माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले एक वर्षपछि महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसअघि देशव्यापी राजनीतिक अभियान चलाउने र त्यसपछि महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय भएको हो । साढे तीन दसकदेखि अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्दै आएको सन्दर्भमा अब हुने महाधिवेशनले के युवा पुस्ताको नेतृत्व चयन गर्ला ?
पार्टी र नेतृत्व रुपान्तरणको खरो आवाज उठाउँदै आएका नेता लेखनाथ न्यौपानेसँग ईकान्तिपुरका गंगा बीसीले गरेको कुराकानी ।
माओवादी केन्द्रीय समितिको निर्णयपछि पार्टी पुनर्निर्माणको खाका कोर्नेमा कति विश्वस्त हुनुहुन्छ ?
यसको तीन पक्ष छन् । बैठकले पारित गरेको दस्तावेजका आधारमा आगामी बाटो हेर्नुपर्ने हुन्छ । त्यसरी हेर्दा विगतभन्दा कमजोरी स्वीकार गर्दै सच्याउने प्रतिबद्धता भएको छ । अध्यक्षको राजनीतिक प्रतिवेदनका आधारमा भन्ने हो भने पार्टी पुनर्निर्माणको प्रतिबद्धता स्पष्ट ढंगले आएको छ ।
दोस्रो, यसपटक बैठकमा विषयकेन्द्रित र दकस नराखी छलफल भयो । त्यो हुनु पनि सकारात्मक भयो । तेस्रो, आगामी यात्रामा राजनीतिक प्रतिवेदन र बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने पक्ष हो । हामी अझै परीक्षामै छौं । हाम्रो विगतको अनुभवले दस्तावेज राम्रो हुने, छलफल राम्रो हुने तर कार्यान्वयन नभएर पुरानै समस्यामा फर्कने हाम्रो समस्या हो । अब पार्टीको निर्णय व्यवहारमै कार्यान्वयन गर्ने चुनौती छ ।
पार्टी कसरी बिग्रिएको रहेछ ?
पार्टीको अध्यक्ष प्रचण्डले र राजनीतिक दस्तावेजले पनि दायाँ पाइलो चाल्यौं भन्नुभएको छ । प्रतिवेदनमा यो बैठक बायाँ पाइलो चाल्ने प्रारम्भिक विन्दु हो भनिएको छ । विगतमा हामी दक्षिणपन्थी र सम्झौतावादी भएको थियौं । अब वामदिशा समातेर वर्ग सम्बन्ध राख्दै, रुपान्तरणको प्रक्रियामा अलि गुणात्मक आन्दोलन गर्नुपर्छ भन्ने हो । अब हामी परीक्षामा उत्रिनु पर्छ । विगतमा हाम्रा अन्य दलसँग अलि बढी सम्झौतावादी भए । यसले हाम्रो पहिचान गुम्यो, हाम्रो स्वतन्त्रता कमजोर भयो । हामीले धेरै गल्ती गर्यौं, त्यसकारण सुधार गर्नुपर्छ ।
हामी विधान बनाउँछौ, अनि भोलिपल्टदेखि उल्लंघन गर्छौं । अनि संगठन भद्रगोल हुन्छ । संगठनका संरचना ठूला भए । यसमा पर्ने र नपर्ने दुवै बेखुश भए । त्यसले काम गर्ने तत्परतालाई बिगारेको छ । हामी अरु दलभन्दा फरक भएनौं । हामी अलि बुर्जुवाकरण भयौ । माओवादी भए पनि अरु पार्टीजस्तै भएर लक्ष्य प्राप्त हुँदैन । त्यसकारण वैचारिक, राजनीतिक र जीवनस्तर जनताले आलोचना नगर्ने गरी अघि बढ्नुपर्छ । हाम्रो आयस्रोत के हो ? हाम्रो सम्पत्ति के छ ? सार्वजनिक गर्नुपर्यो । कम्तीमा एउटा न एउटा आयआर्जनमा लाग्नुपर्यो भन्ने छ ।
नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्ने विषय उठ्दै आएको छ । अहिले पार्टीले निर्णय नै गर्यो । यो सकारात्मक कुरा हो । हामीभित्र समस्या भएकाले खोज र अनुन्धान गर्नुपर्यो । हामीले रुपान्तरणको कुरा गर्दा सम्पत्ति र आयस्रोतको विषयवस्तु आउँछन् । जनतासँगको सहकार्यलाई हाम्रो जीवनशैलीले बाधा पुर्याएको छ ।
२०६९ मा नेता अमिक शेरचनको नेतृत्वमा समिति बनाएर नेताहरुको अपारदर्शी जीवनशैलीबारे प्रतिवेदन बनाए पनि सार्वजनिक भएको थिएन । अब पनि चर्चा मात्रै हुने हो कि ?
हामी कसरी रुपान्तरण हुनुपर्छ भन्ने प्रश्न छ । मिहिनेत गर्यो भने रुपान्तरण संभव छ । मतदाताले नेताहरुको जीवनशैलीमाथि प्रश्न उठाएकै छन् । रुपान्तरण नहुने हो भने कुरा मात्रै हुन थान्छ । त्यसपछि कसैले पत्याउने छैन । हामी रुपान्तरण हुन चाहने हो भने नेताको सम्पत्ति सार्वजनिक गर्न किन गाह्रो मान्ने ?
कार्यकर्ताले माथि नेतृत्वबाटै सच्चिनुपर्यो भन्दै आएका छन् नि ?
दुवै पक्ष हुन्छ । माथिबाट तल र तलबाट माथि द्वन्द्वात्मक सम्बन्ध हुन्छ । नायकको खोजी गर्ने हाम्रो समाज हो । नायक आए सबै चिज हल हुन्छ भन्ने बुझाइ भएकाले मुख्य कुरा माथि नेतृत्वमै हुन्छ । माथि नेतृत्वबाट नराम्रो काम हुँदा तल पुरै नकारात्मक प्रभाव पार्छ । माथि सकारात्मक पाइला चाल्नेबित्तिकै तल राम्रो प्रभाव पार्छ । तलका कार्यकर्ताले सानो गल्ती गर्दा सानो प्रभाव हुन्छ । माथिबाट सच्चिएर तल जानुपर्छ । माथि नै बिग्रिएको हो र आलोचनाको केन्द्र पनि माथि नै हो ।
एक वर्षभित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय भएको छ । के यसले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्न संभव छ ?
यो राजनीतिक कोर्समा कसैले गोजीबाट नाम निकालेर सर्वसम्मतका नाममा पढेर कमिटी बनाएर समस्या हल हुँदैन । आदर्शमय संगठन र आन्दोलन हुँदा यो विधिले काम गरेको थियो । हामीसँग आदर्श कमजोर छ । अब कसैले सर्वसम्मतका नाम ल्याउँदैमा अरुले मान्न संभव छैन । त्यसकारण अर्को विधिबाट प्रत्यक्ष निर्वाचित नेतृत्व चयन हो । प्रतिनिधिहरु जति स्वतन्त्र हुन्छन्, कमिटीका मान्छे हुन सक्दैनन् । विगतको हाम्रो अभ्यासले यो देखाएको छ । अब प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन नगरी सुखै छैन । केन्द्रीय समितिमा अध्यक्ष पनि प्रतिस्पर्धाबाट चयन हुँदा बाहिर लामो नोकरशाही नेतृत्व भयो भन्नेको प्रतिवाद गर्न सकिन्छ भनेर सुझाव आएको छ ।
स्थानीय तहको उपनिर्वाचनमा अलिकति संख्या बढ्दैमा माओवादी यतिधेरै उत्साही हुनुपर्ने हो र ?
पछिल्लो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले चालेका केही सुशासनलगायतका कामको सकारात्मक प्रभाव पर्यो । हामीले चार महिने जनतासँग अभियान चलायौं । पहिलेभन्दा जनतासँग अलि बढी जोडिएको स्थिति हो । प्रचण्डको नेतृत्वको सरकारले गरेका सकारात्मक काम र नेताहरु तलसम्म जाने प्रक्रियाले हाम्रो जनमतमा केही सुधार भएको हो । उपनिर्वाचनमा हामी जिरोबाट प्लसतिर गएको हो । हामी उत्पातसँग माथि उठ्यौ भन्ने होइन । हामी जनतासँग गयौ भने जनबल अझ थपिन्छ ।
अब पार्टीको अन्तरसंघर्ष समाधान भएको अवस्था हो ?
पार्टीभित्र धेरै मत आएका छन् । कयौं साथीहरुले लिखित र मौखिक धारणा राखेको सत्य हो । मुख्यगरी पार्टी सत्तामा जाने, बैठकमा बस्ने र मत हालेर मात्र हुँदैन । चिन्तन मनन गर्ने पार्टी संगठन चाहिन्छ भन्ने मेरो मत छ । उपमहासचिव प्रभाकर (जनार्दन शर्मा) का विषयवस्तु अध्यक्षले अधिकांश समावेश गरेको छु भन्नुभयो । पार्टी निर्माण, नेतृत्व हस्तान्तरणको विषय हल गर्ने पूरापूर हल गर्ने सम्झदारी भयो भन्ने पनि छ । अर्कोतिर अन्तरसंघर्ष हल भएको छैन भन्ने मत पनि छ ।
कतिपयले एक वर्षपछि महाधिवेशन हुँदैन भन्ने आशंका पनि छ नि ?
हामीले तीन वर्षअघि राष्ट्रिय सम्मेलनलाई एकाएक महाधिवेशनमा रुपान्तरण गरेका थियौं । त्यसले सम्पूर्ण कार्यभार पूरा गर्न सकेन । विशेष महाधिवेशन गर्ने भनिए पनि संभव भएन । एक वर्षपछि महाविधेशन गर्नैपर्ने हुन्छ । महाधिवेशनको विधिका हिसाबले नयाँ नेतृत्व आउँछ तर नेतृत्वका पात्र महाधिवेशनले टुंगो लगाउला ।
माओवादीको भ्रातृसंगठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हद लागेकाले अब युवाहरु नेतृत्वमा आउने संभावना कति देख्नुहुन्छ ?
हामीले निरन्तर सम्मेलन नगरेकाले माथि नेतृत्वबाट कोही पनि बिदा नहुने र तलबाट युवा आउन नसक्ने अवस्था थियो । ३२ वर्षमाथिका विद्यार्थी नेताहरु अब स्वतः पार्टीमा विभिन्न तहमा आइहाल्छन् । केन्द्रीय समितिमा २० प्रतिशत युवा रहने व्यवस्था छ । अब प्रतिस्पर्धामा पनि ३२ वर्षमाथिका साथीहरु पालिका, जिल्ला, प्रदेश र केन्द्रमा व्यापक आउने देख्छु ।
