'विद्यार्थीलाई जागिरसँग जोड्ने क्रियाकलाप पनि चाहिन्छ'

पुस १६, २०८१

कान्तिपुर संवाददाता

'Students also need activities to connect them with jobs'

त्रिविको ५० औं स्वर्ण दीक्षान्त समारोहमा एमए अर्थशास्त्रमा सर्वोत्कृष्ट नतिजा ल्याएर पदक र पुरस्कार पाउने छात्रा श्रीज्या काफ्लेसँग गरिएको कुराकानी

सर्वोत्कृष्ट नतिजा ल्याएर गोल्ड मेडललिस्ट हुँदाको अनुभव कस्तो रह्यो ?

मेरो लागि खुसीको क्षण हो । मेरो सपना नै थियो । अरु बाँकी लक्ष्यहरु पूरा गर्न यो गोल्ड मेडल मेरो लागि प्रेरणा हो । यो खुसीलाई पहिले परिवारसँग साटें । सबै जना खुसी हुनुभयो । मेरो खुसी झन् बढ्यो । पहिलो पटक गोरखापत्रमा नाम देख्नेबित्तिकै भावुक भएछु । मेरो नाम त्यसरी आउने अपेक्षा नै गरेको थिइनँ ।

पढ्ने तरिका, पढेको कुरा सम्झने, परीक्षाको तयारी गर्ने केही टिप्स हुन्छन् ?

हामीले परीक्षामात्रै भनेर पढेर हुँदैन । आन्तरिक नम्बर पनि गणना हुन्छ । टम पेपर र असाइनमेन्टहरु हुन्थ्यो । यी काममा पनि म निकै मिहिनेत गर्थे । चाहे २ नम्बरको होस्, चाहे १० नम्बरको होस् । मैले सतप्रतिशत नै दिन्थे । परीक्षाका लागि पहिलेदेखि नै बुझेरमात्रै पढ्ने मेरो बानी थियो । कण्ठ गरेर कहिले पनि पढिनँ । कन्सेप्टहरु बुझने गर्थे । बुझ्न सकिए भने साईड लगाउने अनि फेरि एकछिनमा पढ्ने गरेँ । एउटै विषय लगातार कहिले पनि पढ्न सकिनँ ।

माइक्रो इकोनोमी दुई घण्टा पढें भने त्यसपछि अर्को विषय पढ्थें । मेरो लागि चाहिँ लेखेर पढ्नु पर्थ्यो । पढेको कुरा लेखेन भने बिर्सन्थे । पढेको बुझेपछि लेख्न थाल्थें । अर्थशास्त्रमा सैद्धान्तिक कुरा धेरै हुन्छ । फिगर बनाउनुपर्ने हुन्छ । एउटा अर्कोसँग मिल्दो जुल्दो भएर कन्फ्युजन हुन सक्छ । धैरै वटा सिद्धान्तहरु एकै पटक पढेको हुन्छ । पहिला त्यसको परिचय दिने, त्यससम्बन्धी चार्ट बनाउने गर्नुपर्छ । त्यसलाई व्याख्या गर्न सक्ने हुनुपर्छ । लेख्न र परीक्षा तयारीका लागि यति भएपछि प्रर्याप्त हुन्छ ।

प्लस टुमा साईन्स पढ्नु भयो । विज्ञान विषय लिएर पढ्नेको रोजाई प्राय: डाक्टर, इन्जिनियरतिर हुन्छ । तपाईं किन अर्थशास्त्रमा आकर्षित हुनु भयो ?

स्कुल पढ्दादेखि नै पछि साइन्स पढ्छु भन्ने थियो । साईन्समा पनि बायोलोजी पढे पनि डाक्टर, इन्जिनियर दुवैतर्फ जान पाउँछु । मेरो क्षेत्र पनि बृहत् हुन्छ जस्तो लाग्थ्यो । पढ्दै जाँदा उमेर पनि बढ्यो गयो । डाक्टर बन्न मन लागेन । काममात्रै गरिरहेन विषय पढ्न मन लागेन । मलाई पढ्नेमात्रै होइन । रमाइलो पनि गर्नुपर्छ । इन्जिनियरिङ पढ्न पुल्चोक क्याम्पसमा इन्ट्रास दिएको थिए । धेरै इच्छाचाहिँ थिएन । पास त भईयो तर त्यसअघि नी बीबीएमा भर्ना भइसकेको थिए । मेरो दिदीले पनि बीबीए पढ्नु भएको थियो । उहाँले बीबीएको सम्भावना देखाएर त्यही पढ्न सल्लाह दिनुभयो । केयूमा पढ् भन्नु भयो । त्यही पढें । अर्थशास्त्र विषय रोजें । त्यसमैमा विशेषज्ञता हासिल गर्दै जान थालें । अर्थशास्त्र हाम्रो दैनिक जीवनमा पनि प्रयोग हुने हुँदा धेरै रमाइलो पढाई भयो । अर्थशास्त्र सानो परिवारदेखि देशसँग पनि जोडिएको हुन्छ । त्यसलाई पढ्दै जाँदा रोचक अनुभव गरे ।

पहिलो र जेठो त्रिभुवन विश्वविद्यालयमा नै किन रोज्नु भयो ?

मेरो स्कुलिङ सेन्ट मेरिटदेखि सेन्ट जेभियर हुँदै भएको हो । निजी स्कुल, कलेजमा नै पढ्दै आएँ । अर्थशास्त्रमा एमए गर्न काठमाडौं विश्वविद्यालयमा रोजेको विषय पाइनँ । बिजनेस इकोनोमिक्स त्यहाँ अहिले मात्र सुरु भएको छ । कुरेर बस्न मन लागेन । पढाईमा ग्याप राख्ने कुरा पनि भएन । टीयूमा पढाइ चाहिँ राम्रो छ । प्रशासनिक समस्या हुनसक्छ भन्ने सुनेको थिएँ । अलिअलि दुःख त पाइएला तर टीयूको अर्थशास्त्र राम्रो रहेको थाहा भएपछि अरु केही पनि सोचिनँ । टीयूमा नै भर्ना भए । समस्याहरु भए । कक्षा निरन्तर हुन चाहिँ सकेन । कोभिड पनि थियो । बेकार भर्ना भएछु जस्तो महसुस पनि भयो । पढाई अघि नै बढ्दैन । परीक्षा पनि हुँदैन । टीयूलाई मात्र दोष दिनु पनि हुँदैन । कोभिडले पनि हो । अनलाइन कक्षा पनि भयो । यो सकारात्मक कुरा पनि हो । केही समस्याहरु भए पनि अनुभव राम्रो गर्न पाइयो ।

त्रिविबाट डिग्री लिनु भयो । समग्रमा पाठ्यक्रम, पठनपाठन शैली, परीक्षा प्रणाली, अनुसन्धानको पाटो चाहिँ कस्तो छ ?

दुई वटा विश्वविद्यालयमा पढ्दा मैले फरक पाए । काठमाडौं विश्वविद्यालयमा सबै कुरा सिष्टममा हुन्थ्यो । अनुसन्धानतर्फ हेर्ने हो भने टीयूमा एकदमै धेरै सम्भावना रहेको छ । त्यहाँ अन्तर्राष्ट्रिय एक्सपोजर पनि मैले पाए । अन्तर्राष्ट्रिय जर्नलमा आटिक पब्लिस हुने गरी एक्सपोजर पाएको थिएँ । त्यो भनेको ठूलो उपलब्धि हो । त्यसैले टीयू रिर्सचका लागि एकदमै राम्रो छ ।

फ्याकेल्टीहरु पनि एकदम सहयोगी हुनुहुन्छ । धेरै राम्रो नै भन्छु । तर इन्टनसिप चाहिँ टीयूमा देखिन । अर्थशास्त्रमा पोलेसी रिर्सच गर्नुपर्ने हुन्छ । अरु फिल्डमा पनि रुची छ भने ३ महिना जति इन्टर्नसिप गर्नुपर्ने हुनुपर्ने थियो । त्यो पाइनँ । त्यसले एउटा अनुभव पनि हुन्थ्यो । मैले आफ्नै हिसाबले गरे । त्यो व्यवस्था विश्वविद्यालयमा भएको भए विद्यार्थीले लाभ प्राप्त गर्न सक्थें । त्यो अपुग लाग्यो । थिंकट्यांकहरुसँग संलग्न भएर काम गर्ने मौका पाइएन । अर्थशास्त्रमा झन् त्यो अनिवार्य थियो । त्रिविले त सरकारसँग मिलेर पनि त्यो काम गर्न सक्छ । स्रोत पनि छ । राष्ट्रिय तहमा त्यो गर्न सक्यो भने अझ राम्रो हुन्छ ।

पाठ्यक्रममा पनि परीक्षामा प्रश्न सोध्दा केशमासम्बन्धी भएर सोध्ने भए राम्रो हुन्थ्यो होला । प्रश्नपत्रहरु व्यवहारिक रुपमा सोध्ने अभ्यास पनि गर्नुपर्छ होला । सिद्धान्तको कुरामात्रै भन्दा पनि त्यसबाट अघि अगाडि बढ्नुपर्छ । कोर्ष पनि त्यसै नै डिजाइन गर्नुपर्छ । पाठ्यक्रम राम्रो भए पनि प्रश्नपत्र बनाउने कुरामा टीयूले परिवर्तन गर्नुपर्छ । शिक्षालाई सिपमूलक बनाउने कुरा विद्यार्थी पनि निर्भर हुन्छ । म स्कुल पढ्दादेखि नै चित्रकला, नृत्य, संगीतमा अभ्यस्त हुन थाले । हरेक स्कुलले पढाइको अतिरिक्त त्यसतर्फ पनि सोच्नुपर्छ । 

बालबालिकालाई के मनपर्छ । त्यो छनोट गर्न दिनुपर्छ । हाम्रो स्कुलमा स्काउट र ब्यान्ड हुन्थ्यो । विद्यार्थी जो जता मन पर्छ त्यतै जान्थे । स्कुलहरु नै त्यसै गरी डिजाइन गर्नुपर्छ । विद्यार्थीले आफूले मन परेको विषय र क्षेत्रमा भविष्य रोज्न पाउनुपर्छ । विद्यार्थी म्युजिकतर्फ लाग्ने कि पढाइतर्फ अघि बढ्ने कि अरु केही रोज्ने स्कुलबाटै विद्यार्थीलाई छान्ने अवसर दिँदै जानुपर्छ ।

टीयूको केन्द्रीय विभागबाट शैक्षिक उपाधि प्राप्त गर्नु भयो । त्यहाँको आकर्षक पक्षचाहिँ के पाउनु भयो ?

ग्राउण्डमा, बगैंचामा पनि सुतेर पढिराखेको देख्दा रमाइलो लाग्थ्यो । सबैतिर मान्छेहरु पढिराखेको देख्दा मेरो लागि पनि प्रेरणा नै भयो । पुस्तकालयदेखि जताततै पढे लेखेको मात्र भेटिने । फ्याकल्टीहरु सधैं अघि बढ्न प्रोत्साहन गर्ने खालको हुनुहुन्छ । कसैलाई अनुसन्धानतर्फ रुची छ भने सहजीकरण गर्ने वातावरण पनि मैले पाए । त्रिविको परिसरभित्र जाँदा नै पढाइको लागि उत्प्रेरणा दिने वातारण भएको छ । सानो कुचुक्क परेको हो-होल्ला हुने खालको छैन । विद्यार्थीले खोज्ने भनेको फ्याकल्टीको सहयोग हो । त्यो कुरा मैले त्रिविबाट पाए । पढाई, बुझाईमा समस्या परेपछि उहाँहरुले प्रशस्त समय दिने यो पनि सुन्दर पक्ष लाग्यो ।

पछिल्लो समय धेरै विद्यार्थी विदेश जान थालेका छन् । खासमा नेपालको शिक्षाको गुणस्तर नै नभएर गएका हुन् कि सुरक्षित भविष्यका लागि पनि गएका हुन् ?

नेपालमा गुणस्तर नभएर हो जस्तो लाग्दैन । जाने त यहाँको डिग्रीले नै बाहिरको परीक्षाहरु पास गरेर जाने हो । यहाँको सर्टिफिकेट कामै लाग्दैन भन्ने चाहिँ होइन । म वा अरु कोही बाहिर पढ्न जाँदा त्यहाँ पढेको कुराले त्यहाँको परीक्षा पास गरेर जाने हो । त्यसैले यहाँको पढाइ काम नलाग्ने छ भन्ने हुँदै होइन ।

अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी नेपालको शिक्षा प्रणालीले तयार पारिराखेको छ । तर यहाँ अवसर धेरै छैन । कम्तीमा डिग्री लिएपछि जागिर त पाउनु पर्‍यो नि ! होइन भने किन डिग्री लिनु ? पढाइमा समय, पैसा खर्च गर्ने भनेको अन्तिममा त आम्दानी गर्नलाई नै हो । अर्थशास्त्रको सिद्धान्त पनि यही हो । तर यहाँ कमाई गर्न प्लेटफर्म भेटिएन भने विद्यार्थी विदेश जान्छन् । त्यसको कमी नेपालमा छ ।

शिक्षा सुधार गर्न तपाईंको सुझाव के छ ?

धेरै पुराना पाठ्यक्रमको आधारमा पठनपाठन भइरहेको छ । पाठ्यक्रम परिवर्तन गरिनुपर्छ । टीयूको परीक्षामा प्रश्नपत्र दोहोरिने, उत्तरपुस्तिका हराउने हुन्छ । यो भनेको चरम लापरबाही हो । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नु हुँदैन । शिक्षा र परीक्षा भनेको संवेदनशील विषय हो । यसमा नियन्त्रण गर्नुपर्छ । दोषीलाई कारबाही पनि गर्नुपर्छ । हाम्रै व्याचमा पनि गत वर्षको प्रश्न हुबहु दोहोरियो । त्यसमा को जिम्मेवार छ । सजाय दिनुपर्छ । यस्तो लापरबाही गर्दा पनि कारबाही नगर्नु भनेको त जे गर्दा पनि हुन्छ भने जस्तो भयो । 

टीयूलाई सुधार गर्ने हो भने त्यो गर्नुपनै पर्छ । विद्यार्थीलाई जागिरसँग जोड्ने क्रियाकलाप पनि गर्न सक्नुपर्छ । विद्यार्थीहरुलाई अवसर दिने वातावरण बनाउनुपर्छ ।

तपाईंको आगामी शैक्षिक भविष्य कस्तो होला ?

मलाई पीएचडी गर्न मन छ । त्यसैको तयारीमा छु । विदेशमा नै पीएचडी गर्छु । अन्तर्राष्ट्रिय शिक्षाको पनि अनुभव गर्न चाहन्छु । त्यहाँको पढाइ, अनुसन्धानको पनि अनुभव गर्ने मन छ । त्यसपछि नेपाल फर्केर महिला अर्थशास्त्र बन्ने मेरो अर्को प्लान हो । 

कान्तिपुर

Link copied successfully