'अब प्रत्यक्ष निर्वाचनबाट पार्टीको नेतृत्व चयन नगरी सुखै छैन'

पुस २६, २०८१

कान्तिपुर संवाददाता

'We are not happy now without choosing the party leadership through direct elections'

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले एक वर्षपछि महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसअघि देशव्यापी राजनीतिक अभियान चलाउने र त्यसपछि महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय भएको हो । साढे तीन दसकदेखि अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्दै आएको सन्दर्भमा अब हुने महाधिवेशनले के युवा पुस्ताको नेतृत्व चयन गर्ला ?

पार्टी र नेतृत्व रुपान्तरणको खरो आवाज उठाउँदै आएका नेता लेखनाथ न्यौपानेसँग ईकान्तिपुरका गंगा बीसीले गरेको कुराकानी ।

माओवादी केन्द्रीय समितिको निर्णयपछि पार्टी पुनर्निर्माणको खाका कोर्नेमा कति विश्वस्त हुनुहुन्छ ?

यसको तीन पक्ष छन् । बैठकले पारित गरेको दस्तावेजका आधारमा आगामी बाटो हेर्नुपर्ने हुन्छ । त्यसरी हेर्दा विगतभन्दा कमजोरी स्वीकार गर्दै सच्याउने प्रतिबद्धता भएको छ । अध्यक्षको राजनीतिक प्रतिवेदनका आधारमा भन्ने हो भने पार्टी पुनर्निर्माणको प्रतिबद्धता स्पष्ट ढंगले आएको छ ।

दोस्रो, यसपटक बैठकमा विषयकेन्द्रित र दकस नराखी छलफल भयो । त्यो हुनु पनि सकारात्मक भयो । तेस्रो, आगामी यात्रामा राजनीतिक प्रतिवेदन र बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने पक्ष हो । हामी अझै परीक्षामै छौं । हाम्रो विगतको अनुभवले दस्तावेज राम्रो हुने, छलफल राम्रो हुने तर कार्यान्वयन नभएर पुरानै समस्यामा फर्कने हाम्रो समस्या हो । अब पार्टीको निर्णय व्यवहारमै कार्यान्वयन गर्ने चुनौती छ ।

पार्टी कसरी बिग्रिएको रहेछ ?

पार्टीको अध्यक्ष प्रचण्डले र राजनीतिक दस्तावेजले पनि दायाँ पाइलो चाल्यौं भन्नुभएको छ । प्रतिवेदनमा यो बैठक बायाँ पाइलो चाल्ने प्रारम्भिक विन्दु हो भनिएको छ । विगतमा हामी दक्षिणपन्थी र सम्झौतावादी भएको थियौं । अब वामदिशा समातेर वर्ग सम्बन्ध राख्दै, रुपान्तरणको प्रक्रियामा अलि गुणात्मक आन्दोलन गर्नुपर्छ भन्ने हो । अब हामी परीक्षामा उत्रिनु पर्छ । विगतमा हाम्रा अन्य दलसँग अलि बढी सम्झौतावादी भए । यसले हाम्रो पहिचान गुम्यो, हाम्रो स्वतन्त्रता कमजोर भयो । हामीले धेरै गल्ती गर्‍यौं, त्यसकारण सुधार गर्नुपर्छ । 

हामी विधान बनाउँछौ, अनि भोलिपल्टदेखि उल्लंघन गर्छौं । अनि संगठन भद्रगोल हुन्छ । संगठनका संरचना ठूला भए । यसमा पर्ने र नपर्ने दुवै बेखुश भए । त्यसले काम गर्ने तत्परतालाई बिगारेको छ । हामी अरु दलभन्दा फरक भएनौं । हामी अलि बुर्जुवाकरण भयौ । माओवादी भए पनि अरु पार्टीजस्तै भएर लक्ष्य प्राप्त हुँदैन । त्यसकारण वैचारिक, राजनीतिक र जीवनस्तर जनताले आलोचना नगर्ने गरी अघि बढ्नुपर्छ । हाम्रो आयस्रोत के हो ? हाम्रो सम्पत्ति के छ ? सार्वजनिक गर्नुपर्‍यो । कम्तीमा एउटा न एउटा आयआर्जनमा लाग्नुपर्‍यो भन्ने छ । 

नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्ने विषय उठ्दै आएको छ । अहिले पार्टीले निर्णय नै गर्‍यो । यो सकारात्मक कुरा हो । हामीभित्र समस्या भएकाले खोज र अनुन्धान गर्नुपर्‍यो । हामीले रुपान्तरणको कुरा गर्दा सम्पत्ति र आयस्रोतको विषयवस्तु आउँछन् । जनतासँगको सहकार्यलाई हाम्रो जीवनशैलीले बाधा पुर्‍याएको छ ।

२०६९ मा नेता अमिक शेरचनको नेतृत्वमा समिति बनाएर नेताहरुको अपारदर्शी जीवनशैलीबारे प्रतिवेदन बनाए पनि सार्वजनिक भएको थिएन । अब पनि चर्चा मात्रै हुने हो कि ?

हामी कसरी रुपान्तरण हुनुपर्छ भन्ने प्रश्न छ । मिहिनेत गर्‍यो भने रुपान्तरण संभव छ । मतदाताले नेताहरुको जीवनशैलीमाथि प्रश्न उठाएकै छन् । रुपान्तरण नहुने हो भने कुरा मात्रै हुन थान्छ । त्यसपछि कसैले पत्याउने छैन । हामी रुपान्तरण हुन चाहने हो भने नेताको सम्पत्ति सार्वजनिक गर्न किन गाह्रो मान्ने ?

कार्यकर्ताले माथि नेतृत्वबाटै सच्चिनुपर्‍यो भन्दै आएका छन् नि ?

दुवै पक्ष हुन्छ । माथिबाट तल र तलबाट माथि द्वन्द्वात्मक सम्बन्ध हुन्छ । नायकको खोजी गर्ने हाम्रो समाज हो । नायक आए सबै चिज हल हुन्छ भन्ने बुझाइ भएकाले मुख्य कुरा माथि नेतृत्वमै हुन्छ । माथि नेतृत्वबाट नराम्रो काम हुँदा तल पुरै नकारात्मक प्रभाव पार्छ । माथि सकारात्मक पाइला चाल्नेबित्तिकै तल राम्रो प्रभाव पार्छ । तलका कार्यकर्ताले सानो गल्ती गर्दा सानो प्रभाव हुन्छ । माथिबाट सच्चिएर तल जानुपर्छ । माथि नै बिग्रिएको हो र आलोचनाको केन्द्र पनि माथि नै हो ।

एक वर्षभित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय भएको छ । के यसले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्न संभव छ ?

यो राजनीतिक कोर्समा कसैले गोजीबाट नाम निकालेर सर्वसम्मतका नाममा पढेर कमिटी बनाएर समस्या हल हुँदैन । आदर्शमय संगठन र आन्दोलन हुँदा यो विधिले काम गरेको थियो । हामीसँग आदर्श कमजोर छ । अब कसैले सर्वसम्मतका नाम ल्याउँदैमा अरुले मान्न संभव छैन । त्यसकारण अर्को विधिबाट प्रत्यक्ष निर्वाचित नेतृत्व चयन हो । प्रतिनिधिहरु जति स्वतन्त्र हुन्छन्, कमिटीका मान्छे हुन सक्दैनन् । विगतको हाम्रो अभ्यासले यो देखाएको छ । अब प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन नगरी सुखै छैन । केन्द्रीय समितिमा अध्यक्ष पनि प्रतिस्पर्धाबाट चयन हुँदा बाहिर लामो नोकरशाही नेतृत्व भयो भन्नेको प्रतिवाद गर्न सकिन्छ भनेर सुझाव आएको छ ।

स्थानीय तहको उपनिर्वाचनमा अलिकति संख्या बढ्दैमा माओवादी यतिधेरै उत्साही हुनुपर्ने हो र ?

पछिल्लो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले चालेका केही सुशासनलगायतका कामको सकारात्मक प्रभाव पर्‍यो । हामीले चार महिने जनतासँग अभियान चलायौं । पहिलेभन्दा जनतासँग अलि बढी जोडिएको स्थिति हो । प्रचण्डको नेतृत्वको सरकारले गरेका सकारात्मक काम र नेताहरु तलसम्म जाने प्रक्रियाले हाम्रो जनमतमा केही सुधार भएको हो । उपनिर्वाचनमा हामी जिरोबाट प्लसतिर गएको हो । हामी उत्पातसँग माथि उठ्यौ भन्ने होइन । हामी जनतासँग गयौ भने जनबल अझ थपिन्छ ।

अब पार्टीको अन्तरसंघर्ष समाधान भएको अवस्था हो ?

पार्टीभित्र धेरै मत आएका छन् । कयौं साथीहरुले लिखित र मौखिक धारणा राखेको सत्य हो । मुख्यगरी पार्टी सत्तामा जाने, बैठकमा बस्ने र मत हालेर मात्र हुँदैन । चिन्तन मनन गर्ने पार्टी संगठन चाहिन्छ भन्ने मेरो मत छ । उपमहासचिव प्रभाकर (जनार्दन शर्मा) का विषयवस्तु अध्यक्षले अधिकांश समावेश गरेको छु भन्नुभयो । पार्टी निर्माण, नेतृत्व हस्तान्तरणको विषय हल गर्ने पूरापूर हल गर्ने सम्झदारी भयो भन्ने पनि छ । अर्कोतिर अन्तरसंघर्ष हल भएको छैन भन्ने मत पनि छ ।

कतिपयले एक वर्षपछि महाधिवेशन हुँदैन भन्ने आशंका पनि छ नि ?

हामीले तीन वर्षअघि राष्ट्रिय सम्मेलनलाई एकाएक महाधिवेशनमा रुपान्तरण गरेका थियौं । त्यसले सम्पूर्ण कार्यभार पूरा गर्न सकेन । विशेष महाधिवेशन गर्ने भनिए पनि संभव भएन । एक वर्षपछि महाविधेशन गर्नैपर्ने हुन्छ । महाधिवेशनको विधिका हिसाबले नयाँ नेतृत्व आउँछ तर नेतृत्वका पात्र महाधिवेशनले टुंगो लगाउला ।

माओवादीको भ्रातृसंगठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हद लागेकाले अब युवाहरु नेतृत्वमा आउने संभावना कति देख्नुहुन्छ ?

हामीले निरन्तर सम्मेलन नगरेकाले माथि नेतृत्वबाट कोही पनि बिदा नहुने र तलबाट युवा आउन नसक्ने अवस्था थियो । ३२ वर्षमाथिका विद्यार्थी नेताहरु अब स्वतः पार्टीमा विभिन्न तहमा आइहाल्छन् । केन्द्रीय समितिमा २० प्रतिशत युवा रहने व्यवस्था छ । अब प्रतिस्पर्धामा पनि ३२ वर्षमाथिका साथीहरु पालिका, जिल्ला, प्रदेश र केन्द्रमा व्यापक आउने देख्छु ।

कान्तिपुर

Link copied successfully