राजतन्त्र फर्काउने कुराले निकास दिँदैन, झन् ठूलो अस्थिरता ल्याउँछ : नेत्रविक्रम चन्द, समाजवादी मोर्चा संयोजक एवं महासचिव (नेकपा)

चैत्र १, २०८१

कान्तिपुर संवाददाता

Bringing back the monarchy will not solve it, it will bring more instability: Netra Vikram Chand, Samajwadi Morcha Coordinator and General Secretary (NCP)

काठमाडौँ — नेकपाका महासचिव नेत्रविक्रम चन्द नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा सहितको समाजवादी मोर्चाका संयोजक हुन् । २०७१ मा माओवादी छाडेर नयाँ पार्टी निर्माणमा सक्रिय भएका चन्द देशको अहिले खल्बलिएको अस्थिर राजनीतिक अवस्था निर्माण भएको बुझाई राख्छन् । समाजवादी मोर्चाको बैठक सकेपछि चन्दसँग वर्तमान राजनीति र मोर्चाले गरेका निर्णयका विषयमा गंगा बीसीले गरेको कुराकानीको सम्पादित अंश :

समाजवादी मोर्चाले के के निर्णय गर्‍यो ?
मुख्यगरी तीनवटा विषयमा निर्णय गरेको छ । शनिबार मोर्चाले बुद्धिजीवीसँग आफ्नो धारणा स्पष्ट गर्न अन्तर्क्रिया गर्ने कुरा भएको छ । नेपालको राज्य प्रणालीबारे सुझाव सल्लाह लिइने छ । त्यसपछि पत्रकारहरुसँग भेटघाट गर्ने र चैत १५ मा जनसभामा गर्ने निर्णय भएको छ ।

यतिनै बेला जनसभा गर्नुको मुख्य उद्देश्य के हो ?
देशको अहिलेको खल्बलिएको अस्थिर राजनीतिक अवस्था छ । यसबारे हामी मोर्चाको तर्फबाट आफनो दृष्टिकोण राख्नेछौ ।

केही दिनअघि राजावादीहरुले गरेको प्रर्दशनको काउन्टर सभा गर्न लाग्नुभएको हो ?
मुख्य गरी दुई विषय छन् । आन्दोलन किन गर्नुपर्‍यो भनेर हाम्रो दृष्टिकोण स्पष्ट गर्ने हो । देशलाई पश्चगमनतिर लैजाने जुन खेल भइरहेको छ, यसका विरुद्ध बोल्नुपर्ने बेला आएको छ । हामीले जनतालाई भन्नुपर्ने छ, अग्रगमन किन आवश्यक छ ? यसका साथै अहिले भइरकेको राजनीतिक प्रणालीले जनतालाई सन्तुष्टि दिन सकेको छैन । सक्दैन । यसको निकासका लागि नेपाली विशेषताको समाजवादको बारेमा आफने धारणा राख्नेछौ ।

पुनः राजतन्त्रतिर फर्काउने प्रयास संभव देख्नुहुन्छ ?
त्यो संभव छैन । यद्यपि रहेक वर्ग, प्रवत्तिलाई आफ्नो कुरा राख्ने अधिकार छ । अहिलेको अवस्थाबाट पछाडि फर्काउने संभावन हामी देख्दैनौ । मुलुक अग्रगमनतिर जानुपर्छ, पश्चगमनतिर होइन । मुलुकलाई अग्रगमनतिर लैजाने हाम्रो उद्देश्य हो ।

यो व्यवस्थाविरुद्ध किन चलखेल भइरहेको छ ?
योचाहिँ राज्यको स्थिरताको अभाव भयो । राज्यले स्पष्ट मार्गचित्र दिन सकेन । त्यसको अलमल अकर्मण्यताको अभिव्यक्ति पनि हो । जनता सन्तुष्ट छैनन् । मुलुकमा राजनीतिक अस्थिरता, आर्थिक संकट, सांस्कृतिक समस्याहरु, विदेशीको चलखेलबाट आम जनतानै असन्तुष्ट छन् । म गत साता जुम्ला, कालीकोट पुग्दा, त्यहाँका जनतामा पनि अहिलेको चलिरहेको अवस्थाप्रति सन्तुष्ट छैनन् । त्यसको अभिव्यक्ति बाहिर आएको हो ।

राजतन्त्र फर्काउने कोशिश भए, प्रतिवाद गर्ने मोर्चाको तयारी हो ?
जनताको चाहना भनेको अग्रगमन हो । राजतन्त्रभन्दा गणतन्त्र नै प्रगतिशील भइहाल्यो । यसले पनि जनताको अपेक्षा पुरा गर्न नसकेको स्थितिमा फेरि ०६२, ०४७, १७ सालतिर फर्कन संभव छैन । राजतन्त्रले निकास दिदैन ,झन् ठूलो अस्थिरता ल्याउँछ । जनताको चाहना अग्रगमन प्रणालीतिर प्रवेश हो । रुपान्तरण हो । त्यसअर्थमा बुझेर हामी अघि जान्छौ ।

आम मानिसमा निराशा र आक्रोश छ । यसको समाधान के हुन सक्छ ?
हामी यस्तै विषयमा बहद् अन्तर्क्रिया गर्दैछौ । अब नेपालमा नयाँ छलफल आवश्यक छ । विगत १८ वर्षदेखि जुन पुँजीवादी संसदीय व्यवस्थापमा समाजवादको कुरा आए पनि आम मानिसका समस्या समाधान भइरहेका छैनन् । यो व्यवस्थामा केही मानिस असाध्यै धनी भएर जाने, अरु झन् कंगाल बन्ने अवस्था छ । युवाहरुको आकांक्षाको सम्बोधन नहुने, शिक्षा, स्वास्थ्य, रोजगारीका समस्याहरु बढ्दै जाने अवस्था छ । यी सबैको निकासका लागि अग्रगामी व्यवस्थातिर जानुपर्छ । त्यो भनेको नेपाली विशेषताको समाजवाद हो ।

समाजवादीवादी मोर्चाको प्रमुख उद्देश्य नै योभन्दा अघि बढेर नेपाली विशेषताको समाजवादी व्यवस्था ल्याउने हो ?
समाजवादी मोर्चाले एउटा दस्ताबेज तयार गरेको छ । यो नेपाली जनतासँग सम्बन्धित विषय हो । हामीले अन्तर्क्रियामा आफ्नो अवधारणा अघि सार्ने तयारी गरेका छौ । अब एउटा ठूलो बहस गर्न आवश्यक छ । लोकतान्त्रिक, देशभक्त, वामपन्थी कम्युनिस्ट शक्तिबीच एकता र बहसको खाँचो छ । फेरि आवश्यक पर्‍यो भने हामीले २०४६, २०६४ सालमा भएको जस्तै त्यही तहको वा नेपालको स्थिरतको लागि साझा छलफल जरुरी छ ।

समाजवाद स्थापनाका लागि भन्दै कृषि, पशुपालनलगायत उत्पादनलाई जोड्ने तपाईँको पार्टीको अभियान कहाँ पुग्यो ?
अहिले जनताको ठूलो असन्तुष्टिको पाटो अहिलेको आर्थिक प्रणाली, कार्य, गतिविधि हो । नयाँ पुस्तामा राजनीतिकभन्दा आर्थिक पाटो आकर्षणको विषय भएको छ । नयाँ पुस्ताको मुख्य चासो, शिक्षा र रोजगारीनै हो । त्यसको विदेशी, अरुतिर फर्केर, अपेक्षा राखेर बनाउन यो सम्बोधन गर्ने कुरा होइन । मुलुकभित्र भएको जनशक्ति, श्रमशक्ति, वौद्धिकता, ज्ञान, सीप, प्राकृतिक स्रोत परिचालमा पहिले आफ्नो पार्टीलाई लगाउने सुरु गरेका छौ । हामीले सुरु गरेको कृषि, पशुपालनमा राम्रो प्रगति भइरहेको छ । हाम्रो पार्टी पंक्ति उत्साहका साथ लागेको छ । हाम्रो उत्पादनमा लागेको टीम रमाएर काम गरिरहेको छ । 

कान्तिपुर

Link copied successfully