सीप सिके जीवन बदल्न सकिन्छ भन्ने विश्वास जागेको छ । पहिले सीप नहुँदा गाउँमै यत्तिकै बस्दा गाह्रो लाग्थ्यो । तालिम पाएपछि कम्तीमा आफैँले दुई-चार पैसा कमाउने क्षमता बढेको छ ।
What you should know
रामेछाप — जिन्दगीमा धेरै नाफा कमाउन सकिएको छैन । त्यो भनेर खाली हात पनि बस्नु परेको छैन । थोरथोरै भए पनि बचत गरेर व्यवसाय बढाउने सोच बनाएकी छु ।
समय सधैं एकनासको पनि हुँदैन । कहिले के पर्छ, पत्तै हुँदैन । तैपनि समयले साथ दिएमा मेरो योजना पूरा हुने विश्वास छ । रामेछापको सुनापति गाउँपालिका–४, डहुस्थित फुकुङमा मेरो बसोबास छ । धैर्य र लगन भएमा जीवनमा बिस्तारै परिवर्तन ल्याउन सकिने रहेछ । यो आफ्नै परिवर्तनको कथा पनि हो ।
अहिले म ४० वर्ष पुग्न लागेँ । केही वर्षअघिसम्म मेरो दैनिकी घरधन्दा, घाँसपातमा सीमित थियो । अधिकांश समय बाख्रा स्याहार गररै बित्थ्यो । तर, अहिले म पसले भइसकेँ । गाउँमै सानो चिया–नास्ता व्यवसाय सञ्चालन गरिरहेकी छु । यसले मलाई आत्मनिर्भर बनाएको छ । एक्कासि गृहिणीबाट व्यापारी बनेकी होइन । दुई वर्षअघि सामुदायिक विकास समाज (सीडीएस)मार्फत स्वरोजगारसम्बन्धी तालिम लिने अवसर पाएकी थिएँ । हामीजस्ता गाउँमा बस्ने महिलाले यस्तो अवसर पाउनु ठूलो कुरा थियो ।
गाउँघरका धेरै महिला अझै पनि सीपको अभावमा घरधन्दामै सीमित छन् । उनीहरूलाई आवश्यकता अनुसार सीपमूलक तालिम दिन सकियो भने उनीहरूले पनि गाउँमै केही न केही उद्यम गरेर आम्दानी गर्न सक्छन् ।संस्थाले तालिमसँगै आर्थिक रूपमा पनि सहयोग गर्यो । त्यसले श्रीमान्माथि निर्भर हुनुपर्ने अवस्था हट्यो । संस्थाबाट प्राप्त आवश्यक सामग्रीले मलाई व्यवसाय सुरु गर्ने हिम्मत दियो । अहिले म गाउँमा चिया–नास्ता पसल सञ्चालन गरेर आफैं कमाउने भएकी छु । घरखर्च चलाउन सक्ने भएकी छु ।
धेरै आम्दानी नभए पनि दैनिक खर्च टार्न र बालबच्चाको आवश्यकता पूरा गर्न सहयोग भइरहेको छ । सीप सिके जीवन बदल्न सकिन्छ भन्ने विश्वास जागेको छ । पहिले सीप नहुँदा गाउँमै यत्तिकै बस्दा गाह्रो लाग्थ्यो । तालिम पाएपछि कम्तीमा आफैँले दुई-चार पैसा कमाउने क्षमता बढेको छ । मेरो निर्णयमा पारिवारको साथ सहयोग पनि जोडिएको छ । सुरुमा साना बालबालिका भएकाले छाडेर बाहिर जागिर गर्न जाने सम्भावना पनि थिएन । त्यसैले गाउँमै बसेर सानोतिनो होटल व्यवसाय सुरु गरेकी हुँ । अहिले व्यवसाय गरेर ठिक गरेँ भन्ने लागेको छ ।
अहिले मेरो व्यवसाय सामान्य रूपमा चलिरहेको छ । गाउँमा बोधिचित्त माला बिक्री हुने सिजनमा त व्यापार अझै बढ्ने गरेको छ । अन्य समयमा पनि दैनिक गुजारा चल्ने आम्दानी भइरहेकै हुन्छ । यसैको आम्दानीबाट दुई सन्तानको पठनपाठन र लालनपालन गर्दै आइरहेकी छु । घरखर्च कटाएर केही रकम बचत गरिरहेकी छु । अन्य बेलाभन्दा बोधिचित्त मालाको सिजनमा भने राम्रै आम्दानी हुन्छ । मलाई पहिलेदेखि नै होटल क्षेत्रमा काम गर्ने रहर थियो । त्यसैले यही क्षेत्रमा सीप सिकेर गाउँमा व्यवसाय सुरु गरेँ । धेरै कमाउन त सकेको छैन, तर धेर–थोर आम्दानीले घरखर्च धान्न भने सहयोग गरिरहेको छ ।
मेरो अनुभवमा गाउँघरका धेरै महिला अझै पनि सीपको अभावमा घरधन्दामै सीमित छन् । उनीहरूलाई आवश्यकताअनुसार सीपमूलक तालिम दिन सकियो भने उनीहरूले पनि गाउँमै केही न केही उद्यम गरेर आम्दानी गर्न सक्छन् ।
गाउँमा धेरै कुरा किनमेल गर्न पर्दैन । हरियो–परियो पनि बारीमै फल्छ । त्यसैले थोरै कमाइले घरखर्च धान्न सकिन्छ । यसबाटै परिवारको आर्थिक अवस्था सुधार्न सहज हुन्छ । आफूले पनि केही उद्यम गरेमा कम्तीमा श्रीमानको कमाइ बचत गर्न सकिन्छ । त्यसले सिंगो परिवारलाई अघि बढाउन सहयोग मिल्छ । सीप, अवसर र हिम्मत भए गाउँमै बसेर पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने मेरो अनुभव छ ।
प्रस्तुति : नवराज श्रेष्ठ
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
