काठमाडौँ — अहिले देशभर राजमार्गहरुको विस्तार त कतै स्तरोन्नतिको काम थालिएको छ । कतिपय राजमार्गमा विस्तार थालिएको लामो समय बित्दा पनि निर्माणको कामले गति लिन सकेको छैन । त्यस्ता सडकमा पटकपटक म्याद थप गर्दा पनि प्रगति बढ्न सकेको छैन । कतै पूर्व तयारीबिना ठेक्का गर्दा त कतै पर्याप्त बजेट अभावमा सडक निर्माणमा प्रगति हुन सकेको छैन ।
ठेक्का भएको वर्षौं बित्दा पनि विस्तार र स्तरोन्ति नसकिँदा यात्रु र चालक सास्ती खेप्न बाध्य छन् । ठेक्का भएका सडक पूर्वाधारको काम किन समयमै सकिँदैन, निर्माण ढिलाइ हुनुमा जिम्मेवार निकाय को हो ? कान्तिपुरका विमल खतिवडाले सडक विभागका महानिर्देशक रामहरि पोखरेलसँग गरेको कुराकानी :
अहिले देशभर सडक विस्तार र स्तरोन्नतिका काम भइरहेका छन्, तर प्रगति सोचेअनुरुप किन हुन सकेन ?
अहिले विस्तार थालिएकामध्ये नारायणगढ–बुटवल सडक निर्माणले गति लिएको छ । पहिला यो सडकमा निकै नै समस्या थियो । असारसम्म दुई लेन सडक बनाइसक्ने गरी काम भइरहेको छ । पहिले निर्माण सुरु भएका आयोजनामा बजेट वितरण राम्रोसँग भएन । खर्च नहुने ठाउँमा बजेट भयो, खर्च हुने ठाउँमा बजेट भएन । रकमान्तरको समस्या भयो । राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्याइएको बजेट अन्य आयोजनामा सार्न नमिल्ने बनाइएको थियो । आयोजनाले विगतकै भुक्तानी दायित्व तिर्नुपर्ने र चालु आर्थिक वर्षमा आयोजना सञ्चालन गर्नै नसक्ने भएर पनि निर्माणधीन सडक आयोजनामा सोचेअनुरुप प्रगति हुन नसकेको हो । अहिले धेरै कुरामा सहजीकरण भएको छ । निर्माण क्षेत्रमा पर्ने रुख कटान, विद्युत् पोल लगायतका समस्याले गर्दा पनि आयोजना निर्माणमा ढिलाइ भइरहेको छ ।
अधिकांश ठेक्का पटकपटक म्याद थप गर्दा पनि किन निर्धारित समयमा सम्पन्न हुँदैनन ?
आयोजना समयमै नसकिनुमा धेरै कारण छन् । बजेट विनियोजनको समस्या प्रमुख रुपमा रहेको छ । पर्याप्त बजेट नहुँदा आयोजना समयमै सकिने गरेका छैनन् । अर्को, स्थानीयस्तरमा निर्माण सामग्रीको उपलब्धता कम हुने गरेको छ । निर्माण व्यवसायीको कार्यक्षमताले गर्दा पनि आयोजनामा सोचेअनुरुप प्रगति छैन । एउटै निर्माण व्यवसायीले धेरैतिर ठेक्का लिँदा कामको गति सुस्त हुने गरेको छ । एउटै कम्पनीले धेरैतिर ठेक्का लिँदा ऊसँग पर्याप्त मेसिन हुँदैनन् । संयुक्त रुपमा लिइने ठेक्कामा पनि समस्या छ । संयुक्त ठेक्कामा कमजोर मानिएका निर्माण व्यवसायीले मात्र काम गर्ने गर्छन् । जसले गर्दा काममा प्रगति नबढ्ने समस्या छ । त्यस्तै बेलाबेला स्थानीयस्तरमा हुने विवादका कारण पनि आयोजनाले गति लिने गरेको छैन । कतिपय निर्माण व्यवसायीले पर्याप्त बजेट हुँदासमेत काम गर्ने गरेका छैनन् ।
आयोजनामा पूर्वतयारी नगरी ठेक्का गर्दा बढी समस्या भएको देखिन्छ, हतारमा ठेक्का किन गरिन्छ ?
सडक आयोजनामा शतप्रतिशत पूर्वतयारी गर्ने हो भने ठेक्का नै छुट्टै गर्नुपर्छ । निर्माणको काम गर्दै गएपछि मात्र प्राय: समस्या आउने गरेका छन् । खानेपानी पाइप, ढलका समस्या निर्माणको काम सुरु गर्दै गएपछि मात्र थाहा हुन्छ । त्यसैले कति प्रतिशत पूर्वतयारीको काम सकेर ठेक्का गर्ने भन्ने हुन सक्छ, तर शतप्रतिशत पूर्वतयारीको काम सकेर सडक पूर्वाधारमा ठेक्का गर्न सकिँदैन ।
ठेक्का भएका आयोजना समयमै सम्पन्न भएका कमै रेकर्ड छन् । आयोजना ढिलाइ हुनुमा को बढी जिम्मेवार छ ?
पर्याप्त समय दिएरै ठेक्का आह्वान गरिन्छ । आयोजना ढिलाइ हुनुमा सबै निकाय जिम्मेवार छन् । बजेटका कारण पनि आयोजना ढिलाइ भइरहेका छन् । निर्माण व्यवसायीबाट पनि ढिलाइ भइरहेको छ । ठेक्का लगाउने निकायबाट पनि ढिलाइ भएको हुन सक्छ । अन्तर मन्त्रालय, विभाग र निकायबीचको समन्वय अभावमा पनि सडक आयोजनाका काममा ढिलाइ हुने गरेको छ ।
अहिले विस्तार र स्तरोन्नति थालिएका सडक पूर्वाधारको निर्माण सकिएपछि कतिको सहजता हुन्छ ?
अहिले भइरहेका सडक कतै एक लेन, कतै दुई लेनका छन् । अब बन्ने सडक कम्तीमा चार लेन र बढीमा सर्भिस लेन सहित ८ लेनका हुनेछन् । साँघुरा सडकका कारण भइरहेको ट्राफिक जाम कम हुनेछ । यात्राको समय र दूरी छोटिनेछ । दैनिक उपभोग्य बस्तु बोकेर ल्याउने सवारीसाधनको ढुवानी भाडा घट्ने छ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्नेछ ।
सम्बन्धित समाचार : देशैभर सडक निर्माण : म्याद थपिन्छ, काम सकिन्न
