काठमाडौँ — कम्युनिस्ट एकता अभियानका अध्यक्ष एवं एमाले पूर्वउपाध्यक्ष वामदेव गौतमले आफू एमालेमा जाने सहमति भएको बताएका छन् । नेकपा एकीकृत समाजवादीमा कार्यकारी भूमिका दिनेबारे कुरा नमिलेपछि एमालेमा जान लागेको उनको दाबी छ । ‘एक्लै बस्दा कम्युनिस्ट एकताका लागि बल नपुगेको’ भन्दै आफू एमालेमा गएर अब नमरुन्जेल काम गर्ने पनि उनले बताए । यही विषयमा ई–कान्तिपुरका लागि गंगा बीसीले उनीसँग आइतबार बेलुका गरेको संक्षिप्त कुराकानी :
तपाईं नेकपा एकीकृत समाजवादीमा जाने अन्तिम तयारी थियो । तर एकाएक एमालेमा जान कुरा कसरी सम्भव भयो ?
हाम्रो टिम एकीकृत समाजवादीमा जाने सैद्धान्तिक सहमति भएको थियो । तर त्यहाँभित्र अनेक कुरा रहेछ । म कार्यकारी जिम्मेवारीसाथ समाजवादीमा जाने कुरा थियो । त्यसमै कुरा मिलेन । सँगसँगै एमालेका साथीहरूसँग पनि कुराकानी भइरहेको थियो । म एमालेमा काम गर्ने जिम्मेवारीका साथ जाने सहमति भएको छ ।
एमालेमा कहिले जानुहुन्छ ? तिथिमिति पनि तय भइसक्यो ?
तिथिमिति तोकिएको छैन । कहिले तोक्ने भनेर समझदारी गर्छौं । यति कुराचाहिँ भएको हो कि हामी एमालेमा जाने हरेक नेताले कार्यक्षेत्र पाउने समझदारी भएको छ । म त्यहाँ गइसकेपछि कम्युनिस्ट पार्टीबीच एकता गराउने जिम्मा हुन्छ । म पुराना, नयाँ कम्युनिस्ट पार्टीसँग एकताका लागि पहल गर्छु । सबैभन्दा मुख्य कुरा म जुन पार्टीमा गए पनि कम्युनिस्ट एकता गर्ने नीति पास गर्नुपर्छ । अनि त्यसपछि अरु काम हुन्छ । २०८४ को निर्वाचनमा कम्युनिस्टहरूको दुईतिहाई शक्ति निर्माण गर्ने गरी काम गर्छु । कम्युनिस्ट पार्टीको दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने र समाजवाद निर्माण गर्ने काम हुन्छ ।
तपाईंको एमालेसँगै राजनीतिक कार्यदिशा मिलिसकेको हो ?
समाजवाद निमार्णको कार्यदिशामा टुंगो लाग्नैपर्छ । मुख्य उद्देश्य समाजवाद निर्माण गर्ने हो ।
तपाईंको कम्युनिस्ट एकता अभियानको सबै टिम एमालेमै जाने हो ?
हाम्रो सबै टिम एमालेमा जाने भएन । एकथरी साथीहरू माओवादीमा जानुहुन्छ । माओवादीमा गए पनि हामी एकदिन फेरि जोडिन्छौं ।
एमाले र माओवादी एकता गर्न पनि भूमिका खेल्नु हुन्छ ?
सबै कम्युनिस्टलाई एक ठाउँमा नलिई हुँदैन । पहिले एकता गर्दा जे जे गल्ती भएका छन्, ती दोहोर्याउनु हुँदैन । एकताका लागि नयाँ किसिमले हामी तयार हुनुपर्छ । एउटै पार्टी भएन भने पनि कार्यगत एकता गर्नुपर्छ । त्यसरी मित्रतापूर्ण सम्बन्ध विस्तार गरी एकता गर्न सकिन्छ । समाजवाद स्थापना गरेपछि नयाँ व्यक्ति नेतृत्वमा आउँछन् । दस वर्षभित्र नेपाललाई अति विकसित मुलुक बनाउनुपर्छ ।
तपाईं एमालेको वरिष्ठ नेता भएर जान लागेको हो ?
अहिले वरिष्ठ नेता नभन्नूस् । अहिले एकता अभियानको अध्यक्ष हो । उता गएपछि थाहा भइहाल्छ । यति कुरा हो कि म एमालेमा नमरुन्जेल काम गर्न जाने हो । मलाई के जिम्मेवारी दिने भन्ने नेकपा एमालेले निर्णय गर्ने कुरा हो ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि तपाईं एमालेमा जाने सहमति भएको हो ?
हो । केपी ओलीसहित अरु साथीहरूसँग वार्ता भएपछि सहमति भएको हो । २०७७ सालदेखि एमालेका नेताहरूसँग मेरो कुराकानी भइरहेको थियो । एमालेले बेवास्ता गरेका बेला नेकपा एकीकृत समाजवादीसँग छलफल भयो । सहमतिनजिक पुगे पनि एकता सम्भव भएन । एकीकृत समाजवादीभित्र समस्या रहेछ ।
नेकपा एकीकृत समाजवादीसँग किन कुरा मिल्न सकेन ?
म कार्यकारी जिम्मेवारीका साथ एकीकृत समाजवादीमा जाने कुरा भएको थियो तर त्यहाँ यसबारे सहमति हुन सकेन । पछिल्लो समय एमालेमा जिम्मेवारी लिएर काम गर्ने विषयमा सहमति भएको छ । एमालेमा सबै कुरा मिल्यो ।
अब एमालेमै प्रवेश गर्नु हुन्छ भनेर पत्याउने आधार के त ?
अब दायाँबायाँ हुन्न । म एमालेमा जाने पक्का भइसक्यो ।
