सबै संरचना भूकम्प प्रतिरोधी बनाउन जरुरी : भूकम्पविद् सुवेदी

माघ १, २०८१

कान्तिपुर संवाददाता

It is necessary to make all structures earthquake resistant: Seismologist Subedi

काठमाडौँ — डा.शिव सुवेदी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा भूकम्पविद्का रूपमा कार्यरत छन् । नेपालमा भूकम्पसम्बन्धी चेतना जगाउन तथा भूकम्पको पूर्वतयारीका लागि अभियान चलाएबापत विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने द जोन म्याडक्स प्राइज सन् २०२४ मा लन्डनमा ‘जज कमेन्डेसन’ अवार्डबाट सम्मानित भएका उनी नेपालका जुनसुकै बेला ठूलो भूकम्प आउन सक्ने र त्यसका लागि पूर्वतयारीको खाँचो देख्छन् । भूकम्पविद् सुवेदीसँग कान्तिपुरकी नुमा थाम्सुहाङले गरेको कुराकानीको सम्पादित अंश :

केही दिनअघि पुस २३ को बिहान गएको तिब्बत भूकम्पको सन्देश नेपालका निम्ति के हो ? 

नेपालमा भूकम्प गइरहेका छन् र साना–ठूला भूकम्प जान सक्छन् । अझ धेरै विनाशकारी भूकम्प पनि जान सक्छन् । तिब्बत भूकम्पले नेपालको सीमाभन्दा बाहिर भूकम्प गयो भने पनि नेपाललाई ठूलो क्षति हुन सक्छ भन्ने सन्देश दिएको छ । तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पले सगरमाथा आसपासका केही घर चर्केका र भत्किए । किनकि, यो ठाउँ भूकम्पको केन्द्रबिन्दुबाट नजिक पर्‍यो ।

तिब्बत मात्रै हैन, सिक्किममा ठूलो भूकम्प गयो भने त्यसको असर पनि नेपालमा पर्छ । अथवा पश्चिमतिरको भारतीय भूभागमा ठूलो भूकम्प गयो भने पश्चिम धनगढीतिर त्यसको असर पर्छ । यसको मतलब भूकम्पले कुनै पनि देशको सीमालाई हेर्दैन । हामी बसेको ठाउँको २५ सय किलोमिटर लामो हिमालय रेन्जमा जुनसुकै बेला भूकम्प जान सक्छ । त्यसका लागि हामी तयार रहनुपर्छ भन्ने सन्देश हो ।

हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ । हामीले बुझ्नुपर्ने कुरा के हो, ता कि हामी भूकम्पबाट सुरक्षित हुन सकियोस् ? 

माघ २ गतेको भूकम्प सुरक्षा दिवस पनि १९९० सालको भूकम्प गएको दिनको सम्झनामा नेपाल सरकारले मनाउने निर्णय गरेको छ । भूकम्प गएको दिनलाई सम्झेर भूकम्पसम्बन्धी कार्यक्रम गर्दा जनतालाई थाहा हुन्छ र जनचेतना बढ्छ । तर यो मात्रै पर्याप्त छैन । यस्तो अभ्यास परीक्षाको अघिल्लो दिन पढेर दिइने परीक्षाजस्तो देखियो । २०७२ सालदेखि हामी साना–ठूला भूकम्प बेहोरिरहेका छौं । भूकम्पको तयारीका हरेक दिन निरन्तर काम गर्नुपर्छ । जुन हामीले गर्न सकिरहेका छैनौं । त्यो अर्थमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउनु राम्रो छ । 

भूकम्पले निम्त्याउने जोखिम न्यूनीकरणका लागि के गरिनुपर्छ ? 

यसका लागि विभिन्न चरणमा काम गर्न सकिन्छ । पहिलो चरणमा पूर्वतयारीका लागि नेपाल सरकारले भूकम्पसम्बन्धी जानकारी समेटिएको पाठ्यक्रम तयार पारेर विद्यालय स्तरमा राखेर पढाइनुपर्छ । त्यसमा भूकम्प जानु पहिला के गर्ने ? गइसकेपछि के गर्ने ? जाँदै गर्दा के गर्ने ? भविष्यमा आउन सक्ने भूकम्पको जोखिम कसरी घटाउन सकिन्छ ? अथवा भूकम्पबाट भौतिक र मानवीय क्षति कसरी कम गर्न सकिन्छ जस्ता कुराहरू समेटिनुपर्छ ।

किनकि, मैले ८/९ कक्षामा भूकम्पसम्बन्धी पढ्न पाएको भए कम्तीमा एक तहको चेतना हुन्थ्यो । शिक्षामार्फत हामीले दिन खोजेको सन्देश छोटो समयमा धेरै मानिस र समुदायमा पुग्छ । अहिले भूकम्पसम्बन्धी मानिस कसैलाई तालिम दिउँ भने एउटा मान्छे पाइँदैन । किनभने हामीसँग त्यस्तो जनशक्ति छैन । यसमा विश्वविद्यालयले अर्थ साइन्ससम्बन्धी डिपार्टमेन्ट खोलोस् अथवा भएका डिपार्टमेन्टमा अर्थ साइन्स पढाइयोस् । यसले एउटा इको सिस्टम बन्छ । त्यो पनि हाम्रोमा अभाव छ । 

यी शिक्षा दिँदै गर्दा अब बन्ने हरेक भवन भूकम्प प्रतिरोधी बनाउन कडाइँ गरौं । हामीले भूकम्प प्रतिरोधी भनेर आरसीसी घर मात्र हो भनेर भन्दैनौं । गाउँघरकै घर, ढुंगामाटोको घरलाई पनि भूकम्प प्रतिरोधी बनाउन जरुरी छ । तर प्रविधि प्रयोग गर्नुपर्‍यो । यो भन्दै गर्दा भूकम्प प्रतिरोधी घर लाखौं खर्चेर आजको भोलि बन्दैन । तर भूकम्प साँझ पनि जान सक्छ अथवा अर्को ५० वर्षमा पनि जान सक्छ । यो निश्चित छैन । आज जाने भूकम्प र वर्षौं लागेर आउने भूकम्पका लागि तयारी गर्नुपर्‍यो । तसर्थ, सबै संरचना भूकम्प प्रतिरोधी बनाउन जरुरी छ ।

विगतका भूकम्पबाट हामीले के सिक्यौं ? 

माफ गर्नुहोला, हामीले केही सिकेका छैनौं । २०७२ को भूकम्प जाँदा टेबलमुनि लुक्नुपर्छ भनेर सिन्धुपाल्चोकमा बाहिर खेलेको बच्चा घरभित्र पसेर टेबुलमुनि लुके । त्यहीँ ती बालकको च्यापिएर मृत्यु भयो । किनकि, हाम्रो सिकाइ गलत भयो । भूकम्पअघि र पछि के गर्ने भन्ने हाम्रो सिकाइ पूर्ण भएन । त्यसैले मैले पाठ्यक्रममै यसलाई राख्नुपर्छ भनेको हुँ । 

हामीले सिकाउन के पर्‍यो भने तपाईंले भूकम्प गएको थाहा पाउनु भयो । अब के गर्ने ? तपाईं कहाँ हुनुहुन्छ– भित्र कि बाहिर ? बाहिर हुनुहुन्छ भने बाहिरबाट घरभित्र जानु भएन । बाहिर हुनुहुन्छ भने खुला र सुरक्षित ठाउँमा जानुहोस् । खुला र सुरक्षित ठाउँ भनेको यस्तो ठाउँ हो, जहाँ घर वा संरचनाहरू भत्केर तपाईंलाई किच्दैन । बत्तीको पोल, रुखका हाँगा र तारहरूले थिच्दैन । It is necessary to make all structures earthquake resistant: Seismologist Subedi

अब घरभित्र र पहिलो वा भुइँ तलामा हुनुहुन्छ भने सकेसम्म बाहिर जानुहोस् । यसमा मेरो तर्क के हो भने हामीलाई आफू बसेको घरको क्षमता कति हो भन्ने थाहा हुँदैन । घरभित्र बस्दाभन्दा र बाहिर बस्दा जोखिम कम हुन्छ । बाहिर बस्दा पनि माथिबाट खस्न सक्ने बस्तुले चोट लाग्ने सम्भावना हुन्छ । घरभित्रै भने घर नै ध्वस्त हुने सम्भावना पनि हुन्छ । घरै ध्वस्त हुँदा मान्छे बाँच्न सक्ने सम्भावना धेरै कम हुन्छ । तर मान्छे घरबाहिर हुँदा भने यस्तो जोखिम धेरै कम हुन्छ । त्यसैले बाहिर निस्कनुपर्छ । 

अब तपाईं दोस्रो, तेस्रो र चौथो तलातिर हुनुहुन्छ र त्यो घर परम्परागत शैलीमा बनाइएको छ भने वा अर्थमा तपाईं भुइँ तलाबाट बाहिर निस्कने अवस्था छैन भने ड्रप, कभर एन्ड होल्ड विधि अपनाउनुपर्छ । यो अभ्यास विकसित मुलुकमा पनि गर्छन् । तपाईं टेबलको खुट्टा, झ्याल वा ढोकाको फ्रेममुनि बस्नुहोस् । किनकि, तुलनात्मक रूपमा यी बलियो हुन्छन् । हामीले यो कुरा सिकाएको भए बाहिर खेलिरहेको बच्चा भूकम्प आएका बेला भित्र पस्दैन । 

भूकम्पबाट सुरक्षित रहन नेपालको बाटो के हो ? 

भूकम्पबाट सुरक्षित रहन राष्ट्रिय रूपमै बिल्डिङ कोडलाई कडाइका साथ कार्यान्वयनमा लैजानु पर्‍यो । हिमाल, पहाड र तराईं सबै ठाउँमा अब बन्ने भवन कुनै सर्त नराखीकन भूकम्प प्रतिरोधी हुनैपर्छ भन्ने काम गर्नैपर्‍यो । जहाँसुकै घर बने पनि भूकम्प प्रतिरोधी हुनुपर्छ । अनि मानिसलाई भूकम्प आउनुअघि, जाँदै गर्दा र गइसकेपछि के गर्ने भनेर सचेत गराउनु पर्‍यो ।

हामीले भूकम्पसम्बन्धी आकस्मिक झोला अर्थात् ‘झटपट झोला’ तयार गर्ने । यसबारे राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणले सचेतनात्मक सन्देश तयार गरेको छ । यसको उद्देश्य भनेको भूकम्पबाट केही भइहाल्यो भने, कतै पुरियो भने निस्कन सहयोग गर्ने, त्यो बोकेर हिँडियो भने सानो परिवारलाई एक/दुई दिनसम्म बचाउने हो । यस्ता कुराहरू पनि हामी सबैले अभ्यास गर्नुपर्‍यो । 

विश्वमा भूकम्पबाट जोगाउन के–के भएको छ ?

उदाहरणका लागि जापानमा कहिलेकाहीँ त महिनामा वा हप्तामै दुईपटकसम्म भूकम्प जान्छ । त्यस्तो बेला विद्यालय र अफिस बिल्डिङमा साइरन बजाइन्छ । मान्छेहरूको प्रतिक्रिया हेरिन्छ र कोही आत्तियो, दौडियो वा भाग्यो भने उनीहरूलाई सम्झाउने गरिन्छ । यो नियमित अभ्यास हो । त्यसैले त्यहाँ ७ म्याग्निच्युडको भूकम्प जाँदा पनि मानवीय क्षति कम हुन्छ । एउटै कुरा बारम्बार अभ्यास गरिरहँदा भूकम्प आउँदा दिने प्रतिक्रियामा क्षमता विकास हुन्छ । त्यसैले शिक्षामा केन्द्रित रहेर अभ्यासमा पनि ध्यान दिनुपर्‍यो ।

अर्को सरकारले गर्नैपर्ने काम भनेको भूकम्पको पूर्वसूचना प्रणाली स्थापना गर्नुपर्छ । त्यो सूचना प्रणालीले काठमाडौं, पूर्व वा पश्चिम जता भूकम्प गए पनि सम्बन्धित ठाउँबाट १५० किलोमिटर टाढाका मानिसलाई बचाउन सकिन्छ ।

सम्बन्धित समाचार 

नेपालमा शताब्दीका चार ठूला भूकम्प : स्मृतिमा परकम्प

कान्तिपुर संवाददाता

Link copied successfully