चीन र दक्षिण एसियाली क्षेत्रका विज्ञ काठमाडौंमा, ज्ञान र अनुसन्धानमा लगानी बढाउन सुझाव

शुक्रबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरूले विकासको दीर्घकालीन आधार ज्ञान र अनुसन्धान रहेको निष्कर्ष प्रस्तुत गरेका थिए ।

असार २६, २०८३

प्रकृति दाहाल

Experts from China and South Asia in Kathmandu, suggest increasing investment in knowledge and research

What you should know

काठमाडौँ — चीन र दक्षिण एसियाली क्षेत्रका विज्ञहरुले ज्ञान र अनुसन्धानमा लगानी बढाउन सुझाव दिएका छन् । 

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागमा शुक्रबार आयोजित ‘रीजनल डाइलग अन नलेज प्रोडक्सन इन साउथ एसिया एन्ड चाइना’ कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरूले विकासको दीर्घकालीन आधार ज्ञान र अनुसन्धान रहेको निष्कर्ष प्रस्तुत गरेका थिए । 

कार्यक्रममा दिल्ली विश्वविद्यालयको इस्ट एसिया स्टडिज विभागका प्राध्यापक राजीव रञ्जन र चीनस्थित सिचुवान विश्वविद्यालयका पीएचडी स्कलर प्रशान्तकुमार बिकबीच दक्षिण एसिया र चीनको भूराजनीतिबारे विचार–विमर्श भएको थियो । छलफलको सहजीकरण गरेका बिकले ज्ञान उत्पादनले मुलुकहरूबीचको सम्बन्धमा पार्ने प्रभावबारे जिज्ञासा राखेका थिए ।

जवाफमा प्राध्यापक रञ्जनले ज्ञानको विविधताले समाज, राष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा रचनात्मक भूमिका खेल्ने बताए । उनले प्रत्येक राष्ट्रले ज्ञान उत्पादन प्रक्रियामा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिए । चीनमा प्राचीनकालदेखि नै ज्ञान उत्पादनको सशक्त अभ्यास रहेको उल्लेख गर्दै उनले त्यही परम्पराका कारण त्यहाँ नीतिगत सुधार प्रभावकारी बनेको धारणा राखे ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्राध्यापक खड्ग केसीले भारत र चीनले रणनीतिक रूपमा ज्ञान उत्पादनमा निरन्तर लगानी गर्दै आएको उल्लेख गरे । नेपालले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर ज्ञान उत्पादन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसन्स एन्ड डिप्लोमेसीका प्रमुख अपेक्षा शाहले युवापुस्तामाझ वैचारिक संवाद र बहसको संस्कृतिको विकास गर्न विभागले नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।

केआईआरसीका सह–संस्थापक चन्दन तामाङले वर्तमान समयमा बौद्धिक संस्कृतिको विकास अपरिहार्य रहेको बताए । केआईआरसीका अपरेसन डाइरेक्टर आइशाह यासिर खम्बुले अन्तर्राष्ट्रिय सम्बन्ध विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई बौद्धिक संवादमार्फत विशिष्ट विषयमा धारणा निर्माण गर्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

अन्तर्राष्ट्रिय सम्बन्ध विषयकी अध्यापिका सुमी शर्माले व्यापक वैचारिक अन्तरक्रियाले ज्ञानको दायरा फराकिलो बनाउने र विषयवस्तु बुझ्न थप सहज हुने बताइन् ।

कार्यक्रम काठमाडौं इन्स्टिच्युट अफ रिसर्च एन्ड कन्सल्टेन्सी (केआईआरसी) को आयोजना तथा त्रिभुवन विश्वविद्यालयको सेन्ट्रल डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसन्स एन्ड डिप्लोमेसी (सीडीआईआरडी) को सहकार्यमा भएको थियो । 

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully