दाजुभाइ हो । दाजुभाइ भएपछि ऋण लिन पाइँदैन ? साथीभाइसँग माग्न पाउँछु मैले । कागज गरेर ऋण माग्न पाउनुहुन्न ? दिनेले कागज गरेर दिन्छु भन्यो । मुद्दासँग मलाई सरोकारको विषय नै होइन ।
काठमाडौँ — कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङले ललितपुरको मितेरी सहकारीबाट लिएको ऋण चुक्ता गर्दा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट रकम लिएको भेटिएको छ । करिब १ वर्ष कानुनमन्त्री भएका गुरुङ पदबाट मुक्त भएपछि धनराजले मीनबहादुरबाट ६ वटा चेकमार्फत ८२ लाख २७ हजार रुपैयाँ लिएका थिए ।
यसै सन्दर्भमा कांग्रेस उपसभापति गुरुङसँग कान्तिपुरले गरेको कुराकानी :
तपाईंले सहकारीको ऋण तिर्न व्यवसायी मीनबहादुर गुरुङबाट पैसा लिएको तथ्य सार्वजनिक भएको छ । मीनबहादुर गुरुङ व्यवसायी, तपाईं राजनीतिकर्मी र कानुनमन्त्री भइसकेको व्यक्ति । तपाईं दुई जनाको साँठगाँठ कसरी भयो ?
कुरा स्पष्ट छ, पहिलो कुरा त मैले सहकारीमा तिर्ने प्रयोजनले मीनबहादुरसँग ऋण लिएको हो । सहकारीबाट तिर्नैपर्छ भनेर दिनदिनै फोन गर्ने, मेरो भागमा कति पर्छ ? भाग छुट्याइदिनुस् नि त भन्दा तपाईंहरूको सगोलको ऋण तपाईंले तिर्नुपर्छ, हामी ज्योति गुरुङलाई कहाँ खोज्दै हिँड्छौं भने ।
मैले ‘डिभोर्स’ भइसक्यो, दुई वटाको ऋण फाइल छुट्याइदिनुस् भन्दा उनीहरूले नछुट्याउने । त्यसो भएपछि सबै तपाईंले तिर्नुपर्छ, तिर्दैनौ भने हामी पत्रिकामा पनि निकाल्छौं भन्न थाले, हैरान पारे । म त्यस्तै नियत भएको भए त मन्त्री हुँदा घूस खान्थें होला नि । म अर्को सचिव माग्थें होला । ल्याप्चे हान्न पर्थेन । सहकारी ठगी गरेको भए त कसैसँग माग्नु पर्थेन होला नि ।
सुशासन कायम गर्नुपर्छ भनेर, मन्त्री हुँदाखेरि पनि ह्यान्की–प्यान्की नगरीकन काम गरेको कारणले गर्दा अन्तिममा आच्छु पार्न थाले सहकारीबाट । इज्जतका लागि पनि तिर्नुपर्यो भनेर मैले मीनबहादुर दाइलाई भने कि ‘भाइलाई यस्तो संकट परेको छ, पेल्यापेल्यै गर्यो दाजु सहकारीले, न्यूनतम ब्याजमा मलाई यति सहयोग गर्नुपर्यो’ भनेपछि उहाँले हैन १० प्रतिशत त लिनुपर्छ होला भाइ भन्नुभयो ।
हुन्छ १० प्रतिशत त ठिकै छ, उता १७–१८ प्रतिशत ब्याजको पनि स्याज लगाइराखेको छ सहरकारीले, १० प्रतिशत त तयार छु भनें मैले । त्यसपछि वकिल राखेर, कागज लेखेर, किनाराको साक्षी राखेर, दुई वटा औंठाको दायाँबायाँ सहीछाप कागज गरेर ऋण लिएको हुँ । कागजै गरेर ऋण लिँदाखेरि पनि तैंले किन ऋण लिइस्, फलानोसँग किन ऋण लिइस् भनेजस्तो कुरा आउँदा दुःख लागेको छ ।
तर गत भदौ ३० मा कान्तिपुरमा यसै विषयमा समाचार छापिएको छ, त्यतिखेर ‘मलाई ऋणले अत्याएर घर बेचेर सहकारीको पैसा तिरें’ भन्नुभएको थियो, अब भन्नुस् घर बेचेर ऋण तिरेको कि मीनबहादुरसँग ऋण लिएर ?
त्यो त अहिले पनि भन्छु, किनभने घर बेचेकै हो । घर सहकारीमा धितो राखेको थियो, लिलाम भयो । अनि सहकारीले पछि आएर के गर्नुभयो भने घरले पुगेन भनी ऋण देखाउन थालेपछि एक प्रकारको ‘ब्ल्याकमेलिङ’ जस्तो पनि भयो ।
तर कागजले तपाईंको भनाइ समर्थन गरेन किनकि संसदीय समितिले हेरेको र सार्वजनिक भएको ऋणको ‘स्टेटमेन्ट’ हेर्दा सहकारीमा तपाईंको ऋण करिब ९१ लाख रुपैयाँ बाँकी थियो । लगभग त्यति नै पैसा मीनबहादुर गुरुङसँग लिनुभएको छ । घर बेचेको भए मीनबहादुरसँग ऋण किन लिनुभयो ?
घरको पैसा त सहकारीले लग्यो पूरै । त्यसपछि पनि ब्याज, ब्याजमाथि ब्याज गर्दागर्दै ९१ लाख बाँकी छ भन्यो । त्यसपछि मैले ऋण खोज्नुपरेन ? घर पनि बेचेर तिरियो, त्यसको धेरै पछि तपाईंको ऋण त यति बाँकी छ भन्न थालेपछि हायलकायल भएँ ।
सहकारीको ‘स्टेटमेन्ट’मा के भन्छ भने तपाईंले सहकारीलाई १ लाख, ४ लाख, ५ लाख मात्रै पैसा तिर्नुभएको छ । घरै बेचेर एकैपटक ठूलो रकम तिरेको त देखिँदैन नि ?
यो पछिको कुरा भयो । त्योभन्दा अगाडि नै घर लगिसक्यो ।
यो कुरा तपाईंले आफ्नो पार्टीमा भन्नुहोला, राज्यले अनुसन्धान गर्यो भने भन्नुहोला, तर तपाईं यो देशको सबैभन्दा ठूलो पार्टीको उपसभापति, कानुनमन्त्री, न्यायपरिषद्मा बसेको व्यक्ति, तर मीनबहादुर गुरुङविरुद्ध राज्यले विभिन्न अदालतमा मुद्दा लडिरहेको छ, तपाईंले उहाँसँगै ऋण माग्नुपर्ने बाध्यता किन ? इमानको कसीमा हेर्दा त धेरै कमजोर देखियो नि, हैन ?
म मन्त्रीबाट हटिसकेपछि लिएको ऋण हो ।
तपाईं फागुन २१ मा मन्त्रीबाट हट्नुभयो र वैशाख १७ मा ऋण लिनुभयो, त्यो भनेको त करिब दुई महिनाको अन्तरालको मात्र कुरा भयो ?
पूर्वकानुनमन्त्री भएकै कारण कोही साथीसँग ऋण लिन पाइन्न भन्ने त होइन होला नि ।
राज्य र मीनबहादुर गुरुङबीच मुद्दा चलिरहेको अवस्था छ, कानुनमन्त्रीबाट बिदा हुनासाथ ऋण लिनुभयो नि ?
उहाँको मुद्दा त चलिरहेको हुन्छ । मुद्दासँग के सम्बन्ध भयो त ? उहाँले आफ्नो मुद्दा खेपिराख्या होला । मुद्दा लडिराख्या होला, अनि त्यो मुद्दामा मैले हस्तक्षेप गर्न मिल्छ ?
मीनबहादुरले तपाईंलाई ऋण दिनुपर्ने अरू सम्बन्ध के हुन्छ त योबाहेक ?
दाजुभाइ हो । दाजुभाइ भएपछि ऋण लिन पाइँदैन ? साथीभाइसँग माग्न पाउँछु मैले । कागज गरेर ऋण माग्न पाउनुहुन्न ? दिनेले कागज गरेर दिन्छु भन्यो । मुद्दासँग मलाई सरोकारको विषय नै होइन ।
लेनदेन त्यो व्यक्तिसँग गर्न सकिन्छ, जोसँग स्वार्थको द्वन्द्व जोडिँदैन, तपाईं त कांग्रेसको उपसभापति, सांसद, पूर्वकानुनमन्त्री, अनि कानुन मन्त्रालयबाट बिदा भएको लगत्तै, न्यायपरिषद्बाट बिदा भएलगत्तै सरकारविरुद्ध मुद्दा लडिरहेको व्यक्तिसँग पैसा लिनुभयो नि ?
न्यायपरिषद्सँग के सम्बन्ध भयो त भन्या ? मैले कुरा नबुझ्या । न्यायपरिषद्सँग मीनबहादुरको के साइनो हुन्छ ? मन्त्री भए पनि न्यायालयमा हस्तक्षेप गर्न मिल्दैन । न्यायालय स्वतन्त्र हुन्छ । यति कुरा त तपाईंहरूले लेख्नुहुन्छ त कहिलेकाहीं । न्यायालयमा प्रधानमन्त्रीले पनि हस्तक्षेप गर्न मिल्दैन, मन्त्रीको त कुरै छोडिदिनुस् । न्यायाधीश स्वतन्त्र हुन्छ, कानुनको व्याख्या न्यायाधीशले गर्ने हो, धनराज गुरुङले गर्ने होइन । कुनै मन्त्रीले गर्न पाउँदैन । त्यसकारण ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ कसरी हुन्छ ?
यो प्रश्नको जवाफ त उचित ठाउँमा राजनीतिक र कानुनी रूपमा दिनुहोला, तर प्रश्न अर्को पनि छ, तपाईंकी तत्कालीन श्रीमती ज्योति गुरुङ, जोसँग २०७६ फागुनमा सम्बन्ध विच्छेद गर्नुभयो । उहाँसँगको तपाईंको अहिले कानुनी सम्बन्ध के हो ?
२०७६ साल फागुनमा जे भएको हो त्यै हो ।
२०७६ फागुनमा त तपाईंहरूको सम्बन्ध विच्छेद भएको भनेर कागज छ तर, २०७७ फागुनमा तपाईंले सहकारीबाट ऋण लिँदा हकवालामा श्रीमतीको नाममा ज्योति गुरुङ लेख्नुभएको छ ?
त्यहाँ घर जमानी राखेर लिएको कर्जाको फाइल थियो । कर्जा फाइल भएपछि मैले १०–१५ लाख चाहियो भनें । १५ लाख होइन १०–१२ लाखसम्म दिन सक्छु भनेपछि १२ लाख दिनुस् भनियो । त्यसपछि पुरानै लोन फाइलमा राख्ने हो भनेर लेख्ने मान्छेले फाराम भरेर मलाई सही गर्न दियो । त्यहाँ अक्षर हेरे भइहाल्यो नि, मैले भरेको होइन फाराम । फाराम कर्मचारीले भरेको हो ।
कथंकदाचित मैले भरेको र हकवालामा ज्योति गुरुङ श्रीमती भनेर लेखेको भए तपाईंको त ‘डिभोर्स’ भइसक्या कहाँ लेख्न मिल्छ भन्नुपर्ने होला नि त । तर मैले फाराम भरेको होइन, पुरानै फाइलमा राख्ने भएपछि मैले तल सहीछाप र औंठाछाप गरेपछि १२ लाख लिएर म हिँड्या हुँ । तर पछि फेरि उहाँले भर्नुभएछ, पुरानै फाइल हेरेर गर्यो होला । अनि हकवालामा श्रीमती ज्योति गुरुङ लेखिदिएको छ । त्यो त ‘अफिसियल’ कमजोरी ममाथि थोपर्न मिल्छ ? मलाई दोष दिन मिल्छ ?
२०७६ फागुनमा ‘डिभोर्स’ गरेपछि २०७७ फागुनमा ऋण लिँदा हकवालामा ज्योति गुरुङ लेख्नुभयो । अनि त्यो होइन भन्नुहुन्छ । अर्को गम्भीर कुरा के भने २०७९ सालको मंसिर ४ मा निर्वाचन हुँदा फेरि श्रीमतीको नाममा ज्योति गुरुङको नाम लेख्नुभयो । अदालतबाट सम्बन्ध विच्छेद भएको स्वतन्त्र महिलाको नाम श्रीमती भनेर लेख्न मिल्छ ?
तपाईंलाई थाहै हुन्छ, मनोनयन दर्ता गर्न जाँदा जुलुस ठूलै हुन्छ । त्यो फाराम मैले भरेको होइन, साथीभाइ कसले भर्यो, अहिले पनि अद्यावधिक भएको रहेनछ । २०७९ सालको चुनावमा पनि श्रीमतीको नाम ज्योति गुरुङ लेख्या छ भनेर पत्रपत्रिकाले लेखिरहेको रहेछ, के हो भनेर स्याङ्जाको निर्वाचन आयोगमा मैले सोधें । दाइ अझै पनि ज्योति गुरुङ रहेछ यहाँ त अद्यावधिक भएको रहेनछ भन्ने खबर आयो ।
मेरो पुरानो पासपोर्ट छ, त्यसमा निकटतम व्यक्ति भनेर ज्योति गुरुङ लेख्या छ । अनि मैले मन्त्री भएका बेलामा कूटनीतिक पासपोर्ट लिएको छु । त्यो लिन जाँदा निकटतम भनेर छोरोको नाम राख्या छु नि त । मैले राख्नेसम्म त राख्या छु, अहिले हेरे पनि हुन्छ । त्यसकारणले अद्यावधिक त बिस्तारै हुँदै जाने होला नि । राष्ट्रिय परिचयपत्रमा मैले ‘सिंगल’ भनेर, सम्बन्ध विच्छेद भएको उल्लेख छ । अद्यावधिक गर्दै जाने होला, एकैचोटि सबैतिर अद्यावधिक गर्न भ्याइएन होला नि त । अद्यावधिक नभएका कारण मतदाता परिचयपत्रमा पनि श्रीमतीको नाम अहिले पनि छ ।
उम्मेदवारी दर्ता गर्दा अद्यावधिक गर्ने होइन, नयाँ कागज हो जो तपाईंले भरेर बुझाउने हो नि ?
कार्यकर्ताले भर्छन् नि, त्यो त कहाँ नेताले गएर भर्छ त ? कार्यकर्ताले गएर भरिसक्या छ, म ४ बजे पुग्या हुँ त्यो दिन । ल सबै तयार छ तपाईंले यहाँ सही गर्नुस् छिटोछिटो, समय सकिन लाग्यो भनेपछि सही गरेर बुझाएको हो । त्यसकारण त्यसलाई प्रमाण मानिन्छ र प्रभु ? प्रमाण त अदालतको होला नि त ।
कानुनमन्त्री त तपाईं हुनुभएको हो, उम्मेदवार मनोनयन पत्रमा श्रीमती भनेर लेखिसकेपछि त्यसलाई कानुनी मान्ने कि नमान्ने ?
त्यसमा अद्यावधिक हुन बाँकी छ, अब अद्यावधिक बनाउने हो । अद्यावधिक त गर्दै जाने हो ।
कांग्रेसजस्तो लोकतान्त्रिक उदारवादी पार्टीको उपसभापतिले स्वतन्त्र भइसकेकी महिलालाई मेरो श्रीमती भनेर फाराममा भर्दै जान मिल्छ त ?
मिल्दैन । तर त्यहाँ साथीभाइले फाराम भर्दाखेरि लेखिदिएको बल्ल पछि थाहा भयो ।
सहकारीको विषयमा संसद्ले विशेष समिति बनाएर छानबिन गर्यो, अनुसन्धान हुनुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ भन्ने जनताको माग छ र सञ्चारमाध्यममा समाचार पनि आइरहेको छ । तर यति धेरै कुरा आउँदा पनि तपाईंमाथि अनुसन्धान किन भइरहेको छैन ?
पहिलो कुरा फौजदारी कसुरको दायित्व हस्तान्तरण त हुँदैन होला । नम्बर दुई, जसरी रवि लामिछाने गोर्खा मिडियामा एमडी थिए, म मितेरी सहकारीको न एमडी हुँ, न केही ।
रवि लामिछानेको प्रश्न उहाँसँगै हुने भयो, तपाईंको प्रश्न तपाईंसँगै । रविलाई सोध्दा धनराज गुरुङ देखाउने र धनराजलाई सोध्दा रवि देखाउने गर्न मिल्दैन नि ?
त्यसो भए तपाईंले कहिल्यै लेख्नुभएको छ निकिता पौडेल (रवि लामिछानेकी श्रीमती) लाई अनुसन्धानको दायरामा किन नल्याएको भनेर ?
निकिताको छुट्टै समाचार होला, साई स्वागत सहकारीको विषयमा निकितामाथि पनि प्रश्न आएको छ, समाचार छापिएको छ ।
म मितेरी सहकारीको सञ्चालक समितिमा भएको, त्यहाँको बचत अपचलन गरेको छु भन्ने तपाईंलाई लाग्छ ?
तपाईंकी तत्कालीन श्रीमती ज्योति गुरुङले सहकारीको रकम हिनामिना गर्नुभयो भनेर २०७६ पुसमा सहकारीले तपाईंलाई छलफलमा बोलाएको रहेछ, हुन्छ हामी मिलाउँछौं भन्नुभएको रहेछ तर दुई महिनापछि फागुनमा त ‘डिभोर्स’ गरेको कागज लिएर जानुभएछ नि ?
यस्तो बेकारको कुरा गर्नुहुन्न क्या । त्यो सहकारीले बोलायो, छलफल गर्यो भनेर जसले जे सिकायो त्यो भनेर हुन्छ ? आफूले उन्मुक्ति पाउँछु भनेर कसैले सिकाएको भरमा भन्दै हिँड्ने कुरा तपाईं मान्नुहुन्छ ?
मितेरी सहकारीका अध्यक्षले यो कुरा त संसदीय छानबिन समितिलाई भनेका छन् नि त ?
सहकारीका अध्यक्षले उन्मुक्ति खोज्नका लागि धनराज गुरुङलाई अपराधको भारी बोकाउन मिल्छ ? यही त मैले कुरा बुझिरहेको छैन । अरू सहकारीमा झ्यापझ्याप सहकारीका अध्यक्ष, प्रबन्धक को को हो सबै अनुसन्धानमा परेका छन् । यहाँचाहिँ मलाई ‘टार्गेट’ गरेर, मेरो चरित्रहत्या कसरी गर्न सकिन्छ भनी सबै गोलबन्द भएर यो षड्यन्त्र भइरहेको छ । मैले यति कुरा त बुझेको छु । यो षड्यन्त्र नै त हो नि, होइन भने सहकारीको अध्यक्षको सहमतिबेगर यत्रो अपचलन कसरी भयो ?
तपाईं स्याङ्जाको धनराज गुरुङ, उनी खोटाङको मीनबहादुर गुरुङबीच ९० लाखको लेनदेन हुने गरी सम्बन्ध के हो ?
मेरो भतिजोले पूर्व नै विवाह गरेको छ, यसरी सबै खोलिराख्नुपर्छ भन्ने होइन । मेरो भतिजोले खोटाङैबाट विवाह गरेको हो, किन भनिरहनुपर्यो मैले सबै कुरा । ऋण त साथीभाइबाट लिन मिल्छ नि । त्यसै लिएको छैन मैले, कागज गरेर १० प्रतिशत ब्याज तिर्छु भनेर दुई हातबाट औंठाछाप गरेर लिएको हो ।
तर घर पनि बेचेको र ऋण पनि लिएको भन्ने कुरामा तालमेल मिलेको छैन है ?
घर त डल्लै गइसक्यो पहिल्यै । त्यो त धितो राखेको हो नि ।
धितो राख्ने र बिक्री गर्ने भन्ने त फरक कुरा हो, तपाईंले घर धितो राख्नुभएको हो कि बेच्नुभएको ?
धितोमा थियो । त्यो बेचेर पनि पुगेन भन्यो सहकारीले । त्यसपछि पनि यति लाख रुपैयाँ ऋण बाँकी छ भनेर आयो । दिनदिनै फोन गरेको गर्यै गरेपछि तिर्न बाध्य भएको हुँ ।
तपाईंले सहकारीबाट ऋण लिनुभएको त १ करोड ८० लाख हो नि हैन ?
यस्, तर ब्याजको स्याज स्याजको स्याज कति हो कति हो । त्यो त सहकारीले त मान्छेलाई सोहोर्न लाग्यो ।
सहकारीले तपाईंको घरको मूल्यांकन कति गरेको थियो ?
त्यस्तै कति गरेको थियो, त्यै सेरोफेरोमा गरेको थियो ।
भनेको २ करोड कि १ करोड ?
के रे, जम्मा तीन आना जग्गामा बनेको घर त थियो, कति पो थियो र त्यो ?
