कतै निर्माण सामग्रीको अभाव त कतै रुख कटान र विद्युत् पोल सार्न ढिलाइले कामको गति सुस्त
काठमाडौँ — राष्ट्रिय गौरवका मात्र होइन देशैभर ठूला राजमार्ग र सहायक राजमार्गमा समेत सडक निर्माण, विस्तार र स्तरोन्नतिका काम धमाधम भइरहेका छन् । अधिकांश योजनामा समयमै काम पूरा नहुने समस्या देखिएको छ । पटकपटक म्याद थप गरे पनि कामको प्रगति सुस्त छ । यहाँ हामीले देशका विभिन्न सडकखण्डमा भइरहेका विस्तार र स्तरोन्नतिमा देखिएको समस्या र प्रगतिको अवस्थाबारे खोजी गरेका छौं ।
नारायणगढ-बुटवल सडक विस्तार थालेको ६ वर्ष भयो । अहिलेसम्म निर्माण प्रगति ६० प्रतिशत कट्न सकेको छैन । यो अवधिमा बल्ल प्रगति ५७.५ प्रतिशत छ । २०७५ चैतमा ठेक्का सम्झौता भएअनुसार यसको काम २०७९ साउन भित्र सक्नुपर्ने थियो । तेस्रोपटक म्याद थप्दा पनि प्रगति सन्तोषजनक छैन । ठेक्का लागेको लामो समयसम्म निर्माण व्यवसायीले काम गरेनन् ।
यहीबीच कोभिड-१९ र निर्माण सामग्री अभावका कारण काम गर्न नसकिएको भन्दै निर्माण व्यवसायीको मागअनुसार पहिलोपटक २०८० साउन ११ सम्म म्याद थपियो । उक्त समयभित्र पनि काम सकिएन । दोस्रोपटक २०८१ साउन ८ सम्म फेरि म्याद थपियो, काम सकिएन । अहिले तेस्रोपटक २०८२ साउन ८ सम्मका लागि म्याद थपिएको छ ।
पुसयता भने कामको गति बढेको आयोजना निर्देशनालय (एडीबी) ले जनाएको छ । बर्खाअघि सबै काम नसकिए पनि एकतर्फी सडक कालोपत्रको काम सकेर भए पनि सवारी सञ्चालनमा सहज बनाउन निर्माण व्यवसायीलाई ताकेता गरिरहेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालले बताए ।
‘सुरुका दिनमा निर्माण सामाग्री अभाव, रुख कटान, विद्युत् पोल सार्न ढिलाइ हुँदा कामले गति लिन सकेन,’ ढकालले भने, ‘पछि व्यवसायीले लो बिडमा ठेक्का लिँदा घाटा भएको भन्दै काममा आलटाल गरिरहे, पटकपटक चिठी लेखेर काम सक्न दबाब दिँदा पनि नगरेपछि मन्त्रालय तहबाटै निर्माण व्यवसायीको मुख्य कार्यालयमा ध्यानाकर्षण गराएपछि मात्र कामले गति लिएको हो ।’
निर्माण कम्पनीको मुख्य कार्यालयबाट पैसाको समेत व्यवस्थापन गरेका कारण अहिले कामको गति बढेको दाबी उनको छ । १ सय १३ किलोमिटर दूरी रहेको सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।
‘धुँवा, धुलो र ट्राफिक जामको सास्ती छ, हामीले बुझेका छौं,’ ढकालले भने, ‘यी सबै कुरा बुझेर नै छिटो काम सक्न दबाब दिइरहेका छौं ।’
निर्माणको काम सकिएको ५ वर्षसम्म ठेक्का लिने व्यवसायीले नै सडक मर्मत सम्भारको काम गर्नुपर्नेछ । अबको डेढ वर्षभित्र काम सकिने दाबी आयोजनाको छ । यो सडकका कारण यात्रु, चालकले दैनिक ओहोरदोहरमा सास्ती खेप्नुपर्ने बाध्यता छ । हिउँदमा धुलो र बर्खामा हिलोको समस्या भनिसाध्य छैन ।
ढकालका अनुसार पूर्वी गैंडाकोट खण्डमा एकतहको कालोपत्र ५९ किमि र दुई तह कालोपत्र १९ किमि भइसकेको छ । ‘अहिले एकतहको कालोपत्रसहित एकतर्फी सडक बनाउन बढी जोड दिएका छौं,’ ढकालले भने, ‘एक तहको कालोपत्र १० मिटरको हुन्छ, जसले यात्रालाई केही हदसम्म सहज बनाउने छ ।’
उनका अनुसार दाउन्ने खण्डमा तीन लेन सडक बन्नेछ । बजार क्षेत्रमा दुई लेन जाने दुई लेन आउनेगरी सडक बन्ने छ । बजार क्षेत्रमा सर्भिस लेन पनि बनाइने छ । दाउन्ने उकालोमा मालवाहक सवारीका लागि छुट्टै लेन बनाइँदै छ, यो बनाएपछि दाउन्नेमा १० वर्ष समस्या नआउने उनले दाबी गरे । ‘दाउन्ने मन्दिरभन्दा केहीपरको भागलाई पश्चिम खण्डका रुपमा छुट्याइएको छ । जहाँ ३९ किमि खण्डमा एकतर्फी पहिलो तहको कालोपत्रको काम भइरहेको छ,’ उनले भने, 'दाउन्ने खण्डबाहेक अन्यत्र बर्खाअघि नै काम सक्ने निर्माण व्यवसायी बताइरहेका छन् ।'
अहिले बढी समस्या दाउन्ने खण्डमै देखिएको छ । यहाँ १ सय ४० वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा अब १० वटा बनाउन बाँकी छ । त्यस्तै उक्त सडक खण्डमा पर्ने केही पुलको काम सकिएको र केही निर्माणको क्रममा रहेको उनको भनाइ छ ।
०००
आँबुखैरेनीदेखि पोखरासम्मको कुल दूरी ८०.३३ किमि छ । जसको समग्रमा भौतिक प्रगति ६५ प्रतिशत छ । मुग्लिङ–आँबुखैरेनी (पूर्वी) खण्डको ९ किमिमा अझै ठेक्का हुन सकेको छैन । आँबुखैरेनी–जामुने खण्डमा ८० प्रतिशत र जामुने–पोखरा (पश्चिम) खण्डको प्रगति ४४ प्रतिशत छ । आँबुखैरेनी–जामुनेको सुरु म्याद ०८१ वैशाखसम्म थियो । दोस्रोपटक म्याद थप गरेर असोजसम्म पुर्याइयो । तर काम सकिएन । तेस्रोपटक म्याद थपेर फागुनसम्म पुर्याइयो, फेरि पनि काम सकिएन । अहिले २०८२ असार १६ सम्म म्याद थपिएको छ ।
पूर्वीखण्डको दूरी ४१.४५ किमि र पश्चिम खण्डको दूरी ३८.८८ किमि छ । ‘पूर्वी खण्डमा ३८ किमि सडक कालोपत्रको काम भएको छ, बाँकी पनि एक महिनाभित्र सकिन्छ,’ आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालले भने, ‘उक्त खण्डमा दुईतर्फी नै दोस्रो तहमा कालोपत्रको काम २० किमि सकिइसकेको छ ।’ यसको निर्माणपश्चात् मर्मतसम्भारको अवधि ५ वर्षको हुनेछ । यसखण्डमा सर्भिस लेन डेढ किमि मात्र छ ।
‘पश्चिम खण्डमा २८ किमि कालोपत्र भएर सवारी सञ्चालनमा सहज भएको छ, जसमध्ये १४ किमि एकतर्फी कालोपत्र भएको छ,’ उनले भने, ‘ठेक्का भएकामध्ये दुई किमि भत्काइएको छैन, २०८२ जेठ १६ सम्म उक्त सडक खण्डमा एकतर्फी रुपमा सहज बनाइसक्छौं ।’ यसको पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनी र पश्चिम खण्डको यानहुई काइयुआन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले लिएका हुन् ।
यता सेती र मादी पुलको ठेक्का छुट्टै गरिएको छ । सेती पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको हो । यसको ठेक्का रकम १ अर्ब ७ करोड २४ लाख रुपैयाँ छ । जसको अहिलेसम्म निर्माण प्रगति ४५ प्रतिशत छ । यसको लम्बाइ १ सय ९० मिटर रहेको र दुई–दुई लेनका दुई पुल निर्माण गरिएको हो । मादी पुलको ठेक्का अनक–जेटआईईसी जेभीले लिएको हो । यसको निर्माण प्रगति ६५ प्रतिशत छ । ३ सय ९० मिटर लामो यो पुल चार लेनको हुनेछ । दुवै पुलको ठेक्का २०७९ साउन २६ मा लागेको थियो । यसको म्याद ०८२ भदौ २१ सम्म रहेको छ ।
आयोजना प्रमुख ढकालका अनुसार कुल दूरी ८०.३३ किमिमध्ये ६०.२४ किमि दुई लेन, २०.०९ किमि ४ लेनसहित दुईतर्फ गरेर ६/६ लेनको सर्भिस लेन बन्नेछ । २९ वटा पुल, २ सय ८१ वटा कल्भर्ट, नाला लगायतका संरचना निर्माण गरिने आयोजनाले जनाएको छ ।
८६.८२ किमिको यो खण्डको ठेक्का रकम १५ अर्ब ६६ करोड रुपैयाँ छ । यस खण्डमा अहिले नगद प्रवाहको समस्या भएको भन्दै ठेक्का लिने चाइना रेलवे नम्बर–२ इन्जिनियरिङ कम्पनीले काममा ढिलाइ गर्दै आएको छ । मासिक निर्माण प्रगति आधा प्रतिशत पनि हुने गरेको छैन ।
‘ठेक्का तोड्छौं भनेपछि कामको गति अहिले बढाएका छन्,’ आयोजना निर्देशनालय (एडीबी) का निर्देशक चुडाराज ढकालले भने, ‘अहिले ५४ प्रतिशत प्रगति छ ।’ मौलीबजार, मिर्चैया र बन्दीपुरमा अझै यात्रा असहज छ । पश्चिम खण्डमा ४० र पूर्वी खण्डमा २० किमि मात्र सडक कालोपत्र भएको छ । ‘काम गर्ने भए म्याद दिन्छौं, घाटा बेहोरेर भए पनि काम गर्नुपर्छ भन्दै आएका छौं,’ उनले भने, ‘काम गरेपछि नाफा कि घाटा भइहाल्छ, त्यो हाम्रो सरोकारको कुरा रहेन ।’ यी सबै सडकको विस्तार स्तरोन्नति एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा गरिएको हो ।
धनुषाको कमला पुलदेखि सर्लाहीको वाग्मती पुलसम्म विश्व बैंकको सहुलियतपूर्ण ऋणमा तीनवटा प्याकेजमा ठेक्का गरेर काम अघि बढाइएको छ ।
कमला–ढल्केबर–पथलैया सडक योजनाका प्रमुख छविलाल पौडेलका अनुसार पहिलो प्याकेज अन्तर्गत कमलापुलदेखि बडरीसम्म २२.०७ किमि रहेको छ । यसको ठेक्का ईकेके इन्फ्रास्ट्रक्चर कम्पनीले ५ अर्ब ८० करोड रुपैयाँमा लिएको हो । ईकेके भारतीय निर्माण कम्पनी हो । ०८१ पुस १७ बाट सुरु भएको यसको निर्माण अवधि तीन वर्षको रहेको छ ।
दोस्रो प्याकेज बडरीदेखि फुल्जोरसम्म २९.७४ किमि छ । यसको ठेक्का सान्सी वाटर रिसोर्स एन्ड हाइड्रोपावर इन्जिनियरिङ ग्रुप र रसुवागढी कन्स्ट्रक्सनले संयुक्त लिएका हुन् । ६ अर्ब ४३ करोड रुपैयाँमा ठेक्का लगाइएको यसको निर्माण अवधि पनि तीन वर्षकै छ ।
तेस्रो प्याकेज हो, फुल्जोर–वाग्मती नजहर । जसको दुरी छ, २२.९५ किमि । यो तेस्रो प्याकेजको ठेक्का पनि दोस्रो प्याकेजमै ठेक्का लिने कम्पनीले लिएको हो । यस ठेक्काको रकम ६ अर्ब ७२ करोड रुपैयाँ छ । बागमती पुलको ठेक्का गर्ने तयारीमा रहेको योजना प्रमुख पौडेलले बताए । ‘अहिले काम सुरु छ,’ उनले भने, ‘विद्युत् पोल सार्ने र रुख कटानको काम हुन सकेको छैन, जुन प्रक्रियामै छ ।’
बागमतीदेखि पथलैयासम्म पनि विश्व बैंकसँग ऋण सम्झौता गर्ने तयारी छ । पथलैया–हेटौंडा–नारायणगढ सडक भने एडीबी अन्तर्गत बनाउनेगरी डिजाइनको काम भइरहेको छ । ‘डिजाइन अन्तिम चरणमा छ, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम पनि भइरहेको छ,’ आयोजना प्रमुख ढकालले भने, ‘जुन खण्डको दूरी १ सय ४ किमि छ ।’ यसलाई दुई खण्ड गरेर काम गर्ने कि भन्नेबारे छलफल भइरहेको उनले सुनाए ।
उनका अनुसार वनक्षेत्रभित्र चार लेन र बजारमा चार लेनसहित सर्भिस लेन बनाइनेछ । राजमार्गमा पर्ने निकुञ्ज क्षेत्रको जंगलमा भने दुई–दुई किमि फ्लाईओभर हुनेछ । यसले वन्यजन्तुलाई ओहोरदोहर गर्न सजिलो हुने उनले बताए । यही खण्डअन्तर्गत चितवन र पर्सा निकुञ्ज पर्छन् ।
‘एडीबीलाई अनुदानमा फ्लाईओभर बनाइदिन भन्दै आएका छौं,’ उनले भने, ‘यता महाकाली–कोहलपुर खण्डमा पनि एडीबीअन्तर्गत नै अध्ययन गर्ने तयारीमा छौं ।’
०००
आँबुखैरेनी–मुग्लिन सडकखण्डको ईआईए वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ । ‘मुग्लिन–पोखरा सडक बढीमा अबको डेढ वर्षभित्र सकिन्छ, त्यसैले उक्त खण्डलाई त्यही योजनामा राख्न भन्दा नयाँ आयोजनामा राख्दा राम्रो हुने देखियो,’ आयोजना निर्देशनालय (एडीबी) का निर्देशक चुडाराज ढकालले भने, ‘डिजाइन फाइनल भइसकेको छ, अब यसलाई पथलैया–नारायणगढ सडक आयोजना अन्तर्गत नै राखेर काम गर्ने तयारीमा छौं, सन् २०२५ भित्र यस खण्डको ठेक्का गर्नेछौं ।’ 
एसियन हाइवेअन्तर्गत पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको लौकहीखण्डमा सडक विस्तार र स्तरोन्नतिको काम पनि अघि बढेको छ । राजमार्गखण्डमा चार र सहरी क्षेत्रमा सर्भिस लेनसहित ६ लेन सडक बन्नेछ । यसलाई तीनखण्डमा विभाजन गरेर काम अघि बढाइएको छ । पुलसहित तीनैखण्डको निर्माण अवधि तीन वर्ष मात्र छ ।
एडीबीको ऋण सहयोगमा सबै खण्डको ठेक्का भएको हो । झापाको काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किमी खण्डको १० अर्ब ६ करोड ९४ लाख रुपैयाँमा ठेक्का भएर काम भइरहेको छ ।
सडक र पुलसहित सबै खण्डको ठेक्का सम्झौता ०८० असोजमा भएको हो । तर निर्माण कार्यादेश भने ०८० माघ १९ मा दिइएको हो । यस खण्डको प्रगति १४.५ प्रतिशत छ । ठेक्का इभ्रास्कन–कालिका जेभीले लिएका हुन् । इभ्रास्कन अजरबैजनको कम्पनी हो ।
सीतापुरीदेखि मोरङको गोठगाउँसम्म विस्तारको ठेक्का सीआरएफजी–तुँदी कम्पनीले संयुक्त रुपमा लिएका हुन् । सीआरएफजी चिनियाँ कम्पनी हो, यस खण्डको दूरी ४० किमी छ । यसको निर्माण प्रगति अहिलेसम्म १६.५ प्रतिशत छ । यस खण्डको ठेक्का रकम भने ९ अर्ब १३ करोड ८२ लाख रुपैयाँ छ । तेस्रो प्याकेजका रूपमा भने गोठगाउँदेखि सुनसरीको लबिपुरसम्मको दूरी १०.७६ किमि छ । यस खण्डको ठेक्का ४ अर्ब ७ करोड ३५ लाख रुपैयाँमा तीनवटा कम्पनी कोभेक–सीआरईजीसी–तुँदी कम्पनीले संयुक्त लिएका हुन् । यो खण्डको प्रगति अहिलेसम्म ७.५ प्रतिशत मात्र छ ।
‘यो खण्ड बजार क्षेत्र भएकाले पनि कम प्रगति भएको हो,’ निर्देशक ढकालले भने, ‘निर्माण क्षेत्रमा पर्ने विद्युत् पोल, टहरा, घर भत्काउन पाइएको छैन, जसले गर्दा समस्या भएको छ ।’ निर्माण व्यवसायीले काम गर्न थालेपछि मात्र विद्युत् पोल हटाउने प्रवृत्तिले गर्दा समस्या भएको उनले बताए ।
साइट क्लियर नहुँदा काम गर्न नपाएको गुनासो निर्माण व्यवसायीको छ । बेलाबेला निर्माण सामग्रीमा हुने कार्टेलिङले गर्दा पनि कामको प्रगति बढाउन समस्या हुने गरेको उनीहरुले बताए ।
काँकडभिट्टा–लबिपुर खण्डको कुल दूरी भने ९५.७६ किमि छ । ‘समग्रमा १५ प्रतिशत प्रगति छ, यो बेलासम्म २० प्रतिशत हुनुपर्थ्यो,’ ढकालले भने, ‘काम गर्ने समय बल्ल सुरु भएको छ, सबै आयोजनाको समय अब दुई वर्ष छ ।’ लौकही–कञ्चनपुर खण्डमा समस्या भएकाले यसमा थप प्रगति नभएको उनले सुनाए ।
यही सडकभित्र ६ वटा ठूला र लामा पक्की पुलको ठेक्का भएर काम भइरहेको छ । चार र पाँच नम्बर प्याकेजमा विभाजन गरेर तीन-तीनवटा पुल निर्माण भइरहेका छन् । निन्दा, बिरिङ र कन्काई पुल चार नम्बर प्याकेजमा पर्छन् । यसको ठेक्का कोभेक–सीआरईजीसी–तुँदी कम्पनीले संयुक्त रूपमा लिएका हुन् । यी पुलको ठेक्का रकम ५ अर्ब ९७ करोड ८५ लाख छ । यसअन्तर्गत ठूला र ३ सय मिटर लामा पुल निर्माण हुनेछन् ।
पाँच नम्बर प्याकेजमा रतुवा, बक्राहा र लोहेन्द्रा पुल पर्छन् । यी पुल निर्माणको ठेक्का कोभेक–सीआरईजीसी–तुँदी जेभीले ५ अर्ब ६५ करोड २६ लाख रुपैयाँमा लिएका हुन् । यसको प्रगति ८ प्रतिशत छ । सबै सडक र पुलको निर्माण ०८३ माघ १९ मा सकिसक्नुपर्नेछ । चार नम्बर प्याकेजको पुल निर्माण काँकडभिट्टा–सीतापुरी सडक खण्डभित्र पर्छ । पाँच नम्बर प्याकेजको पुल निर्माण सीतापुरी–गोठगाउँ सडक खण्डभित्र पर्छ ।
यो सडक अहिले दुई लेनको छ । दमक, उर्लाबारी, इटहरी बजारमा सर्भिस लेनसहित सिक्स लेन सडक र फुटपाथ बन्नेछ । मुख्य राजमार्ग भने चार लेनको हुनेछ । इन्डोनेसियादेखि म्यानमार–असम हुँदै नेपालको पूर्वी सिमाना काँकडभिट्टाबाट पश्चिम गड्डाचौकी हुँदै दिल्ली पुग्ने गरी एसियाली राजमार्गलाई रेखांकन गरिएको सडक विभागले जनाएको छ । डिभाइडरसहित चार लेनको यो राजमार्ग नेपाली भूगोलमा १ हजार २७ किमि लामो हुनेछ । यही परियोजनाअनुसार पूर्व–पश्चिम राजमार्ग विस्तार थालिएको हो । तर निर्माण थालिएका सडकमा प्रगति अत्यन्तै सुस्त छ । एसियाली राजमार्गको अवधारणा सन् १९७० मा आएको हो । त्यहीअनुसार काँकडभिट्टाबाट काम सुरु भएको हो ।
०००
नागढुंगा–मुग्लिन सडलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम अघि बढाइए पनि निर्माणको गति सुस्त छ । यो सडक खण्डमा साना–ठूला गरी दैनिक १५ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् ।
यो खण्डको स्तरोन्नति विश्व बैंकबाट सहुलियतपूर्ण ऋण लिएर थालिएको हो । पहिलो प्याकेजका रूपमा नागढुंगा–नौबिसे खण्ड हो, जसको दूरी १२.२६ किलोमिटर छ । १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीसँग २०७८ चैत २९ मा उक्त खण्डको निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको हो । काम भने सम्झौताको करिब डेढ वर्षपछि २०७९ जेठ २६ मा मात्र सुरु भयो । तोकिएको २०८१ जेठ २७ भित्र काम नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपियो । फेरि २०८२ साउन १० सम्मका लागि म्याद थप गरी काम भइरहेको छ ।
यस खण्डमा कालोपत्र सुरु गरेको एक महिना भएको नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । ‘निर्माण सामग्रीको अभाव छ, जसले गर्दा पनि काममा ढिलाइ भयो,’ उनले भने, ‘सोमबारदेखि बल्ल खोलाबाट निर्माण सामग्री निकालेर काम गर्ने तयारी हुँदै छ ।’
उनका अनुसार पहिलो खण्ड नागढुंगा–नौबिसेको प्रगति राम्रो छ । करिब ६ किमि उक्त खण्डमा पहिलो तहको कालोपत्रको काम सकिएको छ । निर्माण सामाग्री अभाव नभए एक महिनाभित्र नौबिसेदेखि नागढुंगा सुरुङमार्गको मुखसम्म ८ किमि पहिलो तहको कालोपत्र सकिने उनले बताए । यो खण्डको प्रगति ६८ प्रतिशत छ ।
दोस्रो प्याकेज नौबिसे–मलेखु खण्ड हो, जसको दूरी ४३.५४ किमि छ । ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामा जेभीले यसको ठेक्का लिएका हुन् । २०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको यो खण्डको काम २०८२ असार मसान्त सकिसक्नुपर्नेछ । तर अहिलेसम्म भौतिक प्रगति भने ३० प्रतिशत मात्र छ ।
‘यस खण्डमा ४ किमि एकतर्फी सडक कालोपत्र भएको छ, निर्माण सामग्रीको ठूलो समस्या यस खण्डमा छ,’ उनले भने, ‘स्थानीय तह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासनसँग बसेर छलफल गरेपछि निर्माण सामग्री केही सहज हुने देखिएको छ ।’
यहाँ दैनिक करिब १५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । 'धेरै काम गर्ने दुई लेन सडकमै हो । बिहान ८ देखि १२ र बेलुका ४ बजेपछि सवारी चाप धेरै हुने भएकाले काम गर्न समस्या भइरहेको छ,' उनले भने, ‘पहिलो प्याकेजका रुपमा रहेको नौबिसेदेखि पिप्लामोडसम्म तोकिएको समयभित्र काम सकिन्छ, त्योभन्दा माथि नागढुंगासम्म करिब २ किमिमा पर्याप्त निर्माण सामग्रीको उपलब्धता नहुँदासम्म नभत्काउने भनेर रोकेका छौं ।’
मलेखु-मुग्लिन खण्डलाई तेस्रो प्याकेजमा राखिएको छ । यो खण्डको ठेक्का शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा लिएको हो । ३८.८६ किमी दूरीको यो सडक खण्डको ठेक्का सम्झौता २०७९ पुस १५ मा भएको हो । सम्झौताअनुसार २०८२ मंसिर ७ भित्र काम सकिसक्नुपर्ने भए पनि अहिलेसम्म प्रगति २३ प्रतिशत मात्र छ ।
यस खण्डमा २.२ किमिको ६ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक ७.२ किमिको हुनेछ । जसले रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौंदी र विशालटार समेट्नेछ । उकालो–ओरालो खण्डमा ३ लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन २.३ किमिको हुने छ । बाँकी सडक डेडिकेटेड दुई लेनको हुने नागढुंगा–मुग्लिङ सडक योजना, पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताए । ‘अहिले कुरिनटारमा २ किमि कालोपत्र भएको छ,’ उनले भने, ‘२४ किमि नाली बनाएका छौं, आगामी असार मसान्तसम्म १५ किमि कालोपत्र गर्ने लक्ष्य छ ।’
०००
सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार भइरहे पनि निर्माण प्रगति भने सन्तोषजनक छैन । कुल १५.५ किमि सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का गरेर काम थालिएको थियो । जुन खण्डको दूरी ८.३ किमि छ । उक्त खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले २०७९ मंसिर २७ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो । 
४२ प्रतिशत प्रगति भएको यो खण्डको म्याद २०८२ मंसिर २७ सम्म रहेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए ।
सूर्यविनायक–साँगा खण्डको दूरी ७.५ किमि छ । उक्त खण्डको ठेक्का आशिष/कुमार श्रेष्ठ/बन्धन भगवती जेभीले २०७९ पुस २४ मा लिएको हो । ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रहेको छ । यस खण्डको प्रगति ३७ प्रतिशत र म्याद २०८२ पुस २७ सम्म तोकिएको छ ।
‘अहिले साँगादेखि धुलिखेलमा स्ट्रक्चरको काम भइरहेको छ, धुलिखेल खण्डमा दुई किमि कालोपत्रको काम भइरहेको छ,’ उनले भने, ‘सूर्यविनायकतर्फ साँगा खण्डमा काम भइरहेको छ ।’ पूर्वका लागि यस खण्ड भएर सवारी छुट्ने गरेका छन् । जथाभावी भत्काएर सडक अस्तव्यस्त बनाइएको छ । जसले गर्दा यात्रु, चालकले दैनिक यात्रामा सास्ती खेप्नु पर्ने बाध्यता छ ।'
०००
काठमाडौं तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण सुरु भएको ७ वर्ष भयो । अहिलेसम्म ७०.९७७ किलोमिटरमध्ये ६४.४७७ किमिमा मात्र ठेक्का भएको छ । ललितपुरस्थित खोकना क्षेत्रको ६.५ किमिमा काम सुरु नै हुन सकेको छैन, जसका कारण थपिएको समयमा पनि फास्ट ट्रयाकको निर्माण नसकिने निश्चितप्रायः छ । यो सडक समयमै निर्माण भए १ घण्टामा बाराको निजगढ पुगिनेछ । 
सुरु सम्झौताअनुसार आर्थिक वर्ष ०८०/८१ भित्र काम नसकिने देखिएपछि समग्र आयोजनाको म्याद ०८३ चैत मसान्तसम्म थपिएको हो । आयोजनाको १ खर्ब ७५ अर्ब लागत अनुमानलाई संशोधन गरेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ बनाइएको छ । अहिलेसम्म ६७ अर्ब ९ करोड रुपैयाँ खर्च भइसकेको छ । निर्माण थालेयता भौतिक प्रगति ३८.२६ प्रतिशत मात्र छ । खोकना खण्डको विवाद अझै टुंगिइनसकेको र ठेक्का भएको खण्डमा भने धमाधम भइरहेको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताए ।
देशभर सडक स्तरोन्नति र विस्तार सकारात्मक भए पनि अधिकांशमा बजेटको समस्या रहेको पूर्वसचिव अर्जुनजंग थापाको विश्लेषण छ । ‘कतिपय ठाउँमा निर्माण व्यवसायीले अहिलेसम्म काम गरेको भुक्तानी पाएका छैनन्, जसले गर्दा काममा ढिलाइ भइरहेको छ,’ उनले भने, ‘ठेक्का भएका आयोजनामा पर्याप्त बजेट उपलब्ध छैन, जसले गर्दा कामको गति बढ्न सकेन ।’ सम्बन्धित मन्त्रालयका मन्त्रीहरुको ध्यान टुक्रे योजनामा बढी भएकै कारण ठूला आयोजना बजेटको समस्या थपिएको उनको भनाइ छ ।
‘बजेटजति टुक्रे योजनामा आफ्ना नातागोता खुसी पार्न छुट्याइन्छ, यस्तो अवस्थामा कसरी ठूलो आयोजनामा प्रगति हुन्छ ?,’ उनले भने, ‘त्यसैले ठूला सडक आयोजनालाई पहिलो प्राथमिकतामा राखेर बजेट नछुट्याएसम्म काम सम्पन्न हुनेछैन ।’
आयोजना प्रमुख जिल्लामा बस्न नसकेर बजेट जोहो गर्न विभाग, मन्त्रालय धाइरहनुपर्ने बाध्यताको अन्त्य गरिनुपर्ने पूर्वसचिव थापा बताउँछन् ।
अहिले राष्ट्रिय गौरवका सडक आयोजना मध्यपहाडी राजमार्ग, मदनभण्डारी राजमार्ग, हुलाकी राजमार्ग, कोशी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोर निर्माणाधीन छन् । तर यी आयोजनामा कतै निर्माण व्यवसायीका कारण त कतै बजेट अभावमा कामको प्रगति बढ्न सकेको छैन ।
