‘किस्ताबन्दीमा अटो किनेर चलाइरहेको छु’

गुलरिया बजारमा धेरै अटो भइसकेकाले त्यति कमाइ छैन । बजारमा दिनभरि फनफनी अटो कुदाउँदा छिटफुट यात्रु भेटिहाल्छन् । दिनमा ५/६ सय कमाइ हुन्छ ।

चैत्र १२, २०८२

श्यामु सिंह बन्जारा

'I am buying and driving a car on installments'

What you should know

बर्दिया — बसेर खान  पुग्ने आफूसँग सम्पत्ति छैन । पर्याप्त धन नभएपछि गुजारा चलाउन श्रम गर्नैपर्छ । पेट भर्नका लागि कुनै न कुनै इलम त गर्नैपर्यो । सानैदेखि मिहिनेत मजदुरी गर्दै आइरहेको मान्छे हुँ । जति धेरै कडा काम भए पनि रक्तिभर हिचकिचाउँदिनँ । मजदुरी गर्दागर्दै उमेर ढल्किसक्यो । गुलरिया नगरपालिका–३ सिर्कोहिया गाउँमा घर छ । अहिले म ५२ वर्ष पुगेँ । अहिले पनि अटो चलाएर दैनिक गुजारा चलाइरहेको छु ।

कान्छो छोरा भारतमा मजदुरी गरिरहेको छ । जेठो छोरा गुलरियामा मजदुरी गर्छ । उनीहरू र मेरो कमाइ मिलाएर जसोतसो घरखर्च चलिरहेको छ ।पहिला खुब ज्याला मजदुरी गरियो । अहिले उमेर ढल्किँदा पहिलाको जस्तो जाँगर नहुँदोरहेछ । त्यसैले होला पहिलाको जस्तो कडा काममा खट्न सक्दिनँ । तर, के गर्ने ? घरमा बसेर खान पुग्दैन । अचेल महँगीको जमाना छ । एक जनाले मजदुरी गरेर परिवारको खर्च धान्न मुस्किल हुन्छ । छोराले पनि ज्याला मजदुरी गर्छ । अटो चलाएर अलिअलि खर्च जुटाएर उनीहरूलाई पनि सहज भएको छ, परिवारको खर्च धान्न । मेरो गरिबी हालतले पहिला बच्चाहरु पढ्न सकेनन् । तीन/चार कक्षा पढेर बच्चाले पढ्न छाडे ।

इलेक्ट्रिक अटो चलाउन पनि लाइसेन्स चाहिन्छ । लाइसेन्स नहुँदा ट्राफिक प्रहरीको कारबाहीमा पर्दा कमाएको भन्दा बढी जरिवाना तिर्नुपर्छ । यहाँ यातायात कार्यालय नहुँदा लाइसेन्स बनाउन पनि नेपालगन्ज जानुपर्छ । त्यहाँ जाँदा बढी खर्च लाग्ने डरले पनि लाइसेन्स बनाउन आँट आएन । लाइसेन्सको लागि ट्राफिक प्रहरीले धेरै दुःख दिन थालेपछि लाइसेन्स बनाउन सहजीकरणको माग गर्दै अस्ति अटो चालकजति आन्दोलित भई गुलरिया नगरपालिकामा गएका थियौं । अटो चालकको समस्यालाई मध्यनजर गरी मेयर सापले सहजीकरण गर्ने प्रतिबद्धता गर्नुभएको छ । 

नगरपालिकामा अटो दर्ता गर्न र लाइसेन्सका लागि गुलरिया नगरपालिकाबाट निःशुल्क अनलाइन फर्म भर्ने व्यवस्था गर्नुभएको छ । लाइसेन्सका लागि लाग्ने राजस्वसमेत तिरिदिने भनेपछि लाइसेन्स बन्ने आशा पलाएको छ । अस्तिदेखि नगरपालिकामा निःशुल्क रूपमा दर्ता भइरहेको छ । यस्तै लाइसेन्सका लागि फर्मसमेत भर्न सुरु भइसकेको छ । तर, नगरमा दर्ता गराउन अटो खरिद गरेको बिल चाहिन्छ ।

अटो किस्तामा निकालेकाले ऋण चुकाउन अझै बाँकी छ । पूरै किस्ता नदिँदासम्म सोरुमले बिल दिएको छैन । खासै कमाइ छैन । गुलरिया बजारमा धेरै अटो भइसकेकाले त्यति कमाइ छैन । बजारमा दिनभरि फनफनी अटो कुदाउँदा छिटफुट यात्रु भेटिहाल्छन् । दिनमा ५/६ सय कमाइ हुन्छ । दिनमा कमाएको रकमले दैनिक गुजारा पनि चलाउनुपर्छ । यस्तै खाइनखाइ अटो किस्ता पनि तिरिरहेको छु । १०/१५ हजार बचाएर अटोको मासिक किस्ता बुझाइरहेको छु । 

अझै करिब ४/५ किस्ता बुझाउन बाँकी छ । कान्छो छोराको बिहे भएको छैन । अहिले ऊ भारतमा मजदुरी गरिरहेको छ । जेठो छोरा गुलरियामा मजदुरी गर्छ । जसले गर्दा जसोतसो घरखर्च चलिरहेको छ । जेठो छोरा, बुहारी र दुई नातिसहित हामी बुढाबुढी गरी ६ जनाको परिवार छ । थोरै जग्गा भएकाले वर्षभरि खान पुग्दैन । अटो चार्ज गर्दा मासिक २ हजारदेखि २५ सयजति मासिक विद्युत् महसुल तिर्नुपर्छ । यस्तै दाल, चामल, तरकारीलगायत सबै चिज किन्नैपर्छ । नगरमा अटो दर्ता गराउन किनेको बिल चाहिन्छ र पूरै रकम नतिरेसम्म सोरुमले बिल नदिने भएपछि तनाव भइरहेको छ ।

प्रस्तुतिः रामप्रसाद चौहान

घरखर्च स्तम्भका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस् ।

घरखर्च

श्यामु

Link copied successfully