'गगन र मेरो एकता हुन्न कि भन्ने कार्यकर्तामा ठूलो चिन्ता छ'

'एक/डेढ हप्ताको बीचमा विराटनगर, राजविराज, उदयपुर, चितवन पुगेँ । त्यसपछि सुदूरपश्चिम गएको हुँ । काठमाडौंभन्दा बाहिरको कार्यक्रममा केन्द्रित हुनुपर्छ भन्ने मलाई लागेको छ ।'

पुस ११, २०८१

कान्तिपुर संवाददाता

”There is great concern among the workers that Gagan and me will not be united.”

काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले १५ औं महाधिवेशनको टुंगो नहुँदै नेतृत्वका लागि अभियान अघि बढाएका छन् । १४ औं महाधिवेशनताका पनि उनले यस्तै अभियान दुई वर्षअघि नै सुरु गरेका थिए । आफ्नै भाइ शशांक र बहिनी सुजाता कोइराला मात्रै होइन, रामचन्द्र पौडेल (हालका राष्ट्रपति), प्रकाशमान सिंहलगायतका नेताको साथ नपाउँदा गगन थापा, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियारजस्ता युवालाई साथमा लिएर देउवासँगको प्रतिस्पर्धामा कोइराला भिडेका थिए ।

कांग्रेसको आगामी महाधिवेशनको तयारीलाई लिएर देश दौडाहा थालिसकेका नेता शेखर कोइरालासँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको संक्षिप्त कुराकानी :

यहाँको जिल्ला अभियान कहाँ पुग्यो ?

भर्खरै जिल्ला दौडाहा सुरु गरेको छु । अभियानकै रुपमा कार्यक्रम बनाइसकेको छैन । भर्खरै सुदूरपश्चिम पुगेर फर्किएँ । जिल्ला–जिल्लाबाट साथीहरूले बोलाए । धनगढीमा बस्दा दार्चुलाबाट समेत साथीहरू आउनु भयो ।

यसबीचमा कति जिल्ला पुग्नुभयो ?

एक/डेढ हप्ताको बीचमा विराटनगर, राजविराज, उदयपुर, चितवन पुगेँ । त्यसपछि सुदूरपश्चिम गएको हुँ । काठमाडौंभन्दा बाहिरको कार्यक्रममा केन्द्रित हुनुपर्छ भन्ने मलाई लागेको छ ।

तपाईंले ०८२ भित्रै महाधिवेशन हुनुपर्छ भनेर बोलिरहनु भएको छ । तयारी के छ त ?

०८४ मा आमनिर्वाचन हुन्छ । त्यस वर्षको वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । हामीले ०८२ भित्र महाधिवेशन गरेनौं र ०८३ मा पुर्‍यायौं भने पार्टीभित्र गुटबन्दीको असर स्थानीय तहको निर्वाचनमा पर्छ, त्यसले कांग्रेसलाई कमजोर बनाउँछ । त्यसका लागि पदाधिकारीहरूले जुन तयारी गर्नुपर्ने हो, त्यो भएको छैन ।

तर, महाधिवेशनको तयारी त हुन सकेको छैन नि ?

हो, हुन सकेको छैन, तर अझै गरे पनि ०८२ मै महाधिवेशन गराउन सकिन्छ । कोसिस त गर्नुपर्छ नि ! कोसिस नै भएको छैन । मैले त ०८२ मा महाधिवेशन गराउनुपर्छ भनेर कुराहरू राखिरहेको छु, सभापतिलाई भेटेरे पनि यो कुरा राखेको छु । भनेको भन्यै छु । उहाँले पनि समयमै गराउँछु भन्नु भएको छ । तर, छाँट हेर्दा समयमै महाधिवेशन गराउने अवस्था देखिँदैन ।

तपाईं आफैं पनि १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर प्रस्तुत हुनुभएको छ । प्रचार पनि त्यही ढंगले भइरहेको छ । सभापति बन्नका लागि यसपटक तपाईंका एजेण्डाहरू के–के छन् त ?

खासगरी एजेण्डा र मुद्दाहरू औपचारिक रुपमा तय गरेरै त गएको छैन, तर कांग्रेस यतिबेला तरबारको धारमा उभिएर हिँड्नुपरेको छ । एकातिर हाम्रो मुख्य प्रतिस्पर्धी एमाले हो भने अर्कोतर्फ सरकारमा सहकार्य पनि उसैसँग गर्नुपरेको छ । त्यसैले कांग्रेसभित्रको एकता नै अहिलेको मुख्य मुद्दा हो । पार्टीभित्रको गुटबन्दी, वैमनश्य र गुट–उपगुटलाई तोडेर अघि बढ्नुपर्छ । पार्टीभित्र बृहत् एकता कायम गर्न सक्दा नै निर्वाचनमा एक्लै लड्न सकिने संगठन बनाउन सकिन्छ भन्ने मलाई लागेको छ ।

आजको दिनमा तपाईं र गगनबीचको सम्बन्ध कस्तो हो ?

हामी धेरै टाढा छैनौं, सँगै हिँडेका छौं । गगन र मेरो एकता हुँदैन कि भन्ने चिन्ताचाहिँ कार्यकर्ताहरूमा भएको पाउँछु ।

सभापति शेरबहादुर देउवाको समर्थन खोजेर नेतृत्वमा पुग्ने होड पनि धेरै चलेको छ । यसबीचमा तपाईं कहाँ हुनुहुन्छ ?

सभापति हाम्रो आदरणीय हुनुहुन्छ । कति नजिक र टाढा भन्ने प्रश्न नै छैन । उहाँसँग १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेको हो । अहिले पनि देखेको, बुझेको कुरा गर्न जान्छु ।

सभापतिको समर्थन लिँदा मात्रै नेतृत्वमा पुग्न सकिन्छ भन्ने पनि छ नि ? त्यसैले तपाईं पनि समर्थन लिने कोसिसमा हुनुहुन्छ भनिन्छ नि ?

शेरबहादुरजीको समर्थन चाहिन्छ कि चाहिँदैन भन्ने कुरालाई लिएर जुन भाष्य निर्माण गर्न खोजिँदैछ, त्यो गलत हो । सुदूरपश्चिममै म जाँदा जुन खालको उत्साह देखेँ, त्यो मैले अपेक्षा गरेको थिइनँ । त्यसैले कसलाई नेतृत्वमा पुर्‍याउने भन्ने कुरा नेताको हातमा होइन, तलका कार्यकर्ताको हातमा छ । तलका कार्यकर्तामा केन्द्रको गुटबन्दीलाई लिएर एकदमै चिन्ता छ । कतिले एमालेसँग पनि मिल्न हुन्थेन भन्छन् । तर, एमालेसँग मिलेर सरकार बनाउनु हाम्रो बाध्यता थियो । राजनीतिको स्थायित्वका लागि मिलेको हो ।

१५ औं महाधिवेशनको प्रतिस्पर्धालाई लिएर महामन्त्री गगन थापासँग तपाईंको छलफल भएको छ कि छैन ?

यसबीचमा भएको छैन । मेरो उम्मेदवारीका बारेमा अब कुनै शंका गर्नुपर्ने छैन । म उम्मेदवार हो । सोधेर, बुझेर उठ्नुपर्ने होइन । यसमा आफूले निर्णय गर्ने हो । मैले निर्णय गरेरै देश दाैडाहा सुरु गरेको हुँ ।

कान्तिपुर

Link copied successfully