भारत सरकारको आर्थिक सहयोगमा बडीकेदार गाउँपालिकामा निर्मित क्याम्पसको भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले संयुक्त रूपमा उद्घाटन गरे ।
काठमाडौँ — भारत सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशमा निर्मित क्याम्पसको उद्घाटन गरिएको छ । डोटी जिल्लाको बडीकेदार गाउँपालिकामा रहेको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस (केदार सूर्य बहुमुखी क्याम्पसको रूपमा पुन: नामाकरण गरिएको) को आइतबार भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले संयुक्त रूपमा उद्घाटन गरे ।
प्रत्येक तलामा ७ वटा कोठा र अन्य सम्बद्ध सुविधाहरू भएको दुई तल्ले क्याम्पस भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा गरिएको हो ।
उक्त क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस हो । यस क्याम्पसमा ब्याचलर अफ एजुकेसन (बीएड) र ब्याचलर अफ बिजनेस स्टडिज (बीबीएस) कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
बडीकेदार गाउँपालिकाका अध्यक्ष, क्याम्पस व्यवस्थापन तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे । नयाँ पूर्वाधारले यस क्षेत्रको शैक्षिक पूर्वाधारलाई सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।
उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारद्वारा नेपालका विभिन्न क्षेत्रहरूमा करिब ६०० वटा परियोजनाहरु अघि बढाइएका छन् । तीमध्ये डोटी जिल्लाका ४ वटा परियोजनाहरुसहित ४७ वटा परियोजनाहरु सुदूरपश्चिम प्रदेशमा रहेका छन् । यसको अतिरिक्त डोटी जिल्लामा ९ वटा एम्बुलेन्स र ३ वटा स्कुल बससहित भारत सरकारले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूलाई ७८ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको भारतीय दूतावासले जनाएको छ ।
