कसरी गरिन्छ बाघको अनुगमन ?

अनुगमन भनेको विशेष गरेर त्यो ठाउँमा बाघको संख्या कति छ ? बाघको घनत्व कति छ भन्ने कुरा पत्ता लगाउने एउटा अध्ययन हो । यसमा बाघ मात्र नभई आहारा प्रजाति पनि के कति छन् भन्ने विषयमा पनि अध्ययन गरिन्छ ।

पुस २२, २०८१

कान्तिपुर संवाददाता

How is tiger monitoring done?

कञ्चनपुर — बाघ भन्ने बित्तिकै सबैले सम्झिने भनेको जंगलको राजा हो । कहिल्यै नदेखेकाहरूका लागि त यो कस्तो होला भन्ने उत्सुकता पनि हुन्छ । पछिल्लो समय विभिन्न संरक्षित क्षेत्र तथा वनजंगल नजिकका बस्तीमा बाघले मानिसमाथि आक्रमण गरिरहेका घटनाहरूसमेत आइरहेका छन् ।

बाघलाई धेरैले हिंस्रक जनावरका रूपमा पनि चिन्ने गर्छन् । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रको वनलाई जोड्ने ब्रह्मदेव जैविक मार्ग र आसपासका क्षेत्रमा यही जंगलको राजा मानिने बाघ तथा आहारा प्रजातिको अनुगमन तथा गणना भइरहेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि हालै बाघको गणना सकिएको छ । जंगलको राजा मानिने बाघको गणना कसरी गरिन्छ ? कस्तो विधि अपनाइन्छ ? कति समय लाग्छ ? यिनै विषयमा रहेर जेडएसएल (जुलोजिकल सोसाइटी अफ लन्डन) नेपालका कार्यक्रम अधिकृत सन्तोष पौडेलसँग कान्तिपुरकर्मी भवानी भट्टले गरेको कुराकानी :

क्यामेरा ट्रयापिङ विधिबाट बाघ र आहारा प्रजातिको अनुगमन गर्ने भनेको के हो ?

अनुगमन भनेको विशेष गरेर त्यो ठाउँमा बाघको संख्या कति छ ? बाघको घनत्व कति छ भन्ने कुरा पत्ता लगाउने एउटा अध्ययन हो । यसमा बाघ मात्र नभई आहारा प्रजाति पनि के कति छन् भन्ने विषयमा पनि अध्ययन गरिन्छ । समग्रमा त्यो क्षेत्रमा बाघले विचरण गरेको छ वा छैन भन्ने कुरा पत्ता लाग्छ । विशेष गरेर जैविक मार्ग भनेको आफैंमा वन्यजन्तु राख्ने भन्दा पनि वरपरका वन्यजन्तुलाई आवतजावत गराउन सक्षम छन् कि छैनन् भन्ने विषय महत्त्वपूर्ण हुने भएकाले ती बाघ तथा अन्य वन्यजन्तुहरू कताबाट विचरण गरेका छन् भन्ने देखाउँछ ।

How is tiger monitoring done?जस्तै शुक्लाफाँटामा पनि त्यही बाघ क्याप्चर भएको छ, जैविक मार्गमा पनि त्यही बाघ क्याप्चर भएको छ भने शुक्लाफाँटामा बसिरहेको बाघ जैविक मार्ग हुँदै भारतसम्म गइरहेको छ भन्ने जानकारी प्राप्त हुन्छ । आहारा प्रजातिको अध्ययनले भोलिका दिनमा त्यो क्षेत्रमा कत्तिको बाघहरू ओहोरदोहोर गर्न सक्छन् भन्ने जानकारी हुन्छ ।  बाघहरू बस्दा पनि उनीहरूलाई आहारा चाहिन्छ । बाघको संख्या निर्धारण गर्ने एउटा प्रमुख तत्त्व आहारा प्रजाति भएको हुनाले अनुगमनमा पनि समावेश गरिएको छ ।

क्यामेरा ट्रयापिङ विधि भन्नाले बाघ ओहोरदोहोर गर्ने बाटोमा स्वचालित क्यामेरा राखेर तस्बिर संकलन गरिन्छ । यसका लागि निश्चित ग्रिड बनाएर त्यसभित्र पनि बढी आउजाउ गर्ने स्थान पत्ता लगाएर क्यामेरा राखिन्छ ।

अहिले अनुगमन भइरहेको ब्रह्मदेव करिडोरमा कति क्षेत्रफलमा कतिवटा स्वचालित क्यामेरा जडान गरिएको छ ? ती क्यामेरा कति दिनसम्म राखिन्छ ?

अहिले बाघ तथा आहारा प्रजातिको अनुगमन भइरहेको ब्रह्मदेव करिडोर र आसपासको करिब ३ सय वर्ग किलोमिटर क्षेत्रमा ७५ जोडी स्वचालित क्यामेराहरू जडान गरिएका छन् । जडान गरिएको मितिदेखि कम्तीमा १५ दिनसम्म राखिन्छ ।

बाघको अनुगमन तथा गणनामा प्रयोग भइरहेका क्यामेरा कति महँगो पर्छन् ? कहाँबाट ल्याइएको हो ? अनि क्यामेरा कसरी चार्ज भइराख्छ र यसले कसरी फोटो वा भिडियो रेकर्ड गर्छ ?

हामीले ब्रह्मदेव करिडोरमा प्रयोग गरिरहेका क्यामेराहरू धेरैजसो प्यान्थेरा र एक-दुई थान कडीब्याग कम्पनीका छन् । यसको मूल्य ४०/५० हजार रुपैयाँ हाराहारी पर्छ । यसमा एउटा मेमोरी कार्ड हुन्छ । क्यामेराले खिचेको फोटो वा भिडियो मेमोरी कार्डमा सेभ हुन्छ ।

How is tiger monitoring done?क्यामेराको अगाडि कुनै सजीव वस्तु हिड्यो अथवा पात पतिंगरै हल्लियो भने मोसन सेन्सटिभ भएकाले अगाडि भएका जुनसुकै गतिविधिको फोटो खिच्छ । यसमा विभिन्न किसिमको सेटिङ पनि गर्न मिल्छ । जस्तै एकपटकमा तीनवटा फोटो खिच्ने वा वस्तु अगाडि हिँड्यो भने भिडियो बनाउन पनि मिल्छ । यो पहिले नै सेटअप गरेर फिल्डमा राखिन्छ । ब्याट्री पनि डबल ए साइजको हुन्छ । कम फोटो खिच्यो भने १५/२० दिन पुग्छ । धेरै फोटो खिचेको हकमा एकपटक बीचमा ब्याट्री परिवर्तन गर्नुपर्ने हुन्छ ।

कहाँ कहाँ क्यामेरा राख्ने भनेर कसरी र केका आधारमा निर्णय गरिन्छ ?

सुरुमा समग्र सर्भेक्षण गरिने क्षेत्रलाई २ गुणा २ किलोमिटरका ग्रिडमा विभाजन गरिन्छ । प्रत्येक ग्रिडमा बाघ हिँड्न सक्ने स्थान गोरेटो बाटो वा फायरलाइन छ भने त्यस्तो पत्ता लगाएर क्यामेरा जडान गरिन्छ । प्रत्येक ग्रिडमा बाघ एक न एकपटक त्यो बाटो हिँड्छ भन्ने मान्यता छ । बाघको दिसा, रुख तथा माटोमा चिथोरेका आदि संकेतका आधारमा हिँड्ने बाटो पत्ता लगाउन सकिन्छ ।

एउटै बाघ धेरै क्यामेरामा देखिएको छ कि छैन भनेर कसरी थाहा हुन्छ ?

मानिसको फिंगर प्रिन्ट (औंठा छापा) फरक भएजस्तै बाघका पाटाहरू पनि फरक हुन्छन् । एउटासँग अर्काको म्याच हुँदैन । त्यसको आधारमा बाघहरू एकअर्कासँग छुट्याउन सकिन्छ । जस्तो : ५ सय फोटोहरू छ भने कतिवटा बाघ छन् भन्ने उनीहरुको पाटाहरू केलाएर त्यसकै आधरामा पाटाअनुसार यो बाघ योभन्दा फरक छ भनेर औँल्याउन सकिन्छ । त्यही भएर दुईवटा क्यामेरा एउटा ग्रिडमा राखिन्छ । ताकि दुवैतर्फको पाटाको फोटो प्रस्ट आओस् । त्यसको दायाँ र बायाँ प्रोफाइलमा कुन हुन्छ ? एउटा क्यामेरा मात्रै राख्दा कुनै बाघको दायाँको  वा बायाँको प्रोफाइल मात्रै खिच्न सक्छ । यसबाट छुट्याउन गाह्रो हुन्छ । त्यही भएर एउटा स्थानमा ६ देखि १० मिटरको दूरीमा बाटोको दुवैतर्फ दुईवटा क्यामेरा राख्नुको कारण यही हो ।

यो काममा कति जनशक्ति खटिएका छन् र उनीहरूले कति दिनसम्म काम सक्नेछन् ?

अहिले ६ वटा समूह बनाएर काम भइरहेको छ । जेडएसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय डडेलधुरा र कञ्चनपुर, चुरे संरक्षण सञ्जाल, सामुदायिक वन, वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरू सबै गरेर ३५ जना खटिएका छन् । उहाँहरूले १५ रात क्यामेरा राख्नुहुन्छ । राख्ने र झिक्ने गरेर २० दिन लाग्छ ।  त्यसपछि फोटो कति क्याप्चर भएको छ, त्यसको आधारमा विश्लेषणको समय कम-बढी हुन्छ । फोटो धेरै क्याप्चर भएको छ भने समय बढी लाग्छ । सामान्यतया दुई महिनामा नतिजा आउन सक्छ ।

बाघ गणनाबाट के उपलब्धि हुन्छ ?

बाघ भनेको एपेक्स प्रेरेटर (शीर्षस्थ परभक्षी प्राणी) हो । पारिस्थितिकीय प्रणालीको शीर्षस्थ प्रजाति हो । बाघको संरक्षण हुँदै गर्दा त्यहाँको समग्र जैविक विविधता त्यहाँ भएका अन्य वन्यजन्तुको पनि संरक्षण हुन्छ भन्ने हेतुले बाघलाई विशेष प्राथमिकता राख्ने गरिएको छ । राज्यका विभिन्न नीतिहरूमा पनि त्यो परेको छ ।

त्यसपछि बाघको उपस्थिति कुन ठाउँमा छ भन्ने विषय पत्ता लगाएर व्यवस्थापनका लागि पनि थप ज्ञान दिन सक्छ । चोरी सिकार नियन्त्रण, आहारा व्यवस्थापन र वासस्थान व्यवस्थापनमा पनि अनुगमनले फाइदा गर्छ । बाघ तथा आहारा प्रजातिको अनुगमन कार्यविधि, २०७३ ले बाघको घनत्व कम भएको तथा चोरी सिकार हुन सक्ने जैविक मार्ग र संरक्षित क्षेत्रहरुमा नियमित रूपमा अनुगमन गर्नुपर्ने व्यवस्था गरेको छ ।

कान्तिपुर

Link copied successfully