कक्षा १२ को नतिजा असार १० गतेभित्र सार्वजनिक हुने

१० असारमा ४५ दिन पुग्ने भए पनि त्यसअघि नै नतिजा प्रकाशित गर्न प्रयासरत रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए ।

जेष्ठ २६, २०८३

सुदीप कैनी

Grade 12 results to be made public by Ashar 10

What you should know

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा १० असारभन्दा पहिल्यै सार्वजनिक हुने जनाएको छ ।

सरकारले परीक्षा सकिएको ४५ दिनभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएको थियो । १० असारमा ४५ दिन पुग्ने भए पनि त्यसअघि नै नतिजा प्रकाशित गर्न प्रयासरत रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए । ‘उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणको काम सकियो । सकभर चाँडो नतिजा निकाल्न बिदाको दिन र बिहान, बेलुका पनि काम भइरहेको छ,’ उनले भने, ‘असार १० गतेभित्र नतिजा प्रकाशन हुन्छ ।’ विद्यार्थीको प्राप्तांकक इन्ट्री गरी म्याचिङको काम भइरहेको बोर्डले जनाएको छ ।

एसईईको नतिजा पनि परीक्षा सकिएको २९ औं दिनमा सार्वजनिक भएको थियो । यसअघि बोर्डले कक्षा १२ को नतिजा छिटोमा ७० दिनभित्र सार्वजनिक गर्न सफल भएको थियो । यसपटक ४५ दिनभित्रै नतिजा प्रकाशन गर्न उत्तरपुस्तिका परीक्षण केन्द्र थप गरिएको थियो । ४८ ठाउँमा उत्तरपुस्तिका परीक्षण गरिएको शर्माले जनाए ।

वैशाख १४ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी भएका थिए । बोर्डकाअनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ परीक्षार्थी छन् । तीमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १ सय ३७ छात्रा र २९ जना अन्य छन् । आंशिकतर्फ ८५ हजार ८ सय ३० विद्यार्थी सहभागी थिए । जापानको एभरेस्ट स्कुलबाट पनि ३९ विद्यार्थीले परीक्षा दिएका छन् । काठमाडौं जिल्लामा सबैभन्दा धेरै ६४ हजार ३ सय ३८ र मनाङमा सबैभन्दा थोरै ३१ परीक्षार्थी सहभागी थिए । गतवर्ष ६१.१७ प्रतिशत कक्षा १२ को परीक्षामा ग्रेडड (उत्तीर्ण) भएका थिए ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully