नेपालमा शताब्दीका चार ठूला भूकम्प : स्मृतिमा परकम्प

माघ १, २०८१

नुमा थाम्सुहाङ

Four major earthquakes of the century in Nepal: aftershocks in memory

काठमाडौँ — १९९० साल माघ २ गते । २ बजेर २४ मिनेट २२ सेकेन्डमा महाभूकम्प जाँदा पत्रकार भैरव रिसाल बारीमा माटोसँग खेल्दै थिए । १९८४ सालमा जन्मिएका रिसाल भूकम्प आउँदा ६ वर्षका मात्र थिए । भूकम्पले उनले खेलिरहेको जमिन हल्लाउँदा उनलाई पिङ खेलेजस्तै अनुभव भएको थियो ।

‘भक्तपुरको घरमा थिएँ । खेतबारीमा माटोको इँटा बनाएर खेल्दै थिएँ । एकैचोटि सबै हल्लियो । जमिन पूरै हल्लिरहेको छ । यो के भएको होला भन्ने लागेको थियो,’ रिसाल त्यसबेलाको क्षण सम्झन्छन् । उनलाई १९९० सालको भूकम्पबारे यति मात्रै सम्झना छ । ‘अरु कुरा आफैं थाहा पाएको खासै सम्झना छैन । मलाई यो भूकम्प हो भन्ने पनि थाहा थिएन । पछि थाहा पाएँ,’ उनले थप भने । 

Four major earthquakes of the century in Nepal: aftershocks in memory

१९९० सालको भूकम्प अनुभव गर्ने पुस्तामा पर्ने रिसालजस्ता व्यक्ति अहिले बिरलै भेटिन्छन् । तर, ९२ वर्षअघिको कहालीलाग्दो उक्त घटना हरेक वर्षको क्यालेन्डरमा माघ २ को पातो पल्टिँदा स्मृतिको रूपमा फर्किने गर्छ । नेपाल सरकारले त्यही दिनको सम्झनामा ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ समेत मनाउने गर्छ । यस वर्ष बुधबार भूकम्प सुरक्षा दिवस परेको छ । भूकम्प दिवस मनाइरहँदा यसपटक अघिल्लो साता चीनको तिब्बतमा गएको ६.८ म्याग्निच्युडको भूकम्पले नेपाल पनि कम्पित भइरहेको छ । ठूला भूकम्पका घटनाहरू सम्झाइरहेको छ । करिब एक शताब्दीमा नेपालमा आएका चार ठूला भूकम्प कस्ता थिए ? नेपालमा किन बारम्बार भूकम्प आइरहन्छ ? इतिहासको तथ्य यस्तो छ :

१९९० सालको भूकम्प : ८.३ म्याग्निच्युड

मेजर जनरल ब्रह्मशमशेर जंगबहादुर राणा (वि.सं. १९६६–२०४४) द्वारा लिखित ‘नेपालको महाभूकम्प (१९९० साल)’ पुस्तकमा १९९० सालको महाभूकम्पबारे बयान गरिएको छ । Four major earthquakes of the century in Nepal: aftershocks in memory

चैत १९९१ सालमा प्रकाशित पुस्तकमा मेजर जनरल ब्रह्मशमशेरले लेखेका छन्, ‘ठीक २ बजी २४ मिनेट २२ सेकेन्ड जाँदा अकस्मात् जमिनभित्रबाट गुडगुढे आवाज आयो र साथसाथै भूकम्प सुरु भयो– २ माघ १९९० को महाभुइँचालो उत्पत्ति भयो ।’ 

उनको यो पुस्तक नै नेपालको इतिहासमा ९० सालको भूकम्पबारे बताउने इतिहासको दस्तावेज बनेको छ । 

‘जमिन कस्तो जोडले काँपेछ भने रुख, बोट हुरीमा परेझैं लच्के । साना–साना बोटका टुप्पाले जमिन छोला–छोलाजस्तो भयो,’ पुस्तकमा ब्रह्मशमशेरले लेखेका छन्, ‘पोखरीका पानी ठूला–ठूला छालझैं उछिट्टिन लाग्यो । घरको गाहारा हुरीमा ढोकाझैं खुल्ने र बन्द हुने गर्न लागे । जमिन तल र माथि गर्दा धमाधम घर लड्न थाले । अग्लाअग्ला पुर्जा गजुर पनि खसे । तोपको बढाइँझैं घर भत्केको भयंकर आवाज आउन थाल्यो । धूलोले गर्दा अन्धकार भयो ।’ 

Four major earthquakes of the century in Nepal: aftershocks in memory

१९९० सालको यो भूकम्प पूर्वी नेपालको संखुवासभाको चैनपुरमा केन्द्रबिन्दु बनाएर गएको थियो । ८.३ म्याग्निच्युडको ठूलो यो भूकम्पमा परी करिब ८ हजार ५ सय जना मानिसको नेपालमा मृत्यु भएको थियो । ७ हजार जना भारतको बिहारमा बितेको भूकम्पविद् लोकविजय अधिकारीले आफ्नो फ्रान्सको विश्वविद्यालयमा विद्यावारिधिका लागि तयार पारेको शोधपत्रमा उल्लेख छ । उनी हाल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा भूकम्पविदका रूपमा कार्यरत छन् । अधिकारीका अनुसार १९९० सालको भूकम्पलाई ‘बिहार–नेपाल’ भूकम्प भनेर पनि चिनिन्छ ।

यसको कारण खुलाउँदै उनले भने, ‘१९९० सालमा नेपालभित्र त्यस्तो पहुँच केही थिएन । नेपालमा बितेका मध्ये करिब ४ हजार जना काठमाडौंमा बिते । त्यतिबेला बिहारमा त्यति धेरै मानिसको मृत्यु भइसकेपछि यो भूकम्प विहारमै आएको भन्ने पर्‍यो । त्यसरी बिहार–नेपाल भूकम्प राखियो ।’

आठभन्दा ठूला म्याग्च्यिुडका भूकम्पलाई महाभूकम्प भनेर चिनिन्छ । त्यसैले १९९० सालको भूकम्प महाभूकम्प थियो । त्यसपछि ७–८ म्याग्निच्यूडको भूकम्पलाई शक्तिशाली र अरुलाई मझौला र त्यसपछिकालाई साना भूकम्प भनेर नाम दिइने भूकम्पविद् अधिकारीले जानकारी दिए ।

‘त्यतिबेला भारतकै कलकत्तामा भूकम्प मापन गर्ने मेसिन राखिएको रहेछ । केन्द्रबिन्दुको नजिकमा भएको भूकम्प मापन गर्ने त्यही मेसिन थियो । ठूलो भूकम्प भएकाले युरोपमा समेत यो भूकम्प मापन गरिएको थियो,’ भूकम्पविद् अधिकारी भन्छन्, ‘ती सबैतिर मापन गर्दा र अध्ययन गर्दै जाँदा संखुवासभाको चैनपुरमा गएको रहेछ भनेर थाहा पाइएको हो । यो भूकम्प चैनपुरमा सुरु भएर त्यसपछि २ सय किलोमिटर पूर्वतर्फ दरार फैलिएको थियो । १९९० सालको भूकम्प चुरेसम्म पुग्यो । यो अध्ययन गरेर पत्ता लागेको कुरा हो । दरार चुरे पहाडसम्म पुगेकाले यसको क्षति तराईमा बढी भयो ।’

भूकम्पविदहरूका अनुसार नेपालमा भूकम्पबारे अध्ययन तथा अनुसन्धान पर्याप्त भएका छैनन् । १९९० सालको भूकम्पबारे थाहा पाइने बलियो स्रोतमध्ये उनै ब्रह्मशमशेरले लेखेको पुस्तक एक हो । 

मेजर ब्रह्मशमशेरले १९९० सालको भूकम्पपछिको पुनर्निमाणमा काम गरेका थिए । त्यतिबेलाको अवस्था र क्षतिबारे आफ्नो पुस्तकमा समेटेका छन् । 

अधिकारीले पनि आफ्नो शोधपत्रमा उल्लेख गरेअनुसार त्यतिबेला नेपालको जनसंख्या ५९ लाख थियो । पूर्वमा केन्द्रबिन्दु भएर गएको भूकम्पमा पनि काठमाडौं उपत्यकाभित्र करिब ४ हजार २ सय ९६ जना बिते । यस्तै पूर्वीय पहाडी जिल्लामा ३ हजार ९ सय ७४ जनाको मृत्यु भएको थियो । पश्चिम पहाडमा ६५ जना र पूर्वीय तराईमा १८४ जनाको मृत्यु भएको थियो । भारतको बिहारमा ७ हजार १ सय ८८ जनाको मृत्यु भएको थियो । 

२०४५ सालको भूकम्प : ६.८ म्याग्निच्युड

२०४५ भदौ ५ गते बिहान ५ बजेर ५ मिनेट जाँदा भूकम्प गएको थियो । ‘यो मझौला भूकम्प हो । यो ६.८ म्याग्निच्युड थियो । नेपालमा जाने ठूला महाभूकम्पभन्दा यो फरक खालको भूकम्प हो,’ अधिकारी उदयपुरको भूकम्पबारे जानकारी दिँदै भन्छन्, ‘यो इन्डियन प्लेटभित्रै जाने भूकम्प हो । यसको गहिराइ पनि ५७ किलोमिटर तल छ । अरु हिमाल र पहाडमा केन्द्रबिन्दुमा जाने भूकम्प १० किलोमिटरभन्दा तल हुन्छ ।’

उदयपुर भूकम्पमा ७ सय जनाभन्दा बढीको ज्यान गएको थियो । यो भूकम्प उत्तर भारत, बंगलादेश र म्यानमारको पूर्व भागतिर महसुस गरिएको उनी बताउँछन् । उनी भन्छन्, ‘यसले गाईघाट, उदयपुरको दक्षिण भाग र धरानमा क्षति पुर्‍याएको थियो ।’

Four major earthquakes of the century in Nepal: aftershocks in memory

यो भूकम्पको सोभियतमा प्रशिक्षित भूकम्पविद् आमोदमणि दीक्षितको नेतृत्वमा नेपाली भू–वैज्ञानिकहरूको टोलीद्वारा यस भूकम्पले निम्त्याएको असरको नक्सा बनाउन सक्षम भएको थियो । यो नै नेपालको भौगर्भिक सर्वेक्षण गरिएको भूकम्प हुन गयो । दीक्षितको नेतृत्वको टोलीले यस भूकम्पका ५ हजार ५ सय किलोमिटर क्षेत्रफलमा अवलोकन गरिएको थियो र उत्तरी हिमालय क्षेत्रमा सयभन्दा बढी पहिरो गएको पहिचान भएको थियो । 

२०७२ सालको भूकम्प : ७.८ र ७.३ म्याग्निच्युड

१९९० सालपछिको महाभूकम्पपछि २०७२ साल वैशाख १२ गते शनिबार बिहान ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको यो शक्तिशाली भूकम्प थियो । ७.८ म्याग्नेच्युडको भूकम्प पछिल्लो पुस्ताले समेत महसुस गरेको भूकम्पमा पर्छ ।

२०७२ सालको भूकम्पलाई सम्झना गर्दै सहरी विकास मन्त्रालयका पूर्व सह–सचिव दिलीपशेखर श्रेष्ठ भन्छन्, ‘त्यतिबेला चन्द्रागिरी हिल्सको प्रोजेक्टको काम गर्दै थिएँ । थानकोटमा रहेको बटम स्टेसनमा स्थानीयसँग मिटिङ चलिरहेको थियो । हामी चौथो तलामा थियौं । झ्यालबाट हेर्दा सबै हल्लिरहेका थिए । हलबाट बाहिर निस्कँदा म अन्तिममा परें । त्यतिबेला पनि भूकम्प आइरहेको थियो । घरै भत्किन्छ जस्तो लागेको थियो तर भत्केन । छेउछाउका भवन भने भत्किइरहेका थिए । काठमाडौंमा पूरै धूलो मुस्लो निस्किरहेको देखिएको थियो ।’

२०७२ सालमै वैशाख १५ पछि २९ गते अर्को फेरि ७.३ म्याग्निच्युडको भूकम्प आएको थियो । दोलखाको सुनखानी केन्द्रबिन्दु बनाएर गएको यो भूकम्प चीन, भारत, बंगलादेशमा समेत महसुस गरिएको थियो । वैशाख १२ गतेको भूकम्पले नभत्काएका घर तथा भवनहरूलाई २९ गतेको भूकम्पले भत्काउन थप मद्दत गरेको इन्जिनियरसमेत रहेका श्रेष्ठ बताउँछन् । 

Four major earthquakes of the century in Nepal: aftershocks in memory

०७२ को भूकम्पले क्षतिग्रस्त सिंहदरबार

२०७२ को भूकम्प गोर्खाको बारपाक केन्द्रबिन्दु भएर आएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७२ को भूकम्पबाट ८ हजार ९ सय ६२ जनाको मृत्यु र ७ लाख ७३ हजार ९५ वटा घर, भवन तथा संरचनाहरूमा क्षति पुग्यो । २२ हजार ३ सय २ जना घाइते भए । 

भूकम्पविद् लोकविजय अधिकारीले २०७२ सालको भूकम्पबारे ‘सेस्मिसिटी असोसिएटेड विथ दी एप्रिल २५, २०१५ गोर्खा अर्थक्वेक इन नेपाल ः प्रोबिङ द हिमालयन सेस्मिक साइकल’ शोधपत्र तयार गरेका छन् । 

उनका अनुसार नेपालमा भूकम्प मापन सुरु भएपछि विस्तृत अध्ययन गरिएको यो नै पहिलो भूकम्प हो । गोर्खा भूकम्पको दरार पश्चिमबाट पूर्व गएकाले काठमाडौंमा बढी क्षति भएको समेत उनको भनाइ छ । ‘सबैभन्दा भूकम्पका परकम्प मापन गरिएको, सबै किसिमका तथ्यांकहरू भएको भूकम्प २०७२ सालको भूकम्प हो,’ उनले भने ।

उनका अनुसार २०७२ को भूकम्प जीपीएसको रेकर्ड भएको ठाउँमा गएको भूकम्प हो । यसले कुन भूकम्पको दरार कतातिर सर्‍यो भन्ने तथ्यांक दिन्छ । भूकम्प मापन तीन किसिमले मापन हुन्छ । जीपीएसले भूकम्प सरेको मापन गर्छ । कुनै एक बिन्दुमा राखेर हेरिन्छ र त्यो कता सर्‍यो भनेर जीपीएसले मापन गर्छ । अर्को सिस्मोमिटरले भूकम्पको गति मापन गर्छ । एक्सेलोरेसन मिटरले समयसँगै कति दूरी पार गर्‍यो भनेर मापन गर्छ । यसले कुन ठाउँमा कति धक्का गयो भनेर मापन गर्दछ । 

२०७२ सालको भूकम्प त्यही ठाउँमा गएको थियो, जुन १८९० सालमा पनि गएको थियो । १८९० सालको भूकम्प राती गएको थियो । ११ः५५ भएकाले मध्यरातमा गएको भूकम्प भनी उल्लेख गरेको पाइन्छ । तर भूकम्पबारे यकिन विवरण पाइँदैन । १८९० सालको भूकम्पमा ‘फोर्स सक’ अर्थात् पूर्वकम्प आएको थियो । यो भनेको ठूलो भूकम्प आउनुभन्दा अगाडि आउने कम्प हो । १८९० को ठूलो भूकम्प जानुभन्दा २५ मिनेटअगाडि सानो भूकम्प आयो । मानिस घरबाहिर आए । त्यसपछि २०७२ सालकै जत्रो ठूलो भूकम्प गएको अधिकारी बताउँछन् ।

‘यसको केन्द्रबिन्दु मुस्ताङमा थियो र यसको दरार मुस्ताङबाट पश्चिमतर्फ गएको थियो,’ उनले भने, ‘यसको दरार चुरेसम्म पुगेको थियो । यसम्बन्धी भएको जानकारी यति नै छ । यसलाई ऐतिहासिक भूकम्प भनी उल्लेख गरेको पाइन्छ तर यसको क्षति कति पुगेको थियो भन्ने कहीं उल्लेख गरिएको पाइँदैन ।’ २०७२ सालको भूकम्प जानुअघि नै काठमाडौं, ककनी र चिलिमेमा जीपीएस राखिएको थियो । 

Four major earthquakes of the century in Nepal: aftershocks in memory

०७२ को भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चाेकको एक बस्ती

‘२०७२ सालमा त्यो पहिलो पटक भूकम्प आउँदा के देखियो भने काठमाडौं उपत्यका एक मिटर तल सरेर माथि उठ्यो र दक्षिणतर्फ ४५ सेन्टिमिटर सर्‍यो भन्ने पत्ता लागेको थियो,’ उनले २०७२ को भूकम्पबारे जानकारी दिँदै भने, ‘पहिला ८० सेन्टिमिटर पूर्वतिर गएको र पछि हल्लिएर पहिलाको ठाउँभन्दा ४५ सेन्टिमिटर आएर अड्कियो । ककनी एक मिटर ८० सेन्टिमिटर माथि उठ्यो र चिलिमे ७० मिटर तल धस्सियो । एकातिरको भाग उठेर माथि बस्यो । धुन्चेबाट रसुवातिर हेर्दा उत्तरतर्फ दबियो र त्यहाँबाट दक्षिणतर्फको भाग उठ्यो । यस्तो मापन २०७२ को भूकम्पमा गर्न सकियो ।’ २०७२ सालको भूकम्पपछि भने अहिलेसम्म ४५ हजारभन्दा बढी परकम्प मापन गरिएको उनले सुनाए ।

नेपालमा विभिन्न समयमा भूकम्पहरू आइरहेको भूकम्पविद्हरू बताउँछन् । भूकम्पविद् शिव सुवेदीले नेपालको भौगोलिक अवस्थितिले नेपाल भूकम्प आउने कारणमध्ये एक रहेको बताए । 

‘१२५५ सालदेखि विभिन्न कालखण्डमा नेपालमा भूकम्प आएका छन् । भूकम्पमा परी राजा अभय मल्लको समेत मृत्यु भएको इतिहासमा पाइन्छ,’ भूकम्पविद् सुवेदीले भने, ‘भूकम्पको इतिहासलाई हेर्ने हो भने १५०५ सालको भूकम्पलाई नेपालमा गएको भूकम्पमध्ये सबैभन्दा ठूलो भूकम्प भनेर चिनिन्छ ।’ 

१५०५ सालको भूकम्प जसको ८.५ म्याग्निच्युडभन्दा धेरै रहेको भूकम्पविदहरू बताउँछन् । यो भूकम्पमा तिब्बतका राजासमेत बितेको इतिहासमा पाइन्छन् । तर १५०५ को भूकम्पबारे भने पर्याप्त अध्ययन सामग्री र स्पष्ट जानकारी पनि नभएको भूकम्पविद् सुवेदीले बताए । 

किन नेपालमा भूकम्प आइरहन्छ ? 

यस प्रश्नको उत्तर खोज्न भने सगरबाट उठेको सगरमाथाको इतिहास बुझ्न जरुरी छ । पाँच करोड वर्ष पहिला नेपाल र नेपालका हिमालहरू रहेको ठाउँ टेथिस सागर थियो । भूकम्पविद् शिव सुवेदीका अनुसार ७०–८० मिलियन वर्षअगाडिबाट सुरु भएको इन्डियन प्लेट ५० मिलियन वर्षअगाडि आउँदा युरेसियन प्लेटसँग ठोक्कियो । इन्डियन प्लेट र युरेसियन प्लेटको ठक्कर अहिलेको नेपालको जमिनमुनि भयो । यी दुईको ठक्कर भए पछाडि माथिल्लो भागहरू मिलेर हिम शृंखला बने, जसमा सगरमाथा लगायत विभिन्न उच्च हिमालहरू छन् ।

‘यी दुई प्लेट आपसमा जोडिए । इन्डियन प्लेटको तल्लो भाग युरेसियन प्लेटमुनि छिर्न खोज्छ । यो हरेक वर्ष २ देखि ४ सेन्टिमिटर ठाउँ हेरेर भित्रभित्र छिरिरहेको हुन्छ,’ उनले थप स्पष्ट पार्दै भने, ‘जतिबेलासम्म यो फ्रिक्सनल फोर्सले सञ्चय भएको शक्तिले बराबर गर्छ, त्यो बेलासम्म स्लिप खाँदैन । एउटा बिन्दुसम्म आउँछ, जहाँ प्लेटको हलचलले गर्दा सञ्चय भएको शक्ति बाहिर आउनै पर्छ । त्यतिबेला शक्ति बाहिर आउने क्रमले हलचल ल्याउँछ, जसलाई हामीले भूकम्प भन्छौं ।’ दुई प्लेटबीच हुने घर्षणबाट उत्पन्न हुने हलचल नै सतहबाहिर भूकम्प बनेर आउने उनले बताए । 

Four major earthquakes of the century in Nepal: aftershocks in memory

०७२ को भूकम्पले क्षतिग्रस्त  काठमाडाैंको साँखु

यसैगरी भूकम्पविद् अधिकारी पनि नेपालमा भूकम्प गइरहनुको कारण थाहा पाउन पृथ्वीको टेक्टोनिक प्लेटबारे बुझ्न आवश्यक रहेको सुनाउँछन् । ‘पृथ्वीको बाहिरी आवरण जसमा जमिन र पानी दुवै छ । बाहिरी आवरण ८० किलोमिटर बाक्लो एउटा पत्र टुक्रा–टुक्रा परेको छ । जसलाई टेक्टोनिक प्लेट भन्छौं । पृथ्वी जति भित्र गयो, उति ताप शक्ति बढ्दै जान्छ,’ अधिकारी भूकम्पको भौतिक विज्ञान बुझाउँदै भन्छन्, ‘ती प्लेट पृथ्वीभित्रको ताप शक्तिले प्लेटहरू सर्छन् । ती प्लेटहरू सर्ने क्रममा कुनै प्लेटहरू दुईवटा जोडिन्छन्, कुनै एकआपसबाट टाढा जान्छन् । कुनै प्लेटहरू एकआपसको दायाँ–बायाँ सर्छन् । जसमा दुई वटा प्लेटहरू नजिक जाने भनेको इन्डियन प्लेट र युरेसियन प्लेट हुन् । यी दुई प्लेट एकआपसको नजिक आउँछन् । यसरी जहाँजहाँ प्लेटहरूको बाउन्ड्री हुन्छ, त्यो बाउन्ड्रीमा भूकम्प जाने गर्छ ।’ 

यसैगरी नेपालको हिमालय यस्तो ठाउँ हो, जहाँ दुईवटा जमिन भएका प्लेटहरू जुधिरहेका हुन्छन् । त्यतिबेला सामुद्रिक प्लेट र युरेसियन प्लेटबीच घर्षण हुन्थ्यो । तर पाँच करोड वर्षमा इन्डियन प्लेटको जमिन युरेसियन प्लेटमा ठोक्किन पुग्यो र त्यसपछि यता दुई जमिन–जमिन भएका प्लेटहरू जुधे । २५ सय किलोमिटर अफगानिस्तानदेखि म्यानमारसम्मको लामो हिमशृंखला बन्यो, जसमा ८ सय किलोमिटर क्षेत्रफल नेपालको हिमशृंखला पर्दछ ।

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully