'प्रधानमन्त्रीमा गगनको दाबीले राजनीतिमा प्रकाश दिएको छ' [भिडियो]- कुराकानी - कान्तिपुर समाचार
अन्तर्वार्ता

'प्रधानमन्त्रीमा गगनको दाबीले राजनीतिमा प्रकाश दिएको छ' [भिडियो]

‘गगन थापा मभन्दा जुनियर हुन्, उनले पालो पर्खनुपर्छ भन्ने हो भने केन्द्रीय समितिमा मभन्दा ५० जना अघि छन्, सबैलाई पालो पुर्‍याउन हामीले २ सय वर्ष बाँच्नुपर्छ ।’
‘हामीले निर्णय ठोस गर्ने तर पर्सिपल्ट कम्युनिस्ट पार्टीको एकता होला भनेर आशंका पटक्कै गरेका छैनौं ।’
उमेश चौहान, कुलचन्द्र न्यौपाने, तस्बिर : अंगद ढकाल

काठमाडौँ — कांग्रेसमा फरक पहिचानसहित उदाएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको शैलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्, त्यो पनि केन्द्रीय कार्यसमिति बैठकमै । देउवाको फरक कित्ताबाट महामन्त्रीमा जितेका र नेतृत्वमा पनि फरक मत दर्ज गर्दै आएका यी दुई नेताले आपसी सहकार्यको रणनीति पनि लिएका छन् । 

आगामी निर्वाचनमा थापालाई प्रधानमन्त्री पदमा अघि सार्नुपर्छ भनेर सार्वजनिक अडान लिएका शर्मा भन्छन्, ‘एउटै गाडीमा चढेपछि को अगाडि, को बीचमा वा को पछाडिको सिटमा बस्यो भनेर अलमलिने होइन, सबै सँगै पुगिन्छ भनेर ढुक्क हुनुपर्छ ।’ त्यस्तै संसदीय निर्वाचनमा गठबन्धन र आलोपालो प्रधानमन्त्रीका विषयमा पनि उनले खुलेर बोलेका छन् । शर्मासँग कान्तिपुरका उमेश चौहानकुलचन्द्र न्यौपानेले गरेको संवादको सम्पादित अंश :

भर्खरै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा तपाईं र अर्का महामन्त्री गगन थापाले प्रखर रूपमा सभापतिको आलोचना गर्नुभयो, विश्लेषकहरूको भाषामा त सभापतिविरुद्ध ‘फायर’ नै खोल्नुभयो । सामान्यतः कांग्रेस बैठकमा सभापतिले निर्णय गर्ने र अरूले मौन समर्थन गर्ने परम्परा छ । यसपटक तपाईंहरूले जसरी आफ्ना मत राख्नुभएको छ, यसको पृष्ठभूमि कसरी बन्यो र सन्देश के दिन खोज्नुभएको हो ?

बैठकमा फायरै खोले नै भन्ने होइन तर सभापतिले बनाउने सोच र दृष्टिकोणको जगमा पार्टीका सबै गतिविधि अघि बढ्छन् भन्ने अभ्यास भइरहेकामा यसपालि हामी बोल्दा अलिक पृथक् लागेको हुन सक्छ । यसका दुई वटा पाटा छन् । पहिलो, कांग्रेसको सभापति र महामन्त्रीका लागि विधानमै जिम्मेवारी बाँडफाँट गरिएको छ । त्यसैले दुवैतर्फबाट केही अपेक्षा हुन्छन् । सभापतिका रूपमा अघिल्ला कार्यकालको तुलनामा पछिल्लो कार्यकाल परिवर्तन रहन्छ, रहनुपर्छ र रहनेछ भनेकै कारण उहाँ सभापति बन्नुभएको, बनाइनुभएको हो ।

साथसाथै महामन्त्रीहरूबाट पनि अलि फरक अपेक्षा छन् । परम्परागत संस्कृतिबाट हुर्केको पार्टीमा एउटा नवीन कांग्रेस विकसित हुँदै छ र त्यसलाई विकसित गर्न कुनै न कुनै रूपमा संयोजन गर्ने काम गगन थापा र विश्वप्रकाश शर्माहरूले गर्नुपर्छ र गर्नेछन् भन्ने अपेक्षाका साथ हामीलाई त्यस जिम्मेवारीमा पुर्‍याइएको हो । बितेका ६ महिनामा कांग्रेसको रूपान्तरण र भूमिकालाई कति प्रखर बनाउन सक्यौं भन्ने सवालमा सबै दोष सभापतिलाई दिएर हामी उम्कन मिल्दैनथ्यो ।

त्यो पृष्ठभूमिमा हामीले सभापतिलाई सजग गराउन असार ५ गते भेटेर असार १० भित्र अर्थात् ६ महिनाको कार्यकालभित्र सम्पादन गर्नुपर्ने विषय यी–यी छन् भनेर हामीले भन्यौं । यद्यपि सार्वजनिक रूपमा सभापतिको आलोचना गरेजस्तो भयो । तर विधानले भनेको कुरा सम्पादन गरौं भन्ने कुरा आलोचनाभन्दा पनि सभापतिलाई सहयोग र सहकार्यको भूमिका नै हो ।

राष्ट्रिय राजनीतिको सन्दर्भमा पनि सरकार यहाँ चुक्यो, यसरी चुक्न मिल्दैन सभापतिज्यू, हामीले परिमार्जन गरेर जानुपर्छ भन्नु असहयोग होइन । यो महामन्त्रीको जिम्मेवारीभित्रको कुरा पनि हो ।

सभापतिले के निर्णय गर्नुभयो भन्नेबारे महामन्त्रीले प्रेसबाट थाहा पाउने, महामन्त्रीको प्रतिक्रिया के छ भन्नेबारेमा सभापतिले पनि प्रेसबाटै थाहा पाउने अवस्था बनेको भनेर त तपाईंहरूले नै बैठकमा टिप्पणी गर्नुभयो । कांग्रेसभित्र अहिलेको अभ्यास पनि यस्तै हो वा संस्थागत निर्णय गर्ने प्रयास पनि भइरहेका छन् ?

सायद, यसमा मनोविज्ञान र पुस्ताको समस्या छ । सायद समस्या पुस्ताको होला, विश्वप्रकाश शर्मा र शेरबहादुर देउवाको बीचमा करिब २५/२६ वर्षको अन्तर छ, गगन थापा र शेरबहादुरको बीचमा ३० वर्षको फरक छ । उमेरजन्य यो समस्या पनि कारण हुन सक्छ । अथवा पुरानो कांग्रेसबाट नवीन कांग्रेस बनाउँदै गर्दा पुराना पात झरेर नयाँ पात पलाउँदै गरेको अवस्थाको चित्रण हुन सक्छ । फेरि कतिपय मित्रलाई सभापतिज्यू, अघिल्लो कार्यकालमा जसरी चल्नुभएको छ, त्यसरी नै चलेर पनि त प्रधानमन्त्री बन्नुभएकै छ, कांग्रेस दोस्रो दलबाट पहिलो दल भएकै छ भन्ने पनि लाग्दो हो ।

तस्बिरहरु : अंगद ढकाल/कान्तिपुर

रूपान्तरण, आदि इत्यादि भन्ने त आदर्श हुन्, यी नगर्दा पनि आकार बढाइरहेकै छ भन्ने पनि लाग्दो हो । तर, त्यही शैलीलाई स्वीकार गरेर हिँड्ने विषयमा महामन्त्रीहरूबाट सहयोग नभएको हुन सक्छ । खासमा सभापति र महामन्त्रीको भेटको समाचार बन्ने विषय होइन । यो नियमित प्रक्रियामा पर्ने कुरा हो, महामन्त्रीको कर्तव्य सभापतिलाई सघाउने हो, सघाउँदै गर्दा बदलिएको समाजमा के कस्ता प्रश्न आइरहेका छन् भनेर सभापतिले यसो झ्याल खोलिराख्नुपर्छ । बाहिर कस्तो हावा बगिरहेको छ, समाजमा रूपान्तरण कस्तो खोजिँदै छ, दलमा रूपान्तरण कस्तो खोजिँदै छ, नेतृत्वमा परिमार्जन कस्तो खोजिँदै छ, हाम्राउपर कस्ता प्रश्नहरू छन् भन्नेबारेमा अलि बढी साक्षात्कार गर्ने विषयमा पुस्ताजन्य समस्यामा हामी छौं ।

विधानले महाधिवेशनको ६ महिनाभित्र पार्टी केन्द्रका विभागसहित सबै संरचनालाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था गरेको छ । सभापतिबाट हुनुपर्ने काम अवरुद्ध भइरहेको र महामन्त्रीले गर्ने कामहरूको पनि परिभाषा नगरिएको अवस्थामा तपाईंहरूले अधिकारका लागि पनि मागदाबी गर्नुभएको हो भनेर पनि बुझ्न सकिन्छ ?

त्यो होइन । विधानमा महामन्त्रीका काम, कर्तव्य र अधिकारका विषयमा स्पष्ट छ । तर, सभापतिले दुई महामन्त्रीबीच कार्यविभाजन गर्ने काम मात्रै गर्ने हो । व्यवस्थापकीय र सांगठनिक कार्य सभापतिले तोक्न सक्नुहुन्छ । महामन्त्री भनेको केन्द्रीय कार्यालय र संगठनको प्रमुख हो । राष्ट्रव्यापी रूपमा गर्नुपर्ने संगठनका काम, विधानको व्यवस्था र सभापतिले तोक्नुभएका काम सम्पादन गरी आएका छौं । विधानले तोकेरै सभापतिले गर्ने भनेका काम उहाँले गर्नुपर्ने हुन्छ, गर्न नसकिएका काम अधिकार प्रत्यायोजन गर्नुपर्ने हुन्छ, त्यो स्वाभाविक हो, मागदाबी गर्नुपर्ने विषय होइन ।

उदाउँदै गरेका तपाईंहरूको पुस्ता एकातिर छ, अर्कोतर्फ शेरबहादुर देउवा उत्तराधिकारी तयार पार्दै जानुपर्ने चरणमा हुनुहुन्छ । देउवाले उत्तराधिकारीका रूपमा पार्टीभित्रको आफ्नै समूह र समूहभित्र पनि परिवारकै सदस्यलाई विकसित गर्दै हुनुहुन्छ र त्यसले नेतृत्व अन्त जान सक्छ भन्ने बुझेर पनि क्षेत्र रक्षाका लागि पनि तपाईंहरू थप सजग हुनुभएको हो कि ?

निश्चय नै, फरक कोणबाट हेर्ने कुराले राजनीतिलाई ठीक ठाउँमा पुर्‍याउँछ । ५० वर्षअघि नेविसंघको सभापतिदेखि अहिले पार्टी सभापतिसम्मको यो लामो राजनीतिक यात्रामा उहाँले जे–जति गर्नुभएको छ, यी सबैको सारमा अब उहाँ ‘ग्रेसफुल एक्जिट’ का क्रममा हुनुहुन्छ । सभापतिका रूपमा उहाँको यो दोस्रो मात्रै होइन, अन्तिम कार्यकाल पनि हो । प्रधानमन्त्रीका रूपमा पनि उहाँले आफूलाई मनोवैज्ञानिक र शारीरिक रूपमा म गर्न सक्छु भनेर सोचाइ राख्ने एउटा कुरो हो, अपेक्षा अब बिस्तारै ‘ग्रेसफुल एक्जिट’ मा जानुपर्छ भन्ने हो । र, शासकीय रूपमा पनि सोच्नुपर्ने चरणमा हुनुहुन्छ ।

हो, राजनीतिमा पनि परिवारप्रति मोह हुन्छ, व्यक्तिको निकटता र एक खालको आकांक्षा पनि हुन्छ । तर, गएको स्थानीय तहको निर्वाचन परिणामले के बतायो ? कांग्रेस वा कांग्रेसबाहिरको दलको सवालमा नेतृत्वको निकट वा परिवारकै सदस्य रहेका नाताले टिकट पाएका व्यक्तिलाई मतदाताले स्वीकार गरेनन् । परिवारको सदस्य भनेर ‘ब्रान्ड’ स्थापित भएका सदस्य पनि स्वीकृत भएनन् । मतदातामा रहेको त्यस्तो मनोविज्ञानविपरीत सभापतिले अलग प्रकारको केही कुराहरू गर्न खोज्दै हुनुहुन्छ भन्ने मलाई लाग्दैन ।

सभापतिले अहिले आन्तरिक रूपमा सरकार सञ्चालन र बाह्य रूपमा कूटनीतिक व्यवस्थापनमा पनि परिवारकै सदस्यलाई अघि बढाएर जे अभ्यास गरिरहनुभएको छ, यो भूमिका अझै बढाउने पक्षमा हुनुहुन्छ भन्ने बुझिन्छ, यसमा कांग्रेस पंक्ति कति सहज छ ?

‘समय–समयकी बात है’ भनेजस्तै बदलिएको सामाजिक मनोविज्ञानसँग ‘फिट’ नभई कुनै पनि दल चल्न सक्दैन । स्थानीय तहको निर्वाचनमा दोस्रोबाट कांग्रेस पहिलो भएको हो । तर काठमाडौं, धरानले हामीलाई केही सन्देश दिएका छन् ? यसलाई सर्वेक्षणका रूपमा मान्ने हो भने सबै राजनीतिक पार्टीहरूले आफूलाई रूपान्तरण गर्नुपर्छ भन्ने स्विकार्नुपर्छ । रूपान्तरणका क्रममा जुन कुरा समाजलाई स्वीकार्य हुन्न, त्यो काम दलको संगठनलाई पनि स्वीकार्य हुन्न भन्ने कुरालाई हामी सबैले बुझेका छौं ।

आगामी संसदीय चुनावपछि शेरबहादुर देउवालाई संसदीय दलको नेताका रूपमा चुनौती दिन गगन थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ, त्यसमा तपाईंले सार्वजनिक रूपमा समर्थन जनाउनुभयो । यो तत्कालीन ’ट्याक्टिस’ हो, रणनीति हो वा अबको राजनीतिक परिदृश्य नै हो ?

यो भविष्यको परिदृश्य हो । कांग्रेस वा कुनै पनि दललाई हेर्दै गर्दा नागरिकले जीवन्त विकल्प खोजिरहेका छन् । पछिल्लो पुस्ताले जड होइन, विकल्प रोज्न चाहन्छ । कांग्रेसले प्रधानमन्त्री कसलाई अघि सार्दै छ भन्ने जान्न पाउने नागरिकको अधिकार हो । ०५६ सालमा कृष्णप्रसाद भट्टराईको हकमा बाहेक बैठक बस्ने र विधिवत् रूपमा प्रधानमन्त्रीको उम्मेदवार लिएर जाने प्रचलन कांग्रेसमा छैन ।

दूरदराजमा रहेको कसैले पनि अहिलेको विश्व्यापी चुनौतीको सामना गर्न पाको नेतृत्व चाहियो भन्नुभयो भने अरू कुनै पनि दलभन्दा पाको नेतृत्व कांग्रेससँगै छ । ढुक्कका साथ कांग्रेसलाई हेर्दा हुन्छ । होइन, अहिलेको सारा चुनौतीलाई सामना गर्न तेजतर्रार युवक चाहिन्छ भनेर सोच्नु हुन्छ भने पनि कांग्रेस नै रोजे हुन्छ । गगन थापाले प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्छु भनेर अघि बढे भने त्यसलाई स्वागतयोग्य र परिस्थिति ठीक ढंगले विकसित हुँदा समर्थन गरेर जाने विषय नै हो ।

गगन र विश्वप्रकाशको पुस्तामा एउटा अन्योल त छ नि, नेविसंघमा सभापतिका रूपमा तपाईंले गगन थापालाई नेतृत्व गर्नुभयो । तर तपाईंहरू हुर्कंदै जाँदा कसले कसलाई मान्ने भन्ने मनोवैज्ञानिक प्रश्न त थियो । अब, प्रधानमन्त्रीको उम्मेदवारका रूपमा गगन थापालाई अघि सारेपछि आफ्नो पुस्ताको नेता उहाँ नै भनेर पनि तपाईंले अनुमोदन गर्न खोज्नुभएको हो ?

विश्वप्रकाश शर्मालाई ५० वर्षभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने आकांक्षा थिएन होला त भनेर कसैले सोध्यो भने म भन्छु– थियो । बीपी कोइराला र शेरबहादुर देउवा त बन्नुभयो । कांग्रेसले ५० वर्षमुनिका दुई वटा प्रधानमन्त्री दिएकै हो । अहिले आकांक्षा मलाई पनि थियो होला तर झापा जिल्ला प्रशासन कार्यालयले जारी गरेको नागरिकताअनुसार म अहिले ५१ वर्षमा दर्ज भइसकें । पार्टीभित्रै मेरो भाइ, मेरो साथी, सुयोग्य युवाले आएर म प्रतिस्पर्धा गर्छु भन्दै गर्दा उनलाई अघि बढाउने, समर्थन गर्ने र देशभरि रहेका मतदातालाई हामीसँग विकल्प छ भनेर विश्वास र भरोसा जगाउनु मेरो कर्तव्य हो । भनाइ नै छ, तिमी मेरो पछि नलाग किनकि म तिम्रो अघि नलाग्न सक्छु, तिमी मेरो अघि पनि नलाग किनकि म तिमीलाई नपछ्याउन सक्छु । बरु आऊ, हामी सँगसँगै कदममा कदम मिलाएर अघि बढौं । हामी सँगै अघि बढ्ने हो ।

जन्मको हिसाबले विश्वप्रकाश जेठो होला, विद्यार्थी राजनीतिमा म सभापति हुँदै गर्दा, पाँच वटा उपसभापतिमध्ये एक गगन थापा थिए होलान् । पार्टीको पदाधिकारीमा म प्रवक्ता भइसकेको थिएँ होला । त्यसकारणले मेरो पालो पूरा नगरी गगनको पालो आउँदैन भनेर मैले भन्न थाले भनें मभन्दा अघि हुनुहुने ५० जनाले पनि त्यही भन्नुहुन्छ । ती ५० जना मभन्दा अघि जन्मेका, अघि राजनीति गर्नुभएका र केन्द्रीय कार्यसमितिमा पनि पुग्नुभएको हो । अब मैले गगनलाई यस्तै पालो पर्खन भनें भने न मेरो पालो आउँछ न गगनको । त्यसका लागि त हामी दुई सय वर्ष बाँच्नुपर्छ । त्यसैले विश्वप्रकाश शर्माले के ठूलो हृदय राख्नुपर्छ भने, प्रश्न पालोको होइन, जुनियर र सिनियरको कुरा पनि होइन । चिलीमा ३५ वर्षका राष्ट्रपति छन् । बेलायतले अब ५० वर्षमुनिका ऋषि सुनाक प्रधानमन्त्रीको ‘रेस’ मा अग्रस्थानमा छन् । सिनियर त त्यहाँ पनि छन् ।

राजनीतिमा समयले के कुरा अपेक्षा गर्दै छ, त्यसबमोजिम सुसंस्कृत र परिपक्व ढंगले आफूलाई परिस्कृत गर्न सकिन्छ कि सकिँदैन भन्ने हो । गगन थापा समानुपातिक र प्रत्यक्षबाट सांसद भइसकेका हुन् । मन्त्री भएर फर्कंदै गर्दा तिमीले के काम गर्‍यौ भनेर सोध्दा कतिले दुई पानामा सुनाउन नसक्लान् । उनले पाँच पानामा अटाउन नसकेर किताबमा नै सुनाउनुपर्ने दक्षता राखेकै हुन् । त्यसैले हामी जे–जस्तो परिस्थितिमा छौं, यो बेलामा मैले मै किन भन्ने ? यो बेलामा देखिएको मध्ये उपयुक्त नेतृत्वलाई अघि सारेर जाऊँ भन्ने कुरा सोच्नुपर्छ । यसको मतलव कांग्रेसभित्र गगनभन्दा अघि रहनुभएका थुप्रै नेताहरू हुनुहुन्छ । उहाँहरूको सम्भावना सकिएको हो त ? होइन । हामीले सबै खालका सम्भावनाका ढोकालाई खुला गरेर यो बहसलाई सार्वजनिक रूपमा लैजानुपर्छ । एउटा गाडीमा सँगै जाँदा तपाईं अगाडिको सिटमा बस्नुभयो कि, बीचमा वा लास्टमा भन्ने होइन, पुग्न त सँगै पुगिन्छ नि । यसलाई स्वाभाविक मानियो भने सजिलो हुन्छ ।

कांग्रेसको संरचना र अभ्यासअनुसार जसरी टिकट वितरण हुन्छ, त्यसका आधारमा भोलि निर्वाचित भएर आउने सांसदहरूले संसदीय दलमा कसलाई नेता बनाउँछन् भनेर पहिल्यै छुट्याउन सकिन्छ । त्यसैले तपाईंहरूको प्रयास एउटा सन्देशमूलक हस्तक्षेप त हो नै, यसले कुनै आकार पनि लिन सक्छ भन्ने लाग्छ ?

दुवै कुरालाई समानान्तर रूपमा हेर्नुपर्छ । यो एउटा ‘एटेम्प्ट’ मात्रै नहुन सक्छ । ‘एटेम्प्ट’ मात्रै हुँदै गर्दा पनि त्यसले उज्यालो प्रकाशतर्फ मानिसलाई गाँसिरहेको हुन्छ । जस्तो, अहिले हामीले श्रीलंका, श्रीलंका भनेर सतर्क रहँदा पनि अर्थतन्त्रमा केही सकारात्मक सूचकहरू देखियो होला । वैशाखभन्दा जेठमा विदेशी मुद्राको सञ्चिति बढ्यो होला । अथवा रेमिट्यान्सको आकार बढ्यो होला । राजनीतिमा पनि त्यस्तै हो । अहिलेको बेलामा कांग्रेसमा आशा र विश्वास जगाउने नेतृत्व चाहिएको छ । नागरिकले दुवै कुरा एकैचोटि खोज्छन्, अब के ? अब को ? अहिलेसम्म कोही आएन । जहिले पनि समाजले ‘कोही त आएंगे, हमारी तक्दिर बदलदेगा’ भनेर खोजिरह्यो । तर, अब को भन्दै गर्दा ऊ भन्न सक्नुपर्छ । हामीले भन्दै गरेको कुराले प्रकाश पनि दिन्छ ।

नेपाली राजनीतिको अवस्थालाई बदल्न कांग्रेसभित्र तपाईंहरूले जुन ‘मोटिभ’का साथ हस्तक्षेपको प्रयत्न गर्नुभएको छ, यो प्रयत्न कांग्रेसभित्र मात्रै सीमित भएर पुग्दैन । समाजले चाहेअनुसार राजनीतिलाई बदल्न सबै दलमा युवा नेतृत्व अघि आउनुपर्छ, अन्य दलका युवा नेतालाई के भन्न चाहनुहुन्छ ?

सबै दलमा रूपान्तरण जरुरी छ । तर, एमालेमै कस्तो छ अवस्था ? प्रधानमन्त्रीको दावेदार एमालेबाट एक जना मात्रै हुनुहुन्छ । त्यो पार्टीभित्र एक्लै कुनामा कसैले बोल्नुहोला तर कांग्रेसमा विश्वप्रकाशले जस्तै गगन थापा विकल्प हुन् है भनेर बोल्नुपर्ने होइन ? त्यहाँ पनि आकांक्षा नहुने होइन, वातावरण छैन । तर, एउटा दलमा हुने रूपान्तरणको प्रभाव, अर्को दलमा सर्छ भन्ने हाम्रो आशा हो ।

राजनीतिमा परिवर्तन, परिवर्तनका लागि हस्तक्षेप, हस्तक्षेपका लागि राज्य शक्ति । त्यहाँ जाने त निर्वाचनबाटै हो । तर, अहिले कुनै दल एक्लै सत्तामा पुग्ने सम्भावना कठिन छ । त्यसका लागि गठबन्धनलाई अनिवार्य आवश्यकता ठानिएको छ । स्थानीय तहमा भएको तालमेलमा कांग्रेसभित्र मतैक्यता देखिएन । आउँदो संसदीय निर्वाचनमा गठबन्धनको भविष्य कस्तो देख्नुभएको छ ?

स्थानीय तहको तालमेलभन्दा प्रदेश र केन्द्रको निर्वाचनमा तुलनात्मक रूपमा बढी जटिल छ । स्थानीय तहमा टिकट वितरण नै चार वटा निकायका बोर्डले गरेका थिए । स्थानीय परिस्थिति र आवश्यकताबमोजिम भनेपछि मिलेको ठाउँमा तालमेल गर्ने, नमिलेको ठाउँमा नगर्ने अभ्यास भयो । अहिले १६५ क्षेत्रलाई नै एउटै निर्वाचन क्षेत्रका रूपमा सोच्नुपर्नेछ । यसको टुंगो केन्द्रको संसदीय बोर्डले गर्नुपर्ने हुन्छ । प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रको टुंगो पनि केन्द्रले नै गर्छ । तर, अहिले स्थिति सैद्धान्तिक रूपमा केही फरक छ । जस्तो, अघिल्लो तालमेल भूत प्रभावी थियो, अब हुने तालमेल भविष्य प्रभावी छ ।

अघिल्ला प्रधानमन्त्रीले संविधान नै मिचेको, संसद्लाई बारबार विघटन गरिएको, प्रजातान्त्रिक मूल्य मान्यतालाई आघात पुर्‍याउने गरी सूचना प्रविधि, मिडिया काउन्सिलजस्ता कानुन ल्याउन लागिएका विषय लिएर गएका थियौं । यसैको जगमा गठबन्धन बनेको थियो । अब त्यति भनेर मात्रै पुग्दैन । हामीले भन्नुपर्नेछ, अब सरकार कसरी जान्छ ? सरकारले लिने वैदेशिक नीति के हो ? जनताको जीवनको सन्दर्भमा के काम गर्दछौं । अर्थतन्त्रलाई कसरी लिएर जान्छ ? यी विषयमा गठबन्धन सुस्पष्ट हुनुपर्छ ।

तपाईंले आदर्श गठबन्धनको कुरा गर्नुभयो । व्यवहारमा त प्रधानमन्त्री आलोपालो गर्ने तर पहिलो पालो कसले पाउने भन्ने विषयले गठबन्धनको भविष्य निर्धारण गर्दै छ, वस्तुस्थिति यही होइन र ?

निश्चय नै । धरातलीय, गणितीय, मनोवैज्ञानिक स्थिति र आकांक्षाहरूको व्यवस्थापनका चुनौती छन् भन्नेमा विमति छैन । नागरिक पंक्तिको सबैभन्दा चासोको विषय पनि सरकारकै विषय छ । नीतिगत सुनिश्चितताले संसद्को स्थिरता रहला तर सरकार र प्रधानमन्त्रीको स्थिरता एउटै हुन्छ कि हुँदैन भन्ने विषय गम्भीर छ । तालमेलमा जाँदै गर्दा कांग्रेसकै नेतृत्वमा पाँच वर्षसम्म सरकार रहन्छ भनिहाल्ने अवस्था पनि छैन । यो विषयमा तालमेलमा रहने दलहरूसँग उच्चतम समझदारीबाट द्वन्द्वरहित ढंगले देशलाई स्थिरताको बाटोमा लैजान्छौं भन्नुपर्ने स्थिति हुन्छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले दिल्लीमै हाम्रा सहकर्मी राजेश मिश्रलाई अन्तर्वार्ता दिँदा आलोपालो प्रणालीको कुरा गरिसक्नुभएको छ । कांग्रेसले आलोपालो प्रणालीलाई स्वीकार गर्छ कि गर्दैन ?

वस्तुगत यथार्थतालाई बिर्सेर कांग्रेसले मनोगत चिन्तामा बस्न सक्दैन, यथार्थ त्यही हो । जनताका बीचमा एक खालको संरचना बनाइराख्ने, तालमेल बनाएर मत लिने, त्यसलाई भत्काएर अन्त गएर पाँच वर्ष संसद्लाई जोगाइरहने अवस्था आउन नदिन सरकारको नेतृत्वको विषयमा विकल्प खुला राखेरै छलफल हुन्छन्, हुनेछन् । हाम्रो आन्तरिक आकांक्षा त बहुमतलक्षित भएर तालमेल गर्ने भनेका छौं ।

प्रत्यक्ष र समानुपातिकतर्फ कांग्रेसले बहुमत ल्यायो भने हामी तालमेल गरेका सहयात्री दलहरूलाई छोडेर जान्छौं त ? वस्तुगत यथार्थले रोक्छ । मानिलिऊँ, निर्वाचनपछि गठबन्धन टुट्यो । कांग्रेसको एकल सरकार बन्यो । त्यसपछि दुवै सदनबाट बजेट पारित गर्न, विधेयक पारित गर्न सक्छौं त ? किनकि राष्ट्रिय सभामा हामी अल्पमतमा छौं । राष्ट्रिय सभामा हामी अल्पमतमा बसेर अघि बढ्न सक्दैनौं । त्यसैले हामी कांग्रेस पंक्तिलाई पनि यो कुरा बुझाउन खोज्दै छौं कि, कांग्रेसले बहुमत ल्याउला तर त्यसपछि पनि सहकार्य आवश्यक छ । त्यसैले तालमेल गरेर जानुपर्छ, तालमेल गर्दा नेतृत्वको आलोपालोको परिस्थिति आयो भने त्यसमा उच्चतम समझदारी बनाएर जानुपर्छ भन्ने मुख्य कुरा हो ।

तपाईंले कांग्रेसले नै एकल बहुमत ल्याउन सक्छ पनि भन्नुभयो तर माओवादी र समाजवादी यो विषयमा सशंकित देखिन्छन् । उनीहरू कांग्रेस ठूलो त होस्, तर बहुमतमा वा बहुमतको नजिक पनि नपुगोस्, अरू साना दलसँग मिलेर सरकार बनाउने अवस्थामा नपुगोस् भन्ने नीतिमा छन् । त्यसका लागि कांग्रेसलाई सकेसम्म कम सिटमा उठ्न दिने उनीहरूको रणनीति देखिन्छ, यसले गठबन्धनलाई कति असहज बनाउला ?

गठबन्धनमा रहेका दलको आशंकालाई नकारात्मक रूपमा लिनेभन्दा उहाँहरूले राख्दै गरेको आशंकालाई जिम्मेवार र परिपक्व ढंगले लिनुपर्ने जिम्मेवारी कांग्रेससँग छ । हामीले ठूलो आकारमा चुनाव लड्दै गर्दा बहुमत ल्यायौं भने पनि राष्ट्रिय सभामा अल्पमतमा रहने भएकाले एक्लै अघि बढ्न सक्ने अवस्था हुन्न । खोला तर्‍यो, लौरो बिर्सियो गर्ने सुविधा रहन्न । हुन त संघका १ सय ६५ र प्रदेशका ३ सय ३० क्षेत्रमै उठ्दा लिन सकिने गति बेग्लै हुन्थ्यो । यो हामीलाई सजिलो पनि हुन्थ्यो । तर, हामी भविष्यको परिणामलाई हेर्दै छौं, त्यसका लागि सहकार्य नै हाम्रो मान्यता र कर्तव्य हो ।

गठबन्धनका विषयमा तीन वटा आयाम देखिन्छन् । प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी र एमाले मिल्छन् कि भनेर विदेश पनि नगई रखवारी गरिराख्नुपर्ने, गोठालो बस्नुपर्ने दबाबमा हुनुहुन्छ, फेरि यही गठबन्धन रह्यो भने देउवा नै शक्तिशाली हुने हुन् भन्ने शेखर कोइरालादेखि तपाईंहरूको मनोविज्ञान पनि देखिन्छ ।

गठबन्धन टुट्ला भनेर प्रधानमन्त्री विदेश पनि नगई बस्नुभयो भन्ने कुरा बिलकुलै होइन । अघिल्लो पटक पनि माओवादी र हामी सँगै सरकारमा थियौं । प्रधानमन्त्री देशभित्रै हुँदा पनि रातारात छलाङ मारेर माओवादी कमरेडहरू सरकारमा कांग्रेससँग र गठबन्धनमा एमालेसँग जानुभएकै हो । संयोग नै होला तर त्यतिबेला पनि प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्नुभएको थियो ।

कागताली पर्‍यो होला । मुख्य कुरा, अहिले पनि कम्युनिस्ट कम्युनिस्ट मिलौं, उस्तै–उस्तै रङको, उस्तै–उस्तै ढंगको, उस्तै–उस्तै मुट्ठी बटार्ने स्वभावको, मार्क्सवाद, लेनिनवाद भन्नेहरू मिलौं न त भन्ने आकांक्षाहरू छन् । तर जे कारणले नेकपा विभाजन भएको थियो, तत्कालीन सरकार जुन अहंकारले समाप्त भएको थियो । जे–जस्ता आवेगका कारण संसद् विघटन भएको थियो । मौजुदा कारण अन्त्य भएका छैनन् । प्रचण्ड र केपीजी एक ठाउँमा आउनका लागि तत्कालीन, मनोवैज्ञानिक, संवैधानिक जटिलता उस्तै छन्, हल भएका छैनन् । त्यसै कारण १०, १५ दिन रखवारी नगरुन्जेल कमरेडहरू झ्याम्मै गएर मिलिदिनुहुन्छ भन्ने आशंका हामीहरूले गरेका छैनौं ।

तालमेल नगर्दा वामपन्थी मिल्लान्, त्यस्तो अवस्थामा आफैं पनि चुनाव हारिएला भनेर त्यसले शेखर कोइरालादेखि विश्वप्रकाशसम्मलाई लाग्ने, तालमेल गर्दा शेरबहादुर देउवा झनै शक्तिशाली भएर आउने, यस्तो खालको मनोविज्ञानले तपाईंहरूलाई कति प्रभावित गरेको छ ?

त्यस खालको मनोविज्ञान पनि हुन्छ । तालमेल हुनुपर्छ तर मेरो क्षेत्र छोड्न मिल्दैन भन्ने खालका अभिव्यक्ति हाम्रै केन्द्रीय समितिमा पनि उठेका छन् । तर, तालमेल हुनेछ, त्यस कारण मात्रै परिणाम प्राप्त हुनेछ भन्ने पनि गलत हो भन्ने कुरा स्थानीय निर्वाचनमा झापाको परिणामले पनि देखायो । झापामा तालमेल पनि थियो, अनुकूल परिणाम पनि आएन । तालमेल प्रथम र अन्तिम कारण होइन । हामी आफू पनि विजयी हुन चाहन्छौं, स्वाभाविक कुरा हो । तर, हामी धेरै जितेर आउँदा सभापति बलियो हुने हुनुभयो भनेर सोच्यौं भने त्यो पनि समस्या हुन्छ । जितेर आएपछि स्वाभाविक रूपमा कमान्डरले बढी क्रेडिट लिने नै हो ।

भलै, ०७४ सालमा पार्टी हार्दा केन्द्रीय कार्यसमितिले सामूहिक जिम्मेवारी लिएको थियो । हामीकहाँ हार्दा सामूहिक रूपमा जिम्मेवारी लिने, जित्दा कमान्डरलाई जिम्मा लगाउने चलन छ । स्थानीय तहमा पनि सामूहिक बलको परिणाम नै हामी पहिलो भयौं । कांग्रेसभित्र हामी केहीले फरक धारणा राख्दाराख्दै तालमेललाई पार लगाएर छाड्ने हो भनेर नेतृत्व लिने र एमसीसी पारित गर्ने नेता त शेरबहादुर देउवा नै हो नि । त्यसैले आगामी निर्वाचनपछि बढेको आकारको श्रेय लिने काम सभापतिकै हो । मेरो नेतृत्वकै बेलामा हिजो पार्टी दोस्रो भएको थियो, विश्राम लिइनँ, अब पहिलो दल बनाइराखेर साथीहरूलाई सुम्पिन्छु भन्ने उदारता राख्नुभयो भने उहाँको अलग इतिहास निर्माण हुन्छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिले गठबन्धन दलबीच चुनावी तालमेल गर्ने भनेर जुन निर्णय लियो, त्यसको अर्थ अब वामपन्थी ध्रुवीकरण हुँदैन भन्ने निष्कर्ष हो ?

धेरै हदसम्म त्यही हो । अलग–अलग रूपमा सबैले निर्णय गर्दछौं । हामीले निर्णय ठोस गर्ने तर पर्सिपल्ट कम्युनिस्ट पार्टीको एकता होला भनेर आशंका हामीले पटक्कै गरेका छैनौं ।

प्रकाशित : श्रावण ५, २०७९ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्

सहरी प्रकोपको गैरप्राकृतिक कारण

सहरी प्रकोप प्राकृतिकभन्दा पनि राजनीतिक–आर्थिक कारणहरूले हुने गर्छ । अव्यवस्थित विकास, जथाभावी घर निर्माण तथा बढ्दो जनसंख्याजस्ता आर्थिक, राजनीतिक र सामाजिक कारणले पनि सहरी विपद् निम्त्याउँछ ।
डिल्लीप्रसाद पौडेल

झट्ट हेर्दा डुबान, पहिरोजस्ता सहरी प्रकोप वर्षा वा जलवायु परिवर्तनजस्ता प्राकृतिक कारणले भइरहेको लाग्न सक्छ । तर सहरमा हुने अव्यवस्थित विकास, जथाभावी घर निर्माण तथा बढ्दो जनसंख्याजस्ता आर्थिक, राजनीतिक र सामाजिक कारणले पनि सहरी विपद् निम्त्याउँछ ।

अझ प्रस्ट पारौं । जेठको अन्तिम सातातिर परेको पानी म बस्ने घर नजिकैको खाली ठाउँमा अहिलेसम्म जमिरहेको छ । असारको पहिलो सातासम्म खासै पानी नपर्दा वरपरका अन्य ठाउँमा जमेको पानी सुकिसक्यो, यहाँ सुकेन । पानी सुकेको भए मोटरसाइकल र कार हाँक्न सिक्नेहरू भइसक्थे । तर अहिले प्लास्टिक, कार्टुनका बाकस तथा खाली बोतलहरू तैरिरहेका छन् । पानी जमेपछि भ्यागुता कराइरहने भइहाले । अघिल्लो वर्ष यहाँ यति लामो समयसम्म पानी जमेको थिएन । यो वर्ष यस ठाउँको पूर्वी भागमा ग्यारेज बन्यो, पश्चिमी र दक्षिण भागमा सडक छ, उत्तरपट्टि भने घरैघर छन् । चारैतिरबाट संरचनाहरूले घेरेपछि अब पानी कहाँ जाने ? यदि सरोकारवाला र नियामक निकायहरूले यी निर्माण कार्य गर्नुअघि पानी निकासबारे पनि सोचेको भए स्थानीयले राहत पाउँथे । खुला ठाउँ पनि सुरक्षित हुने थियो । पुतलीसडक, मैतीदेवी, जमल लागायत उपत्यकाको मुख्य बजार पनि वर्षौंदेखि डुबानमा पर्दै आएका छन् ।

२०७६ असारमा हनुमन्ते र बल्खुको बाढीले भक्तपुरको राधेराधे र काठमाडौको कालीमाटी क्षेत्रमा पुर्‍याएको क्षति खोलामा बढेको पानीले गर्दा मात्र भएको होइन । किनारमा बनेका सिमेन्टको संरचना र वरपरको भागहरूलाई पनि कंक्रिटले छोपिदिएकाले पानीको बहाव अनियन्त्रित भएको हो । काठमाडौं उपत्यकामा पहिले र अहिले पर्ने पानीको मात्रामा खासै भिन्नता छैन तर प्रकोप र जोखिम दिनानुदिन बढ्दै छन् । विगत तीन दशकदेखिको जथाभावी निमार्ण कार्य, अव्यवस्थित ढल निकासी, आधारभूत सहरी सुविधाको अभाव, फितलो नियमन तथा सरोकारवालाको अदूरदर्शीपन (सबै गैरप्राकृतिक कारण हुन्) ले पनि सहरी प्रकोप निम्त्याइरहेका छन् ।

यसको गतिलो उदाहरणका रूपमा राम्रो सहर बन्ने सम्भावना बोकेको ललितपुर महानगरको खोकनालाई लिन सकिन्छ । हिजोआज खोकनाको चर्चा–परिचर्चा बढेको छ, राष्ट्रिय महत्त्व बोकेको फास्ट ट्र्याक यही आएर टुङ्याउने योजना छ । साथै वाग्मती सडक कोरिडोर, विद्युत् प्रसारण लाइन, बाहिरी चक्रपथ लगायत विकास योजनाले पनि खोकनाको भूमि प्रयोग गर्ने भएकाले स्थानीय र सरोकारवालाबीच जमिन एकीकरण र मुआब्जा सम्बन्धी विषयलाई लिएर विवाद चलिरहेको छ । धेरै विकास परियोजनाको आकर्षणको केन्द्र भएको र अन्य विभिन्न उद्योगधन्दा–कलकारखाना बन्ने क्रममा रहेको, सडक फराकिलो भइरहेको, आवास क्षेत्र बढिरहेको तथा जग्गा प्लटिङ र किनबेच पनि द्रुत गतिमा भइरहेकाले खोकनामा पहिलेको प्रायः खेतीयोग्य भूमि अहिले अन्य प्रयोगमा आइसकेको छ । अर्थात् भू–प्रयोगमा व्यापक परिवर्तन भइसकेको छ । तीव्र गतिमा भइरहेको विकास–निर्माणसँगसँगै आन्तरिक आप्रवासीहरूको जनसंख्या पनि द्रुतगतिमै बढिरहेको छ । अहिले खोकनाको अस्थायी–स्थायी सम्पूर्ण जनसंख्याको करिब एकचौथाइ आप्रवासी छन् । उनीहरूले स्थानीयको खेतीयोग्य जमिन भाडामा लिएर व्यावसायिक कृषि र पशुपालानका साथै विभिन्न उद्योगधन्दा जस्तै : जुत्ता, प्लास्टिक, साइनबोर्ड उद्योग≤ गोदामघर, होटल तथा खाजाघर आदिको पनि सञ्चालन गरिरहेका छन्, जसले गर्दा व्यावसायिक तथा बजारमुखी क्रियाकलापहरू द्रुत गतिमा बढिरहेको छ । आर्थिक गतिविधिको वृद्धिसँगै मजदुरहरूको आगमन बढेर कृषियोग्य भूमिमा टहरा बस्तीको संख्या पनि दिनानुदिन फैलिरहेको छ ।

विकास–निर्माणमा वृद्धि भएसँगै डुबान र पहिरोको समस्या पनि बढ्दो छ । खोकनाको भेबक्व क्षेत्र, जुन नयाँ बजार केन्द्रका रूपमा विकास भइरहेको छ, त्यो वर्षायाममा वा अलि ठूलै पानी पर्‍यो भने डुबानमा पर्छ । त्यस्तै भेबक्वबाट खोकनाको चर्चित सिकाली मन्दिर जाने बाटो पनि वर्षायाममा डुबानमा पर्छ । यी प्रकोप अहिले भइरहेका विकास–निर्माण कार्यसँगै उत्पन्न भएका हुन् । त्यसै गरी सिकाली मन्दिर अवस्थित डाँडाको उत्तर र पश्चिम भागमा पहिरो जाने गरेको छ, जसका कारण करिब ९४ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्र अहिले करिब ८२ रोपनीमा सीमित भएको छ । यो क्षेत्र धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास भइरहेकाले होटल, रेस्टुरा खुलिरहेका छन्, जग्गा प्लटिङ र घर निर्माण बढ्दो छ । तत्कालै पहिरो नियन्त्रण गरिएन भने भविष्यमा जोखिम अझ बढ्नेछ । खोकनाकै बसपार्क नजिकै रहेको नारंगल क्षेत्र, त्यसको पछिल्लो भागमा बनिरहेका घरहरू र यही क्षेत्र भएर जाने खोकना चक्रपथ पनि जोखिममा छन् ।

खोकनाको कृषिभूमि (स्थानीय भाषामा दोःफाँट) मा बनाइएका टहरा बस्तीहरूमा प्रत्येक वर्षामा डुबान हुने भएकाले आप्रवासी किसानहरूले क्षति बेहोर्नुपर्छ । साथै दोःफाँटको सबैभन्दा होचो भाग दौरागलमा वर्षायाममा राजकुलो र खेतहरूको पानी जम्मा भई नजिकैको पुरातात्त्विक महत्त्वको ऐतिहासिक क्षेत्र कुदेःश र हाल सालै बसेको व्यावसायिक कृषि गर्ने आप्रवासीहरूको सानो बस्तीलाई असर पार्ने सम्भावना पनि उत्तिकै छ । खोकना मात्र होइन काठमाडौं उपत्यकाका धेरै परिवर्तनमुखी नगरक्षेत्रको हालत पनि उस्तै छ । यसरी नै अनियन्त्रित विकास–निर्माण भइरहेका छन् र त्यहाँका बासिन्दा, तिनका जीविकोपार्जनका क्रियाकलाप र ती क्षेत्र प्रकोपको जोखिममा छन् ।

माथि उल्लिखित प्रकोप तथा जोखिमहरू पहिले खासै हुने गरेका थिएनन् । भएको भए पनि त्यसको असर विकास–निर्माणहरू कम भएकाले खासै थिएन । तर जब परापूर्वकालदेखि नै खेती गरिरहेको भूमिमा भइरहेको परिवर्तनको दूरदृष्टिपूर्ण नियमन भएन, जथाभावी निर्माण कार्य सुरु गरियो तब वर्षाको पानी पनि सोही अनुसार आफ्नो बाटामा बगिरह्यो र बाटामा घर, टहारा, कारखाना, धार्मिकस्थल आदि जेजे पर्छन् सबैलाई प्रभाव र जोखिममा पार्दै आयो । दुःखको कुरा, यस्ता सबै निर्माण कार्य सरोकारवला र जग्गाधनीकै स्वीकृतिमा भएका हुन् । अझ दुःख त, ठूला निर्माण सम्पन्नपछि हुने सम्भावित प्रकोप र जोखिमलाई कसरी नियन्त्रण र व्यवस्थापन गर्ने भन्ने पनि प्रस्ट छैन ।

अन्तमा, सहरी प्रकोप प्राकृतिकभन्दा पनि राजनीतिक–आर्थिक कारणहरूले हुने गर्छ । र, यसको समाधान पनि राजनीतिक–आर्थिक नै हुन्छ । प्रकृतिलाई मात्र दोष दिन मिल्दैन । जस्तै कुनै पनि सानाठूला संरचना बनाउनुअघि त्यो स्थान कत्तिको जोखिम संवेदनशील छ र यदि जोखिमपूर्ण भए के वा कसरी निर्माण गर्दा उक्त संरचानलाई उत्थानशील बनाउन सकिन्छ भन्ने प्रस्ट नभई निर्माण कार्य गर्नु–गराउनु जोखिममा पर्नु–पार्नु हो । जोखिम संवेदनशील भू–प्रयोग योजना बनाई त्यसको अक्षरशः पालन नगर्ने हो भने प्राकृतिक कारणले मात्र हामी जोखिम छौं र प्रकोपहरू बढेर प्रत्येक वर्ष जनधनको क्षतिमा वृद्धि भइरहेको छ भन्नु गलत हुन्छ । अहिले नेपालमा २९३ नगरपालिका छन्, जसलाई हामीले सहर मानेका छौं र त्यस्ता सहरमा बस्नेहरू कुल जनसंख्याको ५६ प्रतिशतभन्दा बढी छ । यी सहरहरूलाई भोलिका दिनमा सुरक्षित बनाउनका लागि हाम्रो सहरी योजना निर्माण र कार्यान्वयनको शैलीमा परिवर्तन ल्याउनुपर्छ । सहरी योजना बनाउँदा जोखिम संवेदनशील मात्र होइन वर्तमानमा भइरहेका र भविष्यमा हुन सक्ने प्रकोप तथा जोखिमहरूको नियन्त्रण, न्यूनीकरण र व्यवस्थापन कसरी गर्ने भन्ने पूर्वतयारीसहित हुनुपर्छ ।

पौडेल साउथ एसिया इन्स्टिच्युट अफ एडभान्स्ड स्टडिज (सियास) काठमाडौंका भूगोलविद् हुन् ।

प्रकाशित : श्रावण ५, २०७९ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×