विधेयकमा पनि दफावार अगाडि बढेका छौं । दुई महत्त्वपूर्ण विधेयक यसबीचमा समितिबाट निष्कर्षमा पुर्‍याएर बजेट अधिवेशनमा पारित गर्छौं ।

 संघीयता कार्यान्वयनसँग जोडिएका अन्य विधेयकमा प्रहरी, नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित दुई विधेयक अगाडि बढाउँछौं । समग्रमा दुई महिना चलेको अधिवेशनमा अनेकौं अवरोधका बीच कानुन निर्माण भएका छन् । प्रमुख प्रतिपक्षसँगै विपक्षीले सामान्य कुरामा पनि संसद् अवरोध गर्दा अझै महत्त्वपूर्ण काम छुट्यो । पछिल्लो समय चार–पाँच दिन अवरोध गर्दा केही विधेयक थप पारित गर्न सकिएन । 

संघीयता कार्यान्वयन गर्ने विधेयक पारित गर्न किन तदारुकता देखाइएन ?

हरेक कानुन संघीयता र संविधान कार्यान्वयनसँग सम्बन्धित छन् । संघीय निजामती र विद्यालय शिक्षा विधेयक अघि बढेका छन् । निजामती विधेयक ८० प्रतिशत काम सकिएको छ । विद्यालय शिक्षा विधेयकमा शिक्षक, कर्मचारी, पाठ्यक्रम, परीक्षा प्रणाली, स्थानीय सरकारको भूमिकाका विषय छन् । यो विधेयकमा धेरै सरोकारवाला छन् । आजको आजै पारित किन गरेनौं भन्ने हो भने पारित गर्न सकिन्छ तर गुणस्तरीय कानुन बनाउने सन्दर्भमा केही समय लाग्न सक्छ । 

कानुन निर्माणमा सरकारको सहयोग कस्तो रह्यो ?

प्रतिनिधिसभाले ११ विधेयक पारित गरेको छ । विधेयक पारित गर्न मन्त्रीको भूमिका ठूलो हुन्छ । विधेयक सांसदका होइनन्, सरकारका हुन् । सम्बन्धित विभागीयमन्त्रीले पहलकदमी लिनुपर्छ । मन्त्रीहरूले आफ्नो मन्त्रालयसम्बद्ध विधेयकलाई छिटो निष्कर्षमा पुगोस् भन्नका लागि समितिमा अग्रसरता लिनुभयो र विधेयकका विषयवस्तुमा पनि छलफल बहस गर्नुभएको छ । सरकार जति क्रियाशील हुन्छ, मन्त्रीहरू जति तदारुक हुन्छन्, कानुन निर्माणमा त्यति सहयोग पुग्छ । अहिलेको सरकार बनेपछि मन्त्रीहरूलाई आफ्ना विधेयकमा प्रभावकारी रूपमा भूमिका निर्वाह गर्न भनेका छौं ।

मन्त्रीहरूको भूमिका प्रभावकारी हुन्थ्यो भने ११ वटा मात्र विधेयक पारित हुन्थे र ?

बीचमा चार–पाँच दिन सदन बन्द नभएको भए थप चार वटा विधेयक पारित हुन्थे र कानुन बन्थे । ती अब अर्को अधिवेशनको प्रारम्भमै पारित गर्छौं । विद्यालय शिक्षा र संघीय निजामती विधेयक पनि बजेट अधिवेशनमा नै पारित गर्ने गरी काम गरिरहेका छौं । यो अधिवेशनमा पारित गर्न नभ्याइएका विधेयकलाई बजेट अधिवेशनको सुरुवाती दिनमै पारित गर्ने गरी जान्छौं ।

सरकारको जवाफदेहितालाई लिएर प्रश्न उठिरहेको छ, सरकारले दुईतिहाइको दम्भमा रहेर जवाफदेही बनेन भन्ने आरोप विपक्षीको छ । के भन्नुहुन्छ ?

विपक्षीको यो अराजनीतिक र असंसदीय आरोप हो । सरकार जहिले पनि संसद्‌मा छ । बहुमतका आधारमा सरकार बन्ने हो, सामान्य बहुमतमा छ कि बलियोमा भन्ने मात्र हो । कांग्रेस र एमाले मिलेर बनेको सरकार बलियो छ तर यसमा हामीलाई दम्भ छैन । दुई महिनाबीचमा प्रत्येक मन्त्रीले संसद्‌मा स्पष्टीकरण दिनुभएको छ । प्रधानमन्त्रीले दुई पटक सांसदसँग प्रश्नोत्तर कार्यक्रम गर्नुभयो ।

सांसदले प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गरिदिए हुन्थ्यो भनी आन्दोलन गर्दा जवाफ दिनुभएको छ । राष्ट्रसंघ भ्रमणमा जाँदा पनि संसद्लाई जानकारी गराउनुभएको छ । सरकारले यसबीचमा १३ विधेयक दर्ता गराएको छ । संसद्लाई बिजनेस दिएको छ र निष्कर्षमा पुर्‍याउन भूमिका खेलेको छ । कम्तीमा जनताले सांसदहरू भत्ता मात्र खाएर हिँडेका छैनन् भन्ने गर्छौं । तर, राप्रपाका सबै र रास्वपाका अधिकांश सांसद शून्य र विशेष समयमा बोलेर हिँड्ने गर्नुभएको देखियो । यस्तो हामीले गरेका छैनौं ।

कानुन निर्माणमा संसद् उदासीन रहेको भन्ने आक्षेप पनि छ, यसमा सुधार्न के गर्नुपर्ला ?

समग्रमा पाँच वटा अधिवेशनमा कति काम गर्‍यौं भनेर हेर्दा जति काम गर्नुपर्ने हो, सकेनौं है भन्दा होइन भन्ने प्रतिप्रश्न गर्न पर्दैन । त्यो स्वीकार गर्ने हो । सरकारले आवश्यकताका आधारमा संसद्लाई बिजनेस दिनुपर्छ । सरकारले दिएको बिजनेस पुग्दो छ । विभागीय मन्त्रीहरूले आफ्नो मन्त्रालयको विधेयकलाई निष्कर्षमा पुर्‍याउन छलफल चलाउनुपर्‍यो । त्यो छलफल समितिमा उपस्थित भएर मात्र होइन, सरोकारवाला दलहरूसँग पनि विषयवस्तुमा अनौपचारिक छलफल चलाउनुपर्‍यो ।

मन्त्रालयको विधेयक पारित गराउन मन्त्री लबिइङ गर्ने अभ्यास छैन । मन्त्रीको समय हुँदा मात्र बैठक बस्नुपर्ने बाध्यता छ । त्यो कुरा क्रमशः मन्त्रीहरूले विधेयकमा आफ्नो भूमिका, योग्यता र क्षमता प्रदर्शन गर्नुपर्छ । समितिका बैठक नियमित बस्नुपर्‍यो ।

समिति सभापति र सांसदले संसद् बैठक सकिनेबित्तिकै निर्वाचन क्षेत्र र अन्य जिम्मेवारीमा दौडिने बाध्यता छ, त्यसलाई कम गरेर संसदीय मामिला नै पहिलो जिम्मेवारी ठान्नुपर्‍यो । यसरी अगाडि बढ्न सक्यो भने कानुन निर्माण र संसद्‌मार्फत सरकारलाई खबरदारी, प्रश्न र सुझाव दिने काम पनि धारिलो रूपमा अगाडि बढ्छ । जनताका विषय र राष्ट्रिय सरोकारका विषय पनि ज्वलन्त ढंगले उठ्छ । जनताका समस्या पनि समाधन हुन्छन् । 

कान्तिपुर

Link copied successfully