गाउँमा हुँदा तामाका भाँडाकुँडा बनाउने काम राम्रो चल्थ्यो । विशेष गरी मन्दिरका सामग्री, दियो, कलश, पूजा गर्ने भाँडा बनाउने अर्डरहरू आउँथे । त्यसबेला तामाको महत्त्व थियो । मान्छेहरूले संस्कार र धर्मसँग जोडेर हेर्थे । हामीले बनाएका सामग्री मन्दिरमा पुग्दा, पूजा–पाठमा प्रयोग हुँदा एउटा अलग्गै गर्व महसुस हुन्थ्यो ।
What you should know
डडेल्धुरा — अहिले उमेरले पनि असर गर्न थालेको छ । कान कम सुन्छु । बुढेसकाल लाग्दै जाँदा शरीरले पनि पहिले जस्तो साथ नदिने रहेछ । त्यसैले पहिले जस्तो धेरै काम गर्न सक्दिनँ । तर, पूर्ण रूपमा छोड्न पनि सकेको छैन । किनकि, यही सीप मेरो जीवनसँग गाँसिएको छ ।
अहिले उमेर ६७ वर्ष पुग्यो । सदरमुकाम, अमरगढी नगरपालिका–५, रानीधारामा आफ्नै घर बनाएर बसिरहेका छौं । करिब १५ वर्षअघि अमरगढी नगरपालिका–६, छचोडाबाट यहाँ सरेर आएका हौं । मेरा चार छोरा छन् । तीमध्ये दुई जना यही पेसामा व्यावसायिक रूपमा लागेका छन् । उनीहरूले सदरमुकाममा पसल सञ्चालन गरेका छन् । पसलमा रेडिमेट र हातले बनाएका तामाका भाँडाकुँडा पाइन्छन् । उनीहरूले मेरो सीपलाई निरन्तरता दिएका छन् । यो देख्दा मलाई खुसी लाग्छ ।
उता पुरानो घर अझै छ, तर जीवनको अधिकांश समय र संघर्षका कथा यतै सदरमुकामसित जोडिएका छन् । मेरो जीवन तामासँग गाँसिएको छ । तामाका भाँडाकुँडा बनाउने सीप मैले बावुबाजेबाटै सिकेको हुँ । यो मेरो रोजाइ मात्र थिएन, यो मेरो पहिचान थियो, पुर्ख्यौली विरासत । म १५ वर्षको हुँदा नै बुवाको हात समातेर यो काममा लागेँ । सुरुमा खेलजस्तो लाग्थ्यो, तर बिस्तारै बुझ्दै गएँ, यो सीप हो, यो व्यवसाय हो, जुन अहिले मेरो जीवन धान्ने आधार बनेको छ ।
म १५ वर्षको हुँदा नै बुवाको हात समातेर यो काममा लागेँ । सुरुमा खेलजस्तो लाग्थ्यो, तर बिस्तारै बुझ्दै गएँ- यो सीप हो, यो व्यवसाय हो, जुन अहिले मेरो जीवन धान्ने आधार बनेको छ ।गाउँमा हुँदा तामाका भाँडाकुँडा बनाउने काम राम्रो चल्थ्यो । विशेष गरी मन्दिरका सामग्री, दियो, कलश, पूजा गर्ने भाँडा बनाउने अर्डरहरू आउँथे । त्यसबेला तामाको महत्त्व थियो । मान्छेहरूले संस्कार र धर्मसँग जोडेर हेर्थे । हामीले बनाएका सामग्री मन्दिरमा पुग्दा, पूजा–पाठमा प्रयोग हुँदा एउटा अलग्गै गर्व महसुस हुन्थ्यो । तर समयसँगै त्यो गर्वसँगै आउने काम घट्दै गयो । बजारमा नयाँ सामग्रीहरू आए, मानिसहरूको रुचि फेरियो । पहिलेजस्तो तामाका भाँडाकुँडाको माग रहेन । अहिले त अवस्था यस्तो छ– न अर्डर, न त आम्दानी नै ।
अहिले पनि कहिलेकाहीँ यस्तै अर्डर आउँछन् । जस्तो अहिले बैतडीबाट मन्दिरका लागि सामग्री बनाउने अर्डर आएको छ । अहिले त्यसमा म व्यस्त छु । केही दिनमा तयार पारेर सक्छु । यस्तो बेला फेरि पुरानो लय फर्किएजस्तो लाग्छ, हथौडाको ताल, तामाको आवाज, हातको सीप । तर त्यो निरन्तरता अब छैन, बीच–बीचमा आउने सम्झनाजस्तो मात्रै भएको छ ।
एक जना छोरा तराईतिर छन्, अर्को घरतिरै छन् । सबैले आ–आफ्नो बाटो समातेका छन् । जे भए पनि परिवार आज सामान्य रूपमा अघि बढिरहेको छ । छोराहरूले पसल गरेर कमाइ गरिरहेका छन्, त्यसैले घरको अवस्था पहिलेभन्दा अलिक सहज छ । तर व्यापारमा पनि समस्या नभएको भने होइन । पसलबाट ग्राहकहरूले सामान उधारो लग्ने चलन छ । पैसा उठाउन गाह्रो हुन्छ । त्यसले पैसा नउठ्ने हो भने घाटा पनि हुन्छ । अहिलेको व्यापारमा यही एउटा ठूलो चुनौती बनेको छ ।
म भने अहिले धेरै आम्दानीको पछाडि लागेको छैन । कहिलेकाहीँ बनाएको सामानबाट आउने पैसाले सामान्य चिया–खर्च धानिन्छ । मेरो लागि अहिले ठूलो कुरा भनेको परिवार चलिरहेको छ, खाना पुगेको छ भन्ने हो । रोटी, भात, तरकारी खान पुगिरहेको छ–त्यसैमा सन्तोष छ । बजारमै बस्नु छ । बजारबाटै ल्याएर खानु छ । दाल, चामल र तरकारी किनेरै ल्याउनु छ । जस्तो भए पनि सुखदुःखमा परिवारसँग बसेर बाँच्न पाइएको छ । कहिलेकाहीँ सोच्ने गर्छु, यदि यही कामलाई व्यावसायिक रूपमा निरन्तरता दिएको भए सायद अझ राम्रो कमाइ हुन सक्थ्यो होला । तर अब त्यो उमेर पनि छैन, त्यो जोश पनि छैन ।
अहिले त छोराहरूले नै त्यो जिम्मेवारी लिएका छन् । मलाई सबैभन्दा ठूलो सन्तोष के छ भने मैले सिकेको सीप बेकार भएन । त्यो सीपले मेरो जीवन धान्यो, परिवार पाल्यो र अहिले छोराहरूको हातमा व्यवसाय बनेर बाँचेको छ । आजको समयमा पुरानो सीपले त्यति बजार नपाए पनि, यसको मूल्य शून्य भएको भने होइन । यो हाम्रो संस्कृति हो, हाम्रो पहिचान हो ।
अचेल म फुर्सदमा बस्दा कहिलेकाहीँ तामाको टुक्रा समाएर बस्छु । त्यसलाई पिट्छु, आकार दिन्छु । त्यसबेला समय फेरि पछि फर्किएजस्तो लाग्छ । बुवाको अनुहार सम्झिन्छु, उहाँको सिकाइ सम्झिन्छु । त्यो सीप अझै पनि हातमा जीवित छ भन्ने महसुस हुन्छ । समय बदलियो, परिस्थिति बदलियो, माग बदलियो तर मेरो त्यो पुरानो सीप अझै बाँचेको छ ।
प्रस्तुति : तर्कराज भट्ट
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
