जग्गै थाहा नभएका बिर्तावाललाई होइन, पुस्तौंदेखि जोतिरहेका किसानलाई दिनुपर्छ 

बिर्ता ऐन र नियमावली संशोधन गरेर जग्गा जोतखन गरिरहेका किसानलाई भोगका आधारमा किटानी सिफारिस र उपलब्ध प्रमाणसहित तीन महिनाभित्र मालपोतमा निवेदन दिन आह्वान गर्नुपर्छ

माघ १३, २०८१

दीपक सापकोटा

It should be given to farmers who have been plowing for generations, not to Birtawal who do not know the land

काठमाडौँ — नुवाकोटमा १ हजार ५ सय ५८ र रसुवामा ७ सय १८ परिवार अझै बिर्ताकै जग्गा जोतभोग गरिरहेका छन् । कानुनतः बिर्ता उन्मूलन घोषणा गरिएको ६५ वर्ष भइसके पनि उनीहरूले बिर्ता जग्गा आफ्ना नाममा दर्ता गराउन पाएका छैनन् । बिर्ता–व्यथाबारे ‘कान्तिपुर’ ले शृंखलाबद्ध रिपोर्ट लेखिरहेको छ । भूमि अधिकार अभियन्ता जगत देउजाको बुझाइमा बिर्ता शताब्दीऔंदेखि किसानलाई थोपरिएको भयानक अन्यायको निरन्तरता हो । देउजा तीन दशकदेखि निरन्तर भूमि आन्दोलन र अभियानमा क्रियाशील छन् ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका विज्ञ सदस्य, सरकारी सार्वजनिक तथा गुठी जग्गा अध्ययन समितिका सदस्य र सरकारले बनाएको बिर्ता अध्ययन समितिका सदस्यको समेत भूमिका निर्वाह गरिसकेका देउजा हाल सरकारको संघीय भू–उपयोग परिषद्का सदस्य छन् ।

नेपालको बिर्ता समस्या, भूमिसुधार र भूमिहीनको अवस्थाबारे उनीसँग कान्तिपुरका दीपक सापकोटाले गरेको कुराकानी : 

कान्तिपुरको स्थलगत अध्ययनमा नुवाकोटमा करिब ४ हजार ९ सय ५७ रोपनी र रसुवामा २ हजार ३ सय ८९ रोपनी जमिन बिर्ताअन्तर्गत रहेको देखिन्छ । नेपालमा २०१६ सालमा उन्मूलन भएको बिर्ता समस्या अझै उस्तै र विकराल छ । गणतन्त्रमा पनि कोही किन बिर्तावाल छ ? 

बिर्ता प्रथा तत्कालीन समाजको शोषण र अन्यायलाई टिकाउने बलियो आधार थियो । कृषियोग्य भूमिको एक तिहाइभन्दा बढी जमिन बिर्तावालको अधीनमा थियो । बिर्तावाल मोहीबाट प्राप्त कुतले ऐसको जिन्दगी जिउँथे । यस्तो अन्यायपूर्ण स्थितिको अन्त्य गर्न २०१६ मा बिर्ता उन्मूलन ऐन जारी गरिएको थियो । उन्मूलन घोषणा गरिएको ६५ वर्षसम्म पनि काठमाडौंदेखि नजिकको रसुवा, नुवाकोटलगायतका जिल्लामा अझै बिर्ता प्रथा रहिरहनु दुःखलाग्दो विषय हो । आजसम्म पनि करिब ५ हजार किसान परिवारले आफ्नै पुर्खाको जमिन आफ्नो भन्न पाइरहेका छैनन् । गैरकानुनी बिर्तावाल र तिनका मध्यस्थकर्ताले जग्गा किन्न वा छोड्न धम्की दिइरहेका छन् । औपचारिक हिसाबले अंशबन्डा, बिक्रीवितरण गर्न पाइरहेका छैनन् । सरकारले बिर्तावालको जमिन परिश्रमी किसानलाई बाँडिदिनुपर्छ ।

बिर्तावालले बिर्ता उन्मूलनलाई राम्रो मानेका थिएनन् । कसरी जमिन किसानको हुन नदिने भनेर जालझेल गरे । जग्गा कमाउनेको नाममा स्वतः दर्ता हुनुपर्ने किसानलाई मोही बनाइयो । बिर्तावालाले जग्गाधनीमा नाम दर्ता गरे । कतिपय जमिन नै दर्ता हुन दिएनन् । यसो गर्न कर्मचारीले बिर्तावाललाई साथ दिए । जग्गा कमाउने किसानमा पनि कानुनबारे राम्रो जानकारी थिएन । कर्मचारीतन्त्रमा पनि समस्या पालेर रमाउने प्रवृत्ति देखिन्छ । बिर्ता समस्या भएका जिल्लामा मालपोत, नापी कार्यालय छन् । उनीहरूले यो समस्याको विषयमा कसरी समाधान गर्ने भनेर औपचारिक पहल लिनुपर्ने हो, तर उनीहरू जहिले पनि समस्याबाट पन्छिरहेका छन् । 

मालपोत र नापी कार्यालयको काम जग्गा टुक्रा पार्ने मात्र हो र ? जग्गाको संरक्षण, जग्गामा वास्तविक जोताहाको भूसम्बन्ध सुरक्षामा चासो हुनु पर्दैन ? यी कार्यालयको पुनःसंरचना र कार्यादेश नै परिमार्जन गर्न आवश्यक छ । 

बिर्ताको भूमि जोतिरहेका किसानका अनेक दुःख छन् । नेपाली समाजलाई जर्जर पारेको बिर्ता जग्गाको समाधान कसरी गर्न सकिएला ? 

बिर्ता ऐन र नियमावली नै संशोधन नगरी समस्या समाधान हुन्न । नियमावलीे संशोधन गरेर जग्गाजमिन जोतखन गरिरहेका किसानलाई भोगका आधारमा किटानी सिफारिस र उपलब्ध प्रमाणसहित सबै मालपोत कार्यालयमा तीन महिनाभित्र निवेदन दिन आह्वान गर्नुपर्छ । अध्ययनपछि समस्याको आकार र प्रकृति थाहा हुन्छ । अनि कानुनमा आवश्यक संशोधन गरेर सम्बन्धित किसानकै नाममा भोगका आधारमा बिर्ता जग्गा दर्ता गरिदिनुपर्छ । 

It should be given to farmers who have been plowing for generations, not to Birtawal who do not know the land

बिर्तावालले दर्ता गरेर लगिसकेको र आफ्नो भागमा पारिसकेको जग्गालाई के गर्ने ? 

बिर्ताको प्रकृति फरक फरक थियो । बिर्ता पाएको जमिन आफैं खेती गर्ने बिर्तावाललाई त्यस्तो जग्गा आफैंले दर्ता गराउने कानुनी व्यवस्था गरिएको थियो । आफैं खेती नगर्ने बिर्तावालले बढीमा उक्त जग्गाको तिरो उठाएर खाने हो । उसले जग्गा दर्ता गर्न पाउने होइन । आफैं खेती नगर्ने बिर्तावालले जमिन दर्ता गरेर लगेका छन् भने त्यो गैरकानुनी हो । गैरकानुनी दर्तालाई मान्यता दिइनु हुँदैन । रसुवा, नुवाकोटलगायत जिल्लामा बाँकी रहेका बिर्ता जग्गा आफ्नो कुन हो भनेर बिर्तावाललाई पनि थाहा छैन । यस्तो बिर्ता जग्गामा किसानको जोतभोगलाई मूल आधार मानी किसानको नाममा दर्ता गर्नुपर्छ । 

तपाईं लामो समयदेखि भूमि अधिकार अभियानमा सहभागी हुनुहुन्छ । नेपालमा भूमिसुधारमा कति प्रगति छ ? 

भूमिसुधारको प्रयास २००७ सालको क्रान्तिपछिका वर्षबाट सुरु भएको पाइन्छ । २००८ बाट नै मोहीको लगत लिन थालिएको थियो । राज्यलाई कर नतिरी बिर्तावालले तिरो उठाएर खाने बिर्ता प्रथालाई २०१६ सालमा कानुनी रूपमा उन्मूलन गरियो । २०२१ सालको भूमिसम्बन्धी ऐनले जमिनदारी शासनको अन्त्य गर्‍यो । यसले स्थानीय जिमीदार वा मुखियामा निहित भूमि प्रशासनको अधिकार समाप्त पार्‍यो । मोही लागेको जग्गा बाँडफाँट हुँदा करिब ४० हजार मोही परिवार जग्गाधनी बन्न सके ।

लामो अभियान र कानुनी सुधारका प्रयासले भूमिमा महिलाको स्वामित्व बढेको छ । यी आंशिक सुधारबाहेक भूमिसुधारका खास उद्देश्य हासिल हुन सकेका छैनन् । जमिनदारको हैकमी शासनमा कमी आए पनि सामन्ती भूसम्बन्धका दुष्परिणाम कायमै छ । जस्तो बिर्ता, हरवा, चरवा, भूमिहीनता यसका केही उदाहरण हुन् । ‘जसको जोत उसको पोत’ भनेको किसानलाई जग्गाको सुनिश्चितता गर्नु हो । यसतर्फ उल्लेख गर्न लायकको प्रगति छैन । हदबन्दी तोकिए पनि असमान जमिन वितरणको स्थितिमा कमी हुन सकेको छैन । भूमिसुधार भएका अन्य मुलुकको तुलनामा हामी सफल हुन सकेका छैनौं । उत्पादक शक्तिको अधीनमा जमिन पुर्‍याउन र सामाजिक न्याय गर्न हामी चुकेका छौं । 

त्यसो भए के नेपालमा भूमिसुधार असफल भएको हो ?

मैले बुझेको भूमिसुधार भनेको भूमिको पुनर्वितरण हो । ऐतिहासिक रूपमा अन्यायमा परेको वर्गलाई कम्तीमा पनि ‘आवास र खेती’ का लागि जमिनमा पहुँच र स्वामित्वको सुरक्षा गर्नु पुनर्वितरणको हिस्सा हो । मूल रूपमा भूमिसुधार भनेको किसानलाई जग्गा भनेर पनि बुझ्न सकिन्छ । गैरकिसान वर्गमा जमिन थुप्रिएको स्थिति, व्यापक भूमिहीनता, मोही बेदखली र भूमिसम्बन्धी अनेकन थाती सवाललाई हेर्ने हो भने हामीकहाँ भूमिसुधार असफल भएको भन्न सकिन्छ ।

केही सरकारी जग्गा वितरण गरियो तर जमिनदारको हदभन्दा बढीको जमिन वितरण नहुँदा यसले शक्ति संरचनामा कुनै फरक पारेन । केही अपवाद छाडेर कुनै पनि प्रयासले सार्थक परिणाम दिन सकेका छैनन् । तर यसो भनेर भूमिसुधारको औचित्य र सम्भावना भने समाप्त भएको छैन । आर्थिक, सामाजिक क्षेत्रको उन्नतिका लागि ढिलो, चाँडो भिन्न स्वरूपमा भए पनि भूमिसुधार गर्नुको विकल्प छैन । 

तपाईंले प्रत्येक परिवारलाई जमिन चाहियो भन्न खोज्नुभएको हो ? 

आफ्नै स्वामित्वको जमिनमा घर बनाउने नेपालीको जुन आङ्काक्षा छ । यसलाई पनि हामी अवमूल्यन गर्न सक्दैनौं । यसरी हेर्दा घर बनाउन आवश्यक जमिन सबैलाई चाहियो । खेती नगर्नेलाई आवासबाहेकको जग्गा चाहिएन । पुनर्वितरण भनेको सबैलाई जमिन बराबरी बाँड्ने भनेको होइन । खेतीकिसानी गर्नेलाई आवश्यक जमिन उपलब्ध गराउने र ढुक्कले कृषि गर्ने स्थिति सुनिश्चित गर्नु हो । 

नेपालमा खेतीयोग्य भूमि वितरणको स्थिति कस्तो छ ?

आर्थिक हिसाबले सक्रिय ६६ प्रतिशत घरपरिवार कृषिमा संलग्न छन् । ५७.३ प्रतिशत रोजगारी कृषि क्षेत्रले दिइरहेको छ । कुल भूभागको लगभग २८ प्रतिशत क्षेत्रफल आवादी छ । जमिनको औसत जोतको आकार ०.५३ हेक्टरमा खुम्चिएको छ । ४१ लाख ३० हजार ७ सय ९१ जग्गाधनीमध्ये ६३.७९ प्रतिशतसँग आधा हेक्टरभन्दा कम जमिन छ ।

आधा हेक्टरदेखि २ हेक्टर जमिन भएका ३३.३३ प्रतिशत र २ देखि ५ हेक्टर जमिन हुने २.७९ प्रतिशत र ५ हेक्टरभन्दा बढी जमिन हुने ०.१९ प्रतिशत मात्र छन् । करिब ३ लाख परिवार भूमिहीन छन् । आधा किसान परिवारलाई आफ्नो उत्पादनले खान पुग्दैन । खेती गर्ने ठूलो वर्गसँग आफ्नो जमिन छैन । खेती नगर्ने जग्गाधनी, सामुदायिक निकाय, विद्यालय, विश्वविद्यालय, संस्थान आदिको नाममा ठूलो मात्रामा कृषियोग्य जग्गा छ । 

It should be given to farmers who have been plowing for generations, not to Birtawal who do not know the land

नेपालमा हदबन्दी कत्तिको प्रभावकारी भयो ? 

हदबन्दी घोषणा मात्र भयो, कार्यान्वयन हुन सकेन । २०२१ सालको हदबन्दीबाट ९ लाख बिघा जमिन जोताहा किसानलाई वितरण हुने अनुमान गरिएकामा ४३ हजार बिघाजति मात्रै बिक्रीवितरण भयो । त्यसको पनि यकिन अभिलेख छैन । जमिनदारले आफ्ना परिवार र नातागोतालाई जमिन बाँडेर हदबन्दीभित्र जमिन मिलाए । जमिन जमिनदारको परिवारभित्रै रह्यो, मोही वा भूमिहीनकहाँ गएन । दोस्रो पटक २०५८ सालमा जग्गामा हदबन्दी घटाइयो । तर नयाँ हदबन्दी तोकेको २३ वर्षसम्म पनि यो कार्यान्वयनमा आउन सकेन । यसबाट राज्यले एक धुर पनि जमिन प्राप्त गर्न सकेन । शक्तिशालीलाई प्रभाव पर्ने कानुन कसरी निष्क्रिय हुन्छन् भन्ने नमिठो उदाहरण यसलाई लिन सकिन्छ । 

नेपालमा भूमिहीनताको स्थिति के छ ? 

भूमिहीनको अझै यकिन रेकर्ड छैन । २०७७ यता बनेका भूमि आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको लगत यकिन गर्ने कार्य गरिरहेका छन् । केही स्थानीय तहले भूमिहीनको व्यवस्थित लगत तयार पारिसकेका छन् । भूमि आयोगहरूमा पेस भएका निवेदनको विश्लेषण गर्दा देशभर करिब ३ लाख परिवार भूमिहीन सुकुम्बासी भएको अनुमान गर्न सकिन्छ । भूमिहीनले भोगिरहेका अन्याय, अभाव र गरिबीको पहाड ठूलो छ । उनीहरूमध्ये धेरैजसो असुरक्षित जमिनमा बसिरहनुपरेको छ । सरकारी सेवा सुविधा लिन पनि उनीहरूलाई जग्गा भएकाहरू भन्दा थप प्रक्रिया पूरा गर्नुपर्ने अवस्था छ । जग्गा धितो राखेर पाउने वित्तीय सुविधाबाट वञ्चित हुनुपरिरहेको छ । शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सामाजिक हैसियत सबै कमजोर छ । 

भूमिहीनताको समस्या सम्बोधन गर्न बनेका आयोगहरू किन सफल हुन नसकेका होलान् ? 

यसका धेरै कारण छन् । दृढ राजनीतिक इच्छाशक्ति नहुनु पहिलो कारण हो । आयोग बन्ने तर आयोगलाई काम सम्पन्न गर्न आवश्यक कानुनी आधार, जनशक्ति, स्रोतको अभाव देखिएको छ । आयोगमा जाने पनि केहीलाई छाडेर ठूलो सङ्ख्या समस्या समाधानमा दत्तचित्त भएर लाग्न सकेका छैनन् । केहीमा त्यससम्बन्धी अनुभवको पनि अभाव छ ।

आयोगले तोकिएको पूरा अवधि काम गर्न नपाउने स्थितिले पनि आयोग प्रभावकारी हुन सकेको छैन । सरकारी निकायबीच नै समन्वयको अभाव छ । भूमिहीनको समस्यालाई हलुका ढंगले लिइयो । आयोगका पदाधिकारी र कर्मचारी संयन्त्रबीच पनि अविश्वास रहेको र यसबाट सहकार्य कमजोर छ । यद्यपि ३/४ वर्षयता बनेका आयोगहरूको कानुनी आधार केही बलियो छ । स्थानीय, प्रदेश र संघीय सरकारले मिलेर काम गर्ने ढाँचा बनेको छ । 

भूमिसम्बन्धी तपाईको लामो अनुभव र अध्ययनको आधारमा नेपालको भूमिसम्बन्धी जल्दाबल्दा सवाल के–के हुन् ? 

भूमिहीनताले समाजमा असमानतालाई अझै गहिर्‍याएको छ । भूमिसम्बन्धी ऐन, २०२१ ले व्यवस्था गरेको मोहियानी हक पनि पूर्ण कार्यान्वयनमा आउन सकेन । सयौं वर्षदेखि जमिन जोतेका बेदर्तावाल मोहीलाई मोहियानी हक नदिई द्वैध स्वामित्वको अन्त्य गरियो । दर्तावाल मोही करिब ४ लाखमध्ये पनि नाम मात्रको जग्गा वा रकम दिएर निष्कासन गरियो । २०५३ मा दुई वर्षभित्र सम्पन्न गर्ने भनेको मोही बाँडफाँट २८ वर्षसम्म सकिएको छैन । मोहियानी सुधारले किसानी गर्नेको हातमा जमिन पुर्‍याएन । उल्टै मोहीबाट जमिन खोसियो । गुठीका जग्गा खेती गर्ने किसानको स्वामित्वमा छैन । दुरुपयोग बढी छ । 

जमिनदारी घटे पनि गैरहाजिरी जमिनदारी उच्च छ । करिब २० प्रतिशत खेतीयोग्य जमिन उपयोगविहीन छ । भूमिमा आश्रित परिवार, दलित, पूर्व कृषि बँधुवा, आदिवासीको स्थितिमा खासै परिवर्तन आएको छैन । बरु धेरथोर जमिन थियो भने पनि उनीहरूले गुमाउने अवस्थामा पुगेका छन् । भूमिको कारोबार अत्यधिक बढे पनि स्वामित्व शक्तिशाली र गैरकिसानको वरिपरि नै केन्द्रित छ । अझ कृषिमा बढ्दै गएको कम्पनीकरणले साना उत्पादक शक्तिहरू अँधिया वा बटैयामा खेती गर्नबाट समेत वञ्चित हुँदै आएका छन् ।

राजनीतिक दलले भूमिसुधारको विषय सात दशकदेखि निरन्तर उठाइरहेका छन् । राजनीतिक परिवर्तनपछि ती दल सरकारमा पनि पुगे तर भूमिसुधार नहुनुको कारण के होला ? 

हिजो क्रान्तिको समयमा राजनीतिक दलले भूमिसुधारको मुद्दा उठाएका हुन् । अहिले भूमिसुधारको मुद्दा ओझेलमा छ । भूमिसुधारको ठाउँमा भूमि व्यवस्थापन, चक्लाबन्दी, कृषिको आधुनिकीकरण जस्ता विषय अगाडि सारिएका छन् । राजनीतिक दल सत्तामा पुगेको समयमा सामान्य सुधारको प्रयास भए पनि पार्टीभित्र यस विषयमा सघन बहस भएका छैनन् । विगतमा जसले जमिन बढी आफ्नो बनायो, त्यही व्यक्ति, समूह वा समुदाय शासक बन्दै आयो ।

आज पनि राजनीतिक, आर्थिकलगायतका प्रभावशाली बन्न पुगेका व्यक्तिहरूको मूल हिस्सा त्यही वर्ग हो । उनीहरू खासमा भूमि छोड्न चाहँदैनन्, भूमिसुधारको विषय उठ्यो कि तर्किन्छन् । भूमिसुधारका लागि जुन रूपमा सचेत आन्दोलन हुनुपर्थ्यो, त्यो पनि भएन । जग्गाको दिगो प्रयोगबाट उत्पादन लिनेभन्दा जग्गालाई नै वस्तु जस्तो व्यापारको विषय बनाइयो । कानुनी व्यवस्थाको कार्यान्वयन भएन । हदबन्दी घोषणा हदबन्दीभित्र जग्गाधनीलाई जमिन मिलाउन भनेर जनाउ दिएको जस्तो मात्र भयो । दर्तावाल मोहीलाई बेदखली गरियो । राजनीतिक प्रतिबद्धताको अभाव, जमिनदार र कर्मचारीतन्त्रबीचको साँठगाँठजस्ता कारणले भूमिसुधार कचल्टिएको छ । 

It should be given to farmers who have been plowing for generations, not to Birtawal who do not know the land

नीतिगत तहमा के कस्ता सुधार भएका छन् ?

भूमिसम्बन्धी ऐन–२०२१ को मुख्य व्यवस्थामा जिमीदारी अन्त्य, मोहियानी हक र हदबन्दीको व्यवस्था थियो । त्यसमध्ये जिमीदारी अन्त्यको व्यवस्था समग्रमा कार्यान्वयन भएको देखिन्छ । मोहियानी हकको व्यवस्था र हदबन्दी आंशिक रूपमा मात्र कार्यान्वयन भयो । सोबाट जुन उपलब्धि आउनुपर्ने हो आउन सकेन । 

संविधानले भूमिसुधारमार्फत सामन्तवादको अन्त्य गर्ने कुरामा प्रतिबद्धता जनाएको छ । भूमिहीन दलितलाई आवास र कृषिका लागि जमिनको हक सुनिश्चित गरेको छ । किसानको हितमा हुनेगरी जमिनमा रहेको द्वैद्य स्वामित्वको अन्त्य गर्ने विषय पनि संविधानमै छ । भूमिहीन सुकुम्बासी, कमैया, हलिया, कमलरी, हरवा, चरवालाई आवास र जीविकोपार्जनका लागि जमिन वा यो उपलब्ध नहुने अवस्थामा रोजगारी सुनिश्चित गर्ने भनिएको छ ।

राष्ट्रिय भूमि नीति २०७५ लागू गरिएको छ । जसले पहिलो पटक अनौपचारिक जग्गा उपयोगलाई पहिचान गर्ने आधार दिएको छ । भूउपयोग नीति र ऐन तर्जुमा भएको छ । भूमिसम्बन्धी ऐनमा पनि संशोधन गरिएको छ । भूमिमा महिलाको स्वामित्व अभिवृद्धिका लागि पनि सकारात्मक पहल भएका छन् । हलिया, हरवा, चरवा, कमलरी, कमैया जस्ता शोषणमुखी प्रथा अन्त गरिएका छन् । तर यिनको कार्यान्वयन कमजोर भएको हुँदा परिणाम सन्तोषजक छैन । 

बँधुवा मजदुर मुक्तिको घोषणा त भयो तर पुनःस्थापना भएन भन्ने विषय पनि उठिरहेको छ नि ? 

केही समस्या बाँकी रहे पनि कमैया पुनःस्थापना महत्त्वपूर्ण र उल्लेखनीय काम हो । हलियाको पुनःस्थापना अपूरो छ । कमलरी मुक्तिपछि शिक्षामा उल्लेखनीय प्रगति भए पनि अभिभावक नभएका कमलरीको स्थिति अत्यासलाग्दो छ । हरवा, चरवा मुक्तिको घोषणा भयो, तर लगतसम्म लिइएको छैन । आवास र जमिनसहित पुनःस्थापना हुन नसके पनि मुक्तिको घोषणा कतिपय सन्दर्भमा महत्त्वपूर्ण हुँदो रहेछ । बन्धनबाट स्वतन्त्र भएको व्यक्तिले आफ्नै प्रयासमा पनि धेरै प्रगति गर्न सक्दो रहेछ । जस्तो– हरवा, चरवा मुक्तिपछि उनीहरूले श्रमिकका रूपमा स्वतन्त्र काम गर्दा दैनिक पारिश्रमिक बढी पाउन थालेका छन् ।

हाम्रोमा भूमिसुधारको मुद्दा नै असान्दर्भिक भइसकेको त छैन ? 

भूमि र कृषि खाद्य प्रणालीको आधार भूमि र कृषि भएकाले भूमिसुधारको महत्त्व र सान्दर्भिकता घट्नेवाला छैन । भूमिमा पहुँच र भूसम्बन्धको सुरक्षा भएपछि उत्पादक शक्ति उत्प्रेरित हुन्छ । र, ढुक्कले खेती गर्न सक्छ । भूमिसुधारको मूल ध्येय भनेको उत्पादन वृद्धि र सामाजिक न्याय पनि हो । कृषि उत्पादन र उत्पादकत्व बढाउने कार्यमा ठूलो सङ्ख्याको सहभागिता हुने हुँदा धेरै गरिब किसानको उत्पादन र आय वृद्धि भई खाद्य सुरक्षा र जीवकोपार्जनमा सुधार आउँछ । 

बढ्दो उत्पादन र आम्दानीको प्रभावले पुँजी निर्माणमा टेवा पुगी गैरकृषि क्षेत्र, विशेष गरी कृषि, उद्योग, पर्यटन र सेवा क्षेत्रको विकासमा सहयोग हुनेछ । उदाहरणका लागि एल साल्भाडोरमा १० प्रतिशत भूमिहीनले भूस्वामित्व पाउँदा देशको कुल जनसङ्ख्याको प्रतिव्यक्ति आम्दानी ४ प्रतिशतले बढेको थियो । भारतमा जुन प्रदेशमा छिटो गरिबी कम भयो, त्यहाँ भूमिसुधार भएको थियो ।

इथियोपियामा जमिनदारी अन्त्य गरेर पारिवारिक खेतीपातीमा जमिनलाई रूपान्तरण गरिएको थियो । यसबाट इथियोपियाको गरिबी घट्ने र प्रतिव्यक्ति आम्दानी बढ्ने दर तीव्र भएको छ । चीनमा सन् १९७७ देखि १९८५ सम्म ठूला खेतीलाई जब परिवारले खेती गर्न सक्ने साइजमा वितरण गरियो, उत्पादन बढेर लाखौं परिवार आर्थिक विपन्नताबाट बाहिर आएका थिए । 

भूमिसुधारले असमान भूस्वामित्व, श्रम र उत्पादन सम्बन्धको वर्तमान अवस्थालाई परिवर्तन गरी भूमिमा श्रम गर्नेहरूको स्वामित्व कायम गर्न सघाउँछ । श्रमिक किसानले युगौंदेखि भोगिरहेको गरिबी, शोषण उत्पीडन र भेदभावबाट मुक्ति पाउन सक्छन् । भूमिसुधारको माध्यमबाट तुरुन्तै जोताहा गरिब, भूमिहीन, हरवा, चरवा, हलिया, कमैया, कृषि श्रमिकलाई कम्तीमा साना किसान बनाउन सकिन्छ । उनीहरूको खाद्य सुरक्षा सुनिश्चित गर्न सकिन्छ । यसो हुन सकेमा उनीहरूले स्वतन्त्रतापूर्वक पेसा व्यवसाय गरी आफूलाई चाहिने अन्न उत्पादन र अन्य सेवा प्राप्त गर्न सक्छन् ।

उनीहरू पनि शिक्षा, स्वास्थ्य, अन्य उद्यम व्यवसाय, नीति निर्माण, राजनीतिक प्रक्रियामा सहभागी हुन सक्छन् । भूमिसुधारको बहस वा माग असान्दर्भिक भइसक्यो भन्ने जमात ठूलो छ । तर उनीहरूले खेती नगरे के खाने ? जमिन जोगाउन नसके खेती कहाँ गर्ने भन्ने विषयमा राम्ररी सोचेका छैनन् । भूमिसुधार असान्दर्भिक होइन झनै जरुरी छ ।

यो सान्दर्भिक र महत्त्वपूर्ण राजनीतिक, आर्थिक विषय हो भने भूमिसुधारलाई बदलिएको परिवेशमा कसरी सफल बनाउन सकिन्छ ? 

सात दशकअघिको किसानको आन्दोलनको समय र अहिले फरक छ । त्यतिबेला भूमि लगभग सबै परिवारको जीविकोपार्जनको आधार थियो । अहिले अन्य अवसर पनि विद्यमान छन् । भूमिसुधारको पछिल्लो स्थितिको वस्तुगत मूल्यांकन आवश्यक छ । अब खेती गर्ने परिवारलाई एक पटकका लागि के कति जमिन उपलब्ध गराउन सकिन्छ, उपलब्ध गराउने र त्यसबाहेक करारमार्फत लामो अवधि उपयोग गर्न सक्ने स्थिति बनाउनुपर्छ ।

विविधतापूर्ण भूगोल र हावापानी भएको मुलुक भएकाले एउटै खालको नीति वा व्यवस्था व्यावहारिक हुँदैन । संघीय तहमा नयाँ भूमि ऐन चाहिन्छ, तर त्यतिले पुग्दैन । सबै प्रदेश सरकार र प्रत्येक स्थानीय तहमा भूमि, कृषि र किसानको स्थितिको विश्लेषण गरी स्थानीय भूमि कानुन बनाई कार्यान्वयन गर्नुपर्छ । भूमिसुधारको कार्यमा स्वयं भूमिहीन, किसानलाई केन्द्रमा राख्नुपर्छ ।

अनुपस्थित भूस्वामित्वको अन्त्य नगरेसम्म भूमिमाथि दोहोरो प्रकारको स्वामित्व प्रणाली कायम रहिरहन्छ । तसर्थ अनुपस्थित जमिनदारी प्रथाको अन्त्य गर्ने रणनीति लिनुपर्छ । दलित, भूमिहीन सुकुम्बासी, पूर्व बँधुवा मजदुर, जोताहा मोही र साना किसान जो अब पनि कृषि कार्य गर्न चाहन्छन्, उनीहरूलाई केन्द्रमा राखेर अपूर्ण भूमिसुधारलाई अघि बढाउनुपर्छ । भूमिसुधार र कृषि सुधार एकअर्काका पूरक हुन् । तसर्थ भूमि तथा कृषिलाई एउटै संस्थागत नियमनअन्तर्गत राखिनु जरुरी छ । भूमिसुधार र ग्रामीण विकासलाई सँगै जोडेर लैजानुपर्छ । कर्मचारी नियन्त्रित भू–प्रशासनलाई साँघुरो बनाउँदै समुदायमा आधारित भूमि तथा कृषि व्यवस्थापनलाई मान्यता दिने कानुनी संरचना बनाउनुपर्छ ।

अहिले सरकारले भूमिसम्बन्धी अध्यादेश जारी गरेको छ । यसले भूमिहीनलाई के फरक पर्छ ?

मैले बुझेसम्म भूमिहीन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने क्रममा आइपरेका अप्ठेरा फुकाउन अध्यादेश आएको हो । आएका विषय नयाँ पनि होइनन् । भूमिसम्बन्धी ऐनको आठौं संशोधनमा उल्लेख भएका विषयलाई नै यसमा थप प्रस्ट पार्न खोजिएको छ । जस्तो– दस वर्ष पहिलेदेखि वन नभएको तर अभिलेखमा वन जनिएको स्थानमा भूमिहीन बसेका छन् भने एकपटकलाई त्यस्तो जमिन भूमिहीनलाई उपलब्ध गराउन सकिने व्यवस्था पहिले पनि थियो । अहिले त्यसलाई वन ऐनमा पनि संशोधन गरेर प्रस्ट पार्न 

खोजिएको छ । भूमिहीनको सन्दर्भमा अहिलेको अध्यादेशमा अभिलेखमा वन, बुट्यान, जंगल लेखिएको तर वर्षौंअघि आवाद भएको बस्ती भएको क्षेत्र र मध्यवर्ती क्षेत्रका भूमिहीनले पनि जग्गा दर्ता गर्न सक्ने कानुनी बाटो थप प्रस्टसँग खुलेको छ । 

अध्यादेश कार्यान्वयन भएमा यसबाट दशकौंदेखि भोग गरिरहेको जग्गाको स्वामित्व पाउने भूमिहीनको अधिकार सुरक्षामा सहज हुनेछ । अब नियमावलीमा पनि संशोधन होला । त्यसमा कस्तो व्यवस्था हुन्छ, यसैले धेरै विषय निर्भर हुन्छ । सीमान्त तहका भूमिहीनलाई जग्गा उपलब्ध गराउँदा न्यूनतम पनि निश्चित क्षेत्रफल तोकेर सामाजिक न्याय हुने गरी जमिन उपलब्ध गराइयो भने यसले अर्थ राख्छ । खाली घडेरीको मात्र जमिन उपलब्ध गराइयो भनेचाहिँ यसले झनै अन्यायलाई संस्थागत गर्छ । त्यसैले सबभन्दा कमजोर भूमिहीनलाई माथि उठाउने गरी योजनाबद्ध ढंगले जग्गा उपलब्ध गराउनु आवश्यक छ । 

विगतमा भूमि समस्या समाधान आयोगमा रहेर काम गरेको अनुभवका आधारमा वर्तमान सरकार र राजनीतिक दललाई भूमिसुधारको सन्दर्भमा के सुझाव दिनुहुन्छ ?

मुलुकको आर्थिक दुरवस्था, बेरोजगारी र खाद्य परनिर्भरताको मूल कारण बिग्रिएको कृषि हो । कृषि क्षेत्रको रूपान्तरण नगरीकन समृद्ध नेपाल बनाउन सकिन्न । कृषि क्षेत्रको रूपान्तरण भूमिसुधारसँग जोडिएको छ । भूमिको प्रश्न हल नगरी एकोहोरो कृषि सपार्ने प्रयत्न पनि सफल हुन सकेको छैन । न्यून मात्रामा भए पनि हदबन्दीबाट केही जमिन भूमिहीन एवं साना किसानकहाँ पुर्‍याउने स्थिति अझै छ ।

उपयोग भइरहेको तर स्वामित्व कायम गर्न नसकिएको जमिनको दर्ताले पनि लाखौंको संख्यामा भूसम्बन्ध सुरक्षा गर्न सक्ने स्थिति छ । जमिनदारी व्यवस्थाको अवशेषका रूपमा रहेको बिर्ता, स्वबासी, काल बिटौरी, कोदाले, हरूवा, चरवालगायतका सबै समस्याको समाधान गर्न जरुरी छ । 

वर्तमान सरकारले नयाँ संविधानको जगमा टेकेर एकीकृत भूमि ऐन बनाउनुपर्छ । गुठी ऐन ल्याउनैपर्छ । यसका लागि सबै सरोकारवालासँग सघन संवाद आवश्यक हुन सक्छ । अब भूमिसम्बन्धी पुराना ऐनमा सामान्य टालो हालेर हुँदैन । वर्तमान परिवेशको गहिरो विश्लेषण गरी विद्यमान भूमिसम्बन्धी सबै समस्या हल हुने गरी नयाँ भूमि ऐन बनाएर कार्यान्वयनमा ल्याउनु जरुरी देखिन्छ ।

भूमि आयोगलाई समग्र भूमिको समस्या समाधान गर्ने गरी सशक्त तुल्याउनुपर्छ । खेती नगर्नेले कृषि जमिन होल्ड गरिराख्ने अहिलेको स्थितिबाट करार वा अन्य कुनै रणनीतिबाट आफैं खेती गर्नेलाई जमिनको व्यवस्था गर्न सक्ने अवसर अहिले पनि विद्यमान छ । सहभागितामूलक ढंगले भूमिको वर्गीकरण र व्यवस्थित भूउपयोगको योजना बनाउने कार्यलाई अभियानकै रूपमा अघि बढाउनुपर्छ । भूमिको गैरकृषीकरण, मरुभूमीकरण र गैरकिसानको कब्जामा रोक लगाउनुपर्छ । 

भूमिसुधारको स्वरूप र संविधानमा भएको व्यवस्था कार्यान्वयनमा राजनीतिक दलबीच बृहत् समझदारी हुन सके धेरै राम्रो हुने थियो । भूमिसुधारको वाचा गरेको धेरै भइसक्यो । यो वाचा पूरा नगरिएकाले भूमि अधिकारबाट वञ्चित वर्ग निराश बनिरहेका छन् ।

भूमिसुधारको लामो गन्तव्यमा यसको सुरुवातमा कम्तीमा दलित भूमिहीन र भूमिहीन सुकुम्बासीलाई जमिन उपलब्ध गराएर जमिनदार वा अन्य शक्तिशाली समूहबाट सधैं उठीबासको त्रासमा रहेका, विपद्को बढी जोखिम भएका परिवारलाई सुरक्षित आवास र थोरै भए पनि खेती र पशुपालन गराउने अवस्थामा पुर्‍याउनैपर्छ । यति नगरीकन एकोहोरो ठूलो खेती र चक्लाबन्दीको नाराले झनै अन्याय बढाउनेछ । 

समावेशी लोकतन्त्र र समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि भूमिसुधार आवश्यक छ । कृषिको कम्पनीकरण अर्थात् कर्पोरेटाइजेसन नयाँ प्रकारको जमिनदारी हो । यसले किसानलाई झन् गरिब बनाउँदै किसान–कर्म नै समाप्त गर्ने स्थितिमा पुर्‍याउँछ । भूमिसुधारको मुख्य पक्ष भनेको भूमिहीन, सुकुम्बासी र जोताहा किसानलाई जमिन हस्तान्तरण गर्नु हो । यो कार्यले उत्पादनको वृद्धिसँगै समाजमा समानता र न्याय स्थापना गर्न मद्दत पुग्छ । यसका लागि राजनीतिक दलहरूले भूमिसुधारबारे व्यापक चिन्तन गर्न जरुरी छ । 

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully