‘प्रचण्डजी र मैले गरेको प्रयोग सफल भएन’- कुराकानी - कान्तिपुर समाचार
अन्तर्वार्ता

‘प्रचण्डजी र मैले गरेको प्रयोग सफल भएन’

जनकराज सापकोटा, हरिराम उप्रेती

गोरखा — गोरखाबाट तीनपटक चुनाव जितेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई अहिले उम्मेदवार छैनन् तर उनी गोरखा–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल सँगसँगै चुनावी दौडधुपमा छन् । भट्टराईले मतदाता भेलामा आफूले सुरू गरेको विकास निर्माणको काम अब माओवादी अध्यक्ष दाहालले अगाडि बढाउने र आफू बिदा माग्न आएको बताउने गरेका छन् ।

पालुङटार नगरपालिका–१, खोप्लाङस्थित उनकै गाउँमा भेटिएका भट्टराईसँग चुनावकै विषयमा कान्तिपुरकर्मी जनकराज सापकोटाहरिराम उप्रेतीले गरेको संक्षिप्त कुराकानी :

तपाईंले चुनाव नलड्ने घोषणा गर्नुभयो । यो अकस्मात् निर्णय थियो कि सुविचारित ?

यो सुविचारित हो, आकस्मिक होइन । मैले पटक–पटक अन्यत्र पनि बोलेको छु, निश्चित समयपछि नेताहरूले स्वविवेकले पद र जिम्मेवारी अरूलाई हस्तान्तरण गर्नुपर्छ । अहिले संयोगवश गठबन्धनबाट नै चुनाव लड्ने निर्णय भयो । यो मलाई राम्रो अवसर पनि भयो । किनकि मैले गोरखामा विकास निर्माणका जे–जे काम अघि बढाएको थिँए, झट्ट जो पायो त्यहीलाई छाड्दा पनि अलपत्र पर्ने खतरा थियो । कमरेड प्रचण्डजस्तो नेता नै आउने सम्भावना देखेपछि मैले उहाँलाई आग्रह गरे । उहाँ गोरखा आउन तयार भएपछि मैले सहर्ष छाडें ।

छ न त तपाईंकी छोरी मानुषीको आफ्नै राजनीतिक पृष्ठभूमि पनि छ । तर कतिपयले तपाईंको निर्णयलाई छोरीको राजनीतिका निम्ति गरेको त्यागका रूपमा अर्थ्याएका छन् नि ?

हास्यास्पद कुरा हो । मानुषीको क्षमता सबैलाई थाहा छ । उनी आफ्नै ढंगले अगाडि बढेकी हुन् । फेरि काठमाडौंमा मानुषीको उम्मेदवारी पहिलेदेखि नै नयाँ पुस्तालाई अगाडि सार्नुपर्छ भन्ने अभियानअन्तर्गत थियो । युवाले उम्मेदवारी दिने अभियानअन्तर्गत स्वतन्त्र ढंगले कतिपयले उनलाई अघि सारेर प्रचार गरेको तीन/चार महिनाअघिदेखि नै हो । त्यतिबेला म आफैं चुनाव लड्नुपर्ने बाध्यात्मक अवस्थामा थिएँ । म नलड्ने निर्णय गरेको एक महिना मात्र भयो । भ्रममा पर्न आवश्यक छैन ।

तपाईं आफैं एउटै मान्छे वर्षौंसम्म राजनीतिमा हुनुहुन्न भन्नुहुन्छ । अर्कातिर तपाईंले बीसौं वर्षदेखि नेतृत्वमा रहेको मान्छेलाई नै चुनावमा साथ दिइराख्नुभएको छ नि ?

व्यक्तितिर नजाऔं । शेरबहादुरजीदेखि रामचन्द्रजी हुँदै ओलीजी, प्रचण्ड र मसम्म आइपुग्दा हाम्रो एउटै पुस्ता हो । करिब करिब ८/१० वर्ष उमेरको फरक हो । हाम्रो पुस्ताले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका निम्ति संघर्ष गर्‍यो, योगदान गर्‍यो । त्यसलाई बिर्सन हुँदैन, हामीले संविधानसभाबाट संविधान ल्याउन भूमिका निर्वाह गर्‍यौँ । तर अब विकास, समृद्धि र सुशासनको नयाँ एजेन्डाका निम्ति हामीले नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ । तर एकैचोटि भ्याकुम राख्न भएन । यो पाँच वर्ष संक्रमणकाल हुन्छ । त्यसमा केही साथी रहनुहुन्छ । मेरो बुझाइअनुसार पाँच वर्षपछि उहाँहरू सबै एकैसाथ निवृत्त हुनुहुन्छ । मैले चाहिँ अलिकति अघि बढेर बाटो देखाएको मात्र हो ।

अहिले सामाजिक सञ्जालमा नो नट अगेन भन्ने ट्रेन्ड चलिरहेको छ, जसले पुरानो पुस्ताका नेताहरूलाई स–सम्मान बिदा भएर नयाँ पुस्तालाई ठाउँ खाली गरिदिन आग्रह गरिरहेको छ । यसलाई कसरी हेर्नुभएको छ ?

यस्तो भन्नेहरू को हुन्, मलाई रहस्यमय लागेको छ । म यो अभियान त्यति व्यवस्थित पनि देख्दिनँ । अराजक ढंगले आएको देख्छु । मजस्तो मान्छे, जो चुनाव नै लडेको छैन । मलाई धरी जोडेको देख्छु । यो केही आक्रोश भएका गैरजिम्मेवार प्रकृतिका युवाले चलाएको ठान्छु । त्यसैले म यसमा टिप्पणी गर्न चाहन्नँ । मान्छे नचिनीकन के भनूँ ? तर भन्नैपर्छ, नयाँ पुस्ता भनेको विचार पनि हो । उमेर युवा छ तर त्यो राजतन्त्र फर्काएर ल्याउनुपर्छ, संघीयता खारेज गर्नुपर्छ, अलोकतान्त्रिक दिशातिर जानुपर्छ, समावेशिता अन्त्य गर्नुपर्छ, भन्ने विचार बोकेर पनि केही मान्छे आइरहेका छन् भने तिनलाई नयाँ भनेर छाड्न सकिँदैन । हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर अगाडि बढ्ने अग्रगामी प्रकृतिको नयाँ पुस्ता खोजिरहेका छौं । पश्चगामी यथास्थितिवादी होइन ।

तपाईंले पनि अग्रगामी नयाँ पुस्तालाई एउटा घर दिन नयाँ शक्ति खोल्नुभयो । माओवादीलाई भत्किएको घरको संज्ञा दिनुभयो । तर लामो समयपछि फेरि युटर्न मारेर त्यही घरमा ओत लाग्ने अवस्थामा आइपुग्नुभयो । यसले त नयाँ पुस्तालाई निराश बनायो नि ?

त्यो सत्य होइन । मैले साझा कार्यक्रमहरूमा बोलिरहेको छु, प्रचण्ड र मेरो बीच व्यक्तिगत दुश्मनी कहिल्यै थिएन । खाली बाटो कसरी अघि बढ्ने भन्नेमा फरक कुरा थियो । संविधानसभाबाट संविधान बनिसकेपछि विकास र समद्धिको दिशाको बाटो हाम्रो के हो भन्नेमा फरक कुरा थियो । उहाँले पुरानो पार्टी अझ कम्युनिस्ट भनिएको एमाले पार्टीसँग मिलेर जाँदा उपयुक्त हुन्छ भन्ने बाटो लिनुभयो । तर त्यो बाटो पनि सफल साबित भएन ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

मैले विल्कुल नयाँ ढंगले नयाँ बाटो बनाउन खोजें । त्यो पनि त्यति परिणामुखी देखिएन । त्यसैले हामी दुवैको निष्कर्ष के हो भने, सबैले नयाँ ढंगले सोचौं, नयाँ आधारमा फेरि नयाँ ध्रुवीकरण गरौं भन्ने हो । उहाँ पनि पुरानो पार्टी फर्कने होइन । म पनि होइन । नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रबाट एउटै चुनाव चिह्न लिएका मात्रै हौं । चुनावपछि चाहिँ पार्टीको नाम र कार्यक्रम हेरेर नयाँ ढंगले अघि बढ्छौं । पुरानो घरमा फर्किएको होइन ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले एउटा कार्यक्रममा तपाईंको समेत नाम लिएर हामी ठेस लागेको अवस्थामा थियौं भन्नुभएको थियो, कुरा त्यही हो ?

हामो उद्देश्य ठिकै थियो तर परिणाममुखी भएन । उहाँको र मेरो दुवैको प्रयोग सफल भएन । अब फेरि नयाँ प्रयोग गरौं भन्नेमा हामी छौं ।

तपाईंले अब म राजनीतिमा रहन्छु भन्नुभयो । फेरि नयाँ कार्यदिशामा जान्छु पनि भन्नुभयो । यसलाई बुझाइदिनुहोस् न ।

निष्क्रिय रहने भनेको होइन । चुनावमा भाग नलिईकन अन्य ढंगले सडक, सदन र सरकारको मोर्चाबाट सक्रिय रहने भनेको हो । जुन पब्लिक स्पेस छ, त्यहाँ बसेर काम गर्ने भनेको हो । यस्तो कर्म पनि राजनीतिक नै हुन्छ । म त्यसैबाट सक्रिय हुन्छु तर सत्तामुखी राजनीति गर्दिनँ ।

मतलब सत्तामा जानुहुन्न, चुनावी गतिविधिमा सक्रिय हुनुहुन्न तर राजनीतिक गतिविधिमा भने सक्रिय रहनुहुन्छ ?

राजनीति भनेको समाज रूपान्तरणको अभियान हो । म त्यसैमा निरन्तर सक्रिय हुन्छु ।

तपाईंको पछिल्लो राजनीतिक गतिविधि र कुरालाई विभिन्न ढंगले अर्थ्याउने गरिएको छ । कतिपयले तपार्इं राष्ट्रपति बन्ने बाटोतर्फ सोझिनुभएको छ भनेर पनि शंका गरेका छन् नि ?

शंका र कन्स्पिरेसी थ्यौरीमा विश्वास गर्नेलाई त मेरो भन्नु केही छैन । तर म सामाजिक रूपान्तरणको राजनीति गर्छु र त्यसैमा अघि बढेको छु ।

मतलब समाज सेवाको राजनीति गर्नुहुन्छ तर पदका निम्ति लाग्नुहुन्न ?

लाभको पदका निम्ति म लाग्दिनँ । तर समाज रूपान्तरणको राजनीतिमा निरन्तर लाग्छु ।

प्रकाशित : कार्तिक २०, २०७९ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्

सालिकमा सीमित सम्मान

विद्रोही कम्युनिस्ट भनेर मारिएका १६ किसान–श्रमजीवीका परिवार कम्युनिस्ट सरकारहरुले नै केही नगरेकामा निराश
सहिद घोषणा गरेर घर–आँगनमै सालिक राखिए पनि रोजीरोटीका अवसरमा सरकारको बेवास्ता
देवेन्द्र भट्टराई, रमेशचन्द्र अधिकारी

धनकुटा — छिन्ताङमा बनिबुतो गर्दै जीवन निर्वाह गरिरहेका गम्भीरमान र भजना दमाईको काखमा तीन वर्षका छोरा थिए । दु:खसुख चलिरहेको जीवनमा २०३६ कात्तिक २५ को साँझ बज्र पर्‍यो, जब पञ्चायती शासनले गम्भीरमानलाई गोली हानेर मार्‍यो ।

व्यवस्थाविरुद्ध भुसको आगोसरह फैलिएको राजनीतिक विद्रोह र त्यसमाथि दमनमा उत्रिएको शासनको चेपुवामा परेका गम्भीरमानजस्ता १६ जना किसान–श्रमजीवीको हत्या भयो । यो घटनामा सुत्केरी श्रीमाया राई (हांखिमा साइँली) मात्रै होइन, ७ कक्षामा पढ्दै गरेका १४ वर्षीय केशरमान राईलाई पनि प्रहरीले यातना दिएर ज्यान लिएको थियो ।

सहिदको सम्मानमा खोकु, छिन्ताङ र आँखिसल्ला क्षेत्र (जसलाई खाल्सा क्षेत्र भनिन्छ) समेटेर सहिदभूमि गाउँपालिका नामकरण गरिएको छ । आफन्तलाई ‘सहिदका परिवार र छोराछोरी’ भनिन्छ । तर आधारभूत रोजीरोटी पनि नपाएपछि सहिदका छोराछोरी छिन्ताङ गाउँ छाडिसकेका छन् । गम्भीरमानका छोरा सूर्य परियार पनि केही वर्षयता यूएईको दुबईमा श्रम गरिरहेका छन् ।

सहिदभूमि–३ की ६६ वर्षीया भजना भन्दै थिइन्, ‘त्यसबेला मारिने हाम्रा आफन्त र गाउँलेको सालिक बनाएर घर–आँगनमै राखिएको छ, मेरा श्रीमान्सहित सबैलाई राष्ट्रिय सहिद पनि घोषणा गरिएको छ । तर हाम्रो परिवार र देशका छोराछोरीको जीवनमा के परिवर्तन भयो ? मैले बुझ्न सकेकी छैन ।’

तस्बिरहरू : प्रकाशचन्द्र तिमल्सेना/कान्तिपुर

छिन्ताङ गाउँवासी धनवीर दर्जीका छोरा सोमबहादुर अहिले ६५ वर्षका भए । ‘कम्युनिस्ट विद्रोही’ भनेर २०३६ कात्तिक २७ मा पञ्चायती सत्ताले धनवीरको पनि हत्या गरेको थियो । ‘बुबा मारिँदा म २२ वर्षको थिएँ, हाम्रो गाउँका १६ जना साधारण किसान र दैनिक हाजिरामा जीवन धान्नेहरू मारिएपछि गाउँमा त्रास फैलिएको थियो,’ सोमबहादुर सम्झन्छन्, ‘मारिनेका सन्तान हामीलाई पनि पञ्चहरूले दागा धर्न थाले, बसिनसक्नु बनाए । सधैं सुराकी हुन थालेपछि म २०३७ सालमा भारततिर लागें, मिजोरम, मेघालयतिर रोजगारी गरेर केही वर्षअघि मात्र गाउँ फर्केको हुँ ।’

सोमबहादुरका बुझाइमा कम्युनिस्ट भनेर उनका बाबु र गाउँले मारिए, तर व्यवस्था परिवर्तनपछि बनेका कम्युनिस्ट सरकारले सहिद परिवारलाई सम्झेनन्, फगत सालिक बनाएर माल्यार्पण गर्दैमा जिम्मेवारी पूरा भएको ठाने । चारो छरेझैं नगद दिए, तर स्वावलम्बी बन्ने बाटो दिएनन्, राजनीतिमा अघि सार्ने प्रयास गरेनन् । सोमबहादुर अहिले पनि ज्यालादारीमा निर्वाह गर्छन् ।

सहिदको स्मृतिमा छिन्ताङमा २०५२ सालमा सहिद पार्क तथा सालिक स्थापना गरिएको छ । सहिद स्मृति दिवसमा औपचारिक कार्यक्रम हुने भएकाले यहाँ पनि चहलपहल बढ्छ । ‘सहिदका नाममा अर्थहीन भाषण गरेर नेताहरूले कुर्सी बचाइरहेको प्रतिक्रिया दिन्छन् सहिद स्मृति प्रतिष्ठान छिन्ताङका अध्यक्ष रूपलाल राई । ‘सहिद परिवारका हकमा एक घर एक रोजगारको घोषणा गरिएको थियो, त्योभन्दा ठूला कुरा यो क्षेत्रमा पानी, बिजुली, सडकको सबै सुविधा ल्याउने वाचा गरिएको थियो,’ राई भन्छन्, ‘तर, अहिले त १ रुपैयाँ पनि बजेट यो शीर्षक र यो प्रयोजनमा राखिएको रहेनछ ।’

‘छिन्ताङको राजनीतिक हत्याकाण्ड’ कृतिका लेखक एवं प्राध्यापक गोपालबहादुर भट्टराईले २०३६ सालको छिन्ताङ काण्डपछि गाउँमा सुरक्षा–प्रहरी तैनाथ गरिएको र कम्युनिस्ट नामका जोकोहीलाई निगरानीको तारो बनाइएको सम्झन्छन् । ‘त्यो बेलाको दमनले कतिपय युवालाई विस्थापित गरायो, उनीहरू शिक्षाबाट वञ्चित भए । समग्र जीवन नै प्रभावित भयो,’ उनी भन्छन् ।

सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार छिन्ताङ काण्डको चार दशकसम्म सहिद परिवारका निम्ति सामान्य राहत प्रदान गर्ने सनातनी कामकुराबाहेक ठोस योजना बन्न सकेको छैन । ‘गाउँमा अवसर र सुविधा नपाएरै बर्सेनि यो क्षेत्रको जनसंख्या घट्ने क्रममा छ,’ उनी भन्छन् ।

धनकुटा क्षेत्रलाई प्रतिनिधित्व गरेर इतिहासमा पाँच पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाकै पाला (२०३६) मा छिन्ताङमा १६ सर्वसाधारण मारिएका थिए । उक्त घटनापछि ३ दशकभन्दा बढी समय छिन्ताङ क्षेत्र प्रवेश गर्न नसकेका थापा २०७० सालमा मात्रै सुरक्षा प्रबन्धसहित गाउँ जान सकेका थिए । हालै प्रकाशित थापाको कृतिमा छिन्ताङ घटनाबारे लेखिएको छ, ‘देशमा राष्ट्रिय जनमत संग्रहको सरगर्मी बढिरहँदा धनकुटाको निकै दुर्गम र पिछडिएको मानिने छिन्ताङमा राज्यको सुरक्षा कारबाहीमा १६ जनाको निधन भयो । त्यो निकै दुर्भाग्यपूर्ण घटना थियो । कम्युनिस्टहरूले त्यसलाई वर्गसंघर्षको प्रयोग भनेका छन् । खासमा झापाली कम्युनिस्टहरूका कारण त्यो घटना हुन पुगेको थियो । जनताको जीउधनको सुरक्षा गर्ने विषय राज्यको प्राथमिक कर्तव्य र दायित्व हुने हुँदा सो दायित्व निर्वाहका क्रममा कतैबाट अवरोध हुँदा अकल्पनीय घटना हुन्छ नै । समय–समयमा यस किसिमका घटना हुँदै आएका छन् । छिन्ताङमा पनि भएको त्यही हो । यसमा जहाँसम्म जिम्मेवारीको प्रश्न छ, यो त सिधै राज्यको कर्तव्य र दायित्वअन्तर्गतको विषय हो । यो वा त्यो भन्ने सवाल आउँदैन । राज्यको सुरक्षा नीतिअनुसार जे हुनुपर्ने हो, त्यही हुन्छ । त्यतिबेला पनि त्यही भएको हो ।’

अहिले धनकुटाबाट गठबन्धन उम्मेदवार सूर्यबहादुरका छोरा सुनील थापा छिन्ताङ भूमि र त्यहाँका सहिदलाई सम्झेर आफ्नै प्रस्तावमा ‘राष्ट्रिय सहिद’ घोषणा गरिएको दाबी गर्छन् । ‘राष्ट्रिय सहिदसँगै जनही परिवारलाई १० लाख दिने भनेर निर्णय पारित गरिएको थियो तर सरकार बदलियो । लगत्तै आएको केपी ओली नेतृत्वको सरकारले यो निर्णय खारेज गरिदिएको थियो,’ चुनावी प्रचारमा पितापुर्खाको थलो मुगा, धनकुटामा रहेका थापाले भने ।

सहिद परिवार भने केही जीविकाका लागि आर्थिक सहयोग महत्त्वपूर्ण भए पनि आफूहरूलाई स्वावलम्बी बनाउने कार्यक्रमको माग गर्दै छन् । ‘प्रजातन्त्र आएपछि गिरिजाप्रसाद कोइराला सरकारका बेला प्रतिसहिद परिवार १ लाख र हालै प्रदेश सरकारबाट प्रतिपरिवार ५ लाख रुपैयाँ दिइएको थियो, माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला २५ हजार रुपैयाँ प्रतिपरिवारलाई दिइयो,’ सहिद धनवीरका छोरा सोमबहादुर भन्छन्, ‘नगद जसरी आउँछ, त्यसैगरी जान्छ । तर हामीले शिक्षा, दीक्षा र रोजगारीको आशा गरेका छौं, अझ हाम्रो मात्र नभएर समग्र जिल्ला र देशको बारेमा नेताहरूले असल योजना बनाउनुपर्‍यो, त्यो नभएसम्म बुबाहरूले बगाएको रगतको सम्मान भएन ।’

छिन्ताङ हत्याकाण्ड (२०३६) का सहिदहरू :

१. गोपालआनन्द राई (कात्तिक २४)

२. भैरवबहादुर खालिङ (कात्तिक २६)

३. बलबहादुर खत्री (कात्तिक २६)

४. चन्द्रबहादुर दमाई (कात्तिक २७)

५. गम्भीरमान दर्जी (कात्तिक २५)

६. गंगाबहादुर राई (कात्तिक २५)

७. टंकबहादुर विश्वकर्मा (कात्तिक २७)

८. धनवीर दमाई (कात्तिक २७)

९. लाखमान साधु राई (कात्तिक २७)

१०. केशरमान राई (कात्तिक २८)

११. गणेशबहादुर विश्वकर्मा (कात्तिक २८)

१२. पुत्रमान थुलङ (कात्तिक २९)

१३. श्रीमाया राई (हांखिमा साइँली) (कात्तिक २९)

१४. झगेन्द्र राई (माघ १८)

१५. रामकुमारी राई (कात्तिक २९)

१६. रणध्वज पुमा राई (कात्तिक २७)

प्रकाशित : कार्तिक २०, २०७९ ०९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×