युद्धका बेला सूचना थाहा पाउन बडो गाह्रो हुँदो रहेछ, हामीले सोच्ने कुरा र फिल्डको वास्तविकता नै फरक देखियो । सन् २०२३ अगस्टदेखि सेप्टेम्बरसम्म धेरै समूह भर्ना भएका रहेछन्, सबैको करार सकिएकाले पनि अब बसिराख्दा समस्या हुन्छ ।
काठमाडौँ — रुसले कम्तीमा १५ सय जना नेपाली युवालाई सेनामा भर्ना गरी युक्रेनसँग लड्न विभिन्न मोर्चामा पठाइरहेको छ । जसमध्ये ४९ नेपाली युवाको मृत्यु भएको पुष्टि भइसकेको छ । ५७ जनाको शव पहिचान गर्न डीएनए परीक्षणको प्रक्रियामा छ ।
सम्पर्कविहीन भएका १ सय १८ जनाका परिवारले खोजीका लागि कन्सुलर विभागमा निवेदन दिइसकेका छन् । रुसी सेनामा संलग्न नेपालीको तुरुन्तै उद्धार गर्न देखिएको कठिनाइदेखि क्षतिपूर्ति पाइने/नपाइनेको विषयमा रुसमा साढे दुईवर्षे कार्यकाल बिताएर फर्किएका तत्कालीन नेपाली राजदूत मिलनराज तुलाधरसँग कान्तिपुरका दुर्गा खनाल र होम कार्कीले गरेको कुराकानी :
रुस र युक्रेनबीच लडाइँ चलिरहँदा रुसमा कार्यरत नेपाली समस्यामा परेका छन् । साढे दुई वर्ष राजदूत भएर फर्किनुभएको तपाईले नेपालीहरू विगतदेखि अहिलेसम्म के–के काम र आवश्यकताले त्यहाँ पुगेको पाउनुभयो ?
नेपालबाट सबैभन्दा पहिला पश्चिमका जयपृथ्वीबहादुर सिंह पुगेको भन्छन् । तर उहाँको अभिलेख मैले पाइनँ । १९५३ तिर महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, पूर्णबहादुर यमी पुगेको भन्ने अभिलेख भने पाएँ । दोस्रोपटक जाँदा उहाँ उपचारका लागि एक महिना रुसमा बस्नुभयो । देवकोटाले ‘उद्देश्य के लिनु उडी चन्द्र छुनु एक’ भन्ने परिकल्पना गर्नुभएको थियो ।
साहित्यमा समेत धनी रहेको रुससँगको सम्बन्ध देवकोटा र समहरूले सुरु गरेको भन्दा पनि हुन्छ । राजा महेन्द्रको भ्रमणपछि नै नेपालीहरू छात्रवृत्तिमा पढ्न थालेको देखिन्छ । खासगरी १९९० पछि केही विद्यार्थी पढाइ सकेपछि विवाह गर्ने र ब्यवसाय गरेर बसेको भेटिन्छ । आफ्नो हैसियतअनुसार व्यापार गरिरहेका छन् । गैरआवासीय नेपालीलाई संगठित गर्ने काम रुसमा बसेका मान्छेबाट सुरु भएको देखिन्छ । अहिले गैरआवासीय नेपालीको सञ्जाल विश्वव्यापी नै भएको देखिन्छ ।
पछिल्लो समयमा रुसी सेनामा पनि नेपाली भर्ती भएका छन् । त्यहाँ उनीहरूको प्रवेश कसरी भयो ?
व्यवसाय गर्ने र पढिरहेका विद्यार्थीको भन्दा अवस्था फरक छ । विद्यार्थीको नाममा अरु काम गर्न पाइन्छ कि भनेर जानेहरू देखियो । राम्रोसँग छात्रवृत्ति लिएर पढ्नेभन्दा पनि भाषा पढ्ने बहानामा कामको खोजीमा जान थालेको देखियो । तिनै विद्यार्थी काम खोज्ने दौरानमा सुटुक्क सेनामा भर्ती हुन थालेका रहेछन् । हामीले थाहा पाएपछि नेपाल सरकार, नेपाली दूतावासको पहुँचले गर्न सक्ने काम गर्यौं । रुसमा हजारौं नेपाली छन्, कसले के गर्दै छ भनेर सबै हामीले ‘ट्रेस’ गर्न सम्भव छैन ।
हामीलाई नेपालीहरू भर्तीमा लागेको कुरा पछि मात्रै थाहा भयो । हामीले सावधानी अपनाउन सन् २०२३ को अगस्टमा युद्धग्रस्त क्षेत्रमा उद्धार गर्न कठिन छ भनेर एउटा वक्तव्य जारी गर्यौं । नेपालीहरू आफैँ पैसा तिरेर आइरहेका थिए र युद्ध भइरहेको ठाउँमा लड्नका लागि सेनामा भर्ती भइरहेका थिए । युद्ध भइरहेको ठाउँमा जाँदा त तत्कालै मृत्यु हुन सक्छ । के भन्न सकिन्छ र ? यो त चान्सको कुरा हो ।
कोही धेरैवटा लडाइँको मोर्चामा लड्दा पनि बाँचेर आउँछ । कोही एउटै मोर्चामा मारिन पनि सक्छ । अनुमान गर्न मिल्दैन । यो निकै जोखिमपूर्ण काम थियो । तर नेपाली भर्ना हुन चाहिरहेका रहेछन् । हामीले एकपटक पूर्वसैनिकहरू आएर अलमल भएर बसेको भेट्यौं । त्यहाँ सैनिक भर्ती खोलेको छ रे भनेर उनीहरू आएका रहेछन् । उनीहरूको दुई सय डलर पैसा कसैले खाइदिएपछि दूतवासको शरणमा आएका थिए । हामीले उनीहरूलाई सम्झाएर नेपाल पठाइदियौं । हामीले भर्ती भइसकेका र नभएका सबैलाई नेपाल जान प्रोत्साहित गरिरह्यौं ।
जतिखेर नेपालीहरू भर्ती हुन रुस आइरहेको खबर दूतावासको नोटिसमा थियो । त्यतिखेर नै दूतावासले रुसको सम्बन्धित निकायमा गएर भर्ना रोक्न ध्यानाकर्षण गर्नुभयो कि भएन ?
त्यो कुरा थाहा हुनसाथै पराराष्ट्र मन्त्रालयमा गयौं । यो सबै आन्तरिक कुरा थियो । पराराष्ट्र मन्त्रालयसँग हाम्रो नियमित भेटघाट भइरहन्थ्यो । उनीहरूले तपाईंहरूको कुरा रक्षा मन्त्रालयमा पुर्याइदिन्छौं भनेका थिए । त्यो कुरा हामीले अवश्य गरेका थियौं । त्यसरी नै कुरा चल्दै गयो । मानिस कसरी गइरहेका छन् ? कुन सूत्र प्रयोग भइरहेको छ भनेर पत्ता लगाउन हामीले नेपालको परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालयलाई परिचालन गर्ने कुरा हो । दूतावास आफैंले त केही गर्न सकिन्न । नेपालको विमानस्थलबाट कति गइरहेका छन् ? भारतबाट कति आइरहेका छन् ? अरब देशबाट कसरी आइरहेका छन् भन्ने कुरा दूतावासले सम्बन्धित निकायलाई सूचना दिने मात्रै हो । यो नियमित नै चलिरह्यो । आफ्नो च्यानलबाट हामीले काम गरिराख्यौं ।
नेपालबाट भन्दा पनि अरब देशबाट सयौंको संख्यामा रुसी सेनामा भर्ती भइरहेको ट्रेन्ड नै देखियो । रुसमा जानेहरूको लावालस्कर नै लागिरहेको थियो, त्यो बेला दूतावासको भूमिका अलि प्रभावकारी हुनुपर्ने होइन र ? हामी कतै चुक्यौंजस्तो लाग्दैन ?
मृत्युको खबर आउनासाथै हामी रुसको परराष्ट्र मन्त्रालयमा गयौं । शव कहाँ छ भनेर सोध्यौं । युद्ध मैदानमा भएको शव ल्याउन पनि समय लाग्यो । युद्धमा अलि फरक हुँदो रहेछ । कतिपय ठाउँमा मृत्यु भएको थाहा छ तर शव ल्याउन सकिँदैन । त्यो ठाउँ युक्रेनीको कब्जामा परेको हुन्छ । पछि जाँदा के भयो ? कसो भयो ? युद्धको बेलाको कुरा थाहा पाउन बढो गाह्रो हुँदो रहेछ । हामीले सोच्ने कुरा र फिल्डको वास्तविकता फरक हुँदो रहेछ । हामीले सुरुमै नेपालीको शव माग्यौं । सेनामा भर्ना लिन नहुने भनेर कूटनीतिक नोट पनि दिएका थियौं ।
पहिला सोभियत संघमा १५ वटा राज्य थिए । ती राज्यहरूका नागरिकले अहिलेसम्म रुसमा विशेष सुविधा पाउँछन् । मस्कोमा विभिन्न काम गरिरहेका हुन्छन् । त्यसमा पूर्वसोभियत संघ मुलुकका नागरिक ऐच्छिक रूपमा सेनामा गएका छन् । १५ देशका त सेनामा हुने नै भए ।
अरू देशका पनि सेनामा जान सक्छन् । त्यहाँ यस्तो नियम रहेछ । यही नियमको प्रयोग गरी नेपाली पनि भर्ना भएका रहेछन् । नेपाली भर्नामा छन् भन्ने भएपछि हामीले हाम्रो कुरा परराष्ट्रमार्फत त्यहाँको रक्षामा मन्त्रालयमा पठाइरह्यौं । हामीले कूटनीतिक रूपमा गर्न मिल्ने र हुन सक्नेसम्म कदम चालिरह्यौं ।
युद्ध क्षेत्रबाट शव ल्याउन कठिन भयो । त्यसपछि भर्ना बन्द गराउने कुरा अगाडि बढ्यो । यहाँ दुईवटा विषय महत्त्वपूर्ण छन् । २०२३ को अगस्टदेखि सेप्टेम्बरसम्म धेरै समूह भर्ना भएको रहेछ । तिनीहरू सबैको करार अहिले समाप्त भइसक्यो । करार समाप्त भएपछि फर्किनैपर्छ । कोही–कोही करार समाप्त भएपछि पनि बसिराख्दा त समस्या हुन्छ ।
मैले सेनाका अधिकृतहरूसँग पनि कुरा गरें । उनीहरूले नेपालीलाई भर्ती नलिने भनेर प्रतिबद्धता नै जनाए । २०२४ मेबाट भर्ना नलिइएको त घोषणा नै भयो । योभन्दा अगाडि पनि २०२३ को चिसोले डिसेम्बरपछि भर्ती हुने सम्भावना कम थियो । हामीले सूचनाको अभियान चलाउँदा, दलाल पक्राउ भएपछि रुसी सेनामा आउने पनि कम हुँदै आयो ।
रुसी सेनामा भर्ती भई नेपालीको मृत्युको खबर आउन थालेपछि भर्ना नलिन रुसलाई कूटनीतिक नोट पठाउने विषय सार्वजनिक भयो । यसले अलि असहज खालको परिस्थिति पनि निम्त्यायो । यस्तो बेला तपार्इंले मस्कोमा कूटनीतिक रूपमा कत्तिको अप्ठ्यारो परिस्थिति झेल्नुपरेको थियो ?
मैले अचानक काम गरेको भए अप्ठ्यारो परिस्थिति झेल्नुपर्थ्यो होला । तर, २०२२ देखि नै मस्कोमा सक्रियतापूर्वक कूटनीतिक सम्बन्ध विकास गरिरहेको थिएँ । विभिन्न राज्य भ्रमण गर्दा विदेश मन्त्रालयले एउटा प्रतिनिधि सँगसँगै पठाइदिएको हुन्थ्यो । भाषा अनुवादक दिन्थे । गाइड दिन्थे । महिना–दुई महिनामा एउटा कार्यक्रम गर्थे ।
रुसीलाई बोलाएर पर्यटन, आर्थिक र सांस्कृतिक कार्यक्रमहरू गरिराख्थे । मिडियासँग सम्बन्ध पनि राखेको थिएँ । परराष्ट्र मन्त्रालयसँग लगातर अन्तरक्रिया गरिरहेको थिएँ । यो सम्बन्धका कारण मलाई यी घटनाले खास प्रभाव पर्न दिइनँ । उनीहरूबाट धेरै सहयोग लिएँ ।
रुसी सेनामा भर्ती भइसकेका नेपालीलाई त्यहाँबाट निकाल्नचाहिँ किन कठिन भयो ?
उनीहरूको मोर्चा ठूलो र धेरै किसिमको रहेछ । लडाइँ एक ठाउँमा मात्रै केन्द्रित थिएन । २० औंभन्दा बढी ठाउँमा लडाइँ भइरहेको थियो । कुन–कुन ठाउँमा फैलिएर के गर्यो भनेर पत्ता लगाउन कठिन थियो । हामीले सबैभन्दा पहिला हाम्रा कति मान्छे छन् भनेर सोध्दा जवाफ दिइएन । मान्छेको संख्या, लोकेसन पाइएन । युद्धको देशमा यस्तो नभन्ने रहेछन् । रक्षा मन्त्रालयले कुन देशका नागरिक कति मरे भनेर गोप्य राखेको थियो । युद्ध लडिरहेको देशलाई हामी कति दबाब दिन सक्छौं ? युद्ध लडिरहेको रक्षा मन्त्रालयसँग सूचना लिन बडो कठिन छ ।
फ्रन्ट लाइनमा युद्ध लड्नेहरूको मृत्यु भएपछि काठमाडौंमा आफन्तहरू विरोध प्रदर्शनमा उत्रिएका थिए । उनीहरूको माग सम्बोधन गर्न के प्रयास भयो ?
अहिले धेरैको करार समाप्त भइसकेको छ । एक वर्षका लागि मात्रै भनेर करार गरेको हो । करार समाप्त भइसकेपछि पनि त्यहीँ बस्नुको कुनै तुक छैन । करार सकिएपछि पनि कुनै फिल्ड कमान्डरले राखिरहेको छ भने दूतावासले रुस सरकारलाई पत्र लेख्छ । त्यो लेखिरहेको पनि छ । करार सकिएर नपठाएको हकमा दूतावासलाई खबर दिनुपर्छ ।
करार समाप्त भएर पनि रोकेको छ भने हामीले भन्न मिल्छ । करार अवधिभित्र रहेकालाई निकाल्न हामीलाई कठिन थियो । तैपनि करार अवधि भएका धेरै जना आफ्नो तरिकाले युद्ध मैदानबाट बाहिरिएका थिए । २ सय जना त दूतावासको सम्पर्कमा आएर नेपाल फर्के । राहदानी हराएका पनि थिए । उनीहरूलाई दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो ।
दूतावासमा उनीहरूका लागि बस्न आश्रयस्थल पनि बनाएका थियौं । त्यहाँ ३०–४० जना बसेका थिए । उनीहरूको तलब सेवासुविधा बैंकमा राखिदिएको हुन्छ । पैसा झिक्ने काम सकिएपछि नेपाल फर्किने गर्छन् । जोससँग हातमा राहदानी छ, उनीहरू दूतावासमा आइराख्नु पर्दैन । त्यसैले उनीहरू फर्केको सूचना दूतावाससमक्ष आइपुग्दैनथ्यो । नेपालबाट कति जना रुसमा गए भन्ने सूचना त आयो । तर, रुसबाट कति जना फिर्ता भए भन्ने थाहै नहुने अवस्था छ ।
फ्रन्ट लाइनमा युद्ध लडेका घाइतेको उपचार र क्षतिपूर्ति पाउने अवस्था कस्तो छ ?
प्रत्येक घाउको बिमा हुन्छ । घाइतेको उपचार पनि राम्रो भएको सूचना आउँथ्यो । घाइते भएकाले क्षतिपूर्ति पनि पाएका छन् । करार भएका सबैले क्षतिपूर्ति पाएका छन् । तलबबाहेक भत्ता पनि पाइन्छ । त्यो सबै आफ्नो खातामा जम्मा हुन्छ ।
नेपाली रुसी सेनाकै हैसियतमा लडेका छन् कि रुसी सेनाका लागि तेस्रो पक्षबाट खटाइएका भाडाका सेना हुन् ?
यसमा पनि स्पष्ट पार्न चाहन्छु । खास गरी युक्रेनमा नेपालीहरू समातिए । त्यसपछि उनीहरू भाडाका सैनिक हुन् कि रुसी सैनिक नै हुन् भन्ने बहस भयो । भाडाका सेनाको हकमा युद्धबन्दीसँग सम्बन्धित अन्तर्राष्ट्रिय कानुन आकर्षित नहुने रहेछ । सेनाकै मान्छेलाई मात्रै अन्तर्राष्ट्रिय कानुनसँग सम्बन्धित ब्यवहार हुँदो रहेछ । त्यसबाट थाहा भयो कि, उनीहरू रुसी सेना नै हुन् । उनीहरूलाई रुसी सेनाको एउटा अंगको रूपमा व्यवहार भयो । रुसले पनि नेपाली र रुसी सेनाबीच फरक व्यवहार गरेको पाइँदैन । समान तलबभत्ता, सेवासुविधा र बिमा एउटै प्रदान गरेको छ ।
युद्धमा मारिएका नेपालीको शव ल्याउन के–के बाधा छन् ?
पहिलो समस्या नै बिमा देखियो । बिमाले रुसभित्र मात्रै एक ठाउँबाट अर्को ठाउँमा शव पुर्याउन लाग्ने खर्च व्यहोर्ने व्यवस्था गरेको रहेछ । नेपालमा लैजाने बिमाको व्यवस्था छैन । दोस्रो विषयमा वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृति नभएको व्यक्तिको शव ल्याउन लाग्ने खर्च नव्यहोर्ने रहेछ । नेपालमा शव ल्याउन परिवार आफैँले खर्च व्यहोर्नुपर्ने रहेछ ।
अर्को कुरा हामीलाई शव कुन अवस्थामा छ भन्ने पनि थाहा छैन । डीएनए परीक्षणबाट शवको पहिचान त हुन्छ, युद्धमा मारिएको व्यक्ति सग्लो छ कि छैन भनेर भन्न कठिन छ । अस्तुसम्म ल्याउने काम भइरहेको छ । सुरुमा दुई जनाको शवको अन्त्येष्टि क्रिस्चियन संस्कृतिअनुसार भएछ । त्यो थाहा भएपछि हामीले रोक्न लगायौं । नेपालमा हिन्दु र बौद्ध धर्मावलम्बीको बाहुल्य रहेकाले अन्त्येष्टि पनि आफ्नो धर्मअनुसार हुने जानकारी गरायौं । हाम्रो परम्पराअनुसार जलाएर अन्त्येष्टि हुनुपर्ने र अस्तु चाहिन्छ भन्यौं । त्यसअनुसार हाम्रो रोहबरमा विद्युतीय गृहमा अन्त्येष्टि गरेर अस्तु पठाउने प्रक्रिया सुरु भयो ।
तपाईंको बुझाइमा रुसले शवको पहिचान, अन्त्येष्टि र क्षतिपूर्ति प्रदानमा नेपालबाट आशा गरिएअनुरूप सहयोग र समन्वय गरेको छ त ?
हामीलाई धेरै नै सहयोग भइरहेको छ । अस्तु ल्याउने, सैनिक सम्मानका साथ जलाएर अन्त्येष्टि गर्ने काम भइरहेको छ ।
लडाइँमा मृत्यु भएका सदस्यका परिवारको त सबैथोक सकियो । उनीहरूका लागि अबको बाँच्ने आधार भनेको क्षतिपूर्ति हो, के रुसबाट उचित क्षतिपूर्ति सहजै पाउने अवस्था छ ?
क्षतिपूर्ति पाउने विषय करारमा लेखिएको छ । कतिपयले आफ्नो करारपत्रमा नै क्षतिपूर्ति पाउन इच्छाइएको हकदारबारे लेखिएको छ । कतिपयले लेखेका छैनन् । भए–नभए पनि हकदारले दाबी गर्न पाउनेछन् । यसबारे हामीले सुरुबाट नै रुससँग कुरा गरिरहेका छौं । म आउने बेला ६ जनालाई पैसा लिन आउनु भनिसकेको थियो । यसमा केही प्राविधिक समस्या थपियो ।
अरू देशमा मृतकको परिवारसम्म क्षतिपूर्ति पाउने प्रक्रिया स्पष्ट छ । त्यसैअनुसार हामीले पनि दूतावासको खातामा रकम ल्याउने, त्यो रकम नेपाल पठाइदिने र सम्बन्धित जिल्लाबाट पीडित परिवारको बैंक खातामा हस्तान्तरण गर्ने योजना बनायौं । यसैअनुसार नै रकम पठाइदिन रुसलाई आग्रह गर्यौं । तर, यसमा प्राविधिक समस्या देखापरेको छ । रुसबाट नेपाल पठाउन ‘बैंकको स्विफ्ट सिस्टम’ चल्दैन ।
उनीहरूले रुवेलमा दिन्छन् । त्यो डलरमा साट्न मिल्छ । रुसमाथि अन्तर्राष्ट्रिय नाकाबन्दी भएकाले बैंकबाट पैसा पठाउन समस्या देखिएको छ । त्यसबाहेक हकवालाको प्रतिनिधिका रूपमा एक जना खडा हुनुपर्छ । अहिले ६ जनाको क्षतिपूर्ति तयार भइसकेको थियो । यसैअनुसार बाँकीको पनि क्षतिपूर्ति दिने कुरा भएको थियो । मलाई अचानक फिर्ता बोलाएपछि म आएँ । मैले अब जाने राजदूतलाई यसलाई प्राथमिकता दिन अनुरोध गरेको छु ।
परिवारले क्षतिपूर्तिको दाबी कसरी गर्ने ? यसको माध्यम के छ ?
दूतावासको खातामा ल्याएर ६ जनाको क्षतिपूर्ति भारतमार्फत पठाइदिने तयारी गरेका थियौं । सकभर औपचारिक माध्यम नै हो । अर्को तरिका हकवाला स्वयं रुसमा गयो भने पनि पैसा दिन्छ । रुसले करारअनुसार सबै क्षतिपूर्ति दिन्छु भनेर चिठी नै लेखेको छ । क्षतिपूर्ति पाउने समय अलि अगाडि पछाडि होला । तर क्षतिपूर्ति भने पाइन्छ । हाम्रो दूतावास सहभागी भएर नै क्षतिपूर्ति पाउने हो ।
६ जनाको अन्तिम चरणमा पुगिसकेको छ । परिवार आफैं रुस गए पनि नगए पनि दूतावासको संलग्नता चाहिन्छ । सकेसम्म दूतावासमार्फत नै गर्नुपर्छ । परिवारको मञ्जुरीनामा र हकवालाको कागजलाई अनुवाद गरेर रसियन दूतावासबाट प्रमाणित गरिएको हुनुपर्छ ।
युक्रेनमा भएका नेपाली युद्धबन्दीलाई निकाल्न के पहल भएको थियो ?
युक्रेनमा राखिएका युद्धबन्दीलाई हस्तान्तरण हुने बेला नेपालीलाई प्राथमिकतामा राखिदिनुहोला भनेर हामीले रुसी सरकारलाई चिठी लेखेका थियौं । त्यसमा रुसले युद्धबन्दी हस्तान्तरण गर्ने सूचीमा सामेल गरिसकेका छौं भनेर जवाफ दिइसकेको छ ।
साढे २ वर्ष राजदूत भएर बस्दा दुई देशबीचको सम्बन्ध कस्तो पाउनुभयो र थप उचाइमा पुर्याउन के–कस्ता काम गर्नुभयो ?
रुसले सोभियतकालदेखि नै नेपाललाई सहयोग र सहानुभूति दिइरहेको छ । रुस र नेपालबीच गहिरो सम्बन्ध कायम छ । रुसमा प्राकृतिक स्रोत धेरै छ । त्यसैले त्यहाँबाट आर्थिक लाभ हुन सक्ने, व्यापार, लगानी, पर्यटनबाट फाइदा उठाउन सकिने योजना बनाएर म रुस गएको थिएँ । संघीय रुसी महासंघभित्र तीनवटा राज्य बुरातिया, कलमिकिया र तुवा छन् । त्यसलाई बौद्ध राज्यभन्दा पनि फरक पर्दैन । यसमा बौद्ध धर्मावलम्बीको बाहुल्य छ । यी राज्यसँग नेपालको धेरै पुरानो सम्बन्ध भएको देखिन्छ ।
आठौं शताब्दीमा त्यहाँ बुद्धधर्म पुगेको रहेछ । मैले शाक्यमुनि बुद्धका ५ वटा बुद्धमूर्ति पाटनमा बनाउन लगाएर मस्को लिएर गएको थिएँ । नेपालबाट लगेका बुद्धका मूर्ति सेन्टपिटर्सवर्गमा पदस्थापना गरेँ । त्यसपछि तीनवटै राज्यमा गएर प्रमुख लामासँग भेटेर कुरा गरेँ । ती सबै ठाउँमा नेवारी रञ्जना लिपिमा लेखिएका मन्त्र छन् । ती सबै हेरेर आएँ ।
नेपालसँग धेरै राम्रो सम्बन्ध छ । रुससँग सम्बन्ध स्थापना हुनुभन्दा अगाडि १९५३ मा लक्ष्मीप्रसाद देवकोटा, बलकृष्ण सम, पूर्णबहादुर यमी रुसमा गएर गरेका काम पनि मैले अवलोकन गरेँ । रुसमा राजा महेन्द्र र वीरेन्द्रको उच्चस्तरीय भ्रमण पनि भएको थियो । यसपछि नेपाली विद्यार्थीहरूलाई डाक्टर, इन्जिनियरङ पढ्न छात्रवृत्ति दिइयो ।
सोभियतकालमा रुसले नेपालमा जनकपुर चुरोट कारखाना, चिनी कारखाना, कान्ति बाल अस्पताल, पनौती जलविद्युत् आयोजना बनाइदिएको थियो । शीतयुद्धको समयमा नेपालले लिएको असंलग्न नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न राजा महेन्द्रको २८ दिनको भ्रमण रुसमा भएको थियो । यसको ठूलो महत्त्व रहेछ ।
रुससँग सांस्कृतिक रूपमा बुद्धधर्मको मात्रै सम्बन्ध जोडिएको छ कि यसमा अरू विषय पनि छन् ?
रुसमा सबैभन्दा धेरै परम्परागत क्रिस्चियन छन् । त्यसपछि इस्लाम र बौद्ध धर्म मान्नेहरू भेटिन्छन् । हाम्रो सम्बन्ध बुद्धधर्मको कारणले जोडिएको छ । उनीहरूलाई बुद्ध धर्मको केन्द्र नेपाल भएको ज्ञान भएकाले समय–समयमा उनीहरू यहाँ तीर्थस्थलका रूपमा भ्रमणका लागि आउँछन् ।
सन् १८७५ मा संस्कृतका विद्धान् प्रोफेसर इभान मिनायव काठमाडौंको नेवार बुद्धिज्मको अध्ययन गर्न नेपाल आएका थिए । उनले जंगबहादुरलाई पनि भेटेका थिए । ब्रिटिससँग सम्बन्ध राखेर पनि जंगबहादुरले नेपालको आफ्नो परम्परागत संस्कृतिलाई जोगाइरहेका रहेछन् । जुन अहिले पनि सराहनीय छ । यस्तो भारतमा पनि हुन सकेको छैन भनेर जंगबहादुरको बारेमा उनले वर्णन गरेका थिए । नेवारी भाषाको डिक्सनरी लेख्न नोट गरेका रहेछन् । त्यो अभिलेखालयमा सुरक्षित छ । यो एकदमै रुचिपूर्ण ढंगले लेखिएको छ । यस्तो सम्बन्धलाई विकास गर्ने काममा म लागेँ ।
नेपालले आगामी दिनमा रुसबाट के–केमा लाभ लिन सक्ने रहेछ ?
विदेशमा जाने पर्यटकको संख्यामा विश्वमा छैटौं पर्यटक निर्यात गर्ने मुलुक रुस हो । थाइल्यान्ड र श्रीलंकाले यसको फाइदा उठाएका छन् । हामीले पनि त्यसको फाइदा उठाउनुपर्छ । रुसबाट आउने पर्यटक आर्थिक रूपमा धेरै सम्पन्न छन् । मैले रुसबाट पर्यटक पठाउन मिहिनेत गरेँ । हरेक वर्ष रुसबाट नेपाल आउने पर्यटक बढिरहेका छन् । नेपालीले रुस गएर ज्यान जोखिममा राख्ने होइन बरु त्यहाँबाट धेरै पर्यटक ल्याएर यहीं कमाइ गर्नेतर्फ लाग्नुपर्छ ।
