अस्ट्रेलिया — सन् ९० को दशकदेखि नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय ब्यान्ड 'नेपथ्य' यतिबेला अस्ट्रेलियाका विभिन्न सहरमा व्यस्त छ । ब्यान्डका मुख्य गायक अमृत गुरुङ नयाँनयाँ गीतसंगीत सिर्जना गर्न मात्र होइन नयाँनयाँ भाका खोजेर फरक गीत निकाल्नसमेत माहिर छन् । अस्ट्रेलिया यात्रामा रहेका गुरुङसँग कान्तिपुरका नारायण खड्काले गरेको कुराकानी :
नेपथ्यले अस्ट्रेलियामा सांगीतिक यात्राका दौरान के पायो ?
संगीतकर्मीले पाउनुपर्ने माया, सम्मान र हार्दिकता पाइरहेका छौं । हामी भाग्यमानी मान्छेमध्येकै रहेछौं । यहाँका मानिसले दिने माया, सत्कार र सम्मानभन्दा ठूलो के नै होला र !
अस्ट्रेलियामा जन्मेका नयाँपुस्ता पनि तपाईंका गीत सुन्न आए होलान् । उनीहरुलाई देख्दा कस्तो महसुस भयो ?
मञ्चबाट हेर्दा सबै २०–२५ वर्षका दर्शक देखिन्छन् । अनि लाग्छ, ओहो समय कति छिटो गएछ । म त बुढो पो भएछु कि जस्तो लाग्छ । उनीहरुको जोस, जाँगर र सहभागिता देख्दा जीवनमा राम्रै काम गरिएछ भन्ने लाग्छ । सहभागी सबै खुसी भएको देखिन्छ । मानिसलाई खुसी बनाउन पाउनुभन्दा ठूलो कुरा के हुन्छ र ! मञ्चमा उभिएर प्रस्तुति दिने कलाकार र दर्शकबीचको सम्मिश्रण यस्तो रोचक बन्छ नि त्यो देख्दा मन प्रफुलित हुन्छ ।
के तपाईंलाई लाग्छ, अस्ट्रेलियाजस्तै परदेशमा जन्मेका नेपाली मूलका पुस्ता नेपाली संगीतको पारखी हुन सक्छन् ?
त्यो अभिभावक र बच्चामा भर पर्छ । यसका लागि घरको वातावरण मुख्य कुरा हो । नेपाली भाषाप्रति परिवारमा कस्तो विचार छ, नेपालसँग उनीहरु कतिको कनेक्ट र परिचित छन् भन्नेले अर्थ राख्छ । आफ्नो भाषा, देश, संस्कृति, प्रकृति र समाजलाई चिनाएको छ भने उनीहरुलाई आफ्नो थलो मन परिहाल्छ नि ! भलै त्यो स्थानमा पछि गएर बस्न नसके पनि आफ्नो माया त भइहाल्छ । सबैका लागि मुख्य कुरा भाषा र संस्कृति नै हो । यहाँ हामीले जुन गीतसंगीत प्रस्तुत गर्छौं, त्यसले नेपालसँग कनेक्ट गराउँछ जस्तो लाग्छ । आफ्नो मातृभूमि, थातथलोप्रतिको न्यास्रोलाई मेटाउँछ र आफ्नो देशसँग जोड्छ ।
सांगीतिक यात्राका दौरान ५ पटक अस्ट्रेलिया आइसक्नुभयो र तपाईंको लोकप्रियता अझै उस्तै छ । यसको श्रेय कसलाई दिनुहुन्छ ?
यसको श्रेय त नेपाली गीतसंगीतलाई नै हो । नेपाली लोकसंगीत, शब्द, वाद्यवादन र नेपालीपन भएको गीत गाएका कारण नै मन पराइदिनुभएको होला । भाषाभन्दा पनि नेपालीपन र नेपालीमन भएको गीतसंगीत सिर्जना गरिएकाले नै होला जस्तो लाग्छ ।
आर्थिक कुरा त छँदै छ । विदेशमा सांगीतिक कार्यक्रम गर्दाको राम्रो पक्ष के हो ?
सबैभन्दा पहिलो त दर्शकसँगै एउटा हलमा बसेर एकअर्काबीच गीतसंगीतमार्फत सामीप्यता बढाउने र मनोरञ्जन गर्ने नै हो । दर्शक र कलाकारसँगको एउटा संस्मरण र सम्झना नै महत्वपूर्ण पाटो हो । विदेशमा हुने कार्यक्रमले मनोरञ्जन मात्र नभएर दर्शक र कलाकार दुवैलाई सम्झनायोग्य जम्काभेटको फरक अनुभव दिलाइदिन्छ ।
तपाईंसँग सांगीतिक कर्ममा लागेका समकालीनहरू सांगीतिक क्षेत्रमा अहिले त्यति सक्रिय र लोकप्रिय देखिँदैनन्, तर तपाईंको क्रेज र संगीतको लोकप्रियता अझै उस्तै देखिन्छ । यो कसरी ?
त्यो त दर्शकको सदाशयताको कुरा भयो । उहाँहरुले मन पराइदिनुभयो र हामीले गीत गाउने मौका पायौं । उहाँहरूले मन पराएर निम्तो दिएर बोलाउनुभएकाले नै त हामीले कार्यक्रम गर्न पायौं, भेट गर्न पायौं । हामी अलिकति अनुशासित, साधना गर्ने, मेहनती पनि भयौं कि !
द्वन्द्वकालीन अवस्थामा कुनैबेला १० जना भेला हुन नपाउने अवस्था थियो । बन्दुकको जगजगी थियो- एकातिर विद्रोहीको, अर्कातिर राज्यको । त्यतिबेला शिक्षा क्षेत्र सबैभन्दा बढी प्रताडित थियो । हामीले विद्यार्थीको भविष्य सुनिश्चित हुनुपर्छ भनेर ‘शान्तिका लागि शिक्षा’ कार्यक्रम सुरु गरेका थियौं । त्यसको पनि केही असर होला । त्यसले हामीलाई गीत गाउने मात्र होइन यिनीहरूमा अलि बढी सामाजिक चेत पनि रहेछ भनेर सोचिदिनुभयो कि । अहिले त्यो बेलाका विद्यार्थी विभिन्न क्षेत्रमा छन्, त्यतिबेला यिनीहरूले यस्तो काम गरेका थिए भनेर अझै माया गरिरहनुभएको हो कि !
नेपथ्यको संगीतमा हुने लोकभाका सुन्न अस्ट्रेलियामा नेपाली मात्रै नभएर अरू पनि आए । नेपाली नबुझ्नेलाई के कुराले तानेको होला ?
गीतसंगीतको कुनै भाषा हुँदैन । संसारभर विभिन्न भाषामा गीत गाइन्छ र सबैको फरकफरक महत्व र प्रभाव छ । मैले पनि केही दर्शकसँग कुरा गर्ने अवसर पाएको छु । उहाँहरूको प्रतिक्रिया नै नेपाली लोकभाका फरक र अलग सुनिने हुने गरेको छ । तपाईंको संगीत फरक सुनिन्छ, लोकभाका र लोकसंगीत अन्य संगीतभन्दा फरक रहेकाले आफूहरू आएको बताउनुहुन्छ । संगीतमा हुने फरकपनले नै हो सबै किसिमका दर्शकलाई तान्ने । हाम्रो लोकभाका र संगीत पनि त स्थानअनुसार अलगअलग छ भनेपछि फरक गीतसंगीतले सबैलाई तान्छ ।
नेपाली संगीतका अरू केही चिज अझै खोज्न बाँकी छ भने के बाँकी होला ?
खोज्ने काम कहिले पनि सकिँदैन । हिजोआज प्रविधि र सामाजिक सञ्जालले गर्दा सबैलाई सहज बनाइदिएको छ तर सम्बन्धित ठाउँमा गएर खोज्नुपर्ने कुरा सामाजिक सञ्जालमा पाइँदैन । संगीत भनेको कला र सिर्जना हो । त्यो कहाँ र कसरी कुन मुडमा निस्कन्छ भन्ने छैन । अध्ययनले अध्येता र ज्ञानी बनाउला तर नयाँ चिज खोज्न भने मेहनत र परिश्रम आवश्यक छ ।
अमृत गुरुङलाई कहिलेसम्म हजारौं दर्शकसामु यसरी नै देख्न पाइएला ? आफ्नो रिटायरमेन्टको केही योजना बनाउनुभएको छ कि ?
व्यक्तिगत अनुशासन अत्यन्तै महत्वपूर्ण हुन्छ । आफ्नो दैनिकी र स्वास्थ्यलाई धेरै असर पर्ने कुराबाट टाढा रहनुपर्छ । म धेरै कुरामा अनुशासित छु । स्वास्थ्यले साथ दिउन्जेल यही क्षेत्रमा नै हुन्छु । म आफैले आफैलाई स्वस्थ र अझ दरिलो राख्न यात्रा गर्ने सोचमा छु । म साँच्चै भन्ने हो भने ‘इनर इन्जिनियररिङ’ को तयारीमा छु । म संगीतबाट रिटायरमेन्ट लिने योजनामा छैन । म मरेपछि मात्र संगीतबाट रिटायर्ड हुनेछु । गाउन नसके लेख्छु, लेख्न नसके बनाउँछु । तर म मेरो जीवन संगीतमा नै दिनेछु । संसारबाट बिदा नभएसम्म कुनै न कुनै माध्यमबाट म संगीतमै रम्नेछु र रमाउनेछु ।
![I will retire from music only after I die: Amrit Gurung [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/nepathya-frontman-amrit-gurung-2132025030403-1000x0.jpg&w=1001&h=0)