नेपाल खुला विश्वविद्यालय र नास-आईटीले स्विस कन्ट्याक्ट तथा एसडीसीसँगको सहकार्यमा चार वर्षे आईटी डिग्री कार्यक्रम ल्याउँदै ।
What you should know
काठमाडौँ — नेपालको सूचना प्रविधि क्षेत्र अहिले वार्षिक एक अर्ब डलरको सेवा निर्यात गर्ने उद्योगका रूपमा उकालो लाग्दै छ । तर, यसका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरू भने अझै पनि पुरानै लयमा खुम्चिएका छन् । कार्यकक्षमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)जस्ता नयाँ प्रविधिको प्रयोग बढिरहेका बेला विश्वविद्यालयका कक्षाकोठाहरू भने प्रविधिको दौडमा सुस्त देखिएको विज्ञहरूले औँल्याउँदै आएका छन् ।
कम्पनीहरूले दक्ष जनशक्ति नपाउने र जनशक्तिले रोजगारी नपाउने समस्या सम्बोधन गर्न भन्दै नास-आईटी र नेपाल खुला विश्वविद्यालयले स्विस कन्ट्याक्ट र एसडीसीसँगको सहकार्यममा ‘इन्डस्ट्री इन्टिग्रेटेड डिग्री’ सुरु गर्ने भएका छन् ।
खुला विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका कार्यवाहक डिन प्रा. भोजराज घिमिरेका अनुसार यस कार्यक्रममा विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरेपछि सिधै आईटी कम्पनीमा प्रवेश पाउनेछन् र उनीहरूले दिनभरि सम्बन्धित कम्पनीमा काम गर्नेछन भने बेलुका ६ बजेपछि अनलाइन माध्यमबाट विश्वविद्यालयको पढाइ पूरा गर्नेछन् ।
यसका लागि विश्वविद्यालयका प्राध्यापकसँगै नेपालका ईकेबाना, एम्निल टेक्नोलोजी, फ्युज मसिन्स, लिपफ्रग, सिडर गेट, सुबिसुजस्ता ४० भन्दा धेरै आईटी कम्पनीका सीईओ, सीटीओ र टेक लिडरहरूको सहभागितामा पाठ्यक्रम विकास गरिरहेको प्रा. घिमिरेले जानकारी दिए । शिक्षा मन्त्रालयले पारित गरेको नेसनल क्वालिफिकेसन फ्रेमवर्कमा आधारित भएर पाठ्यक्रम निर्माण गरिएको उनले बताए ।
यस शैक्षिक कार्यक्रम आगामी सेप्टेम्बर वा फेब्रुअरीको सेसनबाट सुरु गर्ने तयारी भइरहेको छ । चार वर्षे कोर्सको पहिलो ब्याचमा ३० देखि ५० जना विद्यार्थी मात्र लिइने नास-आईटीका अध्यक्ष गौरव पाण्डेले जानकारी दिए । उनका अनुसार यसको शुल्क निजी कलेजको तुलनामा निकै कम अर्थात् ५ देखि ८ लाख रुपैयाँ मात्र हुनेछ। विद्यार्थीले कम्पनीबाट पाउने पारिश्रमिकले नै आफ्नो पढाइ खर्च धान्न सक्ने दाबी गरिएको छ ।
विश्वविद्यालयको पढाइ सैद्धान्तिक हुने र उद्योगमा प्रविधि परिवर्तन भइरहँदा इन्जिनियरिङ सकेर काम खोज्न हिँडेका विद्यार्थीहरू कार्यस्थलमा काम गर्ने सिप नहुँदा बेरोजगार बन्नुपर्ने अवस्था रहेको प्रा.घिमिरे बताउँछन् । ‘डाक्टर, पाइलट, चार्टर्ड एकाउन्टेन्टले लाइसेन्स पाउँदा आफ्नो काम जानिसकेका हुन्छन् तर आईटी इन्जिनियरमा त्यो दक्षता नहुँदा समस्या भइरहेको छ,’ उनले भने ।
यो समस्याले आईटी कम्पनीहरूलाई आर्थिक भार थपिदिएको नास-आईटीका अध्यक्ष पाण्डेको भनाइ छ । ‘कम्पनीहरूले योग्य कर्मचारी भर्ना गरेपछि पनि उनीहरूलाई काममा लगाउन ६ देखि ९ महिनासम्मको थप तालिम दिनुपर्छ, यसका लागि प्रति व्यक्ति करिब ९ लाख रुपैयाँसम्म थप खर्च हुने गरेको छ,’ उनले भने, ‘नेपालमा वार्षिक १० देखि १५ हजार आईटी स्नातकहरू तयार हुन्छन् । तर, तीमध्ये थोरै मात्र कम्पनीहरूमा फिट हुन्छन् ।’
विद्यार्थीले १५ देखि २० लाख रुपैयाँ खर्चे गरेर डिग्री लिए पनि ३० हजारको जागिरका लागि समेत योग्य नहुनु दुःखद पक्ष रहेको पाण्डेको भनाइ छ । यो समस्या समाधानका लागि इन्डस्ट्री इन्टिग्रेटेड डिग्री एउटा विकल्प हुने उनले विश्वास लिएका छन् । विश्व बजारको मागलाई ध्यान दिएर यस शैक्षिक कार्यक्रममा एप्लिकेसन डेभलपमेन्ट, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), क्लाउड इन्जिनियरिङ, डेटा इन्जिनियरिङ र साइबर सेक्युरिटी गरी पाँच विशिष्ट क्षेत्रलाई प्राथमिकता दिएको छ ।
