४० दिनमै कक्षा १२ को नतिजा, छात्रभन्दा छात्रा धेरै उत्तीर्ण

यो वर्ष कक्षा १२ को नतिजामा सुधार, गत वर्ष ६१.१७ प्रतिशत र अघिल्लो वर्ष ५२.१५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका थिए

असार ५, २०८३

सुदीप कैनी

Class 12 results in 40 days, more girls pass than boys

What you should know

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ४० दिनमै कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । पहिलेभन्दा छिटो सार्वजनिक गरिएको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन् ।

बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा १२ को परीक्षामा नियमित र आंशिकतर्फ गरी समग्रमा ६४.१३ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) भएका छन् । नियमिततर्फ ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थी माथिल्लो तह अध्ययनका लागि योग्य भएका हुन् । गत वर्ष ६१.१७ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका थिए । २०८० को कक्षा १२ को परीक्षामा ५२.१५ प्रतिशत विद्यार्थी मात्र ‘ग्रेडेड’ भएका थिए ।

परीक्षार्थीमा छात्र धेरै, उत्तीर्णदर छात्राको बढी, ७०.३९ प्रतिशत छात्रा उत्तीर्ण हुँदा छात्रको उत्तीर्णदर ६९.१७ प्रतिशतएसईईको नतिजामा पनि पछिल्लो वर्षहरूमा क्रमिक सुधार देखिँदै आएको छ । शिक्षण सिकाइ प्रभावकारी बन्दै गएकाले नतिजामा प्रगति देखिएको विद्यालयहरूको भनाइ छ ।

यो वर्ष नियमिततर्फ ३ लाख ३२ हजार २ सय ४१ विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये २ लाख ३१ हजार ७ सय ७० जनाले ग्रेड प्राप्त गरेका छन् । १ लाख ४ सय ७१ विद्यार्थीले भने ग्रेड प्राप्त गर्न सकेनन् । उनीहरूका लागि २ र ३ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

नियमिततर्फका विद्यार्थी मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । ‘सैद्धान्तिकतर्फ अन्य सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी (ननग्रेडेड) प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पूरक (मौका) परीक्षामा सहभागी हुन पाउनेछन्,’ बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।

ग्रेडवृद्धि परीक्षा दिन चाहने विद्यार्थीले १९ असारसम्म अनलाइन आवेदन दिनुपर्नेछ । त्यसका लागि ८ सय शुल्क तोकिएको छ । नतिजामा चित्त नबुझे १ हजार शुल्क तिरेर पुनर्योग गर्न पाउने व्यवस्था पनि गरिएको छ ।

सबैभन्दा उत्कृष्ट नतिजा बागमती र कमजोर कर्णाली प्रदेशको, बागमतीबाहेकका प्रदेशको नतिजा राष्ट्रिय औसतभन्दा कमजोरबोर्डका अनुसार नियमिततर्फ उत्तीर्ण हुने विद्यार्थीमध्ये ३.६१ देखि ४ सम्म जीपीए प्राप्त गर्ने १७ हजार ७ सय ८६ जना छन् । ३.२१ देखि ३.६० सम्म जीपीए ६४ हजार ८ सय २१ जनाले प्राप्त गरेका छन् । सबैभन्दा बढी विद्यार्थीले २.८१ देखि ३.२० सम्म जीपीए प्राप्त गरेका छन्, जसमा विद्यार्थीको संख्या ९४ हजार २ सय ४९ छ । २.४१ देखि २.८० सम्म प्राप्त गर्ने ५० हजार ५ सय ९७ जना छन् । २.०१ देखि २.४० सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४ हजार ३ सय ८ छ । १.६१ देखि २.० सम्म जीपीए ९ विद्यार्थीको छ ।

आंशिकतर्फ ८५ हजार ९ सय २९ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३६ हजार ४ सय २० (४२.३८ प्रतिशत) ‘ग्रेडेड’ भएका छन् । नियमिततर्फका ३० र आंशिकतर्फका १० गरी ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

नतिजामा त्रुटि भएका विद्यार्थीले ६ महिनाभित्र बोर्डमा आवेदन दिएर सच्याउन सक्नेछन् । नतिजा स्थगित, अनुपस्थित, विषय फरक परेको, नाम–थर, रजिस्ट्रेसन नम्बर फरक परेको लगायत त्रुटि सच्याउन सकिने प्रवक्ता सत्यालले बताइन् ।

सरकारले ४५ दिनभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको थियो । छिटो नतिजा प्रकाशित गर्न बोर्डले उत्तरपुस्तिका परीक्षण केन्द्रहरू थप गर्दै सम्बन्धित कामलाई समानान्तर रूपमा अघि बढाएको थियो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार उत्तरपुस्तिका परीक्षण केन्द्र २८ वटाबाट बढाएर ४२ कायम गरिएको थियो । ‘कार्ययोजना बनाएर काम गरेका थियौं । उत्तरपुस्तिका सम्परीक्षण पनि परीक्षण केन्द्रमा नै गरिएको थियो,’ उनले भने, ‘सबै प्रक्रिया पुर्‍याएर नतिजा प्रकाशन तयारीको काम समानान्तर रूपमा अघि बढाइएको थियो ।’ यसअघि बोर्डले ७० दिनभित्र नतिजा प्रकाशित गर्दै आएको थियो ।

छात्रभन्दा छात्राको नतिजा राम्रो

कक्षा १२ को परीक्षामा छात्रभन्दा छात्राहरूको नतिजा राम्रो देखिएको छ । परीक्षामा सहभागी छात्रामध्ये ७०.३९ प्रतिशत उत्तीर्ण भएका छन्, छात्रको उत्तीर्णदर ६९.१७ प्रतिशत छ । परीक्षार्थी भने छात्र बढी थिए । १ लाख ७२ हजार २ सय ४८ छात्र र १ लाख ५९ हजार ९ सय ६४ जना छात्राले कक्षा १२ को परीक्षा लेखेका थिए । बोर्डको तथ्यांकअनुसार ५३ हजार १ सय छात्र र ४७ हजार ३ सय ६१ छात्रा ‘ननग्रेडेड’ भएका छन् ।

Class 12 results in 40 days, more girls pass than boys

‘ग्रेडेड’ छात्रा बढी भए पनि उच्च श्रेणीको नतिजा प्राप्त गर्नेमा भने छात्र अगाडि देखिएका छन् । ३.६१–४ जीपीए १७ हजार ७ सय ८६ जनाले प्राप्त गरेका छन्, जसमा १० हजार ६७ छात्र र ७ हजार ७ सय १९ छात्रा छन् । त्यस्तै ३.२१–३.६० जीपीए ल्याउनेमा पनि छात्र अगाडि छन् । उक्त जीपीए ३३ हजार ४ सय ५ छात्र र ३१ हजार ४ सय ११ छात्राले प्राप्त गरेका छन् ।

परीक्षा नियन्त्रक शर्माले पछिल्ला वर्षमा छात्राले नतिजामा राम्रो प्रदर्शन गर्दै आएको बताए । ‘सिकाइमा छात्राहरू बढी मिहिनेती र लगनशील भएर नतिजा राम्रो देखिएको हुन सक्छ,’ उनले भने ।

बागमतीबाहेकका प्रदेश राष्ट्रिय औसतभन्दा कमजोर

कक्षा १२ को परीक्षामा सबैभन्दा उत्कृष्ट नतिजा बागमती र कमजोर कर्णाली प्रदेशले प्राप्त गरेका छन् । सबैभन्दा धेरै विद्यार्थी बागमती र सबैभन्दा थोरै कर्णाली प्रदेशबाट परीक्षामा सहभागी थिए ।

बागमतीबाट १ लाख ३ हजार ५ सय १३ जना अर्थात् ३१.१५ प्रतिशत र कर्णालीबाट २२ हजार ६ सय ७२ जना (६.८ प्रतिशत) विद्यार्थी सहभागी थिए । बागमती प्रदेशका ७८.१७ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् । अघिल्ला वर्षहरूमा पनि बागमती प्रदेशको नतिजा सबैभन्दा राम्रो देखिँदै आएको थियो । उच्च श्रेणीको जीपीए (३.६१ देखि ४.० सम्म) ल्याउने विद्यार्थीको संख्या पनि बागमतीमा सबैभन्दा बढी ११ हजार ५२ छ ।

कर्णालीमा ६२.१७ प्रतिशत विद्यार्थी मात्रै ‘ग्रेडेड’ भएका छन् । त्यहाँका २ सय ५२ विद्यार्थीले मात्रै उच्च श्रेणीको जीपीए प्राप्त गरेका छन् । बागमती र कर्णाली प्रदेशबीच ‘ग्रेडेड’ विद्यार्थीमा १६ प्रतिशतको अन्तर देखिन्छ, उच्च श्रेणीको ग्रेड ल्याउने विद्यार्थीको संख्या कर्णालीको तुलनामा बागमतीमा करिब ४४ गुणा बढी छ ।

Class 12 results in 40 days, more girls pass than boys

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका पूर्वउपकुलपति ध्रुवकुमार गौतम कर्णालीमा शिक्षाका लागि राज्यको लगानी न्यून रहेका कारण नतिजा पनि कमजोर देखिएको बताउँछन् । ‘राज्यले भौतिक पूर्वाधारको लगानी मात्र सोच्दो रहेछ । क्षमता, जनशक्ति विकासको लगानी कर्णालीका जिल्लाहरूमा अत्यन्तै न्यून छ,’ उनले भने, ‘शिक्षकको क्षमता वृद्धि विषयगत शिक्षकको व्यवस्था गर्न राज्यले ध्यान दिएको देखिँदैन ।’

समग्र देशकै नतिजा निजी विद्यालयका कारण पनि धेरै देखिएको उनले बताए । बागमती प्रदेशबाहेक जहाँ निजी विद्यालय धेरै छन्, त्यहाँको नतिजा राम्रो देखिने गरेको उनको भनाइ छ । ‘कर्णालीमा कक्षा ११–१२ पढाउने निजी विद्यालयको संख्या न्यून छ,’ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका गौतमले थपे, ‘निजी र सामुदायिक विद्यालयको नतिजा छुट्टाछुट्टै तुलना गरेर हेर्नुपर्छ ।’ तेस्रो कारणमा उत्कृष्ट विद्यार्थी कर्णालीबाट पनि पढ्न काठमाडौंलगायत सहरमा जाने गरेको उनले बताए । गत जेठमा प्रकाशित एसईईको नतिजामा पनि सुदूरपश्चिमपछि कमजोर कर्णाली र मधेश प्रदेश देखिएका थिए ।

बागमतीपछि गण्डकी प्रदेशको नतिजा राम्रो देखिन्छ । गण्डकीबाट राष्ट्रिय औसत हाराहारी ६९.७२ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् । सुदूरपश्चिमबाट ६४.३१ प्रतिशत, मधेशका ६४.७७ प्रतिशत, कोशीका ६५.९८ प्रतिशत र लुम्बिनीका ६७.८२ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् । गत वर्षको नतिजामा पनि कर्णाली, मधेश, सुदूरपश्चिम, लुम्बिनी र कोशीको नतिजा राष्ट्रिय औसतभन्दा कमजोर थियो । बागमती र गण्डकीको नतिजा मात्रै राष्ट्रिय औसतभन्दा राम्रो थियो ।

नतिजा कमजोर भएका प्रदेश, जिल्ला, स्थानीय तह र विद्यालय पहिचान गरी सुधारका लागि अध्ययन थालिएको परीक्षा नियन्त्रक शर्माले जनाए । ‘कमजोर नतिजा भएका विद्यालयमा सुधार ल्याउन पालिकासँग परीक्षा बोर्डले सम्झौता पनि गरेको छ । विज्ञहरू नियुक्ति गरेर सम्बन्धित विद्यालयका शिक्षक र विद्यार्थीसम्म पठाउँदै छौं,’ उनले भने । नतिजा सुधार गर्न शिक्षण सिकाइमा नै सुधार गर्नुपर्ने उनको भनाइ छ ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully