'सेना प्रहरीमा जागिर छाड्ने बढदो प्रवृत्तिले भविष्यमा समस्या ल्याउन सक्छ'

'पछिल्लो ५ वर्षमा १० हजार २१५ ले राजीनामा दिँदा ५ हजार २५६ जना अनिवार्य अवकाशमा छन् ।'

पुस १५, २०८१

विवेक पोख्रेल

'Increasing tendency to quit jobs in army police may cause problems in future'

काठमाडौँ — प्रहरीको संरचनात्मक र गुणात्मक सुधार अनि नीतिगत बदलावको पक्षमा विभिन्न फोरमहरूमा बोलिरहन्छन् नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदी । नेपाल प्रहरीमा जीवनका तीस वर्ष बिताएका उनी हिजोआज अध्ययन र अनुसन्धान संलग्न छन् ।

सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीमा नियमित अवकाशमा जानेहरूको भन्दा बीचमै राजीनामा दिनेहरूको संख्या बढिरहेको सर्न्दभमा यसको अर्थ के हो र यसले सुरक्षा संयन्त्रमा कस्तो असर पार्छ भन्ने विषयमा उनै पूर्वएआईजी सुवेदीसँग कान्तिपुरकर्मी विवेक पोख्रेलले गरेका कुराकानीका सम्पादित अंश :

सेना र प्रहरी सेवाबाट अनिवार्य अवकाश लिनेहरूको तुलनामा स्वेच्छाले जागिर छाड्नेहरूको संख्या दोब्बर छ ।  पछिल्लो पाँच वर्षमा १० हजार २१५  जनाले राजीनामा दिँदा ५ हजार २५६ जनाले अनिवार्य अवकाश लिएका छन् । यस्तो अवस्था किन आएको होला ?

यो पाँच वर्षको मात्रै तथ्यांक भयो । यो संख्या एकदमै असाधारण नभए चिन्ताजनक अवश्य हो । सरकारी सेवामा लामो समय काम गर्नुका आफ्नै फाइदा र स्थिरता हुन्छ ।  जसका धेरै फाइदा छन् । सुरक्षा निकायमा काम गर्नु केबल राष्ट्रप्रतिको प्रतिबद्धता मात्र होइन, उच्चस्तरको समर्पण भाव पनि  हो । यस्ता सेवामा संलग्न हुन त्यति सजिलो छैन । राजीनामा दिनेको संख्या बढनु भनेको अनपयुक्त कुरा भए पनि असामान्य भने होइन ।

समाज जसरी परिवर्तन भएको, यो त्यसको प्रतिबिम्ब मात्रै हो । जागिर छाड्नेहरू सेना/ प्रहरीमा काम गर्ने व्यक्ति मात्र नभएर समाजका हिस्सा पनि हुन् । समाज नै माइग्रेटिङ कल्चरमा अघि बढेको छ । जागिर छाड्ने कुरामा पनि यही अभ्यास देखिएको हो । आजका व्यक्तिहरूमा पहिलेजस्तो स्थिरताको भावना देखिँदैन । एकैठाउँमा लामो समय बस्नुपर्ने कामप्रति पनि आकर्षण घट्दो छ । अनि सबैलाई जहाँ गएर पनि काम गर्न सक्ने अधिकार छ र सबै क्षेत्रमा राम्रो जागिर छाड्ने थप राम्रो रोज्ने अभ्यास छ ।

कतिपयका लागि सेना र प्रहरीको जागिर जीवनकै सपना जस्तो पनि हो । किनकि सेना प्रहरीमा भएपछि परिवारका सदस्यहरूको समेत शिक्षा र स्वास्थ्यजस्ता सुविधाहरू नि:शुल्क पाउँछन । हेर्दा स्थिरता, सुरक्षा, र सम्मान जस्तो देखिए पनि किन मानिसहरूले यो पेसा छोडिरहेका छन् ?

हाम्रो सभ्यता यतिबेला माइग्रेसेन प्रक्रियामा छ । प्रत्येक तेस्रो वा दोस्रो पुस्ताले आफ्नो जीवनमा माइग्रेसनको अनुभव गरेका छन् । यो यहाँको मात्रै नभएर विश्वव्यापी परिघटना हो । यो प्रवृत्तिलाई बृहत् परिप्रेक्ष्यबाट हेर्ने हो भने समाजमा निरन्तर परिवर्तन र अवसरहरूको खोजी भइरहेकै हुन्छ । जीवनलाई सहज र सुविधाजनक बनाउन मानिसहरू यस्त कदम चाल्ने गर्छन् ।

'Increasing tendency to quit jobs in army police may cause problems in future'नयाँ, अझ राम्रो अवसरहरूको खोजीमा अग्रसर हुनु स्वाभाविक कुरा हो । व्यावसायिक प्रतिबद्धता छाडेर मानिसहरू सहज र सुविधाजनक स्थानतर्फ गइरहेका छन् । कोही पनि जागिर छोडेर घरमा बस्न पुगेका छैनन् । नयाँ अवसरहरू खोज्दै उनीहरू राम्रो काम र उच्च आम्दानीको खोजीमा अगाडि बढिरहेका छन् । कतिपय भने साथीभाइ  विदेश गएको देखासिकीले पनि विदेश जानेहरू पनि छन् । अर्को महत्त्वपूर्ण कारण भनेको नेपाली सेना/प्रहरीको तालिम र शिक्षा विदेशमा बिक्ने खालको छ । जुन विदेशी र नेपालकै श्रम बजारका लागि पनि महत्त्वपूर्ण छ ।

पहिले जागिर छाडेपछि पाइने यस्ता अवसरहरू थिएनन् वा कम थिए । त्यसैले जागिर छोडनेको दर पनि कम थियो । यी सबै कुराको बाबजुद पनि भर्ना हुँदा आउनेको संख्या निकै ठूलो छ । एउटाले जागिर छोडेपछि त्यहाँ नयाँले अवसर पाइरहेका छन् भनेर पनि हेर्न सकिएला । विशेष तालिम र प्रतिबद्धतासहित सेवामा आएका व्यक्तिहरूले जागिर छोड्दा ती निकायमा केही चिन्ता भने अवश्य हुन्छ । यो कुराले अहिले समस्या नभए पनि भोलिका दिनहरूमा समस्या निम्त्याउन सक्छ । यहाँका दक्ष जनशक्ति नै रित्तिए भने के गर्ने ? यो सेवामा पसेपछि कति वर्ष सेवा दिने भन्ने कुरामा स्पष्ट हुन सकिएन भने यसले दीर्घकालीन असर पार्छ ।

राज्यले सेना/प्रहरीको गाँस र बास सुनिश्चित गर्दै तलब वृद्धि गरेर जागिर छोडने दर घटाउन सकिन्छ कि ?

विश्वभर नेपाललाई अझै पनि गरिब मुलुककै रूपमा लिइन्छ । यसले धेरै कुराहरू जनाउँछ । सरकारले के गर्न सक्ने र के गर्न नसक्ने भन्ने एउटा पक्ष हो, तर अर्को महत्त्वपूर्ण पक्ष भनेको देशको अवस्था पनि हो । अनि यो कुरा  सरकारको प्राथमिकतामा पनि भर पर्ने कुरा हो । अहिले देखिएका समस्याहरू हल गर्नतर्फ राज्य लागेको देखिन्न ।

'Increasing tendency to quit jobs in army police may cause problems in future'तर केही कुरा छन् त्यसलाई ध्यान दिने हो भने बीचैमा जागिर छाड्नेको संख्यामा कमी आउँछ । त्यसका लागि प्रहरीलाई घर दिनुपर्छ । अनि सेना/प्रहरीले पेसाको महत्त्व पनि बढाउने काम पनि गर्नुपर्छ । पुरस्कार र सेवासुविधा जस्ता उत्प्रेरण बढाउनेतर्फ पनि काम गर्नुपर्छ । जसले पेसाप्रतिको सोच नै बदलिन्छ । सामान्य आवश्यकता पूरा भयो भने मानिस यहाँको जीवन छाडेर सहजै बाहिर जाँदैन । यहाँको महँगीअनुसार उनीहरू अवश्यकता पूरा भयो भने समस्या कम हुन्छ ।
सेना प्रहरीको जागिरमा रहेकाहरूले जागिर छाड्दा देशको सुरक्षा प्रणालीमा असर पर्दैन ?

दक्ष मानिसहरू जानु त समस्याको कुरा नै हो । किनकि ती मानिसमा राज्यको ठूलो आर्थिक र समय लगानी भएको छ । यस्तो जनशक्ति भन्नेबित्तिकै तयार पनि हुँदैनन् । अनुभवी मानिसले जागिर छाड्ने जाँदा झन् बढी घाटा हुन्छ । क्षमता प्रर्दशन गर्ने बेलामा जागिर छाडेर जाँदा त्यस्तै जनशक्ति फेरि तयार पार्न गाह्रो नै हुन्छ । तल्लो दर्जाका सेना प्रहरीले काम छाड्ने र उनीहरू लेबर दर्जामा नै जाने भएकाले सुरक्षामा नै असर पर्ने कुरा त नहोला । तर उनीहरूले यहाँको काम छाड्ने के काम गर्दै छन् भन्ने कुराले भने अर्थ राख्छ ।

तल्लो दर्जामा जागिर छोड्नेको संख्या धेरै हुँदा माथिल्लो दर्जामा यो समस्या नदेखिनुको कारणचाहिँ के हो ?

यसको कारण भनेको विश्व श्रम बजारमा ठूलो आकार हो । माथिल्लो तहका व्यक्तिहरूलाई मिल्ने खालको जागिर विश्वबजारमा कम छ । शिक्षित व्यक्तिहरूको माग कम छ । तर श्रम जनशक्तिको भने माग बढ्दो छ ।  तल्लो पदमा काम गर्ने व्यक्तिहरू सेक्रेटरी प्रयोजन वा अन्य कामका लागि जान्छन् । जबकि माथिल्लो ओहोदामा काम गरेकाहरूले आफ्नो क्षमता नुसारको काम सजिलै पाउँदैनन् । किनकि विदेशमा पनि ती स्थानमा त्यस देशका आफ्नै जनशक्ति उपलब्ध छन् । कतिपय ठूला दर्जाका व्यक्तिहरूलाई राजनीतिमा पुग्न सक्ने सम्भावना हुन्छ, तर यसलाई मात्र मापनको आधार मान्न सकिँदैन । पेसाको उच्च ओहोदामा पुगेकाहरूले पैसा नै सबैथोक नठानेको पनि हुन सक्छ ।  किनकि विदेश जानेबित्तिकै नेपालमा भएको स्टाटस त कम हुन्छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully