'चिनियाँ ऋणलाई पासो ठान्नुहुन्छ भने पश्चिमाहरूको ऋण त ‘ब्ल्याक होल’ हो'

चीनले नेपालमा ‘माइक्रोम्यानेजमेन्ट’ वा ‘सोसल इन्जिनियरिङ’ गर्छ भन्ने टिप्पणी आधारहीन र गैरजिम्मेवार हो 

पुस २८, २०८१

दुर्गा खनाल, उपेन्द्रराज पाण्डेय

”If you consider Chinese debt a trap, Western debt is a 'black hole'.”

काठमाडौँ — गत महिना भएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले ‘बीआरआई फ्रेमवर्क’ मा समझदारी गरेको छ । यसले अब बीआरआई परियोजना अघि बढ्ने आधार तयार गरेको छ । तर पनि नेपालले ऋण लिने कि नलिनेबारे अझै बहस चलिरहेको छ ।

यसै सन्दर्भमा दुई साताअघि नेपाल भ्रमणमा आएका चीनको सिचुवान विश्वविद्यालय अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका सहायक डिन तथा दक्षिण एसियाली अध्ययन संस्थानका सहनिर्देशकसमेत रहेका प्राध्यापक युन्सङ ह्वाङसँग कान्तिपुरका दुर्गा खनालउपेन्द्रराज पाण्डेयले गरेको कुराकानी :

नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई कसरी सम्झनुहुन्छ ?

मलाई लाग्छ, यो कूटनीतिक किसिमको प्रश्न हो । जब हामी द्विपक्षीय सम्बन्धको इतिहासलाई प्रतिबिम्बित गर्छौं, त्यहाँ धेरै राम्रा कुरा छन् । मलाई विश्वास छ, हाम्रो द्विपक्षीय सम्बन्धको अंशमा नेपाल र चीन ९९.९९ प्रतिशत सधैं असल छिमेकी रहँदै आएका छन् । हामी यो सुन्दर हिमाली देशबारेमा सचेत छौं । नेपालले पनि चीनको सांस्कृतिक समृद्धिमा योगदान दिएको छ । नेपालबाट चीनमा गएका धेरै इन्जिनियरले सुन्दर र भव्य भवनहरू बनाउन मद्दत गरेका छन् । र, नेपालकी राजकुमारी पनि चीनको तिब्बत र शी चाङमा गएकी थिइन् । त्यसैले मेरो स्मृतिमा यो सम्बन्ध सधैं राम्रो रहँदै आएको छ । सायद एउटा/दुइटा घटना मात्र इतिहासमा दुर्भाग्यपूर्ण रूपमा अंकित भएका होलान् । 

विशेषगरी कूटनीतिक सम्बन्ध स्थापनापछि, चीन र नेपाल असल साझेदार बनेका हुन् । यस सन्दर्भमा, नेपालको राष्ट्रिय चासो, राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र आर्थिक विकास सधैं हाम्रो ध्यानमा रहेको छ । नेपाल जस्तो सुन्दर देश छ, त्यस्तै नेपालले द्रुत रूपमा विकासको अवसर पाउनुपर्छ । दुर्भाग्यवश विभिन्न समस्या, बाह्य हस्तक्षेपलगायतका चुनौतीसँग नेपालले संघर्ष गरिरहनुपरेको छ । चीनका १४ छिमेकी देश छन् । त्यसमध्ये नेपाल हाम्रो सबैभन्दा राम्रो छिमेकीमध्येको एक हो ।

तपाईंले नेपालले आर्थिक विकासको अवसर पाउनुपर्ने कुरा गर्नुभयो । अहिले चीनले विश्वव्यापी रूपमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) विस्तार गर्दै छ । यसमा नेपाल पनि जोडिएको छ । खासमा बीआरआई के हो ? यो केवल आर्थिक पूर्वाधार विकासमा केन्द्रित छ वा यो विश्वव्यापी प्रभाव विस्तार गर्ने चीनको रणनीतिक प्रयास पनि हो ?

बीआरआई सन् २०१३ मा राष्ट्रपति सी चिनफिङद्वारा सुरु गरिएको थियो । यसबारे हामीले विभिन्न पक्षसँग विस्तृत छलफल र कुराकानी गरेका छौं । म प्रस्ट रूपमा भन्न चाहन्छु, यो एउटा आर्थिक पहल हो । पूर्वाधार विकास, कनेक्टिभिटी, औद्योगिक प्रवर्द्धन र सामाजिक सद्भाव जस्ता कुरामा केन्द्रित छ । हामीले अक्सर सुन्छौं कि बीआरआई ‘रणनीतिक पहल’ हो । मेरो तर्क के हो भने हामी बाटो, पुल, विमानस्थल, सुरुङ र औद्योगिक पार्क निर्माण गर्दै छौं । भन्नुहोस् त, चीनले ती पूर्वाधार परियोजनालाई सैन्य उद्देश्यका लागि कसरी प्रयोग गर्न सक्छ ? हामी यी पूर्वाधार स्थानीय आर्थिक विकासका लागि निर्माण गर्दै छौं । अर्को कुरा, जब यी विकास निश्चित स्तरसम्म पुग्छन्, त्यहाँ रणनीतिक प्रभावहरू हुन सक्छन् ।

हाम्रो मुख्य उद्देश्य त विश्वलाई परस्पर जोड्नु हो । जसले यसमा संलग्न भएका मुलुकको अर्थतन्त्र विकास, निर्यात बढाउन र औद्योगिक उत्पादनका क्षमता विस्तार गर्न अवसर प्रदान गर्छ । नेपालजस्तो देशलाई थप शक्तिशाली र स्वतन्त्र बनाउन मद्दत गर्ने हाम्रो लक्ष्य हो । नेपालले असमान आवश्यकता, तेस्रो पक्षबाट भएका गलत क्रियाकलाप र देशमाथि परेको अनुचित बाह्य दबाबको विरुद्धमा उभिने शक्ति पनि पाउनेछ । रणनीतिक प्रभावहरू अवश्य हुनेछन् तर सकारात्मक अर्थमा । 

मुख्य कुरा स्वाधीन हुनु आवश्यक छ । तपाईंहरूले आफ्नै निर्णय लिनुपर्नेछ । अरूलाई के अधिकार छ, नेपाललाई यसो गर, उसो गर भन्ने ? यदि नेपाल साँच्चिकै सार्वभौम, स्वतन्त्र, समृद्ध र सामञ्जस्यपूर्ण बन्न सक्यो भने यस अर्थमा नेपालका लागि यो रणनीतिक महत्त्वको पनि छ ।

”If you consider Chinese debt a trap, Western debt is a 'black hole'.”

प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको चीन भ्रमणमा नेपालले  ‘बीआरआई फ्रेमवर्क’ लाई स्वीकार गरेको छ । यो सहमतिलाई कसरी हेर्नुभएको छ र आगामी दिनमा यो कसरी कार्यान्वयन हुन्छ ? 

बीआरआईसम्बन्धी यो सहमति एउटा ऐतिहासिक उपलब्धि हो । तर यससँग कठिनाइ पनि नभएका होइनन् । नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरेपछि हालसम्म यसमा भएको प्रगति हेर्नुहोस् त, एकदमै न्यून छ । अन्यथा नमान्नुहोला, यो देख्दा हामी अत्यन्तै निराश हुन्छौं । चीन उदार देश हो । हामीले विकास गर्दा, हाम्रा छिमेकीहरूले पनि विकास गर्न पाऊन् भन्ने चाहन्छौं । एक–अर्कासँग राम्रा र सुन्दर कुरा आदानप्रदान गर्न सकियोस् र जनताको जीवन अझ राम्रो बनोस् भन्ने चाहना राख्छौं ।

नेपाल अत्यन्त राम्रो अवस्थामा छ । सुन्दर प्राकृतिक भूगोल छ । यी कुरा हामीसँग चीनमा छैनन् । नेपालले जैविक कृषि उत्पादनहरू चीन पठाउन सक्छ । तर सीमित क्षमताका कारण सकेको छैन, हामी सहयोग गर्न तयार छौं । यसले एकातर्फ नेपाल आर्थिक रूपमा धेरै बलियो बन्नेछ । अर्कोतर्फ चिनियाँ उपभोक्ताले पनि नेपालका उत्पादनबाट फाइदा लिन सक्छन् । दुवै पक्षले यो सहकार्यबाट फाइदा उठाउनेछन् । यो शतप्रतिशत राम्रो पहल हो । यसले नेपाललाई त सहयोग गर्छ नै चिनियाँ जनतालाई पनि फाइदा पुर्‍याउनेछ ।

कुनै पनि बहानामा नेपाल यसमा अघि बढ्न हिच्किचाउनेछ र आफैंभित्र तर्क–वितर्क, विवादमा अल्झिनेछ भन्ने मलाई लाग्दैन । हामीले धेरै राम्रो प्रस्ताव टेबल गरेका छौं । तर यो प्रस्ताव स्विकार्न हिच्किचायो भने त्यो नेपालका लागि दुर्भाग्यपूर्ण हुन्छ ।

”If you consider Chinese debt a trap, Western debt is a 'black hole'.”

बीआरआईमार्फत आउने ऋण नेपालले थेग्न सक्दैन भन्ने ठूलो बहस छ । तर नेपालले बीआरआई सम्झौताअन्तर्गत ‘एड फाइनान्सिङ’ मोडललाई स्विकारेको छ । ‘एड फाइनान्सिङ मोडल’ के हो ? यो परम्परागत ऋणभन्दा के फरक हुन्छ ?

ऋण, क्रेडिट लाइन वा अनुदानको कुरा गर्दा म चीनको अनुभवको एउटा कथा सुनाउँछु । चीनले १९७८ देखि खुला नीति अवलम्बनको निर्णय गर्‍यो । त्यसबेला चीन निकै गरिब थियो । हाम्रो औद्योगिक आधार १९५० को दशकदेखि स्थापना भएको थियो तर पर्याप्त पैसा थिएन । त्यस समयमा, हामीले पश्चिमी देशहरूबाट ऋण, क्रेडिट लाइन र अनुदान स्वीकार गर्‍यौं । किनभने उनीहरू धनी थिए । उनीहरूसँग हाम्रो विकास गर्नका लागि उपलब्ध अतिरिक्त कोष थियो ।

पश्चिमबाट पैसा स्वीकार गर्नुहुन्छ कि हुन्न भन्ने विषयमा व्यापक विमर्श भयो । अन्ततः हामीले पुँजीवादी देशबाटै आए पनि आर्थिक विकासमा सकारात्मक भूमिका खेल्छ भने लिन सकिन्छ भन्ने निर्णय गर्‍यौं । हाम्रो नेतृत्वले, विशेष गरी तङ सियाओपिङले, भन्नुभयो, ‘बिरालो सेतो होस् या कालो, यदि यसले मुसा समात्न सक्छ भने त्यो राम्रो हो ।’ नेपालमा पनि यस्तै अवस्था आएको छ । जब तपाईंसँग कोषको अभाव छ र आर्थिक विकास गर्न खोज्दै हुनुहुन्छ भने चीनबाट ऋण स्वीकार गर्नु नराम्रो भन्ने किन सोच्नुहुन्छ ? ऋण मात्र होइन, अनुदानले पनि सकारात्मक भूमिका खेल्न सक्छ । चीनमा हामीले अनुदानको तुलनामा धेरै बढी ऋण स्वीकार गर्‍यौं र ती कोषबाट निर्माण गर्‍यौं । आर्थिक विकासको सही मार्ग लिएर हामी सम्पन्न हुँदै गयौं ।

हामीले योजनाबद्ध, प्रभावकारी र वैज्ञानिक तरिकाले काम गर्‍यौं, जसले गर्दा बढी राजस्व उत्पादन गर्न सकियो र पश्चिमी वित्तीय संस्थाहरूलाई ब्याज फिर्ता गर्न सकियो । यो दीर्घकालीन विकासको सकारात्मक चक्र हो । अनुदानले यो सन्दर्भमा धेरै न्यून भूमिका खेल्छ । यो चीनको कथा हो । अब तपाईंहरू आफैं सोच्नुहोस् र निर्णय गर्नुहोस्, अनुदान राम्रो हो कि ऋण ? हामीले हाम्रो प्याकेज टेबलमा राखेका छौं, तपाईंहरू कुन लिन चाहनुहुन्छ, त्यो निर्णय गर्नुहोस् ।

‘हामी अनुदान मात्र लिन्छौं, ऋण लिँदैनौं, ऋणले हाम्रा लागि राम्रो गर्दैन’ भन्नुहुन्छ भने यो तपाईंको निर्णय हो । तर एउटा कुरामा ध्यान दिनुहोस्, अनुदानको कुरा गरियो भने त्यो सानो मात्रामा मात्र आउँछ । त्यो सानो कोषले के गर्न सकिन्छ ? चीनको अवस्थामा, हामीले ऋण स्वीकार गर्‍यौं । केही सहुलियतपूर्ण ऋण हुन सक्छन्, तर धेरैजसो व्यापारिक थिए । ती ऋणलाई राम्रो तरिकाले उपयोग गर्न सकियो भने धनी हुँदै जान सकिन्छ । ऋण नराम्रो होइन । तर तपाईंहरूकै जीवन अझ राम्रो बनाउने कुराको किन विरोध गर्नुहुन्छ ? किन यस्ता तर्क आउँछन् म बुझ्न सक्दिनँ ।

”If you consider Chinese debt a trap, Western debt is a 'black hole'.”

नेपालमा ऋण स्विकारियो भने ‘ऋणको पासो’ मा परिन्छ र श्रीलंकाकै जस्तो हालत हुन्छ भन्ने पनि छन् । श्रीलंकाको मोडल के हो र त्यस्तो स्थिति नेपालमा नआउला भन्ने के सुनिश्चितता छ त ? 

तपाईंले हम्बनटोटा बन्दरगाहको कुरा गर्नुभएको होला । पश्चिमा र भारतीय सञ्चारमाध्यमले यसलाई ‘ऋणको पासो’ का रूपमा चित्रण गरेका हुन् । हम्बनटोटा बन्दरगाह परियोजनामा बाह्य हस्तक्षेपका कारण केही समस्या देखिएको हो । 

स्थिरता चिनियाँ व्यवसायको सिद्धान्त हो । यदि कुनै परियोजना ढिलाइ भयो भने त्यसले आर्थिक क्षति हुन्छ । म हम्बनटोटा बन्दरगाह र कोलम्बोको ‘कोलम्बो इन्टरनेसनल कन्टेनर टर्मिनल’ (सीआईसीटी) बीचको राम्रो तुलनात्मक उदाहरण दिन्छु । दुवै परियोजनामा चिनियाँ लगानी थियो । सीआईसीटी बिनाकुनै हस्तक्षेप सञ्चालन भयो । आज सीआईसीटी विश्वका सबैभन्दा राम्रा बन्दरगाहमा गनिन्छ । यहाँ ९५ प्रतिशतभन्दा बढी कर्मचारी स्थानीय छन् । तिनीहरू आर्थिक रूपमा सम्पन्न भएका छन् । यस बन्दरगाहले श्रीलंकाको सरकारलाई राजस्व र करका माध्यमबाट ठूलो योगदान दिएको छ । यही कारण सीआईसीटी एउटा राम्रो उदाहरण हो । तर हम्बनटोटा परियोजनामा बाह्य हस्तक्षेप भयो, जसका कारण परियोजना प्रभावकारी रूपमा सम्पन्न हुन सकेन । असफलताको उदाहरण बन्यो । यसले देखाउँछ कि, स्थिरता र बाह्य हस्तक्षेपको अभाव कुनै पनि परियोजनाको सफलताका लागि कति महत्त्वपूर्ण छ ।

चिनियाँ कम्पनीहरूले हम्बनटोटामा पनि सीआईसीटी जस्तै व्यावसायिक रणनीति अपनाएका थिए । सफल भएको भए यसले देशको वित्तीय क्षमतामा ठूलो योगदान दिने थियो । कसले हम्बनटोटा बन्दरगाहलाई ‘ऋणको जाल’ मा परिणत गर्‍यो ? चीनले त होइन । वास्तवमा, चीनबाट आएको ऋण १० प्रतिशतभन्दा पनि कम छ, बाँकी धेरैजसो ऋण पश्चिमा देशहरू, अमेरिका, युरोप र जापानबाट आएका हुन् । यदि चीनबाट आएको ऋणलाई ‘ऋणको पासो’ भन्नुहुन्छ भने, पश्चिमा देश, भारत, अमेरिका र जापानबाट आएको ऋणलाई ‘ब्ल्याक होल’ भन्न सकिन्छ । सम्झनुहोस्, ती ‘ब्ल्याक होल’ नै हुन् । चिनियाँ उद्यमीहरू व्यवसायलाई छोटो समयमै फाइदाजनक बनाउने गरी कुशल तरिकाले काम गर्न चाहन्छन् ।

नेपालमा चिनियाँ परियोजनामा ढिलाइ भइरहेको पाइन्छ । यसबारे तपाईंको धारणा के छ ? 

परियोजनामा ढिलाइ भएका गुनासा हामीले पनि सुनेका छौं । म कुनै पनि पक्षलाई दोष दिन चाहन्नँ । चिनियाँहरूले छिटो काम गर्नेमा विश्वमै ख्याति कमाएका पनि छन् । चीनभित्रकै उदाहरण हेर्नुहोस् न, हामीले कहिल्यै ढिलाइ गरेका छैनौं । हाम्रो अब्बल क्षमताको प्रमाण नै हो यो । यदि नेपालमा कुनै बाह्य राजनीतिक हस्तक्षेप, तर्कवितर्क वा असहमति नहुने वातावरण सिर्जना गर्न सकिन्छ भने, के ढिलाइ हुने सम्भावना रहन्छ ? 

नेपाल र चीनको राजनीतिक प्रणाली फरक छ । तर त्यस्ता ठूला परियोजनाहरूलाई सफल बनाउन अनुकूल वातावरण बनाउन त सकिन्छ नि π चिनियाँहरूको छिटो काम गर्ने क्षमतामा कुनै शंका छैन । हामीलाई केवल सरकारको सहयोग, अनुकूल वातावरणका साथै बाह्य हस्तक्षेप हुनु भएन । काममा ढिलाइ भएकोबारे म प्राविधिक पक्षको धेरै व्याख्या गर्न चाहन्नँ । तर तपाईंहरूलाई राम्रोसँग थाहा छ कि काममा ढिलो किन भइरहेको छ ? यदि तपाईंहरू परियोजना छिटो सम्पन्न गर्न चाहनुहुन्छ भने चीनलाई सहयोग गर्नुहोस् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋणमा बनेको हो । अहिले नेपाल सरकारले यो ऋणलाई अनुदानमा परिणत गरिदिए हुन्थ्यो भन्ने मनसाय राखेको छ । तर चीन सरकार हालसम्म सकारात्मक देखिएको छैन, किन होला ? ऋणलाई अनुदानमा परिणत गर्न कति सम्भव छ र यसका असर के–के हुन्छन् ? 

चीनले कुनै पनि सम्झौता व्यवस्थित होस् भन्ने चाहन्छ । पोखरा विमानस्थलको सम्झौता धेरै वर्षअघि गरिएको थियो । चिनियाँ पक्षबाट ऋणलाई अनुदानमा परिवर्तन गर्न कठिन देखिन्छ । किनभने यसले नेपाल र चीनबीचको व्यापारिक र कूटनीतिक विश्वसनीयतालाई चुनौती दिन सक्छ । सम्झौता गर्ने अनि बारम्बार परिवर्तन गर्ने चलनले नेपालको विश्वसनीयतामा गम्भीर धक्का पुर्‍याउन सक्छ । यसले अन्य मुलुकसँगको व्यापार र लगानीमा नकारात्मक प्रभाव पार्न सक्छ । यदि ऋणलाई अनुदानमा बदल्ने प्रक्रिया बारम्बार भयो भने विदेशी लगानीकर्ताहरूले नेपालको वित्तीय र राजनीतिक विश्वसनीयतामा शंका गर्न सक्छन् ।

चीनले व्यापार र सम्झौतामा दीर्घकालीन सोच राख्छ । यदि नेपालले बारम्बार सम्झौता परिवर्तन गर्न थाल्यो भने चीनले भविष्यमा नेपालसँग व्यापार वा परियोजनामा लगानी गर्न हिच्किचाउन सक्छ । बरु, ऋणको सर्तलाई पुनः छलफल गर्न सकिन्छ । ऋण तिर्ने अवधि लम्ब्याउने वा ब्याजदर घटाउने विषयमा भने कुरा गर्न सकिन्छ । नेपालले यो बुझ्नुपर्छ कि छोटो समयको फाइदाका लागि गरिएको परिवर्तनले दीर्घकालीन घाटा पुर्‍याउन सक्छ । विश्वसनीयता जस्तो मूल्यवान् कुरा गुम्न सक्छ, जसले भविष्यमा अन्य राष्ट्रसँग व्यापारिक सम्बन्धलाई पनि कमजोर बनाउँछ । चिनियाँ दृष्टिकोण स्पष्ट छ, पहिले गरिएका सर्त पालन गर्नु नै दीर्घकालीन साझेदारीका लागि सही बाटो हो ।

”If you consider Chinese debt a trap, Western debt is a 'black hole'.”

पछिल्लो समय नेपालमा चीनले राजनीतिक रूपमा पनि बढ्ता चासो देखाउने गरेको र कतिपय मुद्दामा त ‘माइक्रोम्यानेजमेन्ट’ नै गर्न थालेको पनि सुनिन्छ नि ? 

चीन नेपालका राजनीतिक दलसँग विचार आदानप्रदान, तालिम कार्यक्रम र अनुभव साझेदारी जस्ता कार्यमा संलग्न भएको छ । यी गतिविधिहरूलाई ‘माइक्रोम्यानेजमेन्ट’ भनिएको हो भने यो गलत बुझाइ हो । भारत र अमेरिकाका राजदूतावासमा ती देशका कर्मचारी पनि धेरै छन् । उनीहरूका क्रियाकलाप पनि चीनको भन्दा धेरै छन् । चीनले नेपालमा कुनै अनैतिक सहयोग, दबाब वा राजनीतिक हस्तक्षेप गरेको छैन । चिनियाँ राजदूत, उद्यमी र गैरसरकारी संस्थाहरूले नेपालका राजनीतिक नेता र जनतासँग सहकार्य गर्दै विकासका परियोजनाहरूमा ध्यानकेन्द्रित गरेका छन् ।

चीनले नेपाललाई आफ्नो विकासको अनुभव बाँड्न सहकार्य गरिरहेको छ । त्यसैले चीनले ‘माइक्रोम्यानेजमेन्ट’ वा ‘सोसल इन्जिनियरिङ’ गर्छ भन्ने टिप्पणी आधारहीन र गैरजिम्मेवार हुन् । चीनका गतिविधिहरू पारदर्शी र विकासोन्मुख छन् । चीनको नेपालसँगको आफ्नो सम्बन्ध समन्वय र विकासमा आधारित छ । हामी ब्ल्याकमेल गर्दैनौं । हामी ठगी गर्दैनौं । हामी दबाब पनि दिँदैनौं । गणतन्त्र, लोकतान्त्रिक प्रणाली चाहनुहुन्छ कि राजतन्त्र, त्यो तपाईंहरूको कुरा हो । कांग्रेसलाई सत्तामा ल्याउनुपर्छ कि एमाले, त्यो यहाँकै जनताले गर्ने निर्णय हो । चिनियाँ जनता, सरकार र उद्यमीहरूले त्यसमा कुनै भूमिका खेल्दैनन् । हामी अवलोकन मात्र गर्छौं, हस्तक्षेप गर्दैनौं । 

तर चीनले नेपालका कम्युनिस्ट पार्टीलाई वैचारिक रूपमा अलि बढी समर्थन गर्छ र सदाशयता राख्छ भन्ने छ । नेपालका कम्युनिस्ट पार्टीहरूबारे चीनको धारणा के छ ? 

हाम्रो कम्युनिस्ट पार्टीको एउटा अन्तर्राष्ट्रिय विभाग छ । यसको जिम्मेवारी भनेको संसारभरका राजनीतिक दलसँग संवाद गर्नु हो । हामीसँग समान वैचारिक विश्वासहरू छन् । त्यस अर्थमा, हामी तिनीहरूसँग हाम्रा अनुभव सुनाउन इच्छुक छौं । चिनियाँ कम्युनिस्ट पार्टी र एमालेबीचको सम्बन्ध र अन्य वामपन्थी दलसँगको सम्बन्ध नजिक छ । तर हामी कांग्रेससँगको सम्बन्धलाई पनि धेरै महत्त्वपूर्ण मान्छौं । यदि कांग्रेस चिनियाँ कम्युनिस्ट पार्टीसँग सहकार्य गर्न चाहन्छ भने खुसीखुसी सहकार्यको प्रस्ताव गर्न तयार छौं । हामीले एमालेसँग प्रस्ताव गरेका थियौं । त्यसमा के गडबडी छ र ? कोसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा त सम्बन्धित दलका नेताले निर्णय गर्ने कुरा हुन् । चिनियाँ कम्युनिस्ट पार्टीसँग थप र फलदायी सहकार्य गर्न चाहने सबैका लागि हामी सबै प्रकारका विकल्पहरूका लागि खुला छौं ।

यदि तपाईंहरू एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सहकार्यलाई कुनै प्रकारको ‘माइक्रोम्यानेजमेन्ट’ हो भन्ने ठान्नुहुन्छ भने कृपया कांग्रेस पार्टीलाई पनि बेइजिङ गएर सीपीसीसँग सहकार्य गर्न सल्लाह दिनुहोला । 

अहिले नेपालमा एमाले र कांग्रेसको गठबन्धन सरकार छ । दुई पार्टीको यो गठबन्धनबारे तपाईंको धारणा के छ ? 

सुरुमा त कांग्रेस र एमालेको सहकार्य भयो भन्दा म अचम्मित भएको थिएँ । तर, कांग्रेस र एमालेबीच सहकार्य हुनुको कारण र तर्क छ । पछिल्ला धेरै वर्ष नेपालले राजनीतिक अस्थिरताका कारण धेरै समस्या भोग्दै आएको छ । मलाई लाग्छ, नेपालका नेताहरूले पनि यस अस्थिरताबाट बाहिर निस्कनका लागि राम्रो तरिकाले सोचेका हुन् । वामपन्थी दलहरूबीचमा सहकार्य प्रयास विगतमा पनि भएको थियो । जुन स्पष्ट रूपमा सफल भएन । कसैको पनि आन्तरिक मामिलामा विरोध नगर्ने चीनको लामो समयदेखिको परम्परा छ । त्यसैले हामी तपाईंहरूका निर्णयमा हस्तक्षेप गर्दैनौं, हामी यस देशमा राजनीतिक स्थिरताको पक्ष र समर्थनमा छौं । यदि एमाले र कांग्रेसको सहकार्य राजनीतिक स्थिरताका लागि हो भने हामी यसलाई समर्थन गर्छौं ।

यदि कुनै दिन वामपन्थीहरू एकजुट भएर नेपालमा राजनीतिक स्थिरताको कोसिस गर्छन् भने त्यसमा पनि हाम्रो समर्थन रहन्छ, हामी हस्तक्षेप गर्दैनौं । त्यस अर्थमा, चीनको कुनै विशेष दलसँगको पक्षधरता छैन । यो तपाईंहरूको निर्णय हो ।

”If you consider Chinese debt a trap, Western debt is a 'black hole'.”

भारतसँग नेपाल र चीनको आ–आफ्नै खालको सम्बन्ध छ । नेपालको सीमाको विषयमा भारतसँग समस्या छ । तर यो विषयमा चीन किन चुपचाप बस्ने गर्छ ? 

तपाईंहरूले कालापानी, लिपुलेकको कुरा गर्नुभएको होला । मलाई लाग्छ, दुर्भाग्यवश यो उपनिवेशकै एउटा विरासत हो । उपनिवेशको विरासतको समाधान तीन देशबीच अझै गरिएको छैन । हाम्रो भारतसँग क्षेत्रीय विवाद छ । नेपालसँग पनि भारतको क्षेत्रीय विवाद छ । मलाई थाहा छ कि धेरै छिमेकी देशसँग भारतको क्षेत्रीय विवाद छन् । 

चीनका १४ छिमेकी देशमध्ये १२ देशसँगका विवाद समाधान भइसके । सन् १९९० को दशकअघि ती सबै जटिल समस्या समाधान गरेका थियौं । तर भारत र भुटानसँग अझै समस्या बाँकी छ । किनकि भारत आफैंलाई ब्रिटिस राजको प्राकृतिक कानुनी उत्तराधिकारी ठान्दछ । तर ब्रिटिस राज भनेको के हो ? यो विस्तारवादी औपनिवेशिक शक्ति हो । नेपाल र चीन दुवै यस विस्तारवादी इतिहासका पीडित हुन् । हामी नेपालको पक्षमा छौं । हामी मान्छौं कि, नेपाल यस स्थितिमा पीडित हो । 

चीनको कसैलाई हस्तक्षेप नगर्ने नीति छ । नेपाल र भारतबीचको सीमा विवाद द्विपक्षीय मुद्दा हो । यो दुई देशहरूबीचको द्विपक्षीय मुद्दा हो । चीनले यस मुद्दामा हालसम्म कुनै भूमिका निभाएको छैन । यदि भारत र नेपाल दुवै चाहन्छन् भने चीन सकारात्मक भूमिका खेल्न सक्छ, सायद मध्यस्थकर्ताका रूपमा । तर भारत र चीनबीचको क्षेत्रीय विवादमा हामीचाहिँ तेस्रो पक्षको हस्तक्षेप चाहन्नौं । त्यसैले हामी तेस्रो पक्षको हस्तक्षेप यस मुद्दामा चाहन्नौं भने नेपाल र भारतबीचको समान परिस्थितिमा त्यस्तो भूमिका खेल्न चाहन्नौं । तर हामी राजनीतिक परामर्श र वार्ताको समर्थन गर्दछौं । यदि तपाईंहरू यो समस्या समाधान गर्न चाहनुहुन्छ भने दक्षिणी छिमेकीसँग कुरा गर्नुहोस् र समाधानको दिशामा अघि बढ्नुहोस् । भारतलाई भन्नुहोस्– ‘ठूलो देश शक्तिशाली र आर्थिक रूपमा सम्पन्न हुनुहुन्छ, त्यसैले असल छिमेकीका रूपमा कालापानी फर्काउनुहोस् ।’

हालै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको चीन भ्रमणका दौरान मानसरोवरको तीर्थयात्रा खोल्ने सम्झौता भएको छ । यो सम्झौता नेपालको लिपुलेकबाटै हो कि भन्ने पनि आशंका छ नि ? 

चीन र भारत भारतीयका लागि रोकिएको तीर्थयात्रा पुनः सुरु गर्ने सम्झौतामा पुगेका हुन् । तर त्यो सम्झौताले लिपुलेक पाससँगको कुनै पनि कुरा स्पष्ट रूपमा उल्लेख गरेको छैन । लिपुलेक पासको कुरा वास्तवमा दुई देशबीचको क्षेत्रीय विवादसँग सम्बन्धित छ । हामीले हालसम्म यस मुद्दामा लिपुलेक नेपालको हो कि भारतको भन्ने पक्ष लिएका छैनौं । मलाई लाग्छ, यसबारे विस्तृत अनुसन्धान गर्नुपर्छ । तत्कालीन ब्रिटिस सरकारले महाकाली नदीलाई कुन तरिकाले प्रयोग गरेर ती क्षेत्रहरू विवादित बनाएका थिए भनेर पत्ता लगाउनुपर्छ ।

ऐतिहासिक तथ्यहरू पत्ता लगाएर तपाईंहरूले सत्य कुरा सबैलाई देखाउन सक्नुहुन्छ । त्यो भयो भने तपाईंहरूलाई विश्व समुदायबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुनेछ । संसार तपाईंको पक्षमा हुनेछ । यो मामिलामा तपाईंहरू कृपया अरूसँग मद्दतको पर्खाइमा नबस्नुहोस् । लिपुलेक पास वा नथुला पासको बाटो प्रयोग गर्ने कुरा क्षेत्रीय विवादसँग सम्बन्धित छ जस्तो मलाई लाग्दैन । सीमा विवादको कुरा तपाईंहरूले समाधान गर्नुपर्ने विषय हो । हामीले लिपुलेक पासलाई तीर्थयात्राको मार्गका रूपमा प्रयोग गर्नुको अर्थ यो भारतीय भूमि हो भनेका होइनौं । 

पछिल्लो समय चीन–भारतबीचको सम्बन्धमा केही महत्त्वपूर्ण सुधार भएको हो ?

भारत–चीन सम्बन्धको भविष्यका बारेमा म निकै सकारात्मक छु । विशेषगरी पछिल्लो ५ वर्षमा पक्कै पनि हामीबीच केही समस्या देखिएका छन् । हामी समाधान गर्न धेरै तयार छौं । भारत र चीनबीचको द्विपक्षीय सम्बन्ध संसारका सबैभन्दा जटिल सम्बन्धमध्येको एक हो । हामी पर्याप्त धीरता राख्छौं । भारत र चीन एकअर्कासँग हात मिलाएर अघि बढे भने नेपाल पनि राम्रो स्थितिमा पुग्नेछ ।

”If you consider Chinese debt a trap, Western debt is a 'black hole'.”

आफ्नो पुनरागमनपछि डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनहरूमा उच्च कर बढाउनेलगायतका प्रस्ताव गरेका छन् । अमेरिकी कम्पनीलाई चीनबाट सिफ्ट गर्न खोज्दै छन् । अमेरिकासँग चाहिँ चीनको सम्बन्ध कसरी अघि बढ्ला ? 

पहिलो, ट्रम्प प्रशासनको समयमा तथाकथित ‘व्यापार युद्ध’ हुन सक्छ । हामीलाई थाहा छैन ट्रम्प २.० ले के गर्नेछन्, तर हामी केही कठिन क्षणको अपेक्षामा छौं । आउने समस्या सामना गर्न चिनियाँ जनता सधैं तयारी अवस्थामा रहनेछन् । तपाईंलाई थाहा छ, ती कर केवल चीनका लागि होइन, भारतका लागि पनि र सम्भवतः नेपालका लागि पनि हुनेछन् । त्यस्तो अवस्थामा हामीले सँगै काम गर्नुपर्छ । अमेरिकी प्रशासन, ट्रम्प २.० लाई मनाउन प्रयास गर्नुपर्छ कि यो संसारले ‘ग्लोबलाइजेसन’ बाट ठूलो फाइदा लिएको छ ।

मलाई लाग्छ, डोनाल्ड ट्रम्पलाई बुझाउन नेपाल, चीन र भारतजस्ता देशहरूले एकअर्कासँग हात मिलाउनुपर्छ । हामीले ट्रम्पलाई तपाईंले व्यापार युद्धका कारण आफ्नै जनतालाई घाटा पुर्‍याइरहनुभएको छ भनेर देखाउनुपर्छ । उच्च मुद्रास्फीति दरको सामना गर्नुहुनेछ र जनताले अझ बढी पीडा भोग्नेछन् भनेर बुझाउनुपर्छ । हामीले एकसाथ बसेर, इमानदार र राम्रो कुराकानी गर्नुपर्छ ।

तपाईं दक्षिण एसियाली मामिलाको विज्ञ पनि हुनुहुन्छ । चीनको उद्देश्य यस क्षेत्रमा के प्राप्त गर्ने हो ? 

अझ बढी एकीकृत स्थिर, सुरक्षित, समृद्ध बनाउनेबाहेक हाम्रो अर्को उद्देश्य छैन । बीआरआईमा पनि यो उल्लेख छ । हामी भारत वा नेपालबाट कुनै पनि भूभाग लिन चाहन्नौं । हामी राम्रो संसार चाहन्छौं, ताकि हामी खुसीसँग एकसाथ बस्न सकौं । यस क्षेत्र एकीकृत हुनु भनेको के हो ? कुनै शंका छैन, तपाईं, हाम्रो जीवन अझै राम्रो हुनु हो ।

दुर्गा खनाल कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका तत्कालिन सम्पादक हुन्।

उपेन्द्रराज पाण्डेय १० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल इकान्तिपुरमा सहायक वरिष्ठ उप-सम्पादकका रूपमा कार्यरत छन् ।

Link copied successfully